कमरेड प्रचण्ड र माधव नेपाललाई संयुक्त खुल्लापत्र – Online Khabar


कमरेड प्रचण्ड, कमरेड माधव नेपाल !

अभिवादन !

धेरैलाई र तपाईंंहरूलाई पनि अनौठो लाग्ला, दुई फरक पार्टीका अध्यक्षलाई एउटै पत्र मार्फत संयुक्त सम्बोधन यो मान्छेले किन गर्‍यो ? त्यो पनि फरक पार्टीको कार्यकर्ता भएर ?

हो, म ‘जसपा कार्यकर्ता’ हुँ । तर, कुनै पनि पार्टी मेरो बुझाइमा साध्य हैन, साधन हो । पार्टी विचार, सिद्धान्त, एजेण्डा र आन्दोलनको संस्थागत केन्द्र हो । कुनै पनि पार्टी जबसम्म ती चिजमा टिकेको हुन्छ, त्यस्तो पार्टी आफैंमा एक आस्था र आदर्श बन्छ । ‘महान’ र ‘गौरवशाली’ बन्छ । जब ती चिजबाट स्खलित हुन्छ, त्यसको सान्दर्भिकता कमजोर हुँदै जान्छ वा समाप्त हुन्छ । त्यो न ‘महान’ रहन्छ न ‘गौरवशाली’ । यो नियमबाट कोही पनि मुक्त छैनौं । न हामी न तपाईंंहरू ।

तसर्थ कुनै पार्टीमा लाग्नुको अर्थ अन्य पार्टीबारे सार्वजनिक महत्वका बहस गर्ने नागरिक स्वतन्त्रता गुमाउनु हैन । त्यो मूल्यमा त पार्टीमा लाग्नुको अर्थ नै हुँदैन । ‘जसपा कार्यकर्ता’ का हैसियतले हैन, एक सार्वभौम नागरिकका हैसियतले यो खुल्लापत्र लेख्दैछु ।

विचारका नाममा पार्टी, पार्टीका नाममा गुट र गुटका नाममा कुनै नेता, कुनै व्यक्तिलाई जयजयकार गर्ने प्रचलन र संस्कृति मलाई कहिल्यै मन परेन । माफ गर्नुहोला, तपाईंंहरूलाई यो पत्र पनि अलिक ठाडो भाषामै लेख्दैछु । विना मोलाहिजा र जयजयकार । विना व्यक्तित्व पूजा र चाप्लुसीको भाषा ।

मान्छेको पहिलो सम्बन्ध आमा, दोस्रो सम्बन्ध धर्ती र तेस्रो सम्बन्ध सार्वभौम नागरिक अधिकार हो । पार्टी त्यसपछि मात्र आउने संस्था हो । आमाको सम्मान, माटोको हित र नागरिक स्वतन्त्रतासँग टकराए, बेमेल भए भने मलाई कुनै पनि संस्था र शक्तिसँग टकराउन कसैले छेक्न सक्दैन भन्ने लाग्दछ । म आफैं लागेको पार्टी यसको विरुद्ध गयो भने त्यससँग पनि टकराउन सकिन्छ भन्ने लाग्दछ ।

शब्दमा हैन, मैले त्यो आफ्नो जीवनमा व्यवहारमै गरेको छु । कमरेड माधव नेपालको मातृ पार्टी ‘एमाले’ मेरो पनि मातृ पार्टी हो । २०३६ सालको विद्यार्थी आन्दोलनको सेरोफेरोमा सानै उमेरमा त्यो पार्टीको सम्पर्क, संगत र संगठनको वृत्तभित्र पुगेको थिएँ । २०६६ सालसम्म ३० वर्ष निरन्तर त्यही पार्टीमा थिएँ ।

मलाई लाग्यो कि एमालेको अब काम छैन, त्यसलाई छोडिदिएँ । छोडेकै १२ वर्ष भयो । गज्जब के लाग्दछ भने मैले छोडेको १२ वर्षपछि कमरेड माधव नेपालले पनि ‘अब एमालेको काम छैन’ भन्दै छोडिदिनुभयो । एमालेको समस्या र पतनलाई बुझ्ने कुरामा म कमरेड माधव नेपालभन्दा १२ वर्ष छिटो र अघि नै रहेछु भन्ने अनुभूतिले यदाकदा मनमनै गमक्क पर्छु ।

तर, थाहा छ, त्यो मेरो आत्मरति मात्र हो । इतिहासको गति र व्यक्तिको आत्मरतिबीच खासै गहिरो सम्बन्ध हुँदैन ।

कमरेड प्रचण्डको पार्टीमा त कहिल्यै लागिनँ । परपरबाट हेरें, नियालें मात्र । कमरेड प्रचण्ड र माओवादी आन्दोलनसँग मेरो गणतन्त्रवादी हुनुको मोह हो । खै किन हो, सानै उमेरदेखि गणतान्त्रिक देशको नागरिक हुने तीव्र लालसा थियो हृदयमा । आफ्नै जीवनकालमा हुन पाइयो । खुशी लाग्छ । यसका लागि माओवादी आन्दोलनप्रति ऋणी, आभारी र अनुगृहीत छु ।

मलाई थाहा छ- माओवादी आन्दोलन हुँदैनथ्यो त यो देशमा यति छिटो गणतन्त्र आउँदैनथ्यो । म र म जस्ताहरू सार्वभौम देशको सार्वभौम नागरिक हुने गौरव सहित बाँकी जीवन बाँच्न र मर्न पाउने थिएनौं ।

तर, कमरेड प्रचण्ड !

