गोरखापत्रमा विज्ञापन, टिकट दर ५० पैसा – Online Khabar


२५ चैत, काठमाडौं । वि.सं. २०३२ सालको भदौ पहिलो साता भारतमा धर्मेन्द्रको फिल्म ‘सोले’ले हलहरु हाउसफुल थिए । भारतमा चलेका अधिकां फिल्महरु नेपाल पनि आइपुग्ने गर्‍थ्यो । तर त्यो फिल्मले नेपाली हलहरुमा ठाउँ पाएन । कारण थियो त्यतिबेला नेपालको बारेमा उनले दिएको विवादास्पद अभिव्यक्ति । उनको अभिव्यक्तिका कारण नै फिल्मलाई नेपालमा प्रतिबन्ध लगाइएको थियो ।

तर धर्मेन्द्रका नेपाली फ्यानहरुले राष्ट्रवाद बिर्सिएर नजिकको सीमापारि गएर फिल्म हेर्न थाले । धर्मेन्द्रलाई मनपराउने काठमाडौंका युवाहरु पनि समूह बाँधेर लुकिछिपी रक्सौल पुगेर फिल्म हरेर फर्किन्थे । त्यसरी भागेर फिल्म हेर्नेमा एक थिए चलचित्र समीक्षक विजयरत्न तुलाधरका दाइ लगायतको समूह । यो घटनाले त्यतिबेलाको नेपाली चलचित्रप्रति नेपालीको क्रेज कति थियो भन्ने देखाउँछ ।

त्यतिबेला विजय त्यस्तै १२ वर्षजतिका थिए । ‘मामाघरमा बस्दा हजुरआमादेखि सानिआमासम्म नियमित हलमा गएर चलचित्र हेर्ने गर्नुहुन्थ्यो ।’ उनी सम्झन्छन् ‘त्यही भएकोले पनि मैले ८ वर्षको उमेरमै जयनेपाल हलमा गएर ‘ब्रह्मचारी’ हेर्ने अवसर पाएका थिए । त्यो नै उनले हेरेको पहिलो चलचित्र हो । ‘इन्टरभलमा घरमै बनाएको चतामरी वा अन्य खाजा खाइन्थ्यो, त्यतिबेला उपत्यकाका सबैको रोजाइमा न्युरोडको रञ्जना हल पर्दथ्यो । बाहिर सुन्दर देखिने र खुला ठाउँमा रहेको रञ्जनामा शहरको बीचमा भएर पनि होला धेरैको रोजाइमा पर्दथ्यो ।’ उनी सम्झन्छन् ।

 

तर विजयले भनेजस्तै बाहिर हलहरु जति राम्रा देखिन्थे हलभित्रको अवस्था भने उस्तै झुर लाग्ने खालका हुन्थे । २०२६ सालमा काठमाडौं आएका फिल्म क्षेत्रका जानकार वसन्त थापा त्यतिबेलाको चलचित्र हल जाँदाको पीडा भनिसाध्य नरहेको सुनाउँछन् ।

‘जति नै धेरै मान्छे भए पनि अहिलेको जस्तो लाइन बस्ने भन्ने हुँदैन’थ्यो । अव्यवस्थित भीडमा जो शक्तिशाली हुन्छ उसैले टिकट पाउँथे । भीडमा ठेलमठेल गर्दै जो झ्यालसम्म पुग्न सक्यो उसैले टिकट पाउँथे । एउटा कठिन युद्ध जिते जस्तै हुन्थ्यो टिकट पाउन । समग्रमा त्यतिबेला हलमा फिल्म हेर्न त्यति सजिलो थिएन । टिकट पाएर मात्रै पनि सुख थिएन । हलभित्रको उकुसमुकुसले बसिनसक्नु हुन्थ्यो । सिटहरु त्यस्तै बिग्रेभत्केका हुन्थे । कहिले पूरा फिल्म हेर्नै नसक्ने खालको त कुनैमा बस्दा पाइन्ट च्यातिन्छ कि भनेर हेर्नुपर्ने । टिनको छानोले छाएको हलमा बर्खा याममा त आवाज सुन्न पनि मुस्किल हुन्थ्यो । तर पनि यस्तै भए पनि हलमा मान्छेको घुइँचो भने कम्ती हुने थिए ।

