दर्शनशास्त्र विभागको पतन र आर्टिफिसियल इन्टेलिजेन्सको उदयले पार्ने प्रभाव


आजकल शिक्षण संस्थाहरूमा विचार, तर्क र दर्शनको चर्चा कम हुन्छ। राम्रो जागिर पाउनको लागि मात्र डिग्री लिनुपर्ने बाध्यताले हाम्रो शिक्षा प्रणाली शिक्षित मजदूर उत्पादन गर्ने कारखाना जस्तै भएको छ। हामी पनि डाक्टर, कलाकार, इन्जिनियर, प्रोफेसर वा वैज्ञानिक बन्न रुचाउँछौं। यी नयाँ नामले हामीलाई गर्वको वर्षा गराउँछ र अहंकारको उत्तानो भाँडो भरिन्छ।

समाजको विभिन्न तह र तप्कामा बसेर समाज र राष्ट्रको रुपान्तरणका लागि काम गर्ने व्यक्ति र दैनिक ज्याला मजदूरीमा आफ्नो जीविका धान्नका लागि भनेर काम गर्ने व्यक्तिमा खासै फरक छैन। यदि फरक देख्छौं भने यो हाम्रो विचार र दर्शन शून्यताको प्रतिफल मात्रै हो। यहाँ कुनै पेशालाई दाँजेर ठूलो वा सानो देखाउन खोजिएको होइन तर, हरेक पेशाको काम, कर्तव्य र क्षेत्र फरक फरक हुन्छ भन्न खोजिएको हो।

यस्तो लाग्छ कि हामी सबै बाँच्नको लागि जीविकोपार्जन गर्छौं र जीविकोपार्जनको लागि बाँच्नेछौं। यस प्रक्रियामा हामीले आलोचनात्मक सोच, नैतिक मूल्यहरू र जीवनका अन्य आयामबारे खासै वास्ता गर्दैनौं। यदि यस्तो हो भने आफ्नो परिवार र जीवन धान्न धौ–धौ परेका मजदूर वर्गले सरकारलाई हरेक कुरामा कर किन तिर्ने ?

तिनै दुःख गरेर पसिनासित पैसा साटेका मानिसहरूले तिरेको करले आफ्नो जीविका चलाउने मात्र होइन, आफ्नो सात पुस्तालाई पुग्ने गरी भ्रष्टाचार गर्ने मानिसहरू जताततै छन्। उनीहरूलाई अलिकति पनि दर्शन र ज्ञानको चेत हुँदो हो त आफ्नो पेशाको मर्म अनुसार काम गर्थे होलान्।

यदि हामी समाजको लब्ध प्रतिष्ठित पेशामा काम गर्छौं भने हामीलाई दर्शनको कुनै न रूपमा ज्ञान आवश्यक पर्दछ। दर्शनशास्त्रको ज्ञानले मानिसको वस्तुसंगत विचार निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ। हामीलाई लाग्न सक्छ- एउटा डाक्टरको काम वा उसको दर्शन भनेको खुरुखुरु बिरामी जाँच्ने र उपचार गर्ने हो।

प्राध्यापकको काम खुरुखुरु विषयवस्तुको पठनपाठन गर्ने हो र एउटा कर्मचारीको काम खुरुखुरु कार्यालयको कामकारबाही अगाडि बढाउने हो। देख्दा त्यस्तो लागे पनि वास्तवमा कामको दौरान हरेक क्षणमा उक्त व्यक्तिको विचार र उसले बोकेको दर्शनले ठूलो महत्व राख्छ।

उदाहरणको लागि एकदमै प्राविधिक देखिने डाक्टर पेशामा पनि दर्शनको उत्तिकै महत्व छ। जस्तो, कति समयसम्मको भ्रूण पूर्ण मानव हो ? के भ्रूण पनि अन्य मानिस सरह समान मर्यादा र सम्मानको योग्य छ ? वा यो कोषिकाहरूको झुण्ड हो जसलाई नैतिक रूपमा हेरफेर वा गर्भपात गराउन मिल्छ ? एक बिरामी जसको मस्तिष्कमा व्यापक क्षति भएर कोमामा छ भने उसको अक्सिजनको पाइप कति समयसम्म राख्ने ? यी सबै प्रश्नहरूको उत्तर कतै न कतै दर्शनसँग सम्बन्धित छ।

