पार्टी खोल्ने युवा, नेतृत्व गर्ने बुढा – Online Khabar


भूमिगत रहेको माओवादी पार्टी शान्ति प्रक्रिया आएसँगै खुला हुँदा पार्टीका सबैजसो नेताहरु भर्भराउँदा  युवाहरुको रूपमा देखा परेका थिए । यो सामान्य विषय थिएन ।  विरोधीका लागि भय, त्रास र कार्यकर्ताको लागि आशा, भरोसा र भविष्यको  विषय थियो । अन्य राजनीतिक पार्टीमा क्रियाशील युवाहरुका लागि पनि आशाको क्षितिजमा बलेको रापिलो  ताप थियो ।

माओवादी पार्टीको यो अवस्थालाई एक दिन सार्वजनिक मञ्चबाट नै नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाले भनेका थिए— कुनै दिन नेपाली कांग्रेस पनि युवाहरुको पार्टी थियो समय क्रममा ती सबै नेताहरु बुढो हुँदै गए । थापाको कुरा सही नै थियो । नेपालका राजनीतिक पार्टीहरु युवाहरुले खोलेका  पार्टीहरू हुन् । गंगालाल श्रेष्ठ २२ वर्षमा शहीद भएको मुलुक यही हो  । माओवादी पार्टीका अध्यक्ष प्रचण्ड ३५ वर्षमा नै पार्टीको महासचिव भएका थिए । नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ पनि ३५ वर्षमा नै तत्कालीन एकताकेन्द्रको महासचिव भएका थिए । मदन भण्डारी ४० वर्षको उमेरमा महासचिव बनेका थिए । बीपी ३३ वर्षमै कार्यवाहक सभापति, ३९ वर्षमा कांग्रेस सभापति र ४६ वर्ष हुँदा प्रधानमन्त्री भइसकेका थिए ।

स्मरणीय तथ्य के पनि हो भने सन् २०११ को जनगणना अनुसार नेपालको जनसंख्याको १६–४० वर्षको उमेर समूह कुल जनसंख्याको ४०.३५ प्रतिशत छ ।  तर अहिलेको राजनीतिको बागडोर भने यो समूहको हातमा छैन ।

युवाहरुको नेतृत्वमा खोलिएको पार्टीले नेपाली राजनीतिक आन्दोलनमा धेरै योगदान दियो । बीपी कोइरालादेखि पुष्पकमल दाहाल ‘प्रचण्ड’सम्म आइपुग्दा आफ्नो युवा अवस्थामा धेरै ठूला-ठूला चुनौती उठाए । देशमा गणतन्त्रको उडान भरे । समाजवाद उन्मुख संविधान बनाए। धेरै-धेरै कामहरु गरे । नयाँ – नयाँ एजेण्डा उठाए । आफ्नो-आफ्नो उमेरमा उथलपुथल नै मच्चाए ।  समाजको गुण नै  निरन्तर परिवर्तनीय भएको हुनाले एउटा कालखण्डमा कोही कसैले योगदान गर्दैमा त्यस उप्रान्त  अरुले सोच्नै नपर्ने भन्ने त हुँदैन समाजमा निरन्तर नयाँ मुद्दाहरु त आइनैरहन्छन्  तर  यी सबै कुरा उनीहरूले आफ्नो भर्भराउँदो युवा उमेरमै गरे ।  विडम्बना त्यसयता राजनीतिमा क्रियाशीलहरुमध्ये संसार छाडेर जानेहरू पनि सास रहुन्जेल नेतृत्वमा नै रहेर बिदा भए, बाँचेकाहरु त झन्  सबै राजनीतिको नेतृत्वतहमा नै रहेका छन् । यो एउटा  गम्भीरतापूर्वक छलफल गर्नुपर्ने विषय हो ।

माओवादी पार्टी शान्तिपूर्ण राजनीतिमा क्रियाशील भएको आज १६ वर्ष भइसकेको छ । त्यो बेलाका भर्भराउँदो युवा नेताहरुको उमेरमा अहिले समयक्रममा १६ वर्ष उमेर थपिएको छ । हिजोको भन्दा आज क्रमशः बुढो हुँदै गएका छन् । सँगै पाका र अनुभवी पनि तर  सँगै सोचनीय विषय यो पनि हो कि हिजोको युवाहरुको पार्टी माओवादी केन्द्रको केन्द्रीय समितिमा अहिले ४० वर्ष मुनिको युवा छैनन् ।  यही विषयलाई नयाँ ढंगले सम्बोधन गर्न माओवादी पार्टीले पुसको ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलनबाट २९९ जनाको केन्द्रीय समितिमा  २० प्रतिशत युवा  सहभागी गराउने विधान बनाएको छ । एमालेले निकै तामझाम सहित विधान अधिवेशन गरेर बनाएको विधान  व्यक्तिको व्यवस्थापन गर्न बाधक बनेपछि नारायणी किनारमा कुल्चेर अघि बढे जस्तै  माओवादीले पनि जारी गरेको विधान कागजको खोस्टोमा सीमित गरेन  भने २० प्रतिशत अर्थात् झण्डै ६० जना युवाहरु केन्द्रीय समितिमा आउने पक्का छ । त्यसमा पनि झण्डै ३० जना नयाँ युवा अनुहार आउने स्थिति छ।

