युद्धभूमिमा शान्तिको सन्देश दिंदै बुद्धको प्रतिमा


२६ चैत, काठमाडौं । सशस्त्र जनयुद्धको १० वर्षे अवधिमा रुकुमपूर्वको महत गाउँ युद्धभूमिमा परिणत भयो । युद्धकालमा महत गाउँबाट बम र गोला नपड्केको प्रायः दिन हुँदैन थियो । सिंगो गाउँमा बमबारुदको गन्ध आउँथ्यो । विद्रोही र सत्ता पक्षको सधैं नजर रहने महत गाउँले १० वर्षे सशस्त्र युद्धको क्रममा थुप्रै भिडन्त झेल्यो ।

सशस्त्र जनयुद्धको अवधिमा महत गाउँमा मात्रै राज्यपक्षबाट ५२ र तत्कालीन विद्रोही माओवादीबाट ६ गरी ५८ जनाले ज्यान गुमाए ।

२०६३ सालको शान्ति सम्झौतापछि भने महत गाउँ शान्त छ । त्यसयता यहाँ कुनै पनि हिंसात्मक गतिविधि भएका छैनन् । द्वन्द्वका बेला बम र बारुद पड्किने यो गाउँमा अहिले शान्तिका दूत बुद्धको प्रतिमा राखिएको छ । युद्धले छियाछिया बनाएको महत गाउँमा राखिएको बुद्धको शालिकले शान्ति फर्केको सन्देश दिएको महसुस हुन्छ ।

माओवादीको आधार इलाका मानिने रोल्पाको थबाङ प्रवेश गर्ने मुख्य ठाउँ हो, महत गाउँ । यहाँ विद्रोही पक्ष र सुरक्षाकर्मीबीच पटक–पटक भिडन्त भए । युद्धको चपेटामा धेरै सर्वसाधारण परे ।

‘माओवादीले आएर पनि यही लडाइँ गरे, सेनाले पनि यहीं लडें,’ युद्धमा छोरा गुमाएका स्थानीय जुनसरा सुनार भन्छिन्, ‘त्यसको मार सधैं हामीले खेप्यौं ।’ दुवै पक्षको आउजाउ हुने ठाउँ भएकाले महत गाउँका मानिसमाथि थुप्रै ज्यादती भए ।

युद्धकै समयमा मारिएका थिए सिंहबहादुर र विष्णु बुढाका १३ वर्षीय छोरा । उनका छोरा स्कुलबाट घर फर्कंदै गर्दा बाटोमा सेनाको गोली लागेर उनको निधन भएको थियो । त्यसको एक वर्षपछि उनीहरुका माइला छोरा जंगलमा मृत अवस्थामा भेटिएका थिए ।

युद्धमा सन्तान गुमाएका सुनार र सिंहबहादुर दम्पतीको मनमा त शान्ति नछाउला, तर गाउँमा शान्ति फर्किएकोमा उनीहरु पनि खुसी छन् । अब अरु कसैको परिवारमा यस्तो बग्रपात नपरोस् भन्ने उनीहरु चाहन्छन् ।

महत गाउँकै बिनकुमारी बुढाले द्वन्द्वकालमा आफ्नी ६ वर्षीया छोरी गुमाइन् । ‘सेनाको गोली लागेर काखमा भएको छोरीको मृत्यु भयो, म र नन्दलाई खुट्टामा गोली लाग्यो,’ उनले भनिन् ।

युद्धविरामपछि उनको शरीरको गोली निकालियो, तर मनमा नमेटिने घाउ छ । तर अब अरु कसैले यस्तो घाउ बोकेर हिड्नु नपरोस् भनेर उनी भन्छिन् ।

बुुद्धको शान्ति सन्देश

महत गाउँमा युद्धपछिको शान्तिको संकेतका रुपमा गाउँको बीचमा गौतम बुद्धको स्मारक स्थापना गरिएको छ । बुद्धको प्रतिमा र शहीद स्मृति पार्क पनि निर्माण गरिएको छ ।

‘महत गाउँ अब शान्त छ,’ स्थानीय कमल थापा भन्छन्, ‘फेरि कुनै युद्ध नदोहोरियोस् भन्न बुद्धको स्मारक राखेर शान्तिको सन्देश दिन खोजिएको हो ।’

