त्रिवि सपना, सेवा आयोग र हाम्रो भविष्य – Online Khabar


आजभोलि विभिन्न कारणले त्रिवि समाचारको मुख्य केन्द्र बन्न पुगेको छ। संघ, संगठन, प्राध्यापक, कर्मचारीदेखि आंशिक शिक्षक र विद्यार्थी पनि त्रिविको बेथिति देखेर वाक्क परेको बेलामा लेखिएको यो आलेख खासगरी त्रिवि सुधारको नाममा यसलाई दोहन गर्ने र आफूलाई प्राज्ञिक भन्न रुचाउनेहरुका कारणले कसरी त्रिवि राजनीति, नातावाद र कृपावादको चपेटामा परेको छ भन्ने कुराको महसूस गर्न तथा बुझ्नको निमित्त तयार पारिएको हो।

नेपालको सबैभन्दा पुरानो विश्वविद्यालयमा अध्यापन गरेको एक्काइसौं वर्षगाँठको अवसरमा अलि फरक किसिमले यो लेख्ने मौका मिल्यो। विभिन्न समयमा म आफैंले त्रिवि र सेवा आयोगको पक्षमा वकालत गरेको छु र गरिरहने नै छु । किनकि यो मेरो धर्म हो जहाँ म कार्यरत छु र मैले आफ्नो कर्तव्य निभाउनुपर्छ। विश्वविद्यालयमा कार्यरत मैले आफूलाई अनुसन्धान र प्राज्ञिक कार्यहरुमा अब्बल बनाउनुपर्छ । आफू र आफ्नो संस्थालाई सक्दो राष्ट्रिय-अन्तर्राष्ट्रिय रुपमा चिनाउने प्रयास गर्नुपर्छ।

मलाई लाग्छ त्रिविभित्र यस्तो सोचाइ भएका सयौं सहकर्मी साथी हुनुहुन्छ। तर विषय र संकायको नाममा पसल खोलेर बसेका विभागीय प्रमुख र कृपाले प्राध्यापक भएका स्वघोषित विद्वानहरुले सेवा आयोगले बनाएको न्यूनतम आचारसंहिताको पनि ख्याल नगरी स्कुपस र सिमागो जस्ता अन्तर्राष्ट्रिय मापन योग्य प्रकाशनहरुलाई नेपालकै बागबजार, पोखरा, बुटवल, इटहरी जस्ता शहरहरुमा प्रकाशित हुने र अनुसन्धान गर्ने संस्थाहरुको सामु निरीह बनाइदिए। विज्ञ समीक्षित जर्नल भनेको के हो भन्ने थाहा नभएका र जिन्दगीभर अनुसन्धान नबुझेकाहरुबाट गरिएको मूल्यांकन र यसले सेवा आयोगमा पारेको छायाँ पनि शायद यही हुनुपर्छ नत्र त अनुसन्धान र मान्यतामा जीवन लगाएको भनेर चिनिएका आयोग अध्यक्ष र सदस्य पनि किन निरीह हुनुपर्ने थियो र ?

एउटा दृष्टान्तको चर्चा गरौं। गत साल त्रिवि सेवा आयोगले प्राध्यापक र सहप्राध्यापकको लागि आन्तरिक र खुल्लामा गरी विज्ञापन गर्यो। मैले पनि आफूलाई योग्य ठानेर अङ्ग्रेजीमा फर्म भर्ने निर्णय गरें जसमा सम्बन्धित विभागका प्रमुख र वरिष्ठ (!) प्राध्यापक मित्रहरुले नै मलाई निवेदन हाल्न उक्साउनुभयो। भाषा विज्ञान, अङ्ग्रेजी साहित्य र शिक्षामा एम एएमएड गरे पनि म भाषा विज्ञान केन्द्रीय विभागमा कार्यरत भएकोले मिति २०७७ चैत २ गते मैले त्रिवि मानविकी तथा सामाजिक शास्त्र सङ्कायबाट ल्याङ्ग्वेज कन्ट्याक्ट इन काठमाडौं भ्याली शीर्षकमा गरेको विद्यावारिधिलाई अङ्ग्रेजीसित मिल्छ कि मिल्दैन भन्ने प्रमाणित गराउन ३५०० रुपैयाँको भौचर भरेर निवेदन दिएँ। निवेदन उपर त्रिवि अङ्ग्रेजी केन्द्रीय विभागका विषय समितिका वरिष्ठ विज्ञहरुले घटिया निर्णय गर्नुभयो।

