दलको महाधिवेशन होइन, सम्प्रदायको कर्मकाण्ड – Online Khabar


एमालेको दशौं महाधिवेशन भर्खरै सकियो । महाधिवेशनले ‘केपी बा’ लाई भारी मतका साथ पुनः अध्यक्षमा दोहोर्‍याएको छ । योसँगै अब एमाले केपी बा र उनका सन्ततिहरूको एकल परिवार बनेको छ । जहाँ माओवादी ‘पाहुना’ हरूका लागि स्थान सुरक्षित छ । तर माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम जस्ता पात्रहरूका लागि घरको ढोका बन्द भएको छ ।

यो बाहेक नारायणी बगरको भीडभाड, गैंडाको मूर्ति, केपी बाको हालिमुहाली र ‘बागी’हरूको विद्रोह, एमाले महाधिवेशनसँगै चर्चामा आएका विषय यिनै हुन् ।

महाधिवेशनको सेरोफेरोमा जे देखियो, त्यो अनपेक्षित थिएन । नवौं महाधिवेशनबाट शक्तिमा आएयता ‘केपी बा’ स्टालिन बन्ने प्रयासमा छन् । दशौं महाधिवेशनमा पनि उनले यो प्रयासलाई सक्दो निरन्तरता दिए ।

तर केपी बा ‘जिउँदो स्टालिन’ बन्न कहिल्यै सक्दैनन् । उनमा ‘स्टालिनको प्रेत’ चढेको मात्रै हो । उनी रहुञ्जेल ‘स्टालिनको प्रेत’ ले देश, जनता र उनका सन्ततिलाई दुःख दिई नै रहनेछ । एमालेलाई ओरालो यात्रामा हिंड्न बाध्य पारिरहनेछ । तथाकथित बागीहरू यो रमिता हेरेर बसिरहने छन् । एमालेमा ‘पुनः मुसिको भवः’ नियति दोहोरिनेछ ।

पुरानो रोग

‘स्टालिनको प्रेत’ एउटा विम्ब हो । एउटा साधारण र गरीब व्यक्ति पनि कम्युनिष्ट पार्टीको मूल नेता भएपछि कसरी सर्वेसर्वा बन्ने प्रयत्न गर्दछ भन्ने देखाउन यो विम्ब उपयोगी छ । एमाले अध्यक्ष ओलीमा आज यही प्रवृत्ति प्रकट भएको छ ।

स्टालिन रसियाली कम्युनिष्ट पार्टीका दोस्रो वरीयताका नेता थिए । लेनिनको मृत्युपछि मात्र उनले तत्कालीन सोभियत संघको कम्युनिष्ट पार्टी र राज्यको सर्वोच्च पदभार ग्रहण गरेका थिए । सन् १९२४ देखि १९५३ सम्म -मृत्युपर्यन्त) उनी तत्कालीन सोभियत संघको राष्ट्रपति र कम्युनिष्ट पार्टीको सर्वेसर्वा भए ।

स्टालिन मस्कोबाट धेरै टाढा, एक गाउँको गरीब श्रमिक परिवारबाट कम्युनिष्ट राजनीतिमा आएका थिए । पार्टीमा शक्तिशाली बन्न पहिले उनले बहुत नरम स्वभाव देखाए । सहकर्मीहरूलाई मज्जाले फकाए । जब शक्ति हातमा आयो, तब एकाएक कडा भएर निस्किए ।

उनको कार्यकालमा काम त धेरै भयो तर शैली स्वेच्छाचारी थियो । उनलाई जे ठीक लाग्थ्यो, त्यही सोभियत संघको कम्युनिष्ट पार्टी र राज्यको नीति बन्थ्यो । कसैले फरक मत राख्न पाउँदैनथे । विरोध गर्ने वा यो मेरो विरोधी हुन सक्छ भनी शंका लागेका जो-कोहीलाई उनी काराबास वा मृत्युदण्डको सजाय दिन्थे ।

