लाहुरे हुन छाडेर ‘लाहुरेनी’ फिल्म – Online Khabar


११ पुस, पोखरा । बेलायती सेनामा जागिरे हुन अन्तिम परीक्षा दिएर फर्किंदै गर्दा उनले पहिलोपल्ट पितृलाई सम्झिए । बालापनदेखिकै उत्कट सपना थियो ‘ब्रिटिसे लाउरे’ बन्ने । त्यसका लागि ठूलै संघर्ष गरे पनि ।

त्यसदिन सपनाको ढोका सम्मुख थियो । तर, उनले त्यो ढोका उघारेनन् । बरु, कहिल्यै नपुकारेको पितृ पुकारे, ‘यसपल्ट मलाई फेल गराइदेऊ, बरु अर्को पल्ट म जसरी पनि भर्ती हुन्छु !’

उनले भनेजस्तै भयो । बेलायती सेनामा छनोट भएका ८८ जनाभित्र उनी पर्न सकेनन् । त्यसरी बचपनदेखिको ‘लाहुरे सपना’लाई पनि विस्थापन गर्ने गरी उनीभित्र नयाँ सपनाको जन्म भएको थियो, फिल्म ।

***

केही समयअगाडि भएको काठमाडौं इन्टरनेसनल फिल्म फेस्टिभल (किम्फ)मा रोल्पाका विशाल रोका मगरको गोर्खा गर्ल (लाहुरेनी) नामक डकुमेन्ट्री प्रदर्शन भयो । उनले उक्त डकुमेन्ट्रीमा बेलायती सेना हुन एक युवतीले गरेको संघर्ष र हुन नपाएको पीडालाई देखाएका छन् ।

‘बेलायती सेनाले महिला पनि लिने भनेको थियो । त्यही आशामा धेरै महिला तालिम लिन पनि आए । तर, पछि लिएन । त्यहाँ संघर्षमात्रै थिएन धेरै कुरा जोडिएकाले त्यसैमा बनाउनुपर्छ भन्ने सोचें,’ विशाल भन्छन्, ‘फेरि आफैंले राम्रोसँग दैनिक नियालेको विषय हुनाले न्याय गर्न सक्छु भन्ने पनि भयो ।’

किम्फमा ‘लाहुरेनी’ले कुनै पुरस्कार त जितेन । तर, विश्वभरका डकुमेन्ट्री प्रदर्शन हुने ‘प्लेटफर्म’मा पुग्नुलाई नै विशालले सफलता मानेका छन् । ‘अरुहरु सँग हारें । तर, सगौरव !’ विशाल भन्छन् ।

लाहुरेनी अहिले पोखरामा हुन लागेको ‘पामे फिल्म फेस्टिभल’मा पनि प्रदर्शनका लागि छनोट भएको छ । फेस्टिभल सोमबारदेखि पुस १६ गतेसम्म पोखरा लेकसाइडमा चल्नेछ ।

***

५० को दशकको सुरुआती समयमा दाङ झर्दा विशालले दुई चिज नौलो देखे, एउटा बस र अर्को फिल्म हल । अहिलेजस्तो घरघरमा टिभी हुन्थेनन् । मनोरञ्जनका लागि फिल्म हल नै अन्तिम विकल्प थियो, त्यो समय ।

अरुको पछिपछि लागेर फिल्म हल पुग्दा उनी तीनछक परेका थिए । ! ‘सेतो भित्तामा मान्छे आउँथे, मारपीट गर्थे । कहाँबाट आए भन्ने लाग्थ्यो,’ विशाल बाल्यस्मृतिमा फर्किन्छन्, ‘पहिलो पटक फिल्म हेर्दा सुरुमै झगडा भएपछि फिल्म नसकिउञ्जेल बाहिर आएर रोएको थिएँ ।’

