कहाँ कहाँ चुके ओली र नेपाल ? – Online Khabar


२०७७ पुस ५ गते यता भइरहेका नेपाली राजनीतिको अराजनीतिक खेलहरूको परिणति तथा फागुन २३ गतेको सर्वोच्च अदालतको फैसला परिणामले अन्ततः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विघटन भयो । २०७५ साल जेठ ३ गतेका दिन तत्कालीन नेकपा (एमाले) र नेकपा माओवादी (केन्द्र) बीचको एकता तीन वर्ष पनि नपुग्दै विभाजनको अवस्थामा पुग्यो ।

एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किनुपर्ने वातावरण सिर्जना भयो । नेकपा विघटनको पहिलो कारण हेर्दा यसको एकताको सैद्धान्तिक तथा वैचारिक आधारको समीक्षा गर्नुपर्ने हुन्छ । सामान्यतया नेपालमा कम्युनिष्ट पार्टीहरूबीच एकता र विभाजन हुँदा भित्री जेसुकै कारणहरू हुन् तर बाहिर वैचारिक तथा सैद्धान्तिक लेपन लगाइएको हुन्छ । एमाले र माओवादी केन्द्रबीचको एकताको आधार कुनै महत्वपूर्ण सैद्धान्तिक जगका आधारमा भएको थिएन ।

शासन सत्ताको भागबण्डा र उच्च तहका केही नेताहरूको शासनका विभिन्न निकायमा सहभागिताको सुनिश्चितताका लागि गरिएको थियो । त्यो कुरा एकताका दौरान तथा त्यसपछिका घटनालाई नियाल्ने हो भने प्रष्टसँग बुझ्न सकिन्छ । कुनै महत्वपूर्ण सैद्धान्तिक तथा वैचारिक आधार विना तल्लो तहसम्मका कार्यकर्ताको व्यवस्थापन तथा भावनात्मक एकता विना गरिएको एकता धेरै दिन टिक्न सक्ने अवस्था नै थिएन । त्यसैले नेकपाको विघटन स्वाभाविक थियो ।

विभिन्न स्वार्थका आधारमा पार्टीभित्र निर्माण भएका समूहको अन्तरविरोधको उचित सम्बोधन र व्यवस्थापन हुनु नसक्नु नेकपा विघटनको दोस्रो कारण हो । नेकपा विघटनमा तत्कालीन नेकपाभित्र रहेका तीनवटा स्वार्थ समूहबीचको अन्तरविरोधले काम गरेको देखिन्छ । पहिलो स्वार्थ समूह जसले नेकपाको नवौं महाधिवेशनपछि र नेकपा निर्माण भइसकेपछि पार्टी सत्ता तथा शासन सत्तामा आफ्नो पकड कायम गरिराखेको थियो जसको नेतृत्व केपी ओलीले गरिरहेका थिए । नेकपाको नवौं महाधिवेशनपछि र नेकपा निर्माणपछि, आफ्नो शान, मान तथा पार्टी एवम् शासन सत्तामा आफ्नो पकड गुम्दै गएपछि हीनताबोध सहितको मनोवृत्तिबाट जन्मेको अर्को स्वार्थसमूह जसको नेतृत्व माधव नेपालले गरिरहेका थिए ।

नेकपा निर्माणपछि शासन सत्तामा आफ्नो पकड बढाउँदै लैजाने तथा अन्त्यमा पार्टी र शासन सत्ता नै नियन्त्रण गर्ने कुत्सित मनसाय सहितको उच्च महत्वाकांक्षा बोकेको अर्को स्वार्थ समूह जसको नेतृत्व प्रचण्डले गरिरहेका थिए । अन्ततः प्रचण्डले नेतृत्व गरेको स्वार्थ समूह र माधव नेपालको समूहबीच साँठगाँठ भयो । केपी अेली नेतृत्वको स्वार्थ समूह र माधव तथा प्रचण्डको समूहका बीच पार्टी तथा शासनको नेतृत्व, शानमान तथा कुर्सी, पार्टी सत्ता तथा शासकीय सत्तामा भागबण्डा नमिलेर भएको चर्को अन्तरविरोधको परिणति हो- नेकपाको विघटन । भित्री कुराहरू यिनै हुन् तर पछिल्लो समयमा देखिएका पार्टीभित्रका स्वार्थ समूहबीचको अन्तरविरोधको साइड इफेक्ट मात्र हो, ओली सरकारको असामयिक बहिर्गमन ।