आफ्नो ३० वर्षे कार्यकालमा स्टालिनले आफ्नै पार्टीका केन्द्रीय समितिका ९० प्रतिशत नेताहरूलाई मृत्युदण्डको सजाय दिए । हजारौंलाई काराबास पठाए । काराबास पठाउन कुनै अपराधै गर्नुपर्छ भन्ने थिएन । उनलाई मन नपरे पुग्थ्यो ।

कुनै वैज्ञानिकले विज्ञानमा आधारित भएरै कुनै कुरा गरेको रहेछ, तर त्यो कुरा उनलाई मन नपर्ने रहेछ भने पनि काराबास सजाय भोग्नुपथ्र्यो । स्टालिनको मृत्युपछि मात्र सोभियत संघले उनको स्वेच्छाचारी शासनबाट छुटकारा पायो ।

माओले स्टालिनको आलोचना गरे पनि उनी स्टालिन प्रवृत्तिबाट मुक्त हुन सकेनन् । त्यस यताका प्रायः सबै कम्युनिष्ट शासनहरूमा स्टालिनवादी प्रवृत्ति देखा पर्‍यो । चाहे बलपूर्वक सत्तामा आएका होउन् वा चुनावी माध्यमबाट ।

एमाले अध्यक्ष ओली पनि गरीब परिवारबाट कम्युनिष्ट राजनीतिमा आएका नेता हुन् । संघर्षकालमा उनी १४ वर्ष जेल बसे । बहुदलकालको झण्डै दुई दशक पार्टीमा दोस्रो वरीयतामा खुम्चिएर बस्न बाध्य भए । तीनै ओली हुन् जसले सातौं महाधिवेशनमा पार्टी संरचनामा लोकतन्त्रीकरण र बहुपदीय संरचनाको मुद्दा उठाए । आठौं महाधिवेशनमा पार्टी अध्यक्षमा उम्मेदवारी दिए तर पराजित भए ।

किन यस्तो हुन्छ ? किनकि एमाले र माओवादी कुनै दल नै होइनन्, सम्प्रदाय हुन् । दल र सम्प्रदाय बीचको फरक नै यही हो कि दल प्रणालीमा चल्छ, सम्प्रदाय अहंकार र अन्धविश्वासमा । दलमा वैचारिक विमर्श हुन्छ, सम्प्रदायमा कर्मकाण्ड आयोजना गरिन्छ । दलमा त्यसका सदस्यहरूले नेतृत्वमाथि प्रश्न उठाउँछन्, सम्प्रदायमा भक्तजनले पण्डा-पुरोहित र मठाधीशमाथि अन्धभक्ति अर्पण गर्दछन्

नवौं महाधिवेशन उनको राजनीतिक जीवनको निर्णायक भइदियो । उनी आन्तरिक निर्वाचनद्वारा पार्टी अध्यक्ष पदमा विजयी भए । योसँगै उनी गठबन्धन सरकारको प्रधानमन्त्री बन्न सफल भए । माओवादीसँग एकता गरे । उनकै कार्यकालमा कम्युनिष्ट पार्टी दुई तिहाइ बहुमत सहित सरकारमा पुग्यो । उनी सरकारको शक्तिशाली प्रधानमन्त्री भए ।

तर शक्तिमा आएपछि उनमा पनि अरू कम्युनिष्ट नेताहरूलाई लाग्ने पुरानो रोग स्पष्ट देखियो । उनले सहकर्मीसँग परामर्श गर्न छोडिदिए । केही विवादास्पद व्यक्तिहरूलाई च्यापेर आफ्नै एकल सोचमा पार्टी र सरकार चलाउन थाले । पार्टी र सरकार दुवैमा सर्वेसर्वा बन्ने कोशिश गरे ।

उनको यो प्रवृत्तिको पार्टी भित्र र बाहिर व्यापक विरोध भयो । तर ओलीले आफ्नो स्वभाव सच्याउने र सहकर्मीहरूलाई समेटेर हिंड्ने स्वभाव देखाएनन् । उल्टो कारबाहीको डण्डा चलाए । जसका कारण उनको पार्टीमा मानिस विभाजित भए । यही विभाजनले उनको सरकार ढल्यो ।

