राष्ट्रिय सम्मेलनको सँघारमा माओवादी नेतृत्वलाई केही सुझाव


समुन्नत समाज कसरी बनाउन सकिन्छ ? मान्छेले मान्छेमाथि गरिने सबै प्रकारका विभेद अन्त्य कसरी गर्न सकिन्छ ? गरीब र धनीबीचको असमानतालाई मेटाउन के गर्नुपर्छ ? राज्य सत्ता र जनताबीचको शासक र शासितको सम्बन्धलाई संरक्षक र सार्वभौम कसरी बनाउन सकिन्छ ? यही बहस विगत सात दशकबाट कम्युनिष्ट दृष्टिकोणका आधारमा नेपालमा हुँदै आएको छ ।

बहस मात्र हैन आन्दोलन, बलिदान, सम्झौता, सापेक्ष परिवर्तन पनि भएका छन् । सैद्धान्तिक हिसाबले वर्ग विलोपीकरणको रणनैतिक उद्देश्य पूरा गर्नु नै कम्युनिष्टको मुख्य कार्यभार हो । राजनैतिक लडाईंलाई तुलनात्मक रूपले सफल नेतृत्व माओवादीले प्रदान गर्‍यो । तर, राजनैतिक परिवर्तनलाई संस्थागत गर्दै जनताको जीवनस्तरमा परिवर्तन गर्न सकेन ।

देशको आर्थिक स्तर वृद्धि गर्दै सुशासनमा नयाँपन दिएर समग्रमा नयाँ नेपालको नयाँ अनुभूति जनतालाई गराउन सकेन । नयाँ संविधानलाई कार्यान्वयन गर्दै सिर्जनशील र कलात्मक ढंगले वर्गीय अन्तरविरोध परिचालन गर्दै आजसम्म राष्ट्रलाई समृद्धिको मार्ग प्रशस्त गराइसक्नुपर्ने थियो ।

जनताको त्याग, बलिदान, साथ र सहयोगमा माओवादीले विकास गरेको विचारलाई समीक्षा गर्दा राजनैतिक परिवर्तनको गतिको तुलनामा विकास र समृद्धिको गति शून्य मात्र हैन कतिपय सन्दर्भमा उल्टो गतिमा गएको समेत देख्न सकिन्छ ।

नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सम्मेलनको तयारी गर्दैगर्दा वर्गीय अन्तरविरोध र समाधानका विषयमा वैचारिक बहस र निकास दिने जमर्को गर्ने अपेक्षा छ । कार्यकर्तास्तरबाट गन्तव्य हराएको विषय धेरै पहिलेबाट नै पार्टीभित्र उठ्दै आएका हुन् ।

नेतृत्वले कतिपय विषयलाई भावनात्मक, प्राविधिक जवाफ दिने र कतिपय विषयलाई बेवास्ता गर्दै आएको थियो । विचारको विकास र त्यसलाई कार्यान्वयन गर्दै जीवन व्यवहारमा लागू गर्ने विधिको विकास र पालनाले मात्र पार्टीलाई जीवन्त र गतिशील बनाउन सक्छ ।

नेतृत्वले आफ्नो जीवनकालको उत्तरार्धमा केही वर्ष मात्र हैन, धेरै दशकसम्म महत्व राख्ने दूरगामी विचारको संश्लेषण र विधिको प्रयोग गर्ने विश्वास सहित केही सुझावका रुपमा विषय उठान गर्ने जमर्को गरेको छु ।

एक- हाम्रो आन्दोलनको वस्तुवादी समीक्षा

जनयुद्ध ऐतिहासिक, साहसिक निर्णय र निर्विकल्प पहलकदमी थियो । शान्तिसम्झौता आत्मसमर्पण थिएन, आंशिक विजय थियो । त्यसपछिका माओवादी निर्णय, कार्यान्वयन, विभाजन र स्खलनको निर्मम समीक्षा आगामी विचार संश्लेषणको पहिलो आधार हुनेछ ।