हाम्रो भूराजनीतिक अवस्थितिका कारण नेपालीको नियति नै बनिसकेको बाहृय शक्तिकेन्द्रहरूको अस्वाभाविक चलखेल नेकपा विघटनको तेस्रो कारण हो । नेकपा (एमाले) र माओवादी (केन्द्र) बीचको एकता, नेकपाको निर्माण, कम्युनिष्टको करीब दुई तिहाइ सहितको सरकार, संघ, प्रदेशदेखि स्थानीय तहसम्मका शासनका मुख्य बागडोरहरूमा कम्युनिष्टको पकड भएको अवस्था कतिपय बाहृय शक्तिकेन्द्रले स्वाभाविक रूपमा लिइरहेका थिएनन् । नेकपा औपचारिक विभाजन हुनुअघि तथा विभाजोन्मुख भइसकेपछि विभिन्न शक्तिकेन्द्रका दूतहरूको काठमाडौंमा भएको दौडधुपले मात्र पनि बाहृय शक्तिकेन्द्रको चलखेल प्रष्ट पार्दछ ।

एमालेको स्खलन

बहुदलीय प्रजातन्त्र पुनस्र्थापनाका लागि भएको २०४६ सालको जनआन्दोलनपश्चात् तत्कालीन नेकपा (माले) र नेकपा -माक्र्सवादी) बीचको एकतापछि २०४७ पुस २२ गते नेकपा (एमाले) नामक राजनीतिक दलको निर्माण भयो । सन् १९९० ताका सोभियत संघको विघटन र पूर्वी युरोपका केही देशहरूमा कम्युनिष्टहरूको सत्ता बहिर्गमनका समयमा विश्व कम्युनिष्ट आन्दोलनमा देखिएका गलत प्रवृत्तिहरूलाई समीक्षा गरेर तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारीले जनताको बहुदलीय जनवाद नामक नेपाली क्रान्तिको कार्यक्रमलाई नेकपाको वैचारिक आधारको रूपमा विकास गरे । पछि नेकपाको पाँचौं राष्ट्रिय महाधिवेशनले त्यसलाई पार्टीको आधिकारिक वैचारिक लाइनको रूपमा अंगीकार गर्‍यो ।

नेपाली राजनीतिमा चामत्कारिक नेतृत्वको रूपमा उदाएका नेता मदन भण्डारीको २०५० साल जेठ ३ गते रहस्यमय निधन भयो । जनताको बहुदलीय जनवादलाई समयानुकूल विकास र समृद्ध गर्दै एमालेको वैचारिक आधारलाई अगाडि बढाउन सक्नुपथ्र्यो । त्यसको विपरीत मदन भण्डारीको अवसान पछि संसारका सबै चिज गतिशील छन् भनेर माक्र्सवादीहरूले स्वीकार गर्ने सामान्य अवधारणाका विपरीत मदन भण्डारीपछिका नेतृत्वले जनताको बहुदलीय जनवादको ‘कमा’ र ‘पूर्णविराम’ पनि परिवर्तन गर्न नपाइने गरी जडतावादी वैचारिक सोचका साथ एमालेलाई अगाडि बढाउने शुरुआत गरियो । त्यही वैचारिक जडता एमालेको स्खलनको शुरुआत हो ।