हिजो संसदमा दुई तिहाइ बहुमत भएको नेकपा यतिबेला फुटेर तीन टुक्रा भएको छ । ओली हिजो संसदमा दुई तिहाइ बहुमत रहेको दलको अध्यक्ष र मुलुकको शक्तिशाली प्रधानमन्त्री थिए । आज फुटेका तीन वटा समूहमध्ये एउटा समूहको अध्यक्ष र प्रतिपक्षी दलको नेतामा खुम्चिएका छन् ।

यति हुँदा पनि उनीभित्रको अहंकारी प्रवृत्ति जस्ताको तस्तै छ । यसपालिको महाधिवेशनमा उनी आफैं अध्यक्षमण्डलको अध्यक्ष भए । आफ्नै नाम अध्यक्षमा प्रस्ताव गरे । खेल शुरू भएपछि बीचमा खेलको नियम फेर्ने झेली काम गरे ।

अर्थात्, विधान महाधिवेशन नै गरेर बनाएको विधानका प्रावधानहरूलाई आफूखुशी परिवर्तन गरे । केन्द्रीय समितिको सूची र संख्यामा मनोमानी थपघट गरे । निर्वाचन प्रक्रियालाई निषेध गर्ने प्रयास गरे । सहकर्मीहरूलाई प्रतिस्पर्धा नगर्न दबाव दिए । निर्वाचन नै हुने भए पछि ‘भोट नदिने उम्मेदवारको सूची’ छपाएर बाँडे । यसरी ओलीले, ‘एमाले भनेकै केपी ओली, केपी ओली भनेकै एमाले’ भने जस्तो गरे ।

तर यो प्रवृत्ति देखाउने नेपालका कम्युनिष्ट नेतामा ओली एक्ला होइनन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, मोहनविक्रम सिंह लगायत सबै पात्रहरूको प्रवृत्ति यही हो । कम्युनिष्ट पार्टीहरूमा नेता सर्वेसर्वा हुने चलन रसियादेखिकै हो । मात्राको तल-माथि मात्र हो, अधिकांश कम्युनिष्ट पार्टी नेतामुखी हुन् । एमालेका ओलीमा पनि यो रोग दोहोरियो । कुरा यत्ति हो ।

अहंकारको खेल

नेपालका कम्युनिष्ट पार्टीले सिद्धान्त र दस्तावेजमा के लेख्छन्, त्यो कुनै महत्वको कुरा होइन । उनीहरू सिद्धान्त र दस्तावेजका आधारमा होइन, मोह र अहंकारका आधारमा चल्छन् । यो कुरा बुझ्न उनीहरूको कुनै महाधिवेशन कुर्नु नै पर्दैन । दस्तावेज नै अध्ययन गरिरहनु पनि पर्दैन । उनीहरूले देखाएको व्यवहार हेरे पुग्छ ।

यदि पद भोगको अवसर पाइन्छ भने एमालेलाई आफैंले उग्रवामपन्थी र आतंककारी भनिएको माओवादीसँग एकता गर्न मिल्दोरहेछ । ‘प्रचण्ड’ र रामबहादुर थापा ‘बादल’ जस्ता पात्रलाई नेता मान्न पनि मिल्दोरहेछ । एमाले नाम मेटाउन पनि मिल्दोरहेछ ।

माओवादीलाई, हिजो आफैंले प्रतिक्रियावादी र संशोधनवादी भनेको एमालेसँग एकता गर्न मिल्दोरहेछ । ओली र नेपाल जस्ता पात्रलाई नेता मान्न पनि मिल्दोरहेछ । माओवादी नाम मेटाउन पनि मिल्दोरहेछ । भनेपछि, उनीहरूका लागि सिद्धान्त मुख्य विषय होइन रहेछ । भित्री कुरा त शक्तिको लालसा र अहंकार नै रहेछ ।

हिजो एमाले-माओवादी एकता गर्दा उनीहरू अहंकारले यति फुलेका थिए कि, अर्काको पार्टीको नाम प्रयोग गर्न कुनै संकोच भएन । ‘हामीलाई कसले के गर्न सक्छ ?’ भन्ने भावमा जबर्जस्ती एकीकृत पार्टीको नाम ‘ने.क.पा.’ राखे । उक्त नाम अर्को कुनै पार्टीसँग मिल्दोजुल्दो भयो । पछि अदालतको एउटा निर्णयले उनीहरूको तासको महल गर्ल्यामगुर्लुम ढल्यो ।