यो ठान्नुहोला कि गणतन्त्र तपाईंंको आन्दोलनको उद्देश्य थियो । तपाईंंको आन्दोलनको घोषित उद्देश्य त ‘जनवादी गणतन्त्र’ थियो, संघीय लोकतान्त्रिक गणतन्त्र हैन । ‘जनवादी गणतन्त्र’ र ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ बीचको भेद मलाई राम्रो थाहा छ । फेरि गणतन्त्र तपाईंंहरूको एकल उपलब्धि पनि हैन । हामीले पनि, अरू पार्टीले पनि निणर्ायक बेला आफ्नो मिहिनेत र पसिना मिसाएका छौं त्यसमा ।

तर यति मात्र कारणले म तपाईंंको पार्टीमा लाग्न, समर्थन गर्न वा भोट दिन सक्दिनथें । किनकि म माओवादको दर्शनमा विश्वास गर्दिनँ । राजनीति भनेको विचार, सिद्धान्त र एजेण्डाको सेट हो । माओवादी आन्दोलनसँग केही एजेण्डा मिल्थे, मिल्छन् अहिले पनि । जस्तो कि गणतन्त्र, प्रत्यक्ष निर्वाचित कार्यकारी, पहिचान र अधिकारमा आधारित प्रदेशको सिमाङ्कन आदि ।

तर विचार र सिद्धान्त मिल्दैनथे । लेनिनवाद, माओवाद, क्यास्त्रोवाद, किम इल सुङवाद, गोञ्जालोवाद, प्रचण्डपथ जस्ता विचार पद्धतिसँग म गम्भीर विमति राख्छु । तसर्थ माओवादी हुने सोच कहिल्यै आएन मनमा । ‘नजाने गाउँको बाटै नसोध्नु’ भने जस्तो माओवादी बाटोले मलाई कहिल्यै आकर्षित गरेन । त्यो दर्शन र बाटोबाट देश बन्छ भन्ने विश्वास अहिले पनि छैन । शास्त्रीय साम्यवादी सिद्धान्तको विश्व हविगत अलिअलि पढेको छु र अन्ततः त्यसले नेपाललाई पनि त्यस्तै ठाउँमा पुर्‍याउने हो भन्ने लाग्दछ ।

तर, कमरेड खड्गप्रसाद शर्मा ओली जब माओवादी आन्दोलनको चर्को निन्दा, भत्र्सना र आलोचना गर्थे, मलाई लाग्थ्यो कि यिनी गणतन्त्रका लागि योगदान गर्ने योद्धा र बलिदान गर्ने शहीदहरूको अपमान गर्दैछन् । कमरेड ओलीसँग मनोवैज्ञानिक दूरी झन्झन् बढ्यो । यिनी जब ‘मधेश जनविद्रोह’ को विरुद्धमा तथानाम बोल्थे- मलाई लाग्थ्यो कि कमरेड ओली संघवाद, समावेशिता, सीमान्तकृत समुदायको आरक्षण, सशक्तीकरण र सामाजिक न्यायको विरुद्धमा बोलिरहेका छन् । कमरेड ओलीले माओवादी जनयुद्ध र मधेश जनविद्रोह विरुद्ध जति-जति आफ्नो बोलीलाई चर्को पारे, त्यति-त्यति म एमालेबाट टाढा भएँ र अन्ततः छोड्ने निर्णयमा पुगेको थिएँ ।

तर, यो कस्तो राजनीति थियो कि ‘आधा-आधा प्रधानमन्त्री खाने गोप्य सम्झौता’ को सिरानी हालेर तपाईंंले तिनै ओलीसँग पार्टी एकता गर्दिनुभो । अहिले पनि तपाईंं त्यही गुनासो गर्दै हिंड्नुहुन्छ- लिखित सम्झौता गरेर पनि ओेलीले मलाई आधा प्रधानमन्त्री खान दिएनन् । यो भन्दा निम्छरो अभिव्यक्ति ‘महान जनयुद्धका सर्वोच्च कमाण्डर’ प्रचण्डका लागि अरू के होला ? के ओलीले तपाईंंलाई आधा कार्यकाल प्रधानमन्त्री खान दिएको भए चाहिं त्यो एकता सफल सार्थक हुन्थ्यो ? त्यसपछि तपाईंंका बाँकी एजेण्डा के हुन्थे ? के ओली र एमाले पंक्तिले ती एजेण्डा स्वीकार गर्थे ? यसको सीधा अर्थ हुन्छ- तपाईंं आधा कार्यकाल प्रधानमन्त्री खान एजेण्डाहरूप्रति घात गर्न तयार हुनुहुन्थ्यो ।

