पूर्वको सेरोफेरो : पहाडी जनजीवनको छायाचित्र


१९ चैत, काठमाडौं । कोलाहलमय काठमाडौंमा प्रदूषणले खतराको तह पार गर्दै थियो । विश्वले प्रदूषित सहरको रुपमा काठमाडौंलाई चिन्दै थियो । तर हामीहरू भने शान्त, सुन्दर र स्वर्गीय आनन्दको अनुभूति दिलाउने सपनाको दुनियाँतिरको यात्रामा निस्किएका थियौं ।

सुदूरपूर्वको चर्चित शक्तिपीठ पाथीभरा । प्राकृतिक छटालाई वसन्तले सिँगारेको मनमोहक दृश्यले झनै सुन्दर बनाएको छ । त्यही सुन्दर छटाहरूको अवलोकन गर्दै चैतको दोस्रो साता मैले पनि ताप्लेजुङमा रहेकी देवी पाथीभराको दर्शन गर्ने अवसर पाएँ ।

सिन्धुलीको नागबेली बाटो, इलामको सुन्दर चियाबारी हुँदै पुगिने पाथीभराको यात्राबारे यकिन भएसँगै त्यसप्रति एउटा फ्रेम मस्तिष्कमा बनिसकेको थियो । मस्तिष्कको फ्रेम र यथार्थ भूगोलमा धेरै फरक हुन्छ, तर कुनै ठाउँमा जानुपूर्व मस्तिष्कले फ्रेम नबनाइ बस्न पनि मान्दैन । उग्र गर्मीको ठाउँ झापादेखि, तीव्र चिसोको ठाउँ पाथीभरासम्मलाई मानचित्रमा राखेर बिहान साढे ५ बजे मसहितको टोली पाथीभराको लागि काठमाडौंबाट निस्कियो ।

हाम्रो पहिलो दिनको यात्रा इलामसम्मको थियो । चैतको गर्मीमा तराईका जिल्लामा हुने अचाक्ली गर्मी छल्दै १४ घण्टामा हामी इलाम पुग्यौं । एकैदिनमा करिब ५०० किलोमिटरको यात्रा मेरो जीवनको सबैभन्दा लामो यात्रा थियो । दिनभरिको चर्को गर्मीपछि हामीलाई इलामको शीतल हावाले स्वागत गर्‍यो । त्यही शीतलताले हाम्रो दिनभरको थकान मेटायो ।

दोस्रो दिनको हाम्रो यात्रा इलामबाट ताप्लेजुङतिर सोझियो । पहाडी सडक, उकाली र ओरालीसँगै नागबेली घुम्तीले बेलाबेलामा मनमा चसक्क चस्का मारिरहन्थ्यो । दायाँ-बायाँ चिया बगानबाट आउने सुगन्ध, कतै बाँसका झ्याङबाट चिरबिर आउने चराको आवाजले आफैंलाई बोलाइरहेझैं लाग्थ्यो । हावाले हल्लाइरहेको अम्रिसोको बोटले हामीलाई नै बिदाइ गरिरहे जस्तो लाग्थ्यो ।

१२ बजेतिर हामी फिदिम पुग्यौ । वसन्त ऋतुसँगै पालुवाले सुन्दरता भरे पनि मौसम नखुलेपछि धेरै टाढासम्मको दृश्य देख्न सकिएन । पहाडी भेगको जङ्गलमा पुरानो पात झरेर नयाँ पाउला पलाएको छ, काला चिल्ला सडकमाथिको शान्त वातावरणले मनै आनन्द आउने ।

पूर्वी पहाडको पहिलो यात्रामा मौलिकता जोगाउने अनेकौं दृश्यहरू देखिए । ती आफैंमा रोमाञ्चक र प्रफुल्लित बनाउने खालका थिए । अन्यत्र लोप हुन लागिसकेका खरको छानो, माटोको घरमा रातो माटो र कमेरो पोतेको भेटियो ।

पाँचथर र ताप्लेजुङ्गको सिमाना काबेली पुलमा पुगेर हामीले केहीबेर आराम गर्‍यौं । केहीबेरको थकाइ मारेपछि पहाडको बाटो छिचोल्दै २ बजेतिर हामी ताप्लेजुङ पुग्यौँ । त्यहाँबाट हाम्रो यात्रा सानोफेदी हुँदै ठूलो फेदीसम्म पुग्यौं । त्यहाँ पुग्दासम्म पानी पर्न सुरु भइसकेको थियो । दोस्रो दिनको हाम्रो यात्रा त्यहीं टुंगियो ।

ढुंगा बिच्छ्याएको बाटोमा जुनको प्रकाशको सहारामा हामीले तेस्रो दिनको यात्रा सुरु गर्‍यौं । सोही बाटो बिहान २ बजेदेखि नै दर्शनार्थीहरुले यात्रा सुरु गरिसकेका थिए । तर हामीले बिहान ५ बजेदेखि  यात्रा सुरु गर्‍यौं । उकालो लाग्दै गर्दा मुस्कुराउँदै गरेका सेता हिमालहरु देख्न थालियो । त्यसले झनै थकान मेट्न थाल्यो ।

तरुण तन्नेरीहरु मात्रै होइन, बालबालिकादेखि बुढाबुढीहरु समेत लठ्ठीको साहारामा पाथीभरा देवीको दर्शनको लागि यात्रा भरिरहेका थिए । उनीहरुको जोशलाई प्रशंसा गर्दै हामी पनि आफ्नो यात्रामा अघि बढिरहृयौं । शान्त वातावरण, स्वच्छ हावा, मकै र सातुको स्वादले सम्भावित लेक लाग्ने समस्याबाट जोगाइरहेको थियो ।

यात्रा सुरु गरेको डेढ घण्टामै हामी पाथीभरा मन्दिर पुग्यौँ । पाथिभराको सानिध्यमा पुगेसँगै सारा थकान भुलेर स्वर्गीय आनन्द महसुस हुन थाल्यो ।



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्