सचेत पहलकदमी हुँदाहुँदै परिस्थितिले हुन नदिएको विषयहरू के के हुन् र परिस्थिति अनुकूल हुँदाहुँदै पनि सचेत पहल नपुग्दा जनताको हातबाट गुमेका विषय के के हुन् ? यसको समीक्षा गर्न आवश्यक छ । यसको समीक्षा विना गरिएको विचार संश्लेषण एकांगी हुन्छ । अझ कडा शब्दमा भन्दा कमजोरी लुकाउन गरिएको ढोङ मात्र हुनेछ ।

अन्तरिम संसदमा प्रवेश, पहिलो संविधानसभाको चुनाव, पार्टी विभाजन, दोस्रो संविधानसभाको चुनावको घोषणा, सम्झौतामा संविधानको घोषणा, मधेश आन्दोलन, भारतीय नाकाबन्दी, एमालेसँगको पार्टी एकता बाह्य राजनीतिक समीक्षाका मुख्य विषय हुन् ।

एकमना एकता खोज्ने, आलोचना सुन्नै नचाहने, संस्थागत निर्णय हुन नसक्ने, प्रलोभन प्रेरित बहस हुने, कमिटीमा स्वस्थ बहस नहुने, नयाँ सांगठनिक विधि निर्माण नगर्ने तर पुरानो भत्काइदिने, सत्ता र समूह केन्द्रित गतिविधि हुने, विचार सिद्धान्तलाई गुट स्वार्थसिद्ध गर्ने साधनको रूपमा व्याख्या गर्ने लगायत आन्तरिक समीक्षाका विषय छन् ।

दुई- नेपालको राजनीतिक विश्लेषण

अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थाबाट नेपाल अहिले कहाँ पुगेको छ ? सामन्तवादी अर्थव्यवस्थामा विदेशी पूँजी, शक्तिकेन्द्रको भूमिका र हस्तक्षेप, वास्तविक विश्लेषण आवश्यक छ ।

वडा र गाउँपालिका सम्मेलन पूर्ण सफल हुने तर प्रदेश सम्मेलनमा प्यानलसम्म निर्विरोध भए पनि पदाधिकारी चयन हुन नसक्ने कुराले समग्रमा माओवादी हो भन्न लाज लागेको छ । ठूलो विषयको बहस उठान गर्ने र साना कमजोरी ढाक्ने गर्दैगर्दा भित्रभित्रै मक्किएको संरचनाले त्यो ठूलो बहसको ओजलाई धान्न नसक्ने खतरा देखिन्छ ।

दलाल नोकरशाही पूँजीपतिको पहिचान, त्यसका प्रतिनिधि राजनैतिक पार्टीको पहिचान, राजनीतिक दलभित्र तिनका प्रतिनिधि प्रवृत्तिको पहिचान हुन आवश्यक छ । सैद्धान्तिक र व्यावहारिक रूपमा राष्ट्रिय पूँजीपति वर्ग कस्तालाई भन्ने र दलाल नोकरशाही कस्तालाई भन्ने स्पष्ट व्याख्या हुन आवश्यक छ ।

हामीले कुन वर्गसँग कस्तो सम्बन्ध कायम गर्ने, यस क्षेत्रको अन्तरविरोधलाई कसरी परिचालन गर्ने प्रष्ट हुन आवश्यक छ । उत्पादक शक्तिको रूपमा नेपाल र नेपालीको पहिचान बनाउने अभियानको आवश्यक छ ।

तीन-अन्तर्राष्ट्रिय स्थिति

शक्ति आर्जनको होडबाजीमा एकोहोरो कुदिराखेका केही सीमित देशहरूबाट सिङ्गो विश्व प्रताडित छ । एकातिर अहंकार र घमन्डले कतिबेला कहाँबाट (आणविक अस्त्रले) पृथ्वीको विनाश शुरु हुने हो, त्रासदी र कहालीलाग्दो बनेको छ भने अर्कोतर्फ मानव र सम्पूर्ण प्राणीको जीवनचक्रलाई आवश्यक पर्ने प्राकृतिक चक्र नै अवरोध गरेर पर्यावरणीय हिसाबले कहिलेसम्म मानव अस्तित्व रहने हो भन्ने त्रास छ ।