तपाईंंले कमरेड ओलीसँग आधा-आधा प्रधानमन्त्री खाने गोप्य सम्झौता गरेको, दुई वर्षसम्म सम्झौता लुकाएर राखेको, ओलीले सत्ता छोड्न नमानेपछि तपाईंंहरूको खटपट शुरू भएको, अन्ततः ‘मैले दाबी छाडें’ भनेर तपाईंं चिसै पानीले नुहाएको, तपाईंंले ओलीको हेडक्वार्टरमाथि १९ पेजको ‘आक्रोश बम’ फ्याँकेको, घटनाक्रम विस्तारै नेकपाको विभाजन, संसद विघटन र एमालेको विभाजनसम्म पुगेको कुरा अब कसैको आँखाबाट छिपेको छैन ।

जतिसुकै तर्क-कुतर्क गरे पनि राजनीतिको यो अध्याय लुक्न सम्भव छैन । तपाईंंको मनमा थियो होला म निकै चतुर छु, माओवादी आन्दोलनभित्र डा. बाबुराम भट्टराई, मोहन वैद्य, सीपी गजुरेल, विप्लव आदि सबैलाई ठेगान लगाए जस्तो ओलीलाई तह लगाउन सक्छु । तर, ओलीले तपाईंंलाई उल्टै ठेगान लगाइदिए । हामीलाई त्यतिखेरै लागेको थियो- तपाईंंहरूको एकता कृत्रिम हो भन्ने, त्यो व्यवहारबाटै पुष्टि भयो ।

एमाले र ओलीलाई बुझ्ने कुरामा कमरेड माधव नेपालभन्दा १२ वर्ष अघि भए जस्तो कमरेड प्रचण्डभन्दा कम्तीमा तीन वर्षअघि रहेछु भन्ने लाग्दछ । एमाले र ओलीसँग कमरेड प्रचण्डको ‘टि्रक’ सफल हुँदैन भन्ने कुरामा म शतप्रतिशत विश्वस्त थिएँ ।

खैर, तपाईंंले त्यो व्यवहारबाटै बुझ्नुभयो होला अहिले । तर, हामी जस्ताको अविश्वास कहाँनेर हो भने ओलीसँग मिल्दा, मिलेको करीब चार वर्ष अवधिमा तपाईंंका विचार र एजेण्डा कहाँ थन्किएका थिए ? कहाँ थियो माओवाद ? कहाँ थियो त्यतिखेर प्रचण्डपथ ? कहाँ थियो एक्काइसौं शताब्दीको जनवाद ? कहाँ थियो प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपतिक निर्वाचन प्रणाली सहितको संसद ? कहाँ थियो पहिचान, कहाँ थियो प्रदेशको पुनर्सिमाङ्कनको एजेण्डा ? कहाँ पुगेका थिए, सीमान्तकृत समुदायका हकअधिकारका एजेण्डा ?

करीब ३५ वर्ष कुनै पार्टीको एकछत्र नेतृत्व गर्दा कुनै विश्वासयोग्य उत्तराधिकारी जन्माउन सक्नुभएन भने आफैं बुझ्दा हुन्छ- त्यो आन्दोलन, विचार, संगठन र संस्कृति कति अनुर्वर र बाँझो रहेछ

ती सबै ‘आधाआधा प्रधानमन्त्रीको गोप्य सम्झौता पत्र राखेको खामभित्र’ थन्किएका थिए, हैन र ?
यी घटनाक्रमले के पुष्टि गर्छ भने तपाईंंभित्र बलियो अवसरवाद छ । कम्तीमा यो स्तरको अवसरवाद कमरेड माधव नेपालसँग छैन । कमरेड माधव नेपाल कमरेड प्रचण्डभन्दा थुप्रै एजेण्डामा कम क्रान्तिकारी र दक्षिणपन्थी हुनुहोला तर माधव नेपालको दक्षिणपन्थ ‘इमानदार दक्षिणपन्थ’ हो, तपाईंंको क्रान्तिकारिता जस्तो ‘अवसरवादी क्रान्तिकारिता’ हैन । आज तपाईंं तिनै एजेण्डा सम्झिंदै हुनुहुन्छ, जुन एजेण्डा ओलीसँग एकताको कालमा अँध्यारो खोपीमा थन्क्याइएका थिए ।

आज तपाईंंहरू दुवैको समस्या हो- कमरेड खड्गप्रसाद शर्मा ओलीको भन्दा तपाईंंहरूको फरक विचारको खोजी । जब संविधानको संशोधन वा पुनर्लेखनको कुरा आउँछ तपाईंंहरू कमरेड ओली झैं चारहात उफ्रेर ‘हामीले बनाएको संसारको उत्कृष्ट संविधान छुन पाइँदैन’ भन्नुहुन्छ । संघीयता, पहिचान, प्रदेश पुनर्सिमाङ्कनप्रति पनि तपाईंंहरूमा कुनै लगाव देखिन्न । शासकीय स्वरूप र निर्वाचन प्रणाली परिवर्तनको मुद्दा पनि बलियो गरी उठाउने आँट छैन । अर्थतन्त्रको ढाँचा परिवर्तन र समाजवादी अर्थतन्त्र निर्माणको कुनै विशिष्ट प्रारूप तपाईंंहरूले अहिलेसम्म प्रस्तुत गरेको कसैलाई थाहा छैन ।

