बिग्रिएको ढलको बिर्को र पेशागत व्यावसायिकता – Online Khabar


सामाजिक सञ्जाल टिकटकमा सडकको बीचमा ढलको मंगलमा राखिने ढक्कनको चर्चा सहितको भिडियो भाइरल भएको छ । यो विषय सामाजिक सञ्जालमा बहसको विषय पनि बनेको छ । टिकटकमा भिडियो क्रप गरेर हाल्न पाइने भएपछि लामो र पट्यारलाग्दो भिडियो नेपाली दर्शकलाई नीरस लाग्न थालेको देखिन्छ । टिकटकप्रतिको क्रेज पनि उत्पातै बढेको छ । जे होस् ढलको ढक्कनको सवालले नेपालको सार्वजनिक निर्माणसँग जोडिएको प्राविधिक जनशक्तिको व्यावसायिकताप्रति निर्मम व्यङ्ग्य र तीव्र गतिको सुधारका लागि चुनौती गरेको छ ।

सार्वजनिक निर्माणको गुणस्तरको मापन गर्ने र सुनिश्चितता गराउने कार्य त्यहाँ खटिने इञ्जिनियरले गर्दछन् । तिनको व्यावसायिक मूल्य कमजोर रहँदा त्यसको प्रभाव सबै आयाममा पर्दछ । व्यावसायिकता कुनै पनि पेशाप्रतिको सिद्धहस्तता हो । व्यावसायिक धर्मका आधारमा उसले आफ्ना ग्राहक वा सेवाग्राहीलाई सन्तुष्ट बनाउँछ र त्यसै आधारमा उक्त पेशाको मर्यादा र समाजको नजरमा अलग पहिचान र छवि सृजना भएर रहन्छ । अरु सामान्य जनशक्तिले सम्पादन गरेको कार्यभन्दा फरक नतिजा प्रदान गर्छ र यसैका लागि विशेष जनशक्तिको आवश्यकता पनि पर्छ । सबैले गरेको अपेक्षा यही हो । तथापि विद्यालय शिक्षा पार गरेर करीब एक दशक प्राविधिक धारको कठिन अध्ययन यात्रा समाप्ति पश्चात लोकसेवा आयोगको प्रतिस्पर्धात्मक परीक्षा पास गरी अब्बल र पूर्ण व्यावसायिक मानिएका, राज्यले क्षमता विकासका लागि सञ्चालन गरेका दर्जनौं देशी-विदेशी तालीम लिएका, उच्च कोटिको मानिएका प्राविधिक जनशक्तिलाई गाउँको सामान्य साक्षर मिस्त्री सुब्बा दाजुले चुनौती दिइरहेका छन् ।

सडक निर्माण गर्ने क्रममा सडकको बीचमा राखिने ढलको मंगल नेपाली सडकमा कहींकतै मिलेको छैन । कि त यो सडकको लेभलभन्दा तल छ या सडकको सामान्य लेभलभन्दा माथि । बाटो पीच त गरियो तर यसको छेकछन्द भने मिलेन । आखिर मंगलको ढक्कन माथि तल जे भ एपनि यसले सडकको गुणस्तरलाई घटाउँछ, सवारी साधनको दुर्घटनालाई बढाउँछ, सवारीको गतिलाई अनावश्यक रूपले बाधा पुर्‍याउँछ, ट्राफिक जामलाई प्रश्रय दिन्छ । नेपालमा सडक निर्माणको सम्पूर्ण दायित्व सरकारले मात्र लिएको छ । अतः सडकको डिजाइन राम्रो नभएको कारणले सडक दुर्घटना हुन्छ भने त्यसको सम्पूर्ण नैतिक जिम्मेवारी सरकारले नै लिनुपर्छ ।

नेपालमा रहेका सवारी साधनमध्ये ८५ प्रतिशत सवारी साधनको हिस्सा दुईपाङ्ग्रे सवारी साधनले ओगटेको र अठारदेखि तीस वर्ष उमेर समूहका मानिसको मृत्युको कारणको पहिलो श्रृङ्खलामा सवारी दुर्घटना परिरहँदा सडकको डिजाइन नमिल्नु दुःखद विषय नै हो । अझ दुःखद विषय त यो हो कि, संसार भौतिक विकासका कस्ता कस्ता तिलस्मी कृत्यमा रमाइरहँदा हामी ढलको ढक्कनको लेभल किन नमिलेको होला भनेर राष्ट्रियस्तरमा बहस पैरवी गरिरहेका छौं ।

