अनुभूतिमा मेरो पहिलो रजस्वला – Online Khabar


नेपालको राजधानीको रूपमा परिचित भक्तपुरको दधिकोटमा जन्मिएर आफ्नो बाल्यकालको सम्पूर्ण रूपरेखालाई नजिकबाट नियाल्ने छोरीमध्येमा म पनि एक हुँ। समय बित्दै थियो- आफ्ना साथीसंगति, परिवेशले निकै परिपक्व र अनुभव बटुल्न सघाउँदै थियो।

एकदिनको कुरा हो। म करिब १३ वर्षकी थिएँ एक्कासी मलाई रजस्वलाको अनुभव भयो। कता कता आत्तिएको जस्तो पनि भयो। मेरा केही दिदीहरू पनि रजस्वला हुँदा मेरो घरमा लुक्न आउने गर्दथे। कारण हाम्रो गाउँमा न्यौपाने थर भएको घरहरू धेरै थिए। ती सबै दाजुभाइ पर्ने भएकाले बस्न हुँदैन भनिन्थ्यो।

यहाँसम्म कि दाजुभाइलाई हेरियो वा देखियो भने पनि आयु घट्छ भन्ने डरले उनीहरू हाम्रोमा आउँथे। किनकि हामी गौतम थरका। सबैले हाम्रो घरमा लुकाउन ल्याउने चलन थियो। हामी सानै हुँदादेखि नै त्यो समयको भोगाइ प्रत्यक्ष रूपमा अनुभव गर्न सक्यौं। फलस्वरूप मलाई उक्त क्षणको सामना गर्नमा सहज भएछ कि भन्ने अहिले लाग्दछ।

पहिलो चोटि रजस्वला हुँदा घरमा विवाहको उत्सव थियो। त्यो विवाहको उत्सवमा आफू एक्लै कुनामा लुकेर, कुण्ठित जीवन बिताउनुपर्ने समयको कल्पना पनि गर्न सकिनँ। मैले कसैलाई नभन्ने संकल्प गरें। अलिकति डरलाई पनि मिसाएर अठोट गरें। जे पर्ला त्यही सहुँला भन्ने आत्मविश्वास बटुलें। मनमा अनेक किसिमका कुरा खेल्दै थिए। साथीलाई भनौं कि, बहिनीलाई पो भनौं कि ? फेरि कुलदेवताले नराम्रो पो गर्ने हुन् कि ? बिहेमा रमाउँदै गर्दा कुर्तामा रगतको टाटो पो देख्ने हुन् कि ? फेरि दाजुभाइ, बुवा, ठूलोबुवा, अंकलहरूको आयु पो घट्ने हो कि ? पहिलोचोटि रजस्वला हुँदा त टेकेको ठाउँको दूबो पनि मर्छ रे भन्ने सुनेकी थिएँ। प्रकृतिले पनि सराप्ने पो हो कि भन्ने जस्ता यावत् कुराले मानसपटलको शान्ति खलल भयो। तर पनि सम्हालिएर रमाउने कोसिस गरें।

घरको विवाह पनि सकियो। अब परिस्थिति सामान्य बन्दै गयो। मेरो मानसिक उथलपुथल पनि काम हुँदै गयो। उमेरले १३ काट्दै थिएँ म। मेरी आमा १३ वर्षको उमेरमा रजस्वला हुनुभएको रे। उहाँले छोरी किन रजस्वला भइनन् भनेर कुरा चलाउन थाल्नुभयो। म मौन बसें।

मनमनै सम्झिएँ- म पनि त आमाकै उमेरमा रजस्वला भएछु त ! तर यसलाई आफैंसँग राखें।

घरमा विवाह उत्सव नभएको भए रजस्वला भएको कुरा भन्ने थिएँ होला। यसमा मेरो के दोष भन्दै आफूले आफैंलाई सहानुभूति दिएँ। पहिलो रजस्वला भएको ६ महिनापछि म पुनः रजस्वला भएँ। त्यो मेरो दोस्रो रजस्वला थियो तर समाजले, परिवारले पहिलो रजस्वलाको रूपमा स्वीकार गर्दै मलाई थुनामा राख्ने निर्णय गर्दै थिए।

म पनि त्यही समाजको मान्छे अछुतो त कहाँ रहन सक्थें र। १२ दिनको लागि मलाई पनि अछुतो र बन्धक बनाइयो। आमाहरूले भनेका सबै कुराहरूसँग तर्क–वितर्क गर्न र नकार्न त सकिनँ तर एउटा अन्वेषण चाहिं गरेछु। आज महसुस हुन्छ।

मेरो आमाले ‘रजस्वला भएकी महिलाले दुबोमा कुल्चियो भने दुबो पनि मर्छ रे’ भन्नुभयो। मैले घर नजिकै धाराको छेउको दुबोलाई मज्जाले कुल्चिएँ र ४-५ दिन पछि हेरें। दुबो त उस्तै छ। यही कुरा आमालाई प्रत्यक्ष देखाएँ। उहाँले भन्नुभयो- ‘धेरै नचाहिने कुरा नगर्।’

तर मलाई त्यस दिन संसारकै राम्रो काम गरे झैं लागेको थियो। आखिर सत्य चाहिं यही हो भन्ने अनुभव भयो। गाईको दूध खान नहुने, दाँत माझ्न नहुने, दाजुभाइलाई हेर्न नहुने, स्कुल जान नमिल्ने, अलग्गै बस्नुपर्ने, भाँडाकुडा पनि छुट्टै राख्नुपर्ने जस्ता नियम चलाइएका थिए। चोखो हुँदा नुहाएको कपालमा तोरीको तेल चोखिनको रूपमा लगाउनुपर्ने अनि मात्र शुद्ध हुने लगायत थुप्रै चालचलन, रीतिरिवाज, संस्कृतिले जकडेको हाम्रो समाज हो यो।

योभन्दा पनि धेरै दूरदराजमा दर्दनाक कथा बोकेका छोरीहरू प्रतिनिधि पात्र र त्यसभित्रका अमूर्ततालाई हेर्दा एकदमै दुःख लाग्छ। हरेक आमा, आमा बन्नु भन्दा अगाडि छोरीको जिम्मेवारी निभाएर आएका हुन्छौं। त्यसैले हामी आमाहरूले पनि सोचमा परिवर्तन ल्याउनु जरुरी छ। हाम्रा छोरीहरूको अनुभव, भोगाइ, सामाजिक, मानसिक उत्पीडन जस्ता कुराहरूले धेरैलाई आत्मग्लानि गराउँछ। आत्मविश्वासलाई डगमगाउन खोजिन्छ। यस्ता प्रताडना भोगेका धेरै पात्रको उदाहरण अझै पनि जीवन्त छन्।

तर अहिले समय परिवर्तन भएको छ। चेतनाको स्तर विकास हुँदैछ। छोरीहरू पहिलोपटक रजस्वला हुँदा उत्सवको रूपमा कार्यक्रम नै आयोजना गरेर आमा भन्न योग्य भएकोमा बधाई दिने प्रचलनको पनि विकास हुँदैछ। त्यस ठाउँमा पुनः म आफूलाई राखेर अझै कल्पना गर्छु। कति आत्मसम्मानको अनुभूति हुन्छ होला।

जे भए पनि यस्ता मनोकल्पित प्रथाहरूको विकास पनि हामी आफैंले गरेका हौं र यसको अन्त्य पनि हामी आफैंले गर्नुपर्छ र सुरुवात पनि आफैंबाट गरियो भने हाम्रा छोरीहरूले हामीले जस्तो उत्पीडन भोग्नु अवश्य पर्ने छैन।



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्