नेपाली हलको यो अवस्था २०३० को दशकको मध्यतिरबाट बिस्तारै सुध्रिन थाल्यो । तुलाधर सोलेको प्रदर्शनीको समयमा धेरै नेपालीले भारतमा पुगेर चलचित्र हेरेपछि बिस्तारै नेपाली हलमा पनि पर्दा र आवाजमा सुधार आउन थालेको सुनाउँछन् । वि.सं. २०४१ सालमा कुमारी हल स्थापनापछि भने नेपाली हलमा फिल्म मात्रै नभएर अन्य सुविधा समेत बिस्तारै थपिन थाले ।

राणाकालमा टुसाएको फिल्म संस्कृति

नेपाली चलचित्रको इतिहासलाई उत्खनन् गर्ने एउटै स्रोत हो पुरानो गोरखापत्र । राणाशासन कालमा गोरखापत्रमा फिल्महल सञ्चालन गर्ने सूचनादेखि राणा प्रधानमन्त्रीहरुले चलचित्र हेरेकोसम्मका समाचार गोरखापत्रको विभिन्न अंकमा छापिएको छ । गोरखापत्रको विभिन्न अंगमा भेटिएको सूचनाको आधारमा भन्दा नेपालमा चलचित्र हेर्ने संस्कृतिको सुरुवात गर्ने प्रधानमन्त्री देवशमशेर हुन् ।

गोरखापत्रको पहिलो र तेस्रो अंकमा देव शमशेरले सर्वसाधारणलाई सिनेमा देखाएको, २००२ मा पद्मशमशेरले निजी थिएटरमा विद्यार्थीलाई सिनेमा देखाएको, २००६ सालमा मोहन शमशेरले सिनेमा घर बनाएको जस्ता प्रसंगहरु राणा शासनकालमा गोरखापत्रमा छापिएका थिए । २००६ साल मंसिरमा तत्कालीन म्युनिसिपालिटीको मातहतमा रहनेगरी चलचित्र घर स्थापना भएको कुरा पनि त्यतिबेलाको गोरखापत्रमा उल्लेख छ । २००६ साल मंसिर २७ गतेको गोरखापत्रमा ‘काठमाडौँमा सिनेमा उद्घाटन’ शीर्षक छापिएको समाचारमा भनिएको छ :–

‘आज काठमाडौं सिनेमा भवनमा सिनेमा प्रदर्शनको काम भयो । त्यस भवनवरिपरि रंगीचंगी ध्वजापताकाहरू टाँगिएका थिए । पस्ने ढोकामा रातो तुलमा सेतो अक्षरले श्री ३ महाराजको जय भन्ने लेखिएको थियो । भवनभित्र ठाउँठाउँमा सुशोभित पूर्ण कलशहरू राखिएका थिए । सरोकारवाला अड्डाका कर्मचारीहरूद्वारा रामविवाह भन्ने सिनेमाको उद्घाटन भयो । सिनेमा भवनको भित्री भागको सजधज एउटा प्रसिद्ध सिनेमा भवनको दाँजोमा दाँज्न सकिन्थ्यो । यस तमासाको दर्शनले सबैको चेहरा बडो प्रफुल्लित देखिन्थ्यो । भवनअगाडि चौरमा पनि धेरै मानिस जम्मा भएका थिए । दिनको २ पटकका दरले सिनेमा देखाउने प्रबन्ध भएको छ ।

चलचित्र क्षेत्रका जानकारहरु त्यतिबेला चलचित्र हल खुल्नुको पछि मुख्य २ कारणहरु देख्छन् । पहिलो त, भारत भ्रमणमा आउजाउ गरिरहने राणा प्रधानमन्त्रीहरुले उता जनतालाई सिनेमा हेर्न छुट दिँदा त्यसबाट आम्दानी भएको करले पूर्वाधार विकास गर्न सकिन्छ भन्ने देखेका थिए । अर्काे, नेपालमै हल खोलेर सीमित सिनेमा हेर्न दिने हो भने सीमा पारि गएर राजनीतिक चेतना फैलिने सिनेमा हेर्ने संस्कृति कम हुन्छ भन्ने उद्देश्यले पनि हल खोलिएको हुन सक्ने जानकारहरु बताउँछन् । त्यतिबेला नेपालमा राजनीतिक विषय वस्तुको फिल्म भने चलाउन प्रतिबन्ध थियो ।

कति पर्‍थ्यो फिल्मको टिकट ?

