सैद्धान्तिक आँखीझ्यालबाट पारिवारिक सत्ता – Online Khabar


‘सर, एक जना महिला तपाईंलाई भेट्न बाहिर पर्खिरहेकी छिन्’, कार्यालय सहयोगीले छेउमै आएर भने । मैले भने, ‘किन रहेछ ? भित्रै पठाइदिनु नि त !’ उनी मेरो कार्यकक्षमा छिरिन् । उमेरले त्यस्तै ३० वर्ष हाराहारीकी थिइन् होला । उनको अनुहारमा देखिने नीलडाम, सुन्निएका आँखा, उदास अनि मलिन भावले दुःख, वेदना र संघर्षको कथा बोलिरहेको थियो । २१ वर्षको उमेरमा प्रेमविवाह गरेकी उनले भक्कानिंदै वेदनाको पोको खोल्न थालिन् ।

उनको विवाह पश्चात्का शुरूआती दिनहरू राम्रै थिए । घरमा सासू ससुरा, श्रीमान्, देवर, नन्द थिए । प्रेमविवाह भएकाले घरमा उनलाई सहज रूपमा स्वीकारिएको थिएन । केही दिनपछि नै उनको सासूसँग बेमेल शुरू भयो । उनका श्रीमान् कहिले ड्राइभिङ गर्थे, कहिले प्राइभेट कम्पनीमा काम गर्थे । यसै बीचमा उनले रक्सी पिउन शुरू गरेका थिए ।

बिहे गरेको तीन वर्षपछि उनी पनि एउटा एनजीओमा काम गर्न थालिन् । त्यस बखत श्रीमान् बेरोजगार भएका थिए । रक्सी पिउन पनि उनले पैसा माग्न थाले । त्यसपश्चात् शुरू हुन थाल्यो, उनीहरू बीच झगडा । दुई छोरी हुँदाहुँदै पनि उनको पेटमा अझै पनि बच्चा रहेछ । त्यो बच्चा उनको आफ्नो रहरले जन्माउन लागेकी थिइनन् । छोराको चाहनालाई परिपूर्ति गर्ने घरका मान्छेको इच्छाका लागि उनले त्यो बच्चा पाउन लागेकी थिइन् ।

श्रीमान् जहिले पनि रक्सी पिएर आउने, साना साना विषयमा निहुँ झिकेर उनलाई पिट्थे । दुई दिनअघि पनि मरणासन्न हुने गरी पिटेका रहेछन् । उनले आँशु चुहाउँदै बताइन् । उनको श्रीमान् र ससुराको पनि दिनैजसो झगडा हुँदोरहेछ । श्रीमान्को रक्सी खाने बानीका कारण उनका ससुरा आजित थिए । रक्सी पिउनु नै घरमा झगडाको बीउ हो भन्ने विश्वास ससुरामा थियो । श्रीमान्ले जहिले पनि अंश माग्ने र त्यही निहुँमा बाबु र छोराको झगडा शुरू भइहाल्ने रहेछ ।

बाबुसँग झगडा हुने बित्तिकै पिटाइ चाहिं उनले खानुपर्दो रहेछ । शायद बाबुलाई सीधै हात उठाउन नसकेका उनका श्रीमान्का हातहरू उनीमाथि जाइलाग्ने रहेछन् । केही दिन अगाडि उनीहरू बसेको घर र बारी खरीद गर्न भनी केही मान्छे आएछन् । उनको मनमा अर्को पीडा थपियो ।

घरमा ससुरा र श्रीमान्को यस्तै झगडा भई नै रहने हो भने कुन दिन ससुराले सम्पत्ति बेचिदिने हुन् ! भएको त्यही सम्पत्ति पनि बेचियो भने छोरीहरू तथा पेटमा भएको बच्चालाई कसरी हुर्काउने, बढाउने, पढाउने हो, उनलाई चिन्ताले घेर्‍यो ।

सामन्तवादी उत्पादन प्रणाली तथा नेपाली समाज जस्तो सामन्तवादी उत्पादन प्रणालीबाट पूँजीवादी उत्पादन प्रणालीको संक्रमण भएको समाज र पुरुष सत्ताले निर्माण गरेको सामाजिक मूल्य, मान्यतायुक्त संरचनामा बाबुमा शक्ति अन्तरनिहित हुन्छ, किनकि सामान्यतः उनमा परिवार आश्रित हुन्छ । स्रोत र साधनको निर्माण र परिचालनमा उसको स्वतन्त्र अधिकार हुन्छ । अर्थात् पारिवारिक सत्ता बाबुको हातमा हुन्छ । यो अर्थ प्रणालीको सापेक्षमा निर्माण भएका पारिवारिक मूल्य सन्तुलनमा हुन्छन्, त्यस अवस्थामा सामान्यतः परिवारमा विवाद तथा झगडा कम हुन्छन् ।