कमरेड प्रचण्ड र कमरेड माधव नेपाल, त्यसो हो भने तपाईंंहरूले कमरेड ओलीलाई छोडे पनि विचारमा ओलीज्म छोड्नुभएको छैन किन नभन्ने ? त्यही एउटा प्रतिनिधिसभा विघटनको मुद्दामा मात्रै हो त ओलीसँग तपाईंंहरूको वैचारिक मतभेद ? त्यो मानियो लौ, यो मुद्दामा तपाईंंहरू ओलीभन्दा प्रगतिशील नै हुनुहुन्छ । अरू के छ ? अरू त सबै ओलीकै जस्तो विचार छ ।

कार्यशैलीमा पनि कमरेड ओली र तपाईंंहरूको कार्यशैली खासै भिन्न हैन । तपाइर्ंहरू पनि गुट चलाउनुहुन्छ, ओली पनि गुट चलाउँछन् । गुट र गुट निष्ठामा खै कहाँनेर भिन्नता छ ? अन्तरपार्टी लोकतन्त्रमा खै कहाँनेर भिन्नता छ ? नेपाली कांग्रेसमा प्रदीप गिरी, नरहरि आचार्य, गगन थापा, विश्वप्रकाश शमा जस्तो संस्थापन पक्षसँग टकराएर पनि भिन्नै छवि र व्यक्तित्व विकासको स्पेश कम्युनिष्ट गुटहरूमा हुन्छ र ?

कमरेड प्रचण्डको गुटमा फरक विचार र इमेज भएको नेता को बाँकी छ ? मलाई त लाग्छ- माओवादी भनेकै प्रचण्ड हो, प्रचण्ड भनेकै माओवादी हो । प्रचण्ड रहुञ्जेल सानोतिनो माओवादी रहला । प्रचण्ड नरहेको दिन माओवादी पनि सकिन्छ । अनि त्यस्तो पार्टीमा थप नयाँ मान्छे को किन लाग्छ ? भविष्यका लागि उत्तराधिकारको सम्भावना भएको कुनै नेताको ‘राजनीतिक बध’ गर्न तपाईंंले बाँकी राख्नुुभएको छ र ? आज तपाईंंको पार्टीमा जो-जो बाँकी छन्, ती तपाईंंका सहयोगी हुन्, भविष्यका नेता हैनन् ।

करीब ३५ वर्ष कुनै पार्टीको एकछत्र नेतृत्व गर्दा कुनै विश्वासयोग्य उत्तराधिकारी जन्माउन सक्नुभएन भने आफैं बुझ्दा हुन्छ- त्यो आन्दोलन, विचार, संगठन र संस्कृति कति अनुर्वर र बाँझो रहेछ ।

कमरेड प्रचण्ड !

तपाईंंको पार्टीको राष्ट्रिय सम्मेलन हुँदैछ अहिले, त्यो ‘महाधिवेशन’ पनि हैन रहेछ । अध्यक्षमा तपाईंंसँग प्रतिस्पर्धा गर्ने समेत साहस छैन कसैसँग, हारजितको त भिन्नै कुरा । अन्तरपार्टी लोकतन्त्रको सवालमा त्यो त एक प्रकारको ओलीज्म नै हो नि !

कमरेड माधव नेपाल !

एमालेमा तपाईंंको १५ वर्षे कार्यकाल हामी जस्ताले भोगेका छौं नि व्यवहारमा । शब्दमा तपाईंंले जतिसुकै गुट गर्नुहुँदैन भन्दै, गुट निन्दा गर्दै हिंडे पनि तपाईंंका सहयोगीहरूको खेलोफड्को पनि त्यस्तै थियो । तपाईंको कार्यकालमा पनि गुट थियो- यति निर्मम, क्रूर र निर्दयी गुट थियो कि त्यसले सयौं इमानदार कार्यकर्ताहरूको राजनीतिक जीवनको हत्या गरेको थियो । चाहिए उदाहरण नै भन्न सकिन्छ, यहाँ किन भनौं !

गुटबन्दी कम्युनिष्ट नेताहरूको विश्वव्यापी र साझा चरित्र हो, त्यो चरित्र ‘कम्युनिष्ट जिन’ मै हुन्छ । अझ स्टालिन र माओवादी कम्युनिष्टहरूमा झन् धेरै हुन्छ । स्टालिनको शासनकालमा त्रोतस्की, बुखारिन, करिभो, कामेनेभ लगायत दर्जनौं शीर्ष बोल्शेभिक नेताहरूको हत्याको कारण त्यही गुटबन्दी त थियो । चीनमा लि साउचीलाई नाङ्गै सडकमा हिंडाएर जेलमै सडाउनुको कारण गुटबन्दी त थियो ।