हलमा गएर फिल्म हेर्नको लागि अनेक शुल्क तोकिएको थियो । गोरखापत्रमा छापिएको सूचनालाई आधार मान्दा राणा शासनकालसम्म दिउँसो १२ बजेदेखि २ बजेसम्म र साँझ ४ बजेदेखि ७ बजेसम्म २ शोमा फिल्म चल्थे । मंगलबार र शनिबारको १२ बजेदेखिको शो महिलाको लागि मात्रै भनिएको थियो ।

सिनेमा हेर्ने गरेको थिएटर राणा प्रधानमन्त्रीहरुले पहिले नै बनाएको भए पनि सर्वसाधारणको लागि नै भनेर खुलेको हल भने हाल विशालबजार रहेको ठाउँमा रहेको जनसेवा हल नै हो । जुन पहिले नगरपालिकाको मातहत चल्थ्यो ।

फिल्म हलमा जानको लागि ५० पैसादेखि ५ रुपैयाँसम्मको शुल्क तोकिएको थियो । फोर्थ क्लासको लागि ५० पैसा, थर्ड क्लासको लागि एक रुपैयाँ, सेकेण्ड क्लास १ रुपैयाँ ५० पैसा, फस्ट क्लासको लागि २ रुपैयाँ ५० पैसा र बक्सको लागि पाँच रुपैयाँ तोकिएको कुरा तत्कालीन समयको गोरखापत्रमा प्रकाशित सूचना र समाचारबाट थाहा हुन्छ । यो शुल्क ३० सालसम्म जारी रहेको तुलाधर बताउँछन् ।

त्यतिबेला टिकटमा कालोबजारी भएको विषयमा पनि गोरखापत्रमा समाचार भेटिन्छ । काउन्टरमा पाँच रुपैयाँ पर्ने बाल्कोनीको टिकटलाई २५ रुपैयाँसम्ममा बेच्ने चलन राणा शासनकालदेखि पछिसम्म पनि चलेको देखिन्छ । वि.सं. २००७ साल चैत २७ गते गोरखापत्रमा प्रकाशित समाचारमा भनिएको थियो ‘आज काठमाडौँ सिनेमा हलमा तेस्रा सोको बालकोनीको टिकट जनतालाई बिक्री नगरी ब्लाक गर्‍यो भन्ने निहुँले बडो गोलमाल भएको खबर छ ।’ यस्तै स्थिति ३० को दशकको आसपासमा पनि भएको सुनाउँछन् चलचित्र क्षेत्रका जानकार थापा । ‘दुवै हात खल्तीमा राखेर गेटमा उभिएकाहरुले सिधै ब्ल्याकमा टिकटको लागि अफर गर्थे । कसैले प्रेमिकालाई फिल्म देखाउन ल्याएका हुन्थे त कोही परिवारसँग आएका हुन्थे । काउन्टरमा टिकट पाइन्छ कि पाइँदैन भन्ने यकिन हुँदैन’थ्यो । त्यसैले पैसा हुनेहरुले ब्ल्याकमा पनि खुसीखुसी टिकट किन्ने गर्थे ।’