विश्वविद्यालय वा स्कूलका शिक्षकसँग दर्शनको ज्ञान अनिवार्य जस्तै हुन्छ। यी पेशा भनेका त झन् समाजको विचार निर्माणमा सहयोग पुर्‍याउने कामसँग प्रत्यक्ष जोडिएका हुन्छन्। दर्शनशास्त्रले जीविकोपार्जन गर्ने सीप प्रदान गर्दैन वा प्रविधिको ज्ञान दिंदैन तर प्रविधिको प्रयोग कहाँ, कसरी र कतिबेला उपयुक्त हुन्छ भन्ने ज्ञान दिन्छ। दर्शन विनाको प्रविधि कति घातक हुन्छ भनेर त हिरोसिमामा पड्काइएको आणविक बमले नै भन्छ।

प्रविधिमैत्री अहिलेको पुस्तामा दर्शनशास्त्रको ज्ञान नहुँदा माछा मार्न बनाएको प्रविधि मान्छे मार्न प्रयोग गर्न कत्तिबेर लाग्दैन। अब दर्शनशास्त्र एउटा रहरले पढ्ने विषय मात्र होइन। यसलाई कान्टले यसो भने र प्लेटोले उसो भने भन्नेमा मात्र सीमित नराखेर हाईस्कूलदेखि अनिवार्य विषय बनाउनुपर्दछ। यसले हरेक विद्यार्थीको करिअर निर्माणमा मात्र होइन कि विचार निर्माणमा समेत सहयोग पुर्‍याउँछ। सामाजिक सञ्जालमा आफूले पोखेका विचार र त्यसले अरुलाई पार्ने प्रभावको बारेमा समेत उसमा हेक्का आउनेछ ।

अहिले सामाजिक सञ्जालमा हुर्किएको पुस्ता देख्दा लाग्छ कि– मानिस मनी र म्यारिज गरी जम्मा दुई कुरामा भुलेको छ। अरु केही कुराको वास्ता छ जस्तो लाग्दैन। हाम्रो दर्शन, कला र इतिहास विभाग ध्वस्त र संकुचित हुँदैछ। बरु हामी प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई यति धेरै विस्तार गर्दैछौं कि अन्त्यमा यी समाजको लागि प्रतिकूल देखिन थालेका छन्।

दर्शनको कमीले गर्दा हामी झूटा र निराधार विचारधारा वा राजनीतिक एजेन्डालाई सजिलै विश्वास गर्ने गर्दछौं। तथ्य वा प्रमाण परिवर्तन हुँदा समेत हामीले आफ्नो विचार र धारणा परिवर्तन गर्न चाहँदैनौं। यदि हामीले दर्शनशास्त्रको ज्ञान स्कूलदेखि नै सिकाउन थाल्यौं भने भविष्यमा राम्रो समाज निर्माण गर्न सक्छौं।

त्यसको उदाहरण भर्खरै फेसबुकले बन्द गरेको एआईमा आधारित अनुहार चिन्ने प्रविधिलाई हेरौं। फेसबुकले यो वर्ष एआईमा आधारित आफ्नो दशक पुरानो अनुहार पहिचान प्रणाली बन्द गर्ने योजना बनाएको छ, एक अर्बभन्दा बढी प्रयोगकर्ताहरूको अनुहार स्क्यान डाटा मेटाउने निर्णय पक्कै पनि उसको व्यापारको लागि उत्तम थिएन तर व्यक्तिको गोपनीयतामा असर परेको र विभिन्न देशकाले कारबाही अगाडि बढाउने सम्भावनालाई देखेर नै उसले यसो गरेको हुनुपर्छ।

हामीले प्रविधिको प्रयोग गर्दै नगर्ने वा सकेसम्म कम गरी र फेरि पुरानै ढुंगे युगमा फर्कने भनेको पनि होइन। प्रविधिको प्रयोग गर्दा यसको इथिक्सलाई पनि सँगसँगै अध्ययन गर्नुपर्छ मात्र भन्न खोजिएको हो।