अदालतले विघटन गराउँदा विघटित हुने कस्तो पार्टी चलाएका रहेछन् त उनीहरूले ? मूल अगुवाहरूले यसको जिम्मेवारी लिनुपर्दैन ? प्रचण्ड र ओलीले यो प्रश्नको जवाफ दिनुपर्दैन ? एमाले महाधिवेशनमा यो प्रश्नमा कुनै छलफल नै भएन । ओलीका अनुयायीले यी प्रश्न नै उठाएनन् । बरु झन् भारी मतले उनैलाई अध्यक्षमा पुनः विजयी बनाए ।

भोलि माओवादीको सम्मेलनमा पनि यही हुनेछ । अर्थात्, यो प्रश्नमा कुनै सार्थक छलफल हुने छैन । तथाकथित सर्वसम्मत वा अत्यधिक बहुमतले प्रचण्ड पुनः पार्टी अध्यक्ष बन्नेछन् ।

किन यस्तो हुन्छ ? किनकि एमाले र माओवादी कुनै दल नै होइनन्, सम्प्रदाय हुन् । दल र सम्प्रदायबीचको फरक नै यही हो कि दल प्रणालीमा चल्छ, सम्प्रदाय अहंकार र अन्धविश्वासमा । दलमा वैचारिक विमर्श हुन्छ, सम्प्रदायमा कर्मकाण्ड आयोजना गरिन्छ । दलमा त्यसका सदस्यहरूले नेतृत्वमाथि प्रश्न उठाउँछन्, सम्प्रदायमा भक्तजनले पण्डा-पुरोहित र मठाधीशमाथि अन्धभक्ति अर्पण गर्दछन् ।

माथिका विशेषतामध्ये एमाले र माओवादी पार्टीभित्र साम्प्रदायिक विशेषता चाहिं बलिया छन् । त्यसैले यिनीहरू दल होइन, सम्प्रदाय हुन् । नेपालका कम्युनिष्टहरूले सम्मेलन वा महाधिवेशनका नाममा वर्षौंदेखि गर्दै आएको भनेको कर्मकाण्ड हो । त्यहाँ सिर्फ दुई-चार नेता नेपथ्यमा बसेर पदको भागबण्डा गर्दछन् । भक्तहरूले त्यसैलाई ताली बजाएर पास गरिदिन्छन् । जति नै तामझाम गरे पनि त्यहाँ हुने भनेको यत्ति हो । निर्वाचन आयोगमा कानूनी औपचारिकता पूरा गर्नुभन्दा बढी यसको कुनै प्रयोजन हुँदैन ।

उनीहरूलाई पार्टी सञ्चालनको निश्चित प्रणाली स्थापित गर्नु नै छैन । पार्टी सदस्यलाई सार्वभौम र शक्तिशाली बनाउनु नै छैन । प्रणाली स्थापित भयो भने त वर्षौंदेखिको हालिमुहाली संकटमा पर्न सक्छ । पार्टी सदस्य सार्वभौम र शक्तिशाली भयो भने त नेतृत्वको गल्तीमा प्रश्न उठाउँछ । त्यसैले उनीहरूले मानिसहरूलाई सदस्य होइन, ‘भक्त’ बनाउँछन् । महाधिवेशनका नाममा ‘कुम्भमेला’ आयोजना गर्छन् । नेपथ्यमा बसेर आफ्नै स्वार्थ र सनकमा सबथोक निर्णय गर्छन् ।

समकालीन सन्दर्भमा ‘मार्क्सवादको विकास’ भन्नु नै गलत कुरा हो । अब कुनै हालतमा मार्क्सवादको विकास हुन सक्दैन । सिंगो शास्त्रीय विज्ञान नै पद्धतिगत संकटमा फसिसकेको छ । आज कम्युनिष्ट आन्दोलनमा देखापरेका समस्या कुनै नेता-विशेषका कमजोरी होइनन् । यो त चिन्तनगत संकट हो । कम्युनिष्ट चेतना भित्रबाट यो हल गर्न असम्भव छ

