मानवसेवामा रमाइरहेकी मुना – Online Khabar


बालबालिकासँग मुना

५ पुस, दाङ । मुना लामा २६ वर्षीया युवती हुन् । जन्मस्थान नुवाकोट भएपनि उनी बाबुआमाको काखमा लुटुपुटु गर्दै हेटौंडा उपमहानगरपालिकाको पदमपोखरीमा हुर्कन पुगिन् । बाल्यकाल सुखद तरिकाले नै बित्यो । मुना सानोमा सुन्दर र चञ्चले स्वभावकी थिइन् । पढाइमा उनी सानैदेखि अब्बल थिइन् ।

१२ कक्षा पास गरेकी मुना अब के गर्ने, कुन विषय पढ्ने भनेर सोच्न सकिरहेकी थिइनन् । उनको सानैदेखि भविष्यमा गएर समाजसेवी बन्ने इच्छा थियो । प्लस टुको परीक्षा सिध्याएर विभिन्न तालिम लिंदै गर्दा सात दिनको ज्ञान हस्तान्तरण कार्यक्रममा बस्ने अवसर प्राप्त गरिन् । उनले मानवसेवा आश्रमका बारेमा पहिलो पटक त्यही कार्यक्रममा केही कुरा जान्ने मौका पाइन् । त्यो कार्यक्रम विशेषगरी युवालाई मात्र केन्द्रित गरेर राखिएको थियो । कार्यक्रममा आफ्नो व्यक्तिगत इच्छा भन्दा पनि साथीको साथको लागि त्यहाँ पुगेको मुना बताउँछिन् ।

आफ्नो परिचय समेत खुलाउन नसक्ने मानसिक सन्तुलन गुमाएर सडकका गल्लीमा कष्टकर जीवन बिताइरहेकी सडकमै बलात्कृत र गर्भवती दिदीको कोखबाट आश्रममा जन्म लिएकी पहिलो छोरी खुशीको बारेमा थाहा पाएपछि मानवसेवामा लाग्न प्रेरित भएको मुना बताउँछिन् । मुना मानवसेवा आश्रम मानवता प्रवर्द्धन महाअभियानमा समर्पित अभियन्ता हुन् । उनी अहिले मानवसेवा आश्रम बाल शाखा कार्यालय, गोरखाकी जिल्ला संयोजक हुन् । शुरुका दिनमा मानवसेवामा लाग्न मुनालाई त्यति सजिलो थिएन । घर नजिकैका बिहे ब्रतबन्धमा पनि मुनालाई जान कठिनाइ हुन्थ्यो । पारिवारिक नियम कडा भएकै कारण उनका लागि मानवसेवा चुनौतीपूर्ण नै रह्यो।

‘आमा बन्नका लागि आफ्नै कोखबाट बच्चा जन्माउनुपर्छ भन्ने छैन कर्मले नै आमा बनाउँदो रहेछ । आश्रममा मलाई बाबुनानीहरुले मामु भनेर बोलाएको सुन्दा आनन्द मिल्छ,’ मुस्कुराउँदै मुना भन्छिन् ।

थुप्रै बाबु-नानीको आमा बनेर निस्वार्थ सेवामा खटिरहँदा उनी सन्तुष्ट छिन्। गाउँ, टोल, समाज र छिमेकीले आफूप्रति गरेको माया, स्नेह, सद्भाव नै उनले आजसम्म कमाएको अनमोल धन हो जो पैसामा कहिल्यै तुलना गर्न नसकिने उनी बताउँछिन् । लाखौं करोडौं सम्पत्तिबाट मिल्ने खुशी त केवल क्षणिक हो, मानवसेवाबाट मिल्ने खुशी त अनन्त छ र यही खुशीबाट आफू सन्तुष्ट रहने मुनाको बुझाइ छ ।

मुनाले आश्रममा साना-साना बाबुनानीहरुलाई नुहाइदिने, तेल लगाएर मालिस गर्ने र वृद्ध आमाबुवाको कपाल पनि काटिदिने गर्छिन् । उनीहरुलाई स्कुल जान तयार गर्ने, स्कुल छाड्ने र ल्याउन जाने काम मुनाले नै गर्छिन्। एकैछिन कतै आश्रमको कामले हिंड्दा पनि कलिला नानीबाबुहरुले मामु कता जानुभयो होला भनेर मुनालाई सम्झिन्छन् र आत्तिइहाल्छन् । मुनाले बाबुनानीहरुका लागि आफ्नै आश्रम भवन होस् भन्ने चाहेकी छन् ।

उनी भन्छिन्, ‘मानव शरीर मरणशील छ । रिस, लोभ, माया, घमण्ड, अहंकार मानवमै छ । समाज र राष्ट्रको लागि हरेक युवाले आफ्नो तर्फबाट योगदान पुर्‍याउनु उसको दायित्व हो ।’



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0