नेपाली राजनीतिमा चामत्कारिक नेतृत्वका रूपमा उदाएका नेता मदन भण्डारीको रहस्यमय अवसान र निष्ठाको राजनीति गर्ने पहिचान बोकेका मनमोहन अधिकारीको निधनपछि एकै समूहका उस्तै हैसियत भएका व्यक्तिहरूको हातमा एमालेको नेतृत्व पुग्यो । एकले अर्कोलाई सहृदयका साथ नेतृत्व स्वीकार गर्न नसक्ने अवस्था, सर्वमान्य नेतृत्वको अभाव, उस्तै समयकालमा राजनीति शुरू गरिएका तथा समान हैसियत भएका नेताहरूबीच पार्टीका विभिन्न महाधिवेशनमा देखिएको पार्टी सत्तामा आफ्नो पकड बनाउने अन्तरविरोधले उत्पन्न गरेका जटिलता एमालेको स्खलनको अर्को कारण बन्यो ।

केन्द्रीय नेतृत्व दलाल पूँजीवादको लपेटामा पर्न थाल्यो । पार्टीमा जीवन अर्पिएका इमानदार कार्यकर्तालाई उचित भूमिका र सम्मान दिनुको साटो उनीहरू विस्तारै पाखा लाग्ने अवस्था सिर्जना हुन थाल्यो । पार्टी कार्यकर्ता उत्पादनका तौरतरिका बदलिन थाले । पार्टी संगठन तथा पार्टी कामको परिभाषा बदलिन थाल्यो । यी सबै कुराले एमालेको स्खलनमा नै सहयोग पुर्‍याए

जननेता मदन भण्डारीको नेतृत्वकालसम्म पार्टीले निर्माण गरेका प्रगतिशील तथा राष्ट्रवादी छविलाई धमिल्याउने गरी राष्ट्रघाती महाकाली सन्धि संसदबाट पास गराउन तत्कालीन एमाले नेतृत्वले गरेको अपवित्र साँठगाँठ र भूमिका पनि एमालेको वैचारिक क्षयीकरणमा नै सहयोगी भयो । अन्ततः नेपालगञ्जमा भएको छैटौं राष्ट्रिय महाधिवेशनबाट त्यही महाकाली सन्धिका कारण पार्टी विभाजनको शिकार समेत भयो ।

पार्टीको छैटौं महाधिवेशनपछिका एमालेका नेतृत्वहरूले वैचारिक, सैद्धान्तिक तथा राजनीतिक रूपमा एमालेलाई प्रगतिशील पार्टीको रूपमा नेपाली जनतामा कुनै अनुभूति गराउन सकेनन् । विभिन्न कालखण्डमा सरकारको नेतृत्व गरेतापनि जनताले अनुभूत गर्ने गरी सामान्य सुधारका कामहरू पनि गर्न सकेनन् । बरु २०५१ सालको मनमोहन अधिकारी नेतृत्वको ९ महीने शासनकालमा गरिएका वृद्ध भत्ता, आफ्नो गाउँ आफै‌ं बनाउँ जस्ता सामान्य जनमुखी सुधारका कामको ब्याज खाएर आफ्नो नेतृत्वलाई बचाइराख्नमै उद्यत रहृयो । २०५२ सालमा मनमोहन नेतृत्वको सरकारको बहिर्गमनपछि एमाले नेतृत्वले वर्षौंसम्म एमालेलाई नेपाली राजनीतिको फरक धार बोक्ने, सामान्य कम्युनिष्ट चरित्र भएको प्रगतिशील पार्टीको रूपमा पनि विकास गर्न सकेन । बरु शासनका लागि दरबारको दक्षिणढोकामा निवेदन हाल्न जाने, शासनको लोभले प्रतिगमन आधा सच्चियो भनेर पार्टीको नीति बनाउने र शासनका लागि जे पनि गर्न सक्ने बुर्जुवा प्रवृत्ति र चरित्रहरू एमालेभित्र देखिन थाले ।