अहिले पुष्पकमल दाहाल र माधवकुमार नेपालले एकमुख भएर ओलीको विरोध गर्दैछन् । तर दाहाल र नेपालको ओली विरोधको कुनै तुक छैन । खड्ग ओलीलाई ‘केपी बा’ बनाउने काममा दाहाल र नेपाल उत्तिकै जिम्मेवार छन् । १५ वर्ष माधवकुमार नेपालले आफू सर्वेसर्वा भएरै पार्टी चलाए । पुष्पकमल दाहाल विगत ३५ वर्षदेखि आफ्नो समूहमा सर्वेसर्वा भइरहेकै छन् । शक्तिमा भएका बेला उनीहरूले जे जे गरे, आजका केपी बाले यसैको अनुसरण गरेका हुन् ।

केपी बामा बदलाभाव छ । हिजो माधवकुमार नेपालले पार्टीभित्र जसरी मनोमानी गरेका थिए, केपी बा त्यसको बदला लिन चाहन्छन् । यो काममा उनलाई साथ दिने मानिस पार्टी पंक्तिमा प्रशस्त छन् । हिजो केन्द्र, जिल्ला र स्थानीय तहसम्म, जो जो माधव गुटबाट उत्पीडित थिए, ती सबै केपी बाको वरिपरि संगठित भएका छन् । माधव गुट विरुद्धको बदलाभाव पूरै पार्टी पंक्तिमा सञ्चार भएको छ । नारायणी बगरको भीडभाडको अर्थ यत्ति नै हो ।

यो देख्दादेख्दै र जान्दाजान्दै जो हिजो माधव गुटमा भएर पनि आज केपी बाको एमालेमा घुसि्रन आएका छन्, ती महाकायर हुन् । उनीहरू केपी बाका अनुयायी भन्दा निकम्मा हुन् । एमाले र सूर्य चिहृन छोडियो भने राजनीतिक करिअर डामाडोल हुन्छ भनेर भयग्रस्त भएर उनीहरू एमाले छिरेका हुन् । केपी बाको योजना विपरीत चुनाव लडे जस्तो गर्नु आफ्नो नालायकीपन र अवसरवादिता छुपाउने नौटंकी मात्र हो । भित्री यथार्थ त एमाले छोड्दा करिअर डुब्छ भन्ने भय र अहंकार नै हो । यस्ता पात्रले भविष्यमा उन्नत राजनीतिको नेतृत्व गर्छन् भन्नु हास्यास्पद कुरा हो ।

लम्पट पुस्ता

विज्ञान र मानवीय चेतनाका हिसाबले यतिबेला हामी क्रान्तिकारी समयमा छौं । राजनीतिकर्मीहरूले यो कुरा नबुझेसम्म समकालीन राजनीतिक आन्दोलनमा गुणस्तर कायम हुन सक्दैन ।

अहिले विज्ञानमै क्रान्ति भएको समय हो । यतिबेला विज्ञान नै दुई खण्डमा विभाजित भएको छ- शास्त्रीय विज्ञान र आधुनिक विज्ञान । शास्त्रीय विज्ञान एकातिर पद्धतिगत संकटमा फसेको छ । अर्कोतिर शास्त्रीय विज्ञानको अवधारणागत ढाँचालाई आधुनिक विज्ञानले खण्डित गरिदिएको छ ।

शास्त्रीय विज्ञानले जीवन र जगतका गहिरा प्रश्नहरूको सही उत्तर दिन सकेन । कतिपय प्रश्नहरू अनुत्तरित पनि रहे । ‘विज्ञानको निरन्तर विकास हुन्छ’ भन्ने मान्यता नै खण्डित भयो । यसको सट्टा विज्ञानमा ‘पाराडाइम सिफ्ट’ भएको चाहिं देखियो । अर्थात् आधुनिक विज्ञानले, विज्ञानको नयाँ अवधारणागत ढाँचा निर्माण गर्‍यो ।