द्वन्द्वको समयमा पीडा भोगेको महत गाउँमा युद्धका घाउ बिर्साउन शान्ति पार्क स्थापना गरिएको भुमे गाउँपालिका–६ का वडाध्यक्ष देवबहादुर बुढाले बताए ।

‘दश वर्षसम्मको द्वन्द्व सामुुन्ने देखेभोगेका गाउँले अब शान्ति चाहन्छन्,’ उनले भने, ‘शहीद परिवारलाई सान्त्वना दिन र घाउ बिर्साउन गाउँमा शान्ति स्मारक स्थापना गरिएको छ ।’

समाजमा द्वन्द्वको व्यवस्थापन गरी दिगो शान्ति स्थापना गर्न शान्तिका प्रतीक गौतमबुद्धको सालिक निर्माण गरिएको बुढा बताउँछन् । ‘युद्धबेला हिजो मारकाट थियो, अब त्यस्तो छैन,’ उनी भन्छन् । गाउँमा बुद्धको सालिक निर्माणपछि आफूहरूको पीडामा केही मलम लगाउने काम गरेको द्वन्द्वपीडित बताउँछन् ।

भूमे गाउँपालिकाले महत गाउँलाई युद्ध पर्यटनको रुपमा विकास गर्ने योजना समेत बनाएको छ । ‘हामीले शान्तिकै लागि क्रान्ति गरेका थियौं, जनताको मुक्तिसहितको शान्ति हाम्रो सपना हो,’ गाउँपालिका अध्यक्ष रामसुर बुढाले भने, ‘त्यही भएर हामीले युद्ध फिचर र शान्तिका प्रतीक गौतम बुद्धको स्मारक एकै ठाउँमा बनाएका छौं ।’

युद्ध फिचर

महत गाउँकै सिरानमा युद्धको झल्को दिनेगरी भूमे गाउँपालिकाले युद्ध फिचर निर्माण गरेको छ । युद्ध फिचरमा विद्रोही र राज्यपक्षबीचको लडाइँ भइरहेको दृश्यमा आधारित रहेर बनाइएको छ भने युद्धमा सहभागी भएका माओवादी लडाकुहरुको प्रतिमा समेत बनाइएको छ ।

२०५६ साल असोज ४ गते महत प्रहरी चौकी आक्रमणमा माओेवादी र प्रहरीबीच भएको भिडन्तको झल्को दिनेगरी युद्ध फिचर तयार गरिएको छ । असोज ६ गते राति महत गाउँमा तत्कालीन विद्रोही पक्षका माओवादीका लडाकु र प्रहरीबीच ठूलो भिडन्त भयो । माओवादी लडाकुले प्रहरी चौकी आक्रमण गरी कब्जा गरे ।

चौकीबाट सरुवा भइसकेका तर चौकी नछाडेका डीएसपी ठूले राईलाई नियन्त्रणमा लिए । जुन युद्धको क्रममा सबभन्दा ठूलो प्रहरी अधिकारी विद्रोहीको कब्जामा परेको पहिलो घटना थियो । सोही घटनामा आधारित महत गाउँको सिरानमा युद्ध स्मारक बनाइएको हो ।

युद्ध स्मारकमा तयार गरिएका सालिक भने शहीदको नभएर जीवित व्यक्तिका हुन् । युद्ध स्मारकमा ६ जना माओवादी लडाकुको सालिक राखिएको छ, जसमध्ये पाँच जना जीवित छन् । तीमध्ये एक उपराष्ट्रपति नन्दबहादुर पुन हुन् ।

युद्ध स्मारकमा उपराष्ट्रपति पुनसहित रोल्पाका हरिबहादुर पुन, रुकुम पूर्वका होमप्रकाश श्रेष्ठ, कृष्ण रेग्मी र जितबहादुर बुढाको सालिक बनाइएको छ । रुकुम पश्चिमका किशोर घर्तीमगरको पनि सालिक बनाइएको छ । उनी सशस्त्र युद्धका क्रममा मारिएका थिए ।

युद्ध स्मारकले समग्र युद्ध र त्यसमा त्याग, योगदान गरेकाहरूको प्रतिनिधित्व गर्ने युद्ध स्मारक उपभोक्ता समितिका अध्यक्ष समेत रहेका स्थानीय कमल थापाले बताए ।
गाउँपालिकाले २०७४ सालमा २० लाख रुपैयाँभन्दा बढी रकम खर्च गरेर युद्ध फिचर तयार गरेको हो ।



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्