दर्शनशास्त्रमा एउटा नैतिक द्विविधाको सिद्धान्त छ जसलाई ‘ट्रली द्विविधा’ भनेर चिनिन्छ। यसलाई १९६७ मा दार्शनिक फिलिपा फुटद्वारा रचिएको हो। एक छिनका लागि मानिलिनुस् कि तपाईंले एक ट्रलीबसले ब्रेक फेल भई पाँच जनालाई ठक्कर दिंदै मार्न लागेको देख्नुभयो। बसको कन्ट्रोलका लागि तपाईंसँग एक लिभर तपाईंको पहुँचमा छ र तपाईंसँग यति थोरै समय छ कि जसमा ट्रलीबसको ट्रयाक परिवर्तन गर्न सक्छ, जहाँ एक अर्को एक जना व्यक्ति छ।

के तपाईंले ट्रलीबस लिभर तानेर पाँच बचाउनका लागि एक जनालाई मार्नु हुन्छ ? वा एक जना मारेर पाँच जना बचाउनुहुन्छ ? आर्टिफिसियल इन्टेलिजेन्सबाट चल्ने अबका स्वचालित कारहरूमा यो नैतिक द्विविधा टड्कारो देखिने भएको छ। जस्तो कि एउटा सेल्फ ड्राइभिङ कारले दुई फरक व्यक्ति वा दुई फरक समूहमा ठोकिनै पर्ने रोज्नुपर्यो भने कुनमा ठोकिने ?

अझ झन् ठोकिंदा मान्छे मर्ने भएमा, कुन समूहकोलाई मार्ने र कुनलाई छोड्ने भन्ने निर्णय कसरी गर्छ ? यसको उत्तर सजिलो छैन नैतिक रुपमा त्यसकारण दर्शनशास्त्रले कुनै प्रविधिको नतिजाको बारेमा होशियारीसाथ सोच्न र कुनै पनि प्रविधिको नैतिक मूल्य यसको नतिजाद्वारा मात्र निर्धारण गरिन्छ भनेर सोच्न गर्न बाध्य बनाउँछ।

मलाई लाग्छ यो महामारीपछि जीवनका अन्य आयाम जस्तै संगीत, अध्यात्म दर्शन, कला पहिलेभन्दा धेरै महत्त्वपूर्ण भएका छन्। हामी प्रत्येक पाँच मिनेटमा प्रेरणादायक वा दार्शनिक उद्धरणहरू पढेर वा आध्यात्मिक पुस्तक पढेर आफूलाई शान्त पार्न चाहन्छौं किनभने हामी धेरै असुरक्षित र एक्लो महसूस गर्छौं। हामीलाई सधैं राम्रो संगीत सुन्न, राम्रो चलचित्र हेर्न, राम्रो पुस्तक पढ्न वा मीठो गीत सुन्न मन पराउँछौं।

यद्यपि जब हाम्रा बच्चाहरूको कुरा आउँछ, हामी उसलाई पियानो बजाएर वा चलचित्र हेरेर वा उपन्यासहरू पढ्नमा समय बर्बाद गरेको मन पराउँदैनौं, हामी उनीहरूलाई गणित र विज्ञानमा जबर्जस्त राम्रो होस् भन्ने चाहना राख्छौं ताकि उनीहरू भविष्यमा राम्रो डाक्टर वा राम्रो इन्जिनियर बन्न सकून्।

भविष्यमा धेरै पैसा कमाउन सकून्। यस्तो एकोहोरो सोचाइले गर्दा हामी हाम्रो बच्चाहरूलाई बाँसको रुख जस्तै बनाइरहेका छौं जुन अन्य बोटबिरुवाभन्दा माथि बढ्न मात्र खोज्छ तर अन्त्यमा भुइँतिर झुक्छ दह्रो जरा र हाँगाबिंगाको अभावमा।

अर्कोतर्फ, आलोचनात्मक सोचको कमीले व्यक्तिको व्यक्तिगत विकासमा मात्र होइन समाजको सामाजिक विकासमा समेत उत्तिकै हानि पुर्याउँदछ। दर्शनको कमीले गर्दा हामी झूटा र निराधार विचारधारा वा राजनीतिक एजेन्डालाई सजिलै विश्वास गर्ने गर्दछौं।

तथ्य वा प्रमाण परिवर्तन हुँदा समेत हामीले आफ्नो विचार र धारणा परिवर्तन गर्न चाहँदैनौं। यदि हामीले दर्शनशास्त्रको ज्ञान स्कूलदेखि नै सिकाउन थाल्यौं भने मलाई लाग्छ भविष्यमा राम्रो समाज निर्माण गर्न सक्छौं।



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0