निश्चित देश (भूगोल), निश्चित वर्ग र समूहको शक्ति स्वार्थको लागि सारा विश्व धरापमा पारिएको छ । यसबारेमा संसारभरका जनसमुदायलाई सचेत संगठित गर्दै साम्राज्यवादीहरूका विरुद्ध समाजवादी उद्देश्यले आन्दोलित गर्न आवश्यक छ ।

विचार व्यक्त हुने कार्यक्रममा हो । कार्यक्रम कार्यान्वयन गर्ने संगठनले हो । विचार अनुसारको कार्यक्रम र संगठन हुन सकेन भने त्यो आदर्श आस्थामा परिणत हुन्छ । सांगठनिक क्रियाकलापलाई हुने बिरुवाको चिल्लो पात उखानसँग तुलना गर्दा त्यति राम्रो संकेत देखिंदैन ।

हजारौं प्रतिनिधिले समय र परिस्थितिको गाम्भीर्यलाई महसूस गर्दै निर्विरोध निर्वाचित गरेका कमिटीमा पदाधिकारी निर्वाचित हुन सकेका छैनन् । नेतृत्वको तदर्थता र उदासीनता छताछुल्ल पोखिएका छन् । उपयुक्त पहलकदमी लिएर निर्विरोध गराउन पनि नसक्ने र विधिमा लगेर टुङ्ग्याउन पनि नसक्ने, जनता र कार्यकर्तामा पैदा भएको उत्साहलाई शक्तिमा रूपान्तरण गर्नुपर्ने बेलामा बनेका कमिटीको पदाधिकारी चयन नहुनु नेतृत्वको असफलता हो ।

उच्च नेतृत्व समक्ष वास्तविक रिपोर्ट पुग्दैन । धरातलीय यथार्थ भन्दा अलि टाढै मुख्य नेतृत्वलाई राखेर गुट स्वार्थ सिद्ध गर्ने टाकुरे नेतृत्व नै वर्तमानको सांगठनिक अराजकताको मुख्य दोषी हुन् । साथै आवश्यक पहल या विधिको विकास गर्न नसक्नु मुख्य नेतृत्वको समस्या हो ।

विश्व साम्राज्यवादको विकल्पमा समाजवादलाई विश्वभरि स्थापित गर्ने, दलाल नोकरशाही पूँजीवादको विरुद्ध संघर्ष गरेर राष्ट्रिय उत्पादनको वृद्धि गरेर विकसित देशसँग प्रतिस्पर्धी बन्ने लक्ष्य लिएको पार्टीले सबै विषयमा ध्यान पुर्‍याउन आवश्यक छ ।

वडा, गाउँपालिका सम्मेलन पूर्ण सफल हुने तर प्रदेश सम्मेलनमा प्यानलसम्म निर्विरोध भए पनि पदाधिकारी चयन हुन नसक्ने कुराले समग्रमा माओवादी हो भन्न लाज लागेको छ । माथि भनिए जस्तै ठूलो विषयको बहस उठान गर्ने र साना कमजोरी ढाक्ने गर्दैगर्दा भित्रभित्रै मक्किएको संरचनाले त्यो ठूलो बहसको ओजलाई धान्न नसक्ने खतरा देखिन्छ ।

त्यसैले जता जान खोजेको हो, त्यतैको सम्पूर्ण यात्रा गर्न आवश्यक छ । वैचारिक समाधान दिने बहस गर्दैगर्दा संगठन धरासायी हुनबाट बचाउन मुख्य नेतृत्वले तत्काल पहल लिन आवश्यक छ।

(लेखक नेकपा माओवादी केन्द्रसँग आवद्ध छन् ।)



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0