यस सन्तुलनमा थोरै बदलाव आएर यदि त्यस घरकी आमा अर्थोपार्जन गर्न र सोको परिचालनमा आत्मनिर्णय गर्न थालिन् भने उनले आफूलाई स्वतन्त्र महसूस गर्न थाल्छिन्, उनमा आत्मविश्वास अभिवृद्धि हुन्छ । परिणामस्वरुप उनको अवचेतनले आफ्नो श्रीमान्का आदेशमाथि धावा बोल्छन् । श्रीमान् आफूमा निहित सत्ता श्रीमतीको हातमा सहज हस्तान्तरण गर्न तयार हुँदैनन् ।

त्यो घरमा पुरुष सत्ताको सापेक्षमा निर्माण भएको बाबुको सत्तालाई उनले प्रश्न गर्न थाल्छिन्, अनि शुरू हुन्छ विवाद, द्वन्द्व र झगडा । यसलाई सही रूपमा व्यवस्थापन गरी सन्तुलन कायम गर्न सकिएन भने त्रासदीपूर्ण समाचार बन्छन् । यदि त्यो श्रीमान्ले आफ्नी श्रीमतीसँग सत्ता साझेदारी गर्न थाल्यो भने समाजले उसको पुरुष सत्ताको प्रयोग प्रति नै प्रश्न खडा गर्छ र उसलाई जोइटिङ्ग्रे लगायत उपनामहरू प्राप्त हुन्छन् ।

उनका आँखाबाट तप्प-तप्प झरेका आँशुहरू गालालाई छिचोल्दै भुइँमा टप्किरहेका थिए । उनका आँशुलाई छल्न मेरा आँखा झ्यालबाट पर देखिने सुक्खा पहाडको उराठ डाँडामा पुगे । कालो बादल मडारिएर पानी छिट्याउन शुरू गरेको थियो । म किताबमा पढेका जीवनका सिद्धान्तलाई व्यवहारको कसीमा अनुभूति गरिरहेको थिएँ ।

पारिवारिक मनमुटाव, बेमेल, झगडा सामाजिक तथा पारिवारिक संरचनाका सामान्य परिघटना हुन् । यसका विभिन्न कारण हुन सक्छन्, तर सबैभन्दा महत्वपूर्ण कारण सत्ता प्राप्ति र त्यसका निम्ति हुने संघर्ष नै रहेछ । समाजशास्त्र र राजनीतिशास्त्रको पनि विद्यार्थी हुनुका नाताले समाज र सत्ताको अन्तरसम्बन्धका बारेमा केही सैद्धान्तिक विषयको त जानकारी थियो तर सिडियोको हैसियतमा जिल्लामा रहेर काम गर्दा देखेका, अनुभूति गरेका घटना, समाजका अन्तरविरोध र संघर्षका कथाहरू मैले पढेका किताबका सिद्धान्त भन्दा कैयौं गुणा शक्तिशाली थिए ।

सत्ता भनेको स्रोतसाधनमाथि पहुँच कायम गरी उक्त स्रोतसाधनको परिचालनमा स्वतन्त्र र वैधानिक निर्णय अधिकार हो । सत्ताको सीधा सम्बन्ध शक्तिमा अन्तरनिहित छ । शक्ति, सम्पत्ति अनि सत्ताबीचमा द्वन्द्वात्मक सम्बन्ध कायम रहेको हुन्छ । सार्वभौम सत्ता वा आफैंभित्रको सत्ता, पारिवारिक सत्ता, सामाजिक सत्ता र राज्य सत्ता गरी द्वन्द्वको सापेक्षतामा नै सत्ताको निर्माण हुन्छ । त्यसैले सबै तहमा शक्ति र सम्पत्तिको वैधानिक प्राप्तिका लागि हुने प्रयासले द्वन्द्व सिर्जना गर्दोरहेछ ।

उनका जीवन कथा जस्ता मिल्दोजुल्दो प्रकृतिका घटनाहरू मैले धेरै नै देखेको र सुनेको भए पनि उनको मलिन अनुहार, उदास आँखा, शून्यतातर्फ अग्रसर भावले मलाई बढी नै भावुक बनायो । मैले विभिन्न सन्दर्भमा सैद्धान्तिक रूपमा पढेका भावहरू सम्झिएँ ।