त्यो कमरेड ओलीको मात्र रोग हैन । मेरो बुझाइमा ओलीले त एकप्रकारको ‘प्रति-गुट’ बनाएर बदला लिएका हुन्, तपाईंहरूसँग । आफ्नो बलियो गुट नहुँदा के हालत हुन्छ भन्ने कमरेड ओलीलाई राम्रो थाहा थियो, त्यसैले उनी गुट भावना कुनै हालतमा छोड्न सक्दैनन् । यदि यो रोगबाट बच्ने हो भने कम्युनिष्ट जिन र अन्तरपार्टी लोकतन्त्रकै पुनव्र्याख्या हुनुपर्दछ । केवल ओली गुटलाई गाली गरेर केही हुँदैन ।

विचार र व्यवहारमा ओलीज्मलाई नयाँ तरिकाले काँधमा बोकेर शब्दमा ओलीको विरोध गर्दैमा केही हुँदैन । साँच्चै ओलीको विरोध, आलोचना गर्ने नैतिक तथा राजनीतिक आधार तय गर्ने हो भने ओलीज्मभन्दा फरक विचार, सिद्धान्त, एजेण्डा र कार्यशैली हुनुपर्दछ । त्यो तपाईंहरूसँग अहिले पनि छैन । ओलीको विरोधले मात्र नेपालको साविक राजनीतिक प्रवृत्तिमा कुनै उल्लेखनीय बदलाव आउला भनेर पत्याउन सकिन्न ।

करीब-करीब एकीकृत भइसकेको कम्युनिष्ट पार्टीको पुनर्विभाजन, झण्डै दुई-तिहाइको सरकारको अर्थहीन विसर्जन, दुई-दुई पटकको असंवैधानिक संसद विघटन, राजनीतिक अस्थिरताको निरन्तरता, गायब भएको सुशासन, निरन्तरको संसद अवरुद्ध र देशको आर्थिक दुरवस्थाका लागि दण्डित गर्न कमरेड ओली र एमालेलाई आगामी चुनावमा मतदाताले एकपटकका लागि पत्तासाफ गरिदिए, सबैभन्दा खुशी हुने नागरिकमा म पनि एक हुनेथिएँ ।
कम्तीमा लोकतन्त्रमा त्यो हुनुपर्ने हो । गलत गर्नेहरूले सजाय मतदाताबाटै पाउनुपर्ने हो ।

तर के त्यसो होला ? मतदाताको विवेकमा अहिले नै आशंका गर्ने अधिकार त मलाई छैन तर त्यसो हुन्थ्यो त ती त्यतिका मान्छे नारायणी किनारको बालुुवा र चिसो स्याँठ खान सौराह जाँदैनथे ।

कमरेड माधव नेपाल !

तपाईं यो कुरा राम्रो बुझ्नुहुन्छ कमरेड प्रचण्डभन्दा पनि कि एमाले पंक्तिमा ब्राण्डनिष्ठा कति धेरै छ । तपाईंंहरूले निर्माण गरेको पार्टी त्यही हो, कस्तो स्कूलिङ दिनुभएछ कार्यकर्ता र समर्थकलाई ? आफैं आत्मसमीक्षा गर्नुहोस् । एमाले भनेको विचार, सिद्धान्त, एजेण्डा र घटनाक्रमको विश्लेषण र संश्लेषणबाट कुनै निर्णय गर्नेभन्दा पार्टी नाम र चुनाव चिन्हमा विश्वास गर्नेहरूको जमात र जनमत बन्न पुगेको छ अहिले । त्यो भावनाको शोषण गर्न सक्ने सुविधा ओलीलाई छ, तपाईंहरूलाई छैन ।

त्यो प्रवृत्ति ठीक हैन, तर के गर्नुहुन्छ, तपाईंले नै बनाएका, सिकाएका, शिक्षा दिएका कार्यकर्ता त्यस्तै निस्के । तपाईंंहरू जस्तै एमाले र सूर्य चिन्ह छोडेर भिन्नै पार्टी गठन गर्नुपर्ने स्थितिमा पुग्थे भने कमरेड ओलीको पार्टीले न प्रत्यक्षमा एक सिट जित्थ्यो न समानुपातिकमा एक लाख भोट कटाउँथ्यो । तर, के गर्नुहुन्छ, नियतिचक्रले घुम्दै, फिर्दै एमाले र सूर्यचिन्ह ओलीको पोल्टामा हाल्दियो । तपाईंहरूले ठीक बेलामा ठीक निर्णय गर्न, कानूनी स्टेप मिलाउन सक्नु भएन । दाउ ओलीको पोल्टामा गयो ।

तपाईंंहरूले अहिलेसम्म बनाएको स्कूलिङ, शिक्षा र राजनीतिक संस्कृतिले कम्युनिष्ट पंक्तिलाई आलोचनात्मक चेत र सौन्दर्य भएको नेता, कार्यकर्ता र मतदाता बनाएनछ । यदि त्यसो हुन्थ्यो त मान्छेले नाम र चिन्ह हैन ! विचार, प्रवृत्ति र एजेण्डा हेर्थे । तर, त्यसो कमै हुने देखियो । ओलीले त्यही कम्युनिष्ट शिक्षा, संस्कार र मनोविज्ञानको शोषण गर्दैछन्, तपाईंहरूसँग टुलुटुल हेर्नु सिवाय अरू कुनै विकल्प बचेको छैन ।