अचम्मको कुरा के भने दुई वर्षअघि मात्र यस्तै निवेदनमा तत्कालीन विभागीय प्रमुखले भाषा विज्ञानको चितौनिया थारुमा गरेको विद्यावारिधिलाई अङ्ग्रेजीसित मिल्ने भनी निर्णय गरेर सोही अनुसार अङ्ग्रेजीको प्राध्यापक बनाइसकेको कुरा जानकारीमा आइसकेपछि मैले पुनः डीन कार्यालयमा यो कुरा अवगत गराएँ। सोही अनुरुप डीन कार्यालयले पुनः अङ्ग्रेजी केन्द्रीय विभागलाई निर्णय पुनरावलोकनको लागि पत्र लेख्यो। त्यसपछि बल्ल केन्द्रीय विभागले मेरो थेसिसलाई अङ्ग्रेजीसित मिल्छ भन्ने कुरा प्रमाणित गरेको पत्र पुनः डीन कार्यालयमा पठायो र मैले त्रिवि सेवा आयोग मार्फत प्राध्यापक र सहप्राध्यापकमा फाराम भरेर निवेदन दिएँ। यो बीचमा मैले कोरोनाकालमै भए पनि सम्बन्धित विभागका शिक्षक-प्राध्यापकहरुसित विविध किसिमले अन्तरङ्ग कुराकानी गर्ने अवसर पनि मिल्यो। कथनी र करनी फरक हुने रहेछ भन्ने कुरा आज अन्तर्वार्ता सकिएको लगभग दश दिनपछि नतिजा प्रकाशित हुँदा बल्ल थाहा भयो कि मलाई शुरुमै किन रोकिएको रहेछ ?

मुख्य कुरा मुहान नै प्रदूषित भएपछि अरु ठाउँमा सफा गरेर खासै ठूलो उपलब्धि नदेखिने रहेछ। नेपालको राजनीतिमा भएको फोहोरी खेलले समग्र नेपाली समाज र जनता आजित भए जस्तै त्रिविका केन्द्रीय विभागहरुमा हुने क्रियाकलापले हाम्रो प्राज्ञिक क्षेत्रलाई तहसनहस पारेको छ

त्रिविमा अध्ययन गर्दा स्वर्गीय कमलप्रकाश मल्ल, बल्लभमणि दाहाल, तेजरत्न कंसाकार, चूडामणि बन्धु, राम अवतार यादव, योगेन्द्र यादव, अभि सुवेदी, माधव पोखरेल, सुभद्रा सुब्बा, जयराज अवस्थी, शान्ति बस्नेत, शिशिरकुमार स्थापित जस्ता बौद्धिक प्राध्यापकहरुबाट दीक्षित मैले आजसम्म कसैको चाकडी र चाप्लुसी गर्न जानिनँ। बरु २०५७ सालमा भाषा विज्ञानमा उत्कृष्ट भएबापत स्वर्गीय राजा वीरेन्द्रको हातबाट प्राप्त स्वर्ण पदकलाई सम्झेर आफूलाई अध्ययन र अनुसन्धानमा लाग्न अनवरत प्रयास गरिरहें। लगभग पन्ध्र भन्दा बढी विभिन्न मुलुकका बीस भन्दा बढी विश्वविद्यालयहरुमा सेमिनार, गोष्ठी, सम्मेलन आदि मार्फत भ्रमण र अध्ययन गरेको मैले धेरैचोटि नेपाल छोडेर बाहिर बसेका साथीहरुबाट किन नेपालमै बसेको भन्ने प्रश्नको उत्तर दिन सकेको थिइनँ तर आज बल्ल महसूस हुँदैछ कि अङ्ग्रेजी र अङ्ग्रेजी शिक्षा विभागबाट पुष्पलाल दमै, नवराज चौलागाइँ, श्याम शर्मा, राम आशिष गिरी, प्रेम फ्याक, हिमा रावल, सरस्वती दवाडी जस्ता व्यक्तिहरु त्रिविबाटै किन पलायन भए र हुँदैछन् ? अरुण गुप्तो, सञ्जीव उप्रेती, वीरेन्द्र पाण्डेहरु किन अवकाशको समय छँदै राजीनामा दिएर स्वतन्त्र बसेका छन् ? शायद यस किसिमको परिणामको अपेक्षा गरेको भए मैले यसपटक सेवा आयोगमा निवेदन दिने कोशिश गर्ने थिइनँ होला।