बुहारी पनि आफ्नो श्रीमान् वा पुरुष सत्ताको अधीनस्थ हुन चाहन्छिन्, न कि सासू अर्थात् नारी सत्ताको । उनको अवचेतनमा के कुरा स्पष्ट छ भने उनकी सासूमा न कहिल्यै सत्ता थियो, न हुनेछ । त्यो देखावटी सत्ता उनलाई नाटकीय लाग्छ । त्यसैले उनी त्यो सत्ताका विरुद्ध तत्काल धावा बोल्न थालिहाल्छिन् । त्यसैले अधिकांश परिवारमा सासू बुहारीको झगडा हुन्छ ।

 

पारिवारिक साझा सम्पत्ति नै पूँजीको आधारका रूपमा रहने पुरुष सत्ता अधीनस्थ नेपाली समाजमा पनि परिवारमा छोराले बिहे नगरुञ्जेलसम्म सामान्यतः छोरो बाबुको सत्ताको अधीनस्थ हुन्छ । उसका स्वतन्त्र निर्णयलाई पनि बाबुले आफ्नै सत्ताको अंशका रूपमा स्वीकारेको हुन्छ ।

छोराले आर्जन गरेको सम्पत्ति बाबुको सत्तालाई सुम्पिन्छ वा आफैं परिचालन गर्‍यो भने पनि बाबुले आफ्नै सत्ताको अधीनस्थ रही आफूमा निहित दायित्वलाई छोराले सहज पारेको अर्थमा सोच्छ । त्यहाँ सत्ता साझेदारीको प्रश्न खडा भएको हुँदैन ।

जब छोराले बिहे गर्छ, अब छोरो कसैको श्रीमान् बन्छ । श्रीमतीका रूपमा उसमा आश्रित र शासित हुने कोही व्यक्तिलाई ल्याएको उसले अनुभूत गर्छ । त्यस पश्चात् उसमा शासकीय अभिमान सिर्जना हुन पुग्छ । त्यस अवस्थामा स्वाभाविक रूपमा उसले बाबुको हातमा रहेको सत्ताको हिस्सा लिन खोज्छ । यस घटनालाई बाबुले सहज रूपमा स्वीकार्न तयार हुँदैन, किनकि सत्ता कसैले माग्दैमा दिने वस्तु होइन, यो त निश्चित विधिको परिबन्दमा खोसिने वस्तु हो ।

सामान्यतः पुरुष सत्ताले निर्माण गरेका निश्चित मानकहरूमा रहेर स्रोत र साधनको परिचालन क्षमतामा ह्रास आएपछि बाबु सत्ताच्यूत भई छोरामा सत्ता हस्तान्तरण हुने भएकाले बाबु र छोराबीच द्वन्द्व हुन्छ । तर मानवीय संवेदना र भावजन्य विषय सन्तानमा प्रकट हुने भएकाले कहिलेकाहीं यो सत्ता द्वन्द्वमा प्रकट नभई गुपचुप हस्तान्तरण पनि हुन पुग्छ ।

बाबुको सत्ताको प्रतिस्पर्धा छोरासँग हुने भएकाले बाबु र छोराबीच द्वन्द्व हुन्छ, तर बुहारीसँग कमै मात्र झगडा हुन्छ, किनकि बुहारी सत्ता प्राप्तिको दाबेदार हुन्नन् । ससुराले बुहारीमा सत्ता हस्तान्तरण गर्दैनन् र बुहारीले पनि त्यो अपेक्षा राखेका हुँदैनन् । तर, पुरुष सत्ता संरचनाको मूल्य र मान्यतामा बाँधिएका सासूहरूलाई बुहारीसँग प्रतिस्पर्धा चल्न थाल्छ ।

वर्षाैंदेखि पुरुष सत्ताको पीडामा रही त्यही पुरुष सत्ताको अभिन्न अंग हुन पुगेका सासूमा आफूलाई शासक हुने अवचेतन जागृत हुन पुग्छ । सत्ता कायम गर्नका लागि उनीभन्दा सापेक्षिक रूपमा कमजोर देखिएकी बुहारी उनको अगाडि हुन्छे, किनकि छोरो त कहिल्यै पनि उनको शासकीय सत्ताको अधीनस्थ थिएन । त्यसैले छोराप्रतिको मानवीय संवेदना, प्रेमका साथसाथै शासकीय प्रतिस्पर्धा नहुने भएकाले आमा–छोराको सम्बन्धमा खासै समस्या हुँदैन, तर बुहारीमाथि शासन गर्ने सासूको चाहनाले सासू बुहारीको द्वन्द्व शुरू हुन्छ ।