पछिपछि दाङका सबै फिल्म चहार्ने भए विशाल । त्यतिकैमा उनमा फिल्मप्रतिको उच्च लगाव बस्यो । फिल्मप्रतिको यति लगाव थियो कि उनी फिल्महलमा घुसेर चोरी नै गरे । रिल काटेर चोर्ने काम गर्न थाले । उनकै कारण फिल्म प्रदर्शनका बेला आधाआधामात्रै आउन थाल्यो ।

‘हलबाहिरको रिल बटुल्दाबटुल्दै नयाँ फिल्मका रिलहरु पनि चोरें त्यसरी रिल चोरेर म आफैं फेरि त्यही फिल्म हेर्न पुग्थें । तर, किन दृश्य काटिन्थ्यो ? भेउ पाउँदिनथें,’ सम्झन्छन्, ‘पछि पो थाहा भो, नेगेटिभ नै गायब भएपछि दर्शकले कसरी पूरा फिल्म हेर्नु ?’

कमाउन खाडी मुलुक गएका विशालका बुवा लाहुरे जागिर छाडेर स्वेदश फर्किंदा ‘शून्य’ फर्किएका थिए । तर, एउटा कम्प्युटर ल्याएका थिए । त्यही कम्प्युटर नै विशालको सपना देखाउने साधन बन्यो । ‘त्यसमा मैले ससाना भिडियोहरु जोड्न, काट्न सिकें,’ उनी भन्छन् ।

एसएलसी दिइसकेपछि विशाल लाहुरे तयारीमा लागे । तर, सिनेमा बनाउने भूतले पछ्याउन छाडेको थिएन । उनीभित्रको फिल्म बनाउने चाहना देखेरै मगर साँस्कृतिक संघले उनलाई एउटा मगर फिल्म बनाउने अवसर पनि दिएको थियो ।

कक्षा १२ को अन्तिम तयारीसँगै उनले ‘जेदो’ नामको फिल्म बनाए । तर, समय जुध्यो, यता गोर्खा सेनाको फाइनल र उता फिल्म देखाउने समय । फिल्म रोज्ने कि लाहुर जाने दुविधामा परे ।

‘दुवै सँगसँगै भएपछि साह्रै तनावमा गएँ, त्यहीबेला मलाई लाहुरे भन्दा फिल्मले नै खुसी दिने रहेछ भन्ने बोध भो,’ विशाल सम्झन्छन्, ‘फिल्म देखाउन छुटाएँ भने अहिलेसम्मको मिहिनेत खेर जान्छ भन्ने लागेर त्यहीबेला हो मैले भर्ती नहूम् भनेर पुकारेको ।’

प्लस टु सकिएसँगै स्नातक तहमा उनी फिल्म विधा नै पढ्न चाहन्थे । संयोगवश त्यही समयमा ओस्कार फिल्म एकेडेमी पनि भर्खर खुलेको थियो । तर, उनले चाहेर पनि पढ्न पाएनन् । ‘बाले विदेशमा कमाएका पैसा पनि भर्ती देखाउँदा देखाउँदै सकिइक्यो । परिवारले चाहेर पनि मलाई पढाउन सकेनन्,’ उनी भन्छन् ।

तर, उनले आफूले पढ्न नपाए पनि साथीमार्फत रहर पूरा गरे । साथी बसन्त घर्तीमगरलाई सिने विधा नै पढ्न सुझाए । घर्ती भारतमा ३ वर्षे कोर्ष पूरा गरेर आएपछि नयाँ टिम बन्यो, ‘फ्रेम सिने मेकर्स ।’ सोही ब्यानरबाटै पहिलो सर्ट फिल्म बन्यो, छल ।

उक्त सर्ट फिल्मले सोचेभन्दा राम्रो प्रतिक्रियामात्रै पाएन, युट्युबमा पनि हिट बन्यो । जबही त्यतिबेलासम्म नेपालमा अहिलेजस्तो युट्युब चर्चामा आइसकेको थिएन । ‘क्यामेरा चलाउन सिकेको बेला कस्तो हुँदो रहेछ भनेर गरेका थियौं । तर, राम्रो प्रतिक्रिया आएपछि विश्वास झन् बढेर गयो,’ उनी सम्झन्छन् ।