अब चुनाव मुखैमा आयो । मान्नुस्, नमान्नुस्, तपाईंहरूसँग दुईवटा भविष्य वा नियति बाँकी छन् ।
एक- अहिलेकै जस्तो प्रतिक्रियात्मक भएर, ओलीलाई गाली गरेर समय बिताउँदै जाने, झन्झन् खिइने र विस्तारै मोहनविक्रम सिंह, नारायणमान विजुक्छे, सीपी मैनाली जस्तो एउटा एउटा सानो गुटमा सीमित हुने ।

दुई- हिजो माले बनाउँदाको वामदेव गौतम जस्तो भएर कुनै खास समयमा कमरेड ओली र एमालेसँगै फर्किने ।

यी दुई तपाईंहरूका स्वाभाविक नियति हुन् । अहिलेसम्मको तरिका र ताकतले पुर्‍याउने भनेको यी दुईमध्ये कुनै एक हो । यदि यी नियति नभोग्ने अठोट बाँकी छ भने तपाईंहरूले तेस्रो बाटो अवलम्बन गर्नै पर्छ ।

तेस्रो बाटो भनेको के हो त ?

त्यो भनेको ‘बृहत्तर समाजवादी केन्द्र’ को बाटो हो । अरू उपाय नै देखिन्न । इतिहासले तपाईंहरूका लागि अरू कुनै उपाय वा बाटो बाँकी छोडेको छ जस्तो लाग्दैन । ओलीसँगको गुट झगडामा जितेर तपाईंंहरू ठूलो पार्टी बन्न सक्नुहुन्न । मैले यसो भनेर ओलीको अनुकूलतामा वातावरण वा मनोविज्ञान बनाउन खोजेको हैन । सत्यको एउटा पाटो, नेपाली मतदाताको मनोसामाजिक धरातल बोलेको हो ।

तपाईंहरू अहिले जसरी जाँदै हुनुहुन्छ, त्यसरी जानुभयो भने देश द्वि-दलीय प्रणालीमा फर्किन्छ । २०४६-२०५६ को बीचमा जस्तै कांग्रेस-एमालेको युगमा फर्किन्छ । एमाले पनि कमजोर अवश्य हुन्छ । तर, आम मनोसामाजिक धरातलले उसलाई चुनावपछि पुनर्जागृत हुने अवसर दिन सक्दछ । यो यथार्थलाई बेलैमा बुझेर सही रणनीति बनाउनु सबैको हितमा छ । कम्तीमा देशको हितमा छ । इतिहासको गति अनुकूल छ ।

जसपा कार्यकर्ता भएर आफ्नो पार्टीको हितका लागि मैले यो कुरा भनिरहेको छैन । जसपाको जे जत्रो आकार र जनमत अंश छ, त्यसका आधारमा यो पार्टी अहिले पनि कुनै जोखिममा छैन । रातारात धेरै ठूलो नहोला तर अस्तित्व संकटको जोखिममा छैन । जे-जति बढ्छ, गत चुनावमा भन्दा अवश्य बढ्छ । आफ्नो हैसियत र हिस्सा अनुरूपको प्रदर्शन जसपाले अवश्य गर्छ । तर, देशका लागि, राजनीतिको प्रवृत्ति बदल्नका लागि, युगीन बदलाव ल्याउनका लागि त्यति मात्र कुरा पर्याप्त हुँदैन ।

त्यसैले राम्रो हुन्छ कि आउने चुनावमा ‘प्रगतिशील, लोकतन्त्रिक तथा समाजवादी मोर्चा’ बनाउनु । त्यो मोर्चामा कम्तीमा पाँच पार्टी हुन सक्दछन् । माओवादी हुन सक्दछ । माधव नेपाल नेतृत्वको समाजवादी हुन सक्दछ । जसपा हुन सक्दछ । लोसपालाई पनि एमाले र ओलीतर जान दिनुभन्दा यही गठबन्धनमा ताने हुन्छ । उपत्यकाको शहरिया र युवा जनमतलाई विचार गरी साझा विवेकशीलको मिलन पाण्डे पक्षलाई समेत यसको साझेदार बनाउँदा केही बिगि्रंदैन । त्यो समूह संगठनले सानो होला, त्यसको ‘सांकेतिक सन्देश’ बलियो हुन्छ ।

मैले यो लेख आफ्नो पार्टीका नेताहरूसँग कुरा गरेर, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ वा महेन्द्र राय यादवसँग कुरा गरेर, उनीहरूको सल्लाहमा, समर्थनमा लेखेको हैन । देशले मागेको कुरा, देखेको कुरा लेखेको हो । मेरै पार्टीका थुप्रै मान्छेलाई यस्तो लेख मन पर्ने छैन भन्ने थाहा छ । यसबापत व्यक्तिगत राजनीतिक जीवनमा कुनै जोखिम वा संकट आइपरे पनि ठीकै छ, भोगौंला तर देशको आवश्यकता यो हो ।

कमरेड प्रचण्ड र माधव नेपाल ! के गर्नुहुन्छ ? फलाम तातेको बेला घन हान्नुहुन्छ कि पछि फुर्सदमा पछुताउनुहुन्छ ? यस्तो पत्र लेख्नुका पछाडि मेरो कुनै व्यक्तिगत स्वार्थ छैन । तपाईंंहरूको स्थिति र नियति देखेर दया लागेको पनि हैन । इतिहासको यो चरणमा राष्ट्रिय राजनीतिलाई पुनः आकारित गर्न देखेको उपाय सुझाएको मात्र हो

कमरेड प्रचण्ड ! कमरेड माधव नेपाल !