जनताको बहुदलीय जनवादको मूल मान्यता, कम्युनिष्ट पार्टीभित्र हुनुपर्ने आन्तरिक लोकतन्त्रीकरणको साटो आफ्नो आलोचना गर्ने तथा आफूभन्दा फरक विचार राख्नेमाथि निर्मम व्यवहार हुन थाले । गरिखाने वर्गको हितका लागि निर्माण भएको पार्टीभित्र नयाँ वर्गको उदय हुन थाल्यो । अराजनीतिक तथा आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरू राजनीतिका मुख्य पदहरूमा पुग्न थाले । केन्द्रीय नेतृत्व दलाल पूँजीवादको लपेटामा पर्न थाल्यो । पार्टीमा जीवन लगाएका इम्ाानदार कार्यकर्तालाई उचित भूमिका र सम्मान दिनुको साटो उनीहरू विस्तारै पाखा लाग्ने अवस्था सिर्जना हुन थाल्यो । पार्टी कार्यकर्ता उत्पादनका तौरतरिकाहरू बदलिन थाले । पार्टी संगठन तथा पार्टी कामको परिभाषाहरू बदलिन थाल्यो । यी सबै कुराले एमालेको स्खलनमा नै सहयोग पुर्‍याए ।

पार्टीका आशलाग्दा दोस्रो पुस्ताका रूपमा चिनिएका नेताहरूले पनि पार्टीभित्रको विकृत संस्कृतिबाट आफूलाई अलग राख्न सकेनन् । यति मात्र होइन पार्टीभित्र हावी भएको दलाल पूँजीवादको जालोबाट बच्न पनि सकेनन् । आफूभित्र रहेको क्षमता र सम्भावनाको उपयोग गर्नुको साटो पुरानै नेताहरूको पुच्छर समातेर वैतरणी पार गर्ने तथा आफ्नो अभीष्ट पूरा गर्ने ध्याउन्नमा लाग्न थाले । एमालेको छवि विस्तारै क्षयीकरण र स्खलनतर्फ उन्मुख हुँदै गयो ।

अन्ततः २०७५ साल जेठ ३, मदन भण्डारीको स्मृति दिवसकै दिन, मदन भण्डारीले विश्व परिवेशलाई मनन गरेर नेपाली परिवेशमा विकास गरेको जनताको बहुदलीय जनवादलाई नै विसर्जन गर्ने कार्य गरियो । जो नेकपा स्खलनको अन्तिम परिणति थियो ।

कहाँ चुके ओली ?

एमालेभित्रको पार्टी सत्ताको नेतृत्वमा पुग्नका लागि केपी ओलीले पार्टीभित्र निकै लामो समय संघर्ष गर्नुपर्‍यो । पार्टीभित्रको वामदेव गौतम समूहसँगको सहकार्य पछि मात्र केपी ओली विस्तारै शासन सत्ता र पार्टीको सत्तामा आफ्नो पकड राख्न सफल भए । पार्टीको नवौं महाधिवेशनमा केपी ओलीले माधव नेपाललाई पराजित गरेपछि केपी ओलीको पार्टी सत्ता र शासन सत्ता दुवैमा नेतृत्व गर्ने अवसर आयो । जसको व्यग्र प्रतीक्षामा उनी लामो समयदेखि थिए । पार्टी नेतृत्व र सरकारको नेतृत्वकर्ताको रूपमा केपी ओलीको उदय नेपाली राजनीतिमा नयाँ संचार सहितको उत्साहप्रद नै थियो ।

केपी ओलीसँग रहेको भिजन, राजनीतिक अडान, नेतृत्व कौशल र नेपालको समृद्धिका लागि उनले देखाएका सपनाका कारण केपी ओलीलाई नेपालको राजनीतिमा मात्र होइन दक्षिण एशियाकै सफल राजनेताको रूपमा स्थापित हुने अवसर थियो । केपी ओलीभित्रका केही अनुदारवादी शासकीय शैली, नेकपाभित्रको स्वार्थ समूहको अन्तरविरोध र बाहृय शक्तिको चलखेलका कारण जति उत्साहप्रद उनको सत्तारोहण भएको थियो तर शासनबाट उनको बहिर्गमन भने अलि असहज तरिकाले भयो ।