तर, सानो ठाउँमा टिकेर काम गर्न सम्भव भएन । छल टिम तितरबितर बन्यो । फेरि एक्लिए विशाल । फिल्ममा रुची र ज्ञान भएका नयाँ साथीको खोजीमा निस्किए, केही मन मिल्ने साथीहरु भेटिएपछि खोले, ब्ल्याक सुल्पा प्रोडक्सन ।

‘सुरुमा मलाई एउटा क्यामेरा, एउटा ल्यापटप र बाइक भयो भने जस्तो पनि फिल्म बनाउन सक्छु भन्ने लागेको थियो । तर, होइन रहेछ । फिल्म बनेन,’ विशाल भन्छन्, ‘फिल्म लहडले मात्रै नहुने रहेछ । एउटा सिंगो टिम चाहिने रहेछ ।’

प्रोडक्सनले काका, छल, छल बाटो, पाउजु, ड्रिम्स, द बाइकर्स लगायत छोटो चलचित्र बनाइसकेको छ । ब्ल्याक सुल्पा प्रोडक्सनबाटै कबड्डी कबड्डी प्यारोडी भिडियो प्रतियोगितामा भाग पनि लिएका थिए ।

देशविदेशका प्रतियोगीसँग सीमित स्रोत साधनले बनाएको प्यारोडी भिड्नु नै उनीहरुका लागि ठूलो थियो । तर, विशालको टिमले बनाएको कबड्डी कबड्डी प्यारोडी नै उत्कृष्ट ठहरियो । पहिलोपल्ट चलचित्रकर्मी बनेर उनको टिम काठमाडौं जाने अवसर मिल्यो ।

यसबीचमा विशालले बेलायतका चलचित्रकर्मी मुरे केर, चाइना फिल्म इन्ष्टिच्युटका डब सेमिन्सलगायतसँग फिल्म निर्माणसम्बन्धी प्रशिक्षणमा भाग लिने मौका पनि पाए । यसले आफूलाई फिल्मलाई फिल्म जसरी नै हेर्न सिकाएको सुनाउँछन् ।

‘हामीले फिल्मलाई फिल्म जसरी हेर्नै जानेनौं । दर्शककै रुपमा पनि हाम्रो बानी बिग्रिसकेको छ । सुरुमा नुमाफुङ, बलिदान फिल्म हेर्दा यस्ता फिल्म के बनाएका होलान् जस्तो लाग्थ्यो,’ भन्छन्, ‘तर, अहिले सम्झिँदा खासमा ती फिल्म नेपाली सिने क्षेत्रका नयाँ आधार थिए ।’ नेपाली सिने जगतमा नवीनता खोज्ने तर, फरक शैलीका फिल्म नस्वीकार्ने प्रवृत्ति व्याप्त रहेको उनको विश्लेषण छ ।

अब उनलाई नेपाली समाजभित्रकै मिथक र इतिहासलाई झल्काउने गरी फिल्म बनाउन चाहिरहेका छन् । त्यसैअनुरुप थुप्रै डकुमेन्ट्रीमा पनि काम गरिरहेका छन् ।

‘हाम्रो वरपरको लोक कथा, इतिहास, मिथलाई फिल्ममा देखाउन मन छ,’ पामे फिल्म फेस्टिभलमा सहभागी हुन पोखरा आएका विशालले भने, ‘आफूबाहेक अरु कसैको पीडामा रोइन्छ वा आफ्नो खुसीबाहेक अरुको खुसीमा हाँस्न सकिन्छ भने त्यसको शक्ति सिनेमामा मात्रै हुन्छ ।’



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0