बुहारी पनि आफ्नो श्रीमान् वा पुरुष सत्ताको अधीनस्थ हुन चाहन्छिन्, न कि सासू अर्थात् नारी सत्ताको । उनको अवचेतनमा के कुरा स्पष्ट छ भने उनकी सासूमा न कहिल्यै सत्ता थियो, न हुनेछ । त्यो देखावटी सत्ता उनलाई नाटकीय लाग्छ । त्यसैले उनी त्यो सत्ताका विरुद्ध तत्काल धावा बोल्न थालिहाल्छिन् । त्यसैले अधिकांश परिवारमा सासू बुहारीको झगडा हुन्छ । यसमा मनोवैज्ञानिक पक्ष पनि जिम्मेवार छ, तर त्यो पुरुष सत्ताले निर्माण गरेको संस्कृतिमा आधारित मनोविज्ञान हो ।

सामन्तवादी राज्य प्रणालीले सामन्तवादी सामाजिक तथा पारिवारिक प्रणालीको निर्माण गर्‍यो । व्यक्तिले आफ्नो सार्वभौम अधिकारलाई सामन्तवादी चिन्तन अनुरुप प्रयोग गर्‍यो । परिणामस्वरुप अहिलेको विकृत र शोषणमा आधारित समाजको निर्माण हुन पुगेको छ ।

पूँजीवादी राज्य प्रणाली व्यक्तिको सार्वभौम अधिकारमा बढी केन्द्रीकृत हुँदा पारिवारिक तथा सामाजिक जिम्मेवारी कमजोर बन्न पुगे । व्यक्तिगत स्वतन्त्रताले नयाँ मूल्य सहितको स्वतन्त्र परिवार, समाज र कल्याणकारी राज्य निर्माण हुन्छ भन्ने पूँजीवादी सामाजिक, सांस्कृतिक तथा राजनीतिक अवधारणा टाउकोले टेकेर हिंडिनु जस्तै हो । शोषणमूलक उत्पादन सम्बन्ध र विभाजनमा आधारित सामाजिक, सांस्कृतिक संरचनाले पारिवारिक, सामाजिक तथा स्वयं व्यक्तिको सुख र समृद्धिलाई सही ढंगले व्यवस्थापन गर्न सक्दैन ।

गतिशीलतामा द्वन्द्व हुन्छ, द्वन्द्वमा गतिशीलता । गतिशील द्वन्द्वात्मक सम्बन्धमा कायम भएको सन्तुलनले सबै तहका सत्ताहरू सहज रूपमा अघि बढ्ने गर्छन् । स्वयंभित्रको द्वन्द्व, पारिवारिक द्वन्द्व, सामाजिक द्वन्द्व, राज्यभित्र द्वन्द्व कायम भए पनि जबसम्म त्यो गतिशील र सन्तुलित रूपमा अघि बढ्छ, तबसम्म त्यो सत्तामा द्वन्द्वको प्रकटीकरण हुँदैन । त्यसैले हाम्रा सिद्धान्त, शैली, सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक व्यवहार तथा पद्धतिमा गतिशील द्वन्द्वको अवलम्बन गर्दै न्यायमा आधारित सन्तुलित सत्ता निर्माणका लागि क्रियाशील हुनु अपरिहार्य देखिन्छ । जसका लागि समाजवादी उत्पादन प्रणाली आवश्यक पर्छ ।

समाजवादी उत्पादन प्रणालीमा सबै वर्ग, लिङ्ग, क्षेत्र र समुदायका व्यक्तिहरूमा स्रोत, साधन र अवसरमा समान अधिकारको वितरण हुने हुँदा पुरुष वा निश्चित वर्ग, क्षेत्र र समुदायको सत्ता कमजोर भई न्यायमा आधारित राज्य सत्ता शक्तिशाली हुन्छ । यसले नयाँ संस्कृतिको निर्माण गर्छ ।

राज्य प्रणालीले नेतृत्व लिई निर्माण भएको उक्त नयाँ संस्कृतिको सापेक्षतामा नवीन मूल्य सहितको सामाजिक तथा सांस्कृतिक प्रणाली निर्माण हुन्छ । उक्त सामाजिक तथा सांस्कृतिक प्रणालीले नयाँ पारिवारिक मूल्य प्रणालीको निर्माण गर्छ । नयाँ चेतना, नयाँ मूल्य र नयाँ संस्कृतिले नयाँ विचार भएको व्यक्तिको निर्माण हुन्छ ।

यो नयाँ विचार भएको व्यक्ति सामूहिकतामा विश्वास गर्ने, नैतिकवान र सभ्य हुन्छ । त्यसैले समाजवादी शासन प्रणालीमा शोषणमूलक सामाजिक सम्बन्धका कारण यातना, पीडा र दुःखका ठूला पहाडहरू बोकेर उनी जस्तै लाखौं, करोडौं महिला सत्ताविहीन हुनुपर्दैन, आँशु चुहाउँदै मलिन अनुहारमा अनिश्चित न्यायको ढोका चहार्दै हिंड्नु पर्दैन ।



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0