तर, तपाईंहरू यो यथार्थलाई बुझ्नुको साटो नेपाली कांग्रेससँग टाँसिने जुन रणनीतिमा जानुहुँदैछ, त्यो अन्ततः असफल हुनेछ । असफल मात्र हैन आत्मघाती हुनेछ ।

जताबाट जति नापे पनि नेपाली कांग्रेसको धेरै भर गर्न सकिने अवस्था छैन । कांग्रेसको मनोविज्ञान फरक हो । कांग्रेसको आफ्नै जनमत, विरासत र इतिहास छ । कम्युनिष्ट ब्राण्डका पार्टीलाई बोकेर हिंड्न, त्यस्ता नामका पार्टीसँग सम्मानजनक चुनावी गठबन्धन गर्न कांग्रेसीहरू असजिलो मान्दछन् । एकाध सीट छाडिदेलान्, त्यो भिन्नै कुरा हो । प्रचण्ड र माधव नेपालले मात्र जित्ने, जिताउने हो भने केही छैन, कांग्रेसले त्यतिसम्म मान्ला । कांग्रेस तपाईंंहरूलाई सम्म जिताउन तयार होला तर तपाईंहरूको पार्टीलाई जिताउन मरे तयार हुने छैन ।

त्यसबापत कांग्रेसलाई दोष लगाउन आवश्यक पनि छैन । किनकि कांग्रेस भिन्नै संस्कार र चरित्रले बनेको मास पार्टी हो । त्यो कम्युनिष्ट पार्टी जस्तो नेताले जे भन्यो त्यही हुने कार्यकर्ता पार्टी हैन भन्ने उदाहरण त्यसको भर्खरै सम्पन्न महाधिवेशनले नै देखायो । कांग्रेसका कार्यकर्ता, सदस्य, समर्थक, मतदाताले नेताको हृवीप नमान्न सक्दछन् । क्रस भोट गर्न सक्दछन् ।

मानौं कि शेरबहादुर देउवा तपाईंहरूसँग गठबन्धन गर्न राजी भए तथापि कांग्रेसका कार्यकर्ताले तपाईंहरूलाई भोट दिएर जिताइदिन्छन् भन्ने कुनै ग्यारेन्टी हुँदैन । गत चुनावमा देउवाले तपाईंहरूको विशालकाय गठबन्धन विरुद्ध केही अन्य दलका नेतालाई समर्थन गरेका थिए । गोर्खामा डा. बाबुराम भट्टराईले कांग्रेसको समर्थनमा जिते र कांग्रेसले समर्थन गरेका कमल थापा र पशुपतिशमशेरले मकवानपुर र सिन्धुपाल्चोकमा त जितेनन् ।

कांग्रेसका मतदाताले गठबन्धन नै गर्न पनि अलिक लोकतान्त्रिक चरित्रको शक्ति चाहन्छन्, अति वाम वा अति दक्षिणपन्थीलाई उनीहरूलेे सजिलै भोट हस्तान्तरण गर्दैनन् । तसर्थ, तपाईंहरू कांग्रेसको धेरै आशा नगर्नुस् । धेरै भर पनि नपर्नुस् । त्यसबापत कांग्रेसलाई कुनै दोष पनि नलगाउनुस् ।

त्यसो भए अब के विकल्प बाँकी छ त ? कि कुद्दै फेरि रातारात एमाले र ओलीसँग गठबन्धन गर्न जानुहुन्छ ? कमरेड प्रचण्डको त कुनै भर हुँदैन । कांग्रेससँग साँच्चै रिस उठ्यो, आफ्नै अस्तित्व संकटको अनुभूति भयो वा नयाँ प्रकारको प्रतिशोधको भावना मनमा जाग्यो भने कमरेड प्रचण्डले त फेरि एमाले र ओलीसँगै गठबन्धन गर्न बेर छैन ।

तर, माधव नेपालका लागि शायद यो चुनावमै त्यसो गर्न सम्भव हुन्न । शायद कमरेड प्रचण्डकै लागि पनि यो चुनाव त्यसो गर्न उचित हुन्न । त्यसो गरे कमरेड प्रचण्डको अवसरवाद झनै नाङ्गो हुनेछ । विगत चार वर्षको संघर्ष अर्थहीन हुनेछ ।

त्यसो भए के गर्नुहुन्छ ?