माओवादी केन्द्रको ८ लाख पार्टी सदस्य मध्ये ५० प्रतिशत भन्दा धेरै पार्टी सदस्यता भर्नेहरु युवा छन् । यो अवस्था सबै पार्टीमा छ। साथै कुनै पनि नेताले राजनीति बुढेसकालमा गरेका होइनन् सबै युवा अवस्थामै राजनीति गरेका हुन् । निरन्तरताको राजनीतिक यात्राकै क्रममा राजनीतिमै बुढा भएका मात्र हुन्

युवाहरुको  विषयमा वा पक्षमा विषय उठाइरहँदा मनन गर्नुपर्ने विषय यो पनि हो कि युवा भनेर केवल उमेरको मात्र कुरा गर्न खोजिएको होइन । उमेर एउटा नम्बर मात्र पनि हो । विचार, जोश, जाँगर, संकल्प, समर्पण  विनाको उमेर  केवल नम्बर मात्र हो । यहाँ त्यस्तो बुढो युवाको पक्षमा बोल्न खोजिएको पनि होइन  । बीपी, मदन भण्डारी, प्रचण्ड, नारायणकाजीको त्यो बेलाको युवाहरुको कुरा गरिएको हो  । हालै ल्याटिन अमेरिकी मुलुक चिलीको  राष्ट्रपतिमा निर्वाचित भएका ३५ वर्षीय गेब्रियल बोरिक जस्ता युवाको  कुरा गर्न खोजिएको हो । के त्यस्ता युवाहरु राजनीतिक आन्दोलनमा पार्टीहरूसँग छैनन् त ?

केही समय अघि मात्र राप्रपा नेपाल र नेपाली कांग्रेसको महाधिवेशन सम्पन्न भएको छ । ती दुई महाधिवेशनले अकल्पनीय परिणाम र सन्देश दिएको छ ।  सामान्यतया कमल थापाले राप्रपा नेपालमा आफ्नो विकल्प छ भन्ने कुरा  सामान्य अनुमान पनि गरेका थिएनन् । नेपाली कांग्रेसमा पनि पुरानो नेताहरुले आफ्नो विकल्प छ भन्ने कुराको नजरअन्दाज गरिरहेका थिए । तर ती दुवै दलको महाधिवेशनले  सबैको विकल्प छ, कोही कसैले पनि आफूलाई निर्विकल्प ठान्नुहुँदैन  भन्ने महत्वपूर्ण सन्देश प्रवाह गरेको छ । यसको अर्थ बुढा र अनुभवी नेताले पार्टी छोडिहाल्नुपर्छ भन्ने पनि होइन । एउटा पुस्ताको मात्र नेताहरु हुँदा गगन थापाले भने जस्तै  एकदिन त्यो  बुढाहरुको मात्र पार्टी हुन पुग्दछ । त्यसकारण सोपानक्रममा नयाँ पुस्तालाई विकास र विश्वास गर्दै र जिम्मेवारी दिंदै जानुपर्यो भन्ने हो । युवा र वृद्ध नेताहरुले सम्झौता गरेर आएका उदाहरण पनि छन् । प्रचण्ड र गिरिजाबाबुले गरेको युगान्तकारी सम्झौता त्यसको एउटा उदाहरण हो ।

कहिलेकाहीं  युवा पुस्ताले राजनीति गर्नुपर्यो भनेको पनि सुन्न पाइन्छ  साथै राजनीतिमा युवाहरुलाई आह्वान गरेको पनि देखिन्छ ।  यो राम्रो कुरा नै हो तर नेपालको राजनीतिको समस्या युवा नभएर हो ? त्यो सत्य होइन  नेपालका राजनीतिक पार्टीमा युवाहरु छन्  । माओवादी केन्द्रको ८ लाख पार्टी सदस्य मध्ये ५० प्रतिशत भन्दा धेरै पार्टी सदस्यता भर्नेहरु युवा छन् । यो अवस्था सबै पार्टीमा छ। साथै कुनै पनि नेताले राजनीति बुढेसकालमा गरेका होइनन् सबै युवा अवस्थामै राजनीति गरेका हुन् । निरन्तरताको राजनीतिक यात्राकै क्रममा राजनीतिमै बुढा भएका मात्र हुन् । युवाको पक्षमा सवाल उठाइरहँदा अर्को सवाल पनि छ के बूढो हुँदैमा राजनीतिबाट संन्यास लिन जरुरी छ ? मेरो विचारमा जरुरी छैन तर शरीरले साथ नदिंदा पनि नेतृत्वमा लिसो टाँसिए झैं टाँसिनुपर्ने प्रवृत्ति भने गलत नै हुन्छ । राजनीति भनेको समाजसेवाको विषय भएकोले आफूले सक्दासम्म समाजको सेवा गर्ने हो  संन्यास लिने होइन। तर त्यसको लागि उपल्लो तहका कार्यकारी पद नै खोज्नु चाहिं गलत हुन्छ ।