कम्युनिष्टहरूले बुझ्नुपर्ने खास कुरा यो हो कि मार्क्सवाद, शास्त्रीय विज्ञानमा आधारित थियो । शास्त्रीय विज्ञान नै खण्डित भएपछि मार्क्सवादका आधारभूत प्रस्तावना पनि खण्डित भए । ‘मार्क्सवादको निरन्तर विकास हुन्छ’ भन्ने मान्यता पनि खण्डित भयो । मान्यता मात्र होइन, व्यवहारमा पनि कसैले मार्क्सवादको ‘विकास’ गरेर देखाउन सकेन । यो कसैको कमजोरी होइन, शास्त्रीय विज्ञानको सीमा नै यत्ति हो । मार्क्सवादको सीमा नै यत्ति हो ।

आजको युगमा मार्क्सवादी वा समाजवादी राजनीति कुनै क्रान्तिकारिता होइन, अन्धविश्वास हो । कम्युनिष्ट पार्टी कदापि राम्रो र उन्नत हुन सक्दैन । कम्युनिष्टहरूबाट उन्नत राजनीतिको आशा गर्नु आफ्नै मूर्खता प्रकट गर्नु मात्र हो । यसले जन्माउने भनेकै स्टालिन वा ओली जस्तै पात्र हुन् । यसमा माधवकुमार नेपाल, मोहनविक्रम सिंह, पुष्पकमल दाहाल जस्ता पात्रलाई पनि थपे हुन्छ ।

दोस्रो कुरा, समकालीन सन्दर्भमा ‘मार्क्सवादको विकास’ भन्नु नै गलत कुरा हो । अब कुनै हालतमा मार्क्सवादको विकास हुन सक्दैन । सिंगो शास्त्रीय विज्ञान नै पद्धतिगत संकटमा फसिसकेको छ । आज कम्युनिष्ट आन्दोलनमा देखापरेका समस्या कुनै नेताविशेषका कमजोरी होइनन् । यो त चिन्तनगत संकट हो । कम्युनिष्ट चेतनाभित्रबाट यो हल गर्न असम्भव छ । यसका लागि त चिन्तनमै ‘पाराडाइम सिफ्ट’ जरूरी छ ।

यो कुरो मार्क्सवादीलाई मात्र भनिएको होइन । शास्त्रीय चिन्तनका चारवटै धारा (उदारवाद, समाजवाद, राष्ट्रवाद र कल्याणवाद) लाई भनिएको हो । यी चारै खाले विचारधारा ‘मिति सकिएको औषधि’ भइसकेका छन् ।

तर अझै केही बुज्रुकहरू ‘मार्क्सवादको निरन्तर विकास’ को कुरा गर्दैछन् । कम्युनिष्ट पार्टीलाई राम्रो बनाउने कुरा गर्दैछन् । समाजवाद वा वैज्ञानिक समाजवाद वा समुन्नत समाजवादका कुरा गर्दैछन् । यस्ता कुरा अन्धविश्वास हुन् भन्ने उनीहरूलाई पत्तो छैन । समाजवाद भन्नु नै विज्ञान विरोधी कुरा हो भन्ने थाहा छैन । कम्युनिष्ट सिद्धान्त मानवीय स्वभाव विपरीत छ भन्ने बोध छैन । कम्युनिष्ट सिद्धान्तमै दोष भएकाले स्टालिनदेखि ओलीसम्मका पात्रहरू पटक-पटक प्रकट भइरहन्छन् भन्ने पनि बोध छैन ।

कम्युनिष्टहरूले बुझ्नुपर्ने अर्को महत्वपूर्ण कुरा यो हो कि आधुनिक विज्ञानले मार्क्सवादलाई खण्डित गरिदियो भन्दैमा, यसमा माक्र्सको दोष छ भन्ने होइन । माक्र्सले त आफ्नो समयको विज्ञानका आधारमा दर्शन र विचारधाराका क्षेत्रमा जति गर्न सकिन्थ्यो, त्यति गरेका थिए । दोष त आजका युवा कम्युनिष्टहरूको हो जसले विज्ञानसँग अद्यावधिक हुने र राजनीतिलाई अद्यावधिक गर्ने अभिभारा बोध नै गर्न सकेनन् ।