देशको राजनीतिक शक्ति-सन्तुलनमा छिट्टै कुनै सार्थक बदलाव ल्याउने हो भने त्यसको सही रणनीति ‘बृहत्तर समाजवादी मोर्चा’ नै हो । ‘कम्युनिष्ट मोर्चा’ को अवधारणा गत चुनावमै असफल भइसक्यो । ‘कम्युनिष्ट’ ब्राण्डप्रति नागरिक र मतदाताले हिजो जस्तो मोह राख्न छोडिसकेका छन् । सबैलाई थाहा छ- विचार, सिद्धान्त, एजेण्डा र कार्यदिशाले कम्युनिष्ट नेपालमा अब कोही बाँकी रहेन । तपाईंहरू पनि हैन । तपाईंंहरू पनि ब्राण्ड मात्रै हो । माक्र्सवाद, लेनिनवाद र माओवादको मानकबाट हेर्दा तपाईंंहरूमा कम्युनिष्ट चरित्र र एजेण्डा के बाँकी छ र ?

‘बृहत्तर समाजवादी मोर्चा’ को अवधारणामा यसो जाने हो भने कांग्रेस र एमालेको फुर्ती आधा त्यसै मर्छ । बाँकी आधा फुर्ती चुनावको मैदानबाट झार्न सकिन्छ । पछिल्ला राजनीतिक घटनाक्रमपछि मानिसको मनोविज्ञान निकै विशंृखलित र थङ्थिलो भएको छ । यो यथार्थलाई बुझेर एकीकृत आक्रामक अभियान गर्ने हो भने देशमा पहिलोपटक कांग्रेस र एमाले दुवैलाई प्रतिपक्षमा धकेलेर ‘तेस्रो मोर्चा’ को बहुमतको सरकार बन्न सक्दछ । ठीक यतिखेरै त यो गफ जस्तो लाग्न सक्दछ । तर, देशभरिको जनमत र वस्तुगत आधारलाई हेर्दा त्यो असम्भव छैन ।

तर, यस्तो मोर्चा केवल चुनावी मोर्चा मात्र हुनुहुँदैन । चुनाव जित्नका लागि बनाइने अवसरवादी मोर्चालाई जनताले पत्याउने छैनन् । त्यसका न्यूनतम साझा कार्यक्रम पनि जरूरी हुन्छ । कम्तीमा संविधान संशोधन, शासकीय स्वरूप परिवर्तन, प्रदेश पुनर्सिमाङ्कन, सीमान्तकृत समुदायको समावेशिता र सामाजिक न्याय, सुशासनको प्रत्याभूति र समाजवाद-उन्मुख ढाँचामा अर्थतन्त्रको पुनर्गठन जस्ता एजेण्डा बोक्न मोर्चा राजी हुनुपर्दछ ।

यी एजेण्डा बोक्न के तपाईंहरूलाई अझै कुनै गाह्रो छ ? यदि छ भने कमरेड ओलीसँगै फर्किए भयो नि, भिन्नै ‘हैइहैइ’ किन गरिरहनु पर्‍यो ?

ओली र एमाले अहिले त्यसै बदनाम छन् । कमरेड माधव नेपालको समूह पनि त्यहाँबाट निस्केपछि, करीब २० प्रतिशतको राजनीतिक क्षति एमालेलाई सीधै हुन्छ । त्यसभित्र पनि १० बुँदेवालाहरू कुण्ठित भएर बसेका छन् । कुनै उपाय नदेखेर ती चामि्रएका हुन् । यदि बलियो तेस्रो मोर्चा बन्यो भने अरू १० प्रतिशत एमालेको परम्परागत मत नयाँ मोर्चातिर आउँछ । लोसपालाई समेत गठबन्धनमा लिने हो भने मधेशलाई ‘कन्सोलिडेट’ गर्न धेरै सजिलो हुन्छ । विवेकशीलले काठमाडौंको शहरिया युवा जनमतलाई तेस्रो मोर्चाको पक्षमा मनोवैज्ञानिक अनुकूलन गर्न सक्दछ ।

राष्ट्रिय जनमोर्चा गठबन्धनमा आउन चाहे लिए भो, नत्र धेरै कर गर्न जरूरी छैन । जनमोर्चाको ‘संघीयता विरोधी’ छवि यस्तो गठबन्धनका लागि उपयुक्त हुँदैन ।

यस्तो गठबन्धन प्रकारान्तरले देशमा एक शक्तिशाली ‘प्रोग्रेसिभ- डेमोक्र्याटिक’ पार्टीको आधारशिला पनि हुन सक्दछ ।

कमरेड प्रचण्ड र माधव नेपाल !

के गर्नुहुन्छ ? फलाम तातेको बेला घन हान्नुहुन्छ कि पछि फुर्सदमा पछुताउनुहुन्छ ? यस्तो पत्र लेख्नुका पछाडि मेरो कुनै व्यक्तिगत स्वार्थ छैन । तपाईंहरूको स्थिति र नियति देखेर दया लागेको पनि हैन । इतिहासको यो चरणमा राष्ट्रिय राजनीतिलाई पुनः आकारित गर्न देखेको उपाय सुझाएको मात्र हो ।

व्यक्तिगत रूपमा न लेना न देना ।

आगे तपाईंहरूको मर्जी ।



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0