भर्खरै सम्पन्न भएको नेपाली कांग्रेसको महाधिवेशनमा ४५ वर्षको उमेरका गगन थापा महामन्त्रीमा विजय भएका छन् । युवाहरुको नेतृत्व विकास किन हुन सकिरहेको छैन  सम्भव कसरी छ भन्ने सवाललाई सचेततापूर्वक  ध्यान पुर्याएनन्  भन्ने एक दिन बीपीलाई, गिरिजालाई, गणेशमानलाई, शेरबहादुरलाई बुढो हुँदासम्म पनि कज्याई राखेको प्रणालीले थापालाई पनि कज्याई रहनेछ । उनले पनि यो समस्या समाधान गर्ने प्रणाली निर्माण गर्छन् गर्दैनन् हेर्न बाँकी छ ।

इच्छाशक्ति र ऊर्जा भएका  युवाले जिम्मा लिएपछि सब ठीक हुन्छ  भन्ने दावी त होइन तर  राजनीतिक पार्टीमा आवद्ध भएका युवाहरुलाई जवाफदेही गराउँदै जिम्मा दिंदै नजाने हो भने ती युवाहरु पनि युवा अवस्थामै बुढो हुन्छन् । सँगै स्मरण गर्ने सवाल के पनि हो भने राजनीतिक र सामाजिक मुद्दा उठाउने दलहरूसँग असम्बन्धित युवाहरूको ठूलो समूह पनि छ, जसले दलमा आवद्ध युवाहरूलाई छायाँमा पार्दै सामाजिक मुद्दाहरूमा उदाहरणीय काम गर्दै आएका छन्। त्यो राम्रो कुरा नै हो तर दलले आफ्नो पार्टीमा क्रियाशील युवाहरुलाई ती असंगठित युवाहरुको पनि नेतृत्व गर्न सक्ने गरी जिम्मेवारी दिने कन्जुस्याईं गर्नुहुँदैन ।

युवाहरु सोपानमा नेतृत्व तहमा पुग्न नसक्नुको प्रमुख दुई कारण छन्– पहिले सार्वजनिक नियुक्तिका पद र समितिहरुमा एक व्यक्ति कति पटकसम्म नियुक्त हुन पाउने भन्ने सवाल हो । संसारका धेरै देशहरुले संगठनले कति कार्यकाल  एक पदमा बस्न सकिने भन्ने नियम बनाएका छन् । नेपालको संविधानले राष्ट्रपतिको लागि दुई पटक भन्दा बढी दोहोरिन नपाउने व्यवस्था गरेको छ । प्रधानमन्त्री र अन्य पदहरुमा पनि यो व्यावस्था लागू गर्न जरुरी छ । कुनै पनि पार्टीका डकुमेन्टहरुमा  एक नेताको कार्यकाल कति समयको हुने व्यवस्था छैन यो सवाल पनि राजनीतिक मन्त्र नभएर संस्था गतिशीलताको लागि विशेष महत्वको सवाल हो ।

दोस्रो सवाल उमेरकै हो । कति उमेरसम्म कार्यकारी पदमा रहने निर्क्योल स्वयं व्यक्तिले पनि र प्रणालीले पनि गर्नै पर्छ ।  सामान्यतया सार्वजनिक नियुक्ति हुनको लागि व्यतिका आचरण र  ३५ वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था गरिएको नै छ । त्यो सँगसँगै कति वर्षको उमेरसम्म पदमा बहाल रहने भन्ने पनि  हुन जरुरी छ । अन्यथा ५० वर्ष पार गरेका विश्वप्रकाश शर्मा नेपाली कांग्रेसको महामन्त्री हुँदा युवाहरुले आफ्नो प्रतिनिधि ठानेर खुशी हुने  अवस्था रहिरहन्छ । उमेरले ६० को वारपार पुगेका नेताहरुलाई  नयाँ युवापुस्ताको माझ लाज नमानी युवा पुस्ताका नेता भनेर कति समयसम्म चिनाइरहने ?

(लेखक नेकपा माओवादी केन्द्रसँग आवद्ध छन् ।)



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0