थपियो उडान, घटेन भाडा

थपियो उडान, घटेन भाडा

गुण एयरलाइन्सले शनिबारदेखि सुर्खेत–काठमाडौं नियमित हवाई उडान सुरु गर्‍यो । तर यो रुटमा एयरलाइन्सले कायम गरेको भाडादरमाथि व्यंग्य गर्दै आत्मराम भट्टराईले सामाजिक सञ्जालमा लेखे, ‘कोभन्दा को कम ? कर्णाली हो जति सक्छौ गर ।’ उनको स्टाटसमाथि प्रतिक्रिया दिँदै धेरैले सुर्खेत–काठमाडौं उडान गर्दा यात्रुले कहिल्यै सहुलियत नपाएको भन्दै गुनासो गरेका छन् ।

फेसबुकमै नीरज ढकाल लेख्छन्, ‘भाडाकै कारण यात्रु अभाव भएर एयरलाइन्सले सुर्खेत उडान बन्द गर्न परोस् ।’ ढकालले नेपालगन्ज–काठमाडौं उडान गर्दा लाग्ने भाडाभन्दा सुर्खेत–काठमाडौंको भाडा झन्डै तेब्बर बढी भएको गुनासो गरे । ‘नेपालगन्ज–काठमाडौं र सुर्खेत–काठमाडौं उडान गर्ने एउटै एयरलाइन्सको भाडादरमा ५ हजार रुपैयाँसम्मको फरक छ,’ उनले भने ।

बुद्ध एयरले सुर्खेत–काठमाडौं एकलौटी रूपमा उडान गरिरहेकोमा गुण एयरलाइन्स पनि थपिएपछि भाडादर सस्तो हुने आस यात्रुको थियो । तर भाडादर नघट्दा यात्रु निराश छन् । बरु नेपालगन्जसम्म सडक यातायातबाट गई हवाई सेवा लिँदा सस्तो पर्ने उनीहरूको भनाइ छ ।

सुर्खेत–काठमाडौं नियमित उडानका लागि गुणले बुद्धको भन्दा सय रुपैयाँ कममा टिकट बुकिङ गरेको छ । बुद्धले ८ हजार ६ सय ४५, ९ हजार ६ सय ४५ र ११ हजार ५ सय २० रुपैयाँ भाडा लिइरहेकोमा गुणले ८ हजार ५ सय ४५, ९ हजार ५ सय ४५ र ११ हजार ४ सय २० रुपैयाँ टिकट दर कायम गरेको छ । बुद्ध एयरका स्टेसन इन्चार्ज नरबहादुर बस्नेतले आफूहरूले कायम गरेको भाडादर उड्डयन प्राधिकरणको मापदण्डअनुसारकै भएको दाबी गरे । ‘हामीसँग बोर्डले नै कायम गरेको ३ वटा मात्रै फेयर छ,’ उनले भने, ‘नेपालगन्जसँग ६ वटा फेयर भएकाले पनि भाडादर कम छ ।’

श्री एयरलाइन्सले गत माघमा काठमाडौं–सुर्खेत सफल परीक्षण उडान गरेको थियो । तत्काल नियमित उडान गरिने बताएको कम्पनीले हालसम्म सेवा सुरु गरेको छैन । प्राधिकरणबाट अनुमति नपाएकाले उडान हुन नसकेको श्री एयरका प्रवक्ता अनिल मानन्धरले बताए । भाडादरका विषयमा भने उनले ‘डिमान्ड’ र ‘सप्लाई’ को आधारमा कायम हुने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0