लोकतन्त्रमा नागरिकहरूलाई प्रश्न गर्ने अधिकार रहन्छ र तिनले प्रश्न गरे भने सार्वजनिक निकायले जवाफ दिनैपर्छ भन्ने कानूनी मान्यता समेत भएको मुलुकमा सरोकारवाला नागरिकले मेरो जिम्मेवारी नै छैन भनेर टक्टकिन पनि मिल्दैन । यसर्थ सार्वजनिक निर्माणको गुणस्तर कमजोर रहनुमा बहुलपक्षको कमजोरी रहेको देखिन्छ

नेपालमा इञ्जिनियरिङको डिग्री हासिल गरेका धेरै जनशक्ति नेपाली डायोस्पोराको रूपमा विभिन्न मुलुकमा छन् । तिनले त्यहाँ अत्यन्तै राम्रो फिनिसिङ सहितको निर्माण र व्यावसायिकता प्रदर्शन गरिरहेछन् । उनीहरूको काममा कतै खोट लगाएको सुनिएको छैन र अन्य मुलुकको जनशक्तिको दाँजोमा अब्बल नै मानिएको छ । राज्यको समग्र प्रणाली व्यवस्थित हुँदा प्राविधिक जनशक्तिले विकासको संवाहकको रूपमा भूमिका खेल्दारहेछन् र सार्वजनिक निर्माण गुणस्तरीय बन्दोरहेछ । यसो हुँदा हाम्रो विकासको गुणस्तर कमजोर हुनुको दोष इञ्जिनियरहरूको मात्र हो भन्न सकिन्न । तथापि नेपाली इञ्जिनियरहरूको व्यावसायिक क्षमता अवश्य पनि कमजोर भएको चाहिं हो ।

कुनै पनि सार्वजनिक निर्माणको गुणस्तरको पहिलो अनुगमनकर्ता र मापनकर्ता उक्त क्षेत्रमा खटिएको साइट इञ्जिनियर नै हो । यससँगै यसको समग्र प्रशासकीय प्रबन्ध गर्ने इकाई, निर्माणको सम्पूर्ण जिम्मा लिने ठेकेदार कम्पनी, यी कामहरूको समग्र मूल्याङ्कन गर्ने ओभरसाइट एजेन्सीहरू साथै सरोकारवाला नागरिक सबै निर्माणको गुणस्तरीयतासँग सम्बन्धित रहन्छन् । लोकतन्त्रमा नागरिकहरूलाई प्रश्न गर्ने अधिकार रहन्छ र तिनले प्रश्न गरे भने सार्वजनिक निकायले जवाफ दिनैपर्छ भन्ने कानूनी मान्यता समेत भएको मुलुकमा सरोकारवाला नागरिकले मेरो जिम्मेवारी नै छैन भनेर टक्टकिन पनि मिल्दैन । यसर्थ सार्वजनिक निर्माणको गुणस्तर कमजोर रहनुमा बहुलपक्षको कमजोरी रहेको देखिन्छ ।

पहिलो, हाम्रो सार्वजनिक निर्माणमा देखिएको अत्यन्तै ठूलो कमजोरी भनेकै निर्माणका क्रममा रहने अन्तरनिकायगत समन्वयको अभाव हो । सडक, विद्युत्, खानेपानी, ढल, टेलिफोन लगायतका सबै क्षेत्रमा अत्यन्तै कठोर र प्रक्रियामुखी नोकरशाही हावी छ । एउटा विद्युत्को पोल सार्ने निर्णय गर्न केन्द्रीय स्तरसम्म पुग्नुपर्छ र यसका लागि महीनौं लाग्छ, सडक निर्माण सकिएपछि सडक पेटीका ब्लक खोलिंदै ढल वा खानेपानीको पाइप विछ्याउने कार्य हुन्छ । साना आयोजनाको त कुरै छोडौं, राष्ट्रिय गौरवका भनिएका आयोजनामा समेत यी निकायहरूबीच समन्वयात्मक भूमिका अत्यन्तै कमजोर पाइएको छ । जसको कारण निर्माणको लागि लाग्ने समयावधि दोब्बर र गुणस्तर भने आधा हुने गरेको छ । पूर्वाधार निर्माणको काममा कमजोर समन्वय भएको विषयमा कहीं कसैले जवाफदेही रहनुपर्दैन । कानूनी दृष्टिले खरीदका सबै प्रकृया मिलेकै भए पनि विकासमा हुने समन्वयको अभावको विषयमा सामाजिक परीक्षणको विषयलाई गौण राखिंदा यसबाट हुने तुलनात्मक लाभको हिस्सेदारी कमजोर छ ।