माक्र्सले जति काम गरेका थिए त्यो युवाकालमै गरे । आज पनि राजनीतिमा ‘पाराडाइम सिफ्ट’ को अगुवाइ कसैले गर्छ भने त्यो अभिभारा युवाकै हो । अहिलेका वयोवृद्ध नेताबाट अबको वैचारिक र राजनीतिक क्रान्ति असम्भव छ । यो तथ्य आजका युवाहरूले बोध गर्नुपथ्र्यो । माक्र्सको कर्मबाट प्रेरणा लिन सक्नुपर्थ्यो ।

तर मार्क्सका अनुयायी हुँ भन्ने आजका युवाहरू महालम्पट भएर देखा परेका छन् । शायद यो इतिहासकै लम्पट पुस्ता हो । जो एकथरी केपी बासँग चुनाव लडेकोमा मक्ख छ । यसलाई चुनाव भन्नु पनि गल्ती हुन्छ । चुनाव नामको नौटंकीमा संलग्न हुनुमा मक्ख छन् । अर्कोथरीहरू ‘आई लभ यू केपी बा’ भन्नमै मक्ख छन् ।

केपी बाविरुद्ध चुनावको नौटंकीमा सामेल हुने र ‘आई लभ यू केपी बा’ भन्ने मानिस बीचमा कुनै अन्तर छैन । सबैको प्रवृत्ति एउटै हो । यिनीहरू सबैलाई केपी बा, प्रचण्ड बा, माधव बा जस्तासँग चोचोमोचो मिलाएर एकथान मन्त्री पद भोग गर्न पाए पुग्छ । युगले सुम्पिएको अभिभारा उनीहरूलाई थाहा पनि छैन, चासो पनि छैन ।

यसरी आज हामी युवा राजनीतिकर्मीहरूको लम्पट पुस्ता भोगिरहका छौं । कम्युनिष्ट पार्टीमा मात्र यस्तो छ भन्ने होइन, यो समकालीन सबै खाले पार्टीका युवाहरूको साझा रोग हो ।

२०४६ सालमा खड्ग ओली नामले चिनिएका पात्र, ‘केपी शर्मा ओली’ हुँदै आज ‘केपी बा’ मा फेरिए । रोचक कुरा के भने, भोलि इतिहासको किताबमा नेपालका कम्युनिष्टहरूको ‘स्वर्णकाल’ भनेर केपी बाकै कार्यकाल अंकित हुनेभयो । कम्युनिष्टहरूको मूर्खतापूर्ण कार्यकाल भनेर पनि ‘केपी बा’ कै कार्यकाल अंकित हुनेभयो ।

कारण, उनकै कार्यकालमा कम्युनिष्ट पार्टीले दुई तिहाई बहुमत सहितको शक्तिशाली सरकार बनायो । उनकै कार्यकालमा पार्टी तीन टुक्रामा विभाजित भएर छँदाखाँदाको सरकार गुमायो । शायद अब फेरि कम्युनिष्ट नामको पार्टीले यो स्तरको शक्ति कहिल्यै हासिल गर्ने छैन । यसरी केपी बा सफलता र असफलता, दुवैको प्रतीक बनेका छन् ।

केपी बामा चढेको ‘स्टालिनको प्रेत’ एमालेको दशौं महाधिवेशनले मन्साउन सकेन । बरु यो झन् आक्रामक भएको छ । केपी बाको हालिमुहाली रहुञ्जेल पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमहरूलाई सूर्य चिहृनको वरिपरि संगठित हुन असम्भव भइरहनेछ । यसले दिने तात्कालिक परिणाम भनेको आगामी कार्यकाल कम्युनिष्टहरू सत्तामा रहन पाउने छैनन् । जुन बेला केपी बा एमाले अध्यक्षबाट बिदा हुनेछन्, तब कम्युनिष्ट एकताको स्वर त पुनः सुनिएला, तर त्यो बेला धेरै ढिला भइसकेको हुनेछ ।



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0