हिजोका दिनहरूमा त्रिविभित्रका धेरै मानिस एउटा विभागबाट अर्कोमा सजिलै जाने आउने गर्थे। स्वयं म कार्यरत विभाग अङ्ग्रेजी र नेपाली विभागमा कार्यरत प्राध्यापकहरुले सन् १९९६ मा स्थापना गरेको विभाग हो। त्यसकारण मैले पनि मेरो अध्ययन, अनुसन्धान र अनुभव अङ्ग्रेजी केन्द्रीय विभागमा पढाइहुने शैली विज्ञानमा प्रयोग गर्ने मनसायले प्रेरित भई सेवा आयोग मार्फत निवेदन दिने प्रयास गरें र यसबीचमा धेरै अङ्ग्रेजीका साथीहरु चिन्ने मौका मिल्यो ।

मुख्य कुरा मुहान नै प्रदूषित भएपछि अरु ठाउँमा सफा गरेर खासै ठूलो उपलब्धि नदेखिने रहेछ। नेपालको राजनीतिमा भएको फोहोरी खेलले समग्र नेपाली समाज र जनता आजित भए जस्तै त्रिविका केन्द्रीय विभागहरुमा हुने यस्ता क्रियाकलापहरुले हाम्रो प्राज्ञिक क्षेत्रलाई तहसनहस पार्दछ। त्यसैले विश्वविद्यालय र समग्र शिक्षा प्रणालीमा रहेका यस्ता भाइरसहरुको बारेमा नबोली बस्न मेरो अन्तरात्माले दिएन। म त सानै भए पनि रमाइलो र भरपर्दो मेरो विभागमा कार्यरत र सुरक्षित छु तर सम्बन्धित विभागमा भाषा-साहित्य र समाजलाई बाटो डोर्याउने शिव रिजाल, केशव सिग्देल, महेश पौडेल, तारालाल श्रेष्ठ जस्ता अरु धेरै मित्रहरु कसरी बस्न सकेका होलान् भन्ने कुराले मनमा पीर परिरहने भयो।

संसारभर अन्तरविधागत र सहकार्यमा आधारित शैक्षिक अनुसन्धान पद्धतिको विकास भैरहेको देखिन्छ तर त्रिविमा फरक फरक विभाग र विषयको नाममा खुद्रा पसलहरु खोलेर व्यापार गर्ने काम निकै फस्टाएको छ। म सन् २०१६ मा ब्राजिलको कम्पिनाज विश्वविद्यालय (जुन दक्षिण अमेरिकाको सबैभन्दा ठूलो र उत्कृष्ट अनुसन्धान विश्वविद्यालय हो) त्यहाँ भ्रमण गर्ने क्रममा थाहा पाएँ गणित पढ्ने जुनसुकै विभागका विद्यार्थीहरु गणित विभागमै पढ्न आउनुपर्ने रहेछ तर त्रिविमा अङ्ग्रेजी विषय मानविकी र शिक्षा दुवैमा पढाइ हुन्छ। भाषा विज्ञान अङ्ग्रेजी (मानविकी र शिक्षा), नेपाली, सामाजशास्त्र, मानवशास्त्रमा नि पढाइन्छ तर अन्तर विभागीय फ्याकल्टीलाई प्रवेशमा रोक लगाइन्छ। त्यसैले म र हामी जस्ता कर्मशील प्राज्ञहरुले विश्वविद्यालयमा बेलाबखत देखापर्ने यस्ता भाइरसहरुलाई प्राज्ञिक क्षेत्रबाट हाम्रा प्राज्ञिक गतिविधिहरू मार्फत हतोत्साही नपारेसम्म त्रिविको उत्थान हुनेवाला छैन ।

विभिन्न कारणले पलायन वा बाहिर रहेका सबै मित्रहरुलाई म यो लेख मार्फत त्रिविको गिर्दो साख जोगाउन फेरि पनि एक हुन अपील गर्न चाहन्छु। आफूले पढेको र पढाएको विभागले चिन्न नसकेका मित्र श्याम शर्मा जसले विगत केही वर्षदेखि सञ्चालन गरेको त्रिविको प्राज्ञिक लेखन अभियानको सन्देश पनि यही हो जस्तो लाग्छ। हामीले गर्ने हरेक क्रियाकलापहरुले आउँदो पुस्ताको भविष्यलाई डोर्याउने गरेको हुन्छ। विश्वविद्यालयको केन्द्रमा कार्यरत भएको नाताले मसँग पनि विश्वविद्यालयको भविष्य जोडिएको हुन्छ। आज नभए पनि कुनै दिन त्रिविले हरेक संकाय, विभाग र निकायहरुमा सक्षम र निष्पक्ष नेतृत्व पाउने छ भन्ने आशा गरौं ।



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्