केपी ओलीले सिंगो नेकपा तथा सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेका थिए । उनका सामु थुप्रै अवसर थिए । तर पनि उनी थुप्रै ठाउँमा चुके । नेकपाको एकतापछि पार्टीको कुशल नेतृत्व र व्यवस्थापन गर्न नसक्नु, निर्वाचित संसदलाई विघटन गर्नु, विषयगत जानकारहरूको सल्लाह लिनुको साटो सबै कुराको प्राधिकार र जानकार आफैंलाई सम्झनु, अरूका कुराहरू कम सुन्नु तथा आफ्नो आलोचना गर्नेहरूप्रतिको अनुदार तथा प्रतिशोधपूर्ण व्यवहार गर्नु, सरकारी नियुक्तिमा विषयगत जानकार भएका मान्छेहरू राख्नुको साटो आफ्नो गुटको भएकै कारण विषयवस्तुमा कम जानकार भए पनि नियुक्त गर्नु तथा सही स्थानमा सही व्यक्तिको नियुक्ति गर्न नसक्नु, किचन क्याबिनेटका व्यक्तिहरूमा रहेको अराजनीतिक संस्कृति तथा उनीहरूका गलत सल्लाह पनि मान्नु । आफूले मन पराएका व्यक्तिहरू भ्रष्टाचारको आरोप लागिसक्दा पनि उनीहरूको अनावश्यक बचावट गर्नु, नबोले पनि हुने विषयमा अनावश्यक बोलेर विवादमा पर्नु । फागुन २३ गतेको निर्णयपछि एमाले पूर्ववत् अवस्थामा पुगिसकेको अवस्थामा फागुन २८ गते आफ्ना समूहका व्यक्तिहरूको सहभागितामा बैठक राखेर आफूमाथि नेकपा हँुदा गरिएका कारबाहीलाई आधार बनाएर प्रतिशोधपूर्ण निर्णयहरू गर्नु आदि कुराहरूमा केपी ओली चुके । जसका कारण केपी ओलीको अस्वाभाविक शासन सत्ताबाट बहिर्गमन हुन पुग्यो ।

कहाँ चुके नेपाल ?

नेकपा (एमाले) ले आफ्ना नेता मदन भण्डारीलाई गुमाइसकेपछि काकतालीमै भए पनि माधव नेपालले पार्टी सत्ताको प्रमुख बन्ने अवसर प्राप्त गरे । जुन समयमा माधव नेपालले पार्टीको नेतृत्व सम्हाले, कम्युनिष्टहरूप्रति अनुदार बाहृय शक्तिहरूको चुनौती त उनमा थियो नै तर मदन भण्डारीको राजनीतिक तथा वैचारिक आलोकमा देशको प्रमुख प्रगतिशील र रूपान्तरणकारी पार्टीको रूपमा एमालेलाई अगाडि बढाउने अवसर पनि पर्याप्त थियो । कम्युनिष्ट पार्टी भएकै कारण एमालेलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नमा उनले योगदान गरेका छन् । पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार तथा एमालेको अन्तर्राष्ट्रियस्तरमा पहिचान अभिवृद्धि गर्ने कार्यमा समेत माधव नेपालले गरेको योगदान महत्वपूर्ण छ ।

२०५४ सालको स्थानीय निकायको निर्वाचनमा एमालेले उच्च सफलता हासिल गर्दा पनि पार्टी उनकै नेतृत्वमा थियो । उनको समन्वयकारी भूमिकाले नेपाली राजनीतिका थुप्रै असहजतालाई पनि सहज बनाउन मद्दत गरेको छ । एमालेको करीब १७ वर्ष नेतृत्व हासिल गरेका माधव नेपालका सामु नेपाली कम्युनिष्ट आन्दोलनका एक ऐतिहासिक नेतृत्वकर्ताको रूपमा पहिचान बनाउने अवसर पनि थियो । तर माधव नेपालमा रहेका कतिपय उनका व्यवहार, शैली र चरित्रहरूले गर्दा एमालेभित्र उनको उदय जति आशाप्रद थियो, आजको अवस्थासम्म आइपुग्दा उनी जुन अवस्था र हैसियतमा पुगेका छन् शायद उनको राजनीतिक इतिहासकै सबैभन्दा चुनौतीपूर्ण दिनहरू बिताइरहेका छन् ।