दोस्रो, नेपालको राजनीतिमा व्यापार मिसियो । व्यापार र राजनीतिको मिश्रणका कारणले सबै ठेकेदार राजनीतिज्ञ र ठेकेदार नभई राजनीति गर्न पनि नसक्ने अवस्था सृजना भएको छ । तिनै राजनीतिक आग्रहका आधारमा सार्वजनिक खरीदको कानून तिनकै हितमा हुने गरी परिवर्तन हुने गरेको छ । उच्च प्रशासनिक तथा राजनीतिक पहुँच भएका निर्माण व्यवसायीको कम्पनीले गरेको कामको गुणस्तरका विषयमा विमति जनाउँदै सुधारात्मक उपाय खोज्न त्यति सहज देखिंदैन । यसकारण प्राविधिकमा भएको सामान्य भन्दा सामान्य विज्ञता पनि उपयोग नभएको देखिन्छ । एउटा सामान्य प्राविधिकले लेभल मेसिनको सहायताले सजिलै जाँच गर्न र मिलाउन सक्ने ढलको बिर्को राष्ट्रको नजरमा परेका व्यावसायिक इञ्जिनियरले नसक्ने भन्ने कुरै आउँदैन । तर यसैका कारणले समग्र पेशाकर्मीले नै सामाजिक बेइज्जती खप्नु परेको अवस्था छ ।

तेस्रो, पेशागत व्यावसायिकताको मुख्य आधार भनेको उक्त वृत्तिप्रतिको विज्ञता र अनुभवको समष्टि हो । अझ प्राविधिक क्षेत्रमा त पढेर भन्दा परेर धेरै जान्ने अवस्था आउँछ । इञ्जिनियरिङ क्षेत्रमा जागिरे जीवन व्यतीत गरेको कर्मचारीमा प्राविधिक ज्ञानको विशिष्टता भन्दा खरीद कार्य तथा अन्य प्रशासनिक क्षेत्रमा ज्यादा दक्खल र रुचि बढ्दै गएको देखिन्छ । सरकारी सेवामा लागेका प्राविधिकको सेवाको सुरक्षा अत्यन्तै बलियो रहेकोले उनीहरूले गरेको डिजाइन तथा सम्पादित कार्य कमसल रहँदा पनि उत्तरदायित्वको बोध भएको पाइएको छैन ।

चौथो, नेपालमा सडक निर्माणको स्पष्ट मापदण्ड छैन । सडक कसले बनाउने र भत्काउन पाउने हो ? भर्खर निर्माण समाप्त भएको सडक भत्काउने आधार र कारण के हुन् ? यसको खोजी कतै भएको छैन । सार्वजनिक सम्पत्तिको जगेर्ना गर्न नागरिक सचेतना पनि खासै विकसित भएको देखिन्न । भौतिक पूर्वाधारको पर्याप्त विकास नभई बस्ती बसिसक्ने र घना बस्तीका बीचमा सडक पूर्वाधारको काम गर्दा यातायात सञ्चालन र सडक निर्माणको काम एकैसाथ गर्नु ख्याल चुनौतीपूर्ण छैन । यस्तै जटिलता र विषमताको बीचमा हामी इञ्जिनियरहरुको व्यावसायिक दक्षताको अभिवृद्धि खोजिरहेका छौं ।

अबका दिनमा सार्वजनिक निर्माणप्रति नागरिक चासोको स्तर बढ्नु जरुरी देखिन्छ । विकासका क्रममा रहने कामकारबाहीका विषयमा नागरिकले चासो राखेपश्चात् निर्माणक्रम रोकिएका क्षेत्रको काम निर्माण व्यवसायीले शुरु गरेका र सम्पन्नता हासिल भएका दृष्टान्त हाम्रासामु छन् । उसो त सबै काममा नागरिकको खबरदारी सम्भव पनि नहुँदा राज्यले स्थापना गरेका नियामक निकायले विकासका क्रमलाई हौसला मिल्ने गरी निपुणतापूर्वक दृष्टि लगाउनु नै छ । सार्वजनिक निर्माण सबैको चासो रहने, पारदर्शिता अनिवार्य रहनुपर्ने र सबै अन्तरसम्बन्धित निकायबीचको प्रभावकारी समन्वय अति आवश्यक रहने कार्य हो । सार्वजनिक निर्माणसँग सम्बन्धित सम्पूर्ण पक्षहरूको सुधारका साथै इञ्जिनियरहरूले पेशागत मर्यादा कायम राख्न स्वतन्त्र रूपले जिम्मेवारी बहन गरी व्यावसायिकताको विकास गर्नु त अनिवार्य छँदैछ ।

(लेखक नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन् ।)



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0