अहिले र पहिलेको हलको व्यवस्थापन प्रणालीमा पनि धेरै फरक छ । पहिला एउटा फिल्मको चार/पाँचवटा प्रिन्ट मात्र हुन्थे, त्यसैले साना हलहरूले प्रिन्ट पाउनै मुस्किल हुन्थ्यो । त्यही कारण धेरै हल बन्द भए । तर, अहिले डिजिटल प्रविधिले एउटै फिल्म एकैपटक जतिवटा हलमा पनि चलाउन सकिन्छ । तुलाधर सम्झन्छन् ‘विदेशी फिल्मलाई नेपालमा चलाउने ठेकेदारहरु धेरै थिए । त्यसमध्ये माइलादाइ भन्ने अग्लो गोरो एकजना थिए । आफ्नो झोलामा रिल बोकेर उनी हलहल कुद्ने गर्थे । एउटा हलमा हेरिसकेपछि अर्काे हलमा पुर्‍याउनु पर्‍थ्यो । चलचित्र हलमा फिल्म हेर्दैगर्दा रिल काटिने समस्याबारे थापा पनि आफ्नो अनुभव सुनाउँदै भन्छन् ‘फिल्म हेर्दाहेर्दै बीचैमा रिल काटिएर त्यसै रोकिनुपर्‍थ्यो । रिलको तालमेल नमिल्दा राम्रो आवाज सुनिने थिएन ।’

फिल्महलको विकासक्रम

सिनेमा हेर्ने गरेको थिएटर राणा प्रधानमन्त्रीहरुले पहिले नै बनाएको भए पनि सर्वसाधारणको लागि नै भनेर खुलेको हल भने हाल विशालबजार रहेको ठाउँमा रहेको जनसेवा हल नै हो । जुन पहिले नगरपालिकाको मातहत चल्थ्यो । तुलाधर वि.सं. २०११ मा न्यूरोडमा रञ्जना हल स्थापना भएको सुनाउँछन् ।

त्यतिबेला अहिलेको जस्तो मनोरञ्जनका अनेक साधनहरु थिएनन् । त्यसैले पनि सिनेमा हल तन्नेरी र अरु उमेरका मान्छेको लागि पनि मनोरञ्जनको स्थल थियो । प्रेमीले प्रेमिका फकाउन होस् या फुर्सदिला दौतरीको समय बिताउने ठाउँ पनि फिल्म हल नै थियो । तर फिल्म हलमा फिल्म हेर्नको लागि गर्नुपर्ने संघर्ष र भागदौडलाई चलचित्रका दृश्यहरुले भुलाइदिन्थे ।

प्रजातन्त्र प्राप्तिपछि नै काठमाडौंमा फिल्म हलको संख्या सीमित भए पनि हेर्ने दर्शकको संख्या ठूलो थियो । यसमा आकर्षण बढ्दै गएपछि बिस्तारै हलहरु बढन थाले । अरु बार फुर्सदिलाहरुको र बिदाको दिन कामकाजी मान्छे पनि हलमा पुगेर मनोरञ्जन लिने गर्थे । एकाध नेपाली फिल्म त बन्थे तर हलमा चल्ने भारतीय फिल्ममा पनि मान्छेको लगाव उधुमै थियो । राज्यले पनि फिल्मलाई महत्वका साथ हेर्ने गर्‍थ्यो ।

त्यही बेलादेखि नै फिल्महललाई ‘मन्दिर’को उपमा दिन थालियो । यसको कारण के होला ? भन्ने प्रश्नमा तुलाधर सम्झन्छन् ‘मुम्बईमा मराठा मन्दिर भन्ने एउटा चर्चित फिल्म हल थियो । त्यसैको नामबाट प्रभावित भएर हुन सक्छ जयनेपालले पनि मन्दिर भन्ने नाम राख्यो । भक्तपुरमा नवदुर्गा चित्र मन्दिर भन्ने अर्काे हल खुल्यो । यसरी नै फिल्म हललाई चलचित्र मन्दिरको रुपमा पनि चिनाउन थालिएको हुन सक्छ ।’

वि.सं २०२० को दशकको अन्तिमतिर पुग्दा काठमाडौंमा मुख्यतः ५ वटा हलहरु बढी चर्चित थिए । काठमाडौंको जमलमा विश्वज्योति हल, नक्सालमा जय नेपाल चलचित्र मन्दिर, न्युरोडमा रञ्जना हल सञ्चालन, ललितपुरमा अशोक हल र भक्तपुरमा नवदुर्गा हल सञ्चालनमा थिए ।



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्