माधव नेपाल पनि आफ्ना चरित्र, प्रवृत्ति र स्वार्थहरूका कारण नेपाली कम्युनिष्ट आन्दोलनमा एक स्थापित नेतृत्व हुनबाट चुके । माधव नेपालमा रहेको सानो मन र चित्त कतिपय अवस्थामा कमजोरीको रूपमा अगाडि आयो । आफ्ना विरोधीहरूप्रति असहिष्णुताभाव राख्नु, एमालेको नेतृत्वमा रहँदा अहंकारी र नोकरशाही प्रवृत्तिमा रमाउनु, नाम र सम्मानको सधैं भोको हुनु उनका केही कमजोरी रहे । त्यस्तै, नेकपा निर्माण भइसकेपछि आफ्नो स्वार्थको लागि पहिले प्रचण्डलाई उचाल्नु, पछि प्रचण्डकै स्वार्थ समूहसँग मिलेर पार्टी नेतृत्वको विरोधमा उत्रनु, प्रचण्डको साथ लिएर नेकपाका पार्टी अध्यक्षलाई साधारण सदस्यबाटै कारबाही गर्नु, फागुन २३ को अदालतको निर्णयपछि पार्टीका अध्यक्षसँग सम्वाद अगाडि बढाउनुको साटो आफ्नो स्वार्थ समूहको बैठकहरूमा रमाउनु उनका कमजोरी रहे ।

पार्टी अध्यक्षले बोलाएका ठाउँमा नजाने अनि खुमलटार र बूढानीलकण्ठको दौड जारी राख्नु, जेठ २ मा फर्किने सैद्धान्तिक सहमति भएर कार्यदल बनिसक्दा पनि कलममा भोट हाल्न लगाउनु, आफ्नै पार्टीका विरुद्ध हस्ताक्षर बोकेर राष्ट्रपति र अदालत धाउनु नेता नेपालका कमजोरी हुन् । केपी ओलीसँगको प्रतिशोध साध्नकै लागि विपक्षी गठबन्धनमा बसेर शेरबहादुर नेतृत्वको सरकार बनाउन भूमिका खेल्नु, संसदमा शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिनु र दिन लगाउनु आदि कुराहरूमा माधव नेपाल चुक्न पुगे ।

माधव नेपाल पार्टीको नवौं महाधिवेशनमा पराजित भइसकेपछि वरिष्ठ नेताको पदमा रहेर आफ्ना विचार समूहको उचित स्वार्थहरूको रक्षा गर्दै पार्टी नेतृत्वलाई सहयोग गर्दै अगाडि बढ्न सकेको भए शायद आजको परिणति हुने थिएन । तर उनी धेरै ठाउँमा चुक्न पुगे र आफ्नो राजनीतिक इतिहासकै सकसपूर्ण दिनहरू बिताइरहेका छन् ।
अन्त्यमा,

पछिल्ला राजनीतिक परिघटनाहरूको समीक्षा गर्ने हो भने गरिखाने वर्गको मुक्तिका लागि पुष्पलालले स्थापना गरेर देखाएको बाटो पहिल्याउँदै तथा मदन भण्डारीले अगाडि सारेको वैचारिक तथा राजनीतिक आलोकमा रहेर नेकपा (एमाले) लाई नेपालको एक प्रगतिशील राजनीतिक दलको रूपमा स्थापित गरेर संविधानमा परिकल्पना गरेको समाजवादसम्म पुग्ने पाइलाहरूमा अहिलेलाई ठूलो ठेस लागेको छ ।

केपी ओली र माधव नेपालका अहिलेसम्मका बोलीहरू सुन्दा उनीहरू एकै ठाउँमा बस्न सक्ने अवस्था पनि कमजोर बन्दै गएको छ । विगतको समीक्षा गर्दै अगाडिका लागि समझदारीपूर्ण बाटो तय नगर्ने हो र राजनीतिका नाममा यही प्रतिशोधपूर्ण अराजनीतिक व्यवहार भइरहने हो भने एकजनाको राजनीतिक आत्महत्या पक्का छ ।



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0