९९ करोड लागतमा ५० करोड रुपैयाँका सिक्का – Online Khabar


२० साउन, काठमाडौं । स्टिल र निकेल धातु मिसावटबाट टिलिक्क टल्किएको एक र दुई रुपैयाँको नेपाली सिक्का नियाल्दा जो कसैलाई लाग्न सक्छ, मुद्राको विकास कसरी भयो होला ? मुद्राको पहिलो डिजाइन कहिले र कसले गर्‍यो होला ? मूल्य कसरी निर्धारण भयो होला ?

नेपाली मुद्रा विकासको कालखण्ड खोतल्दा गर्व गर्न लायक इतिहास भेटिन्छ । इस्वी १५५०-७० को बीचमा नेपालमण्डलमा शासन गरेका महेन्द्र मल्लले जारी गरेको मुद्रा ‘महेन्द्र मल्ली’ नामले इतिहास प्रसिद्ध छ । उनकै पालामा नेपालमा मुद्रा छापेर तिब्बत पठाउन थालियो ।

कुनै समय छिमेकी देशको लागि चाँदीको मुद्रा छापेर पठाउने नेपाल यो काममा २०६६ सालबाट पूर्ण रूपमा विदेश निर्भर भयो । स्टिल र निकेल धातुको मिश्रणबाट बन्ने चम्किलो एक र दुई रुपैयाँको सिक्का टकमारी गर्न अहिले नेपाल राष्ट्र बैंकले पोल्याण्ड र बेलायतका कम्पनीहरूलाई ठेक्का दिएको छ ।

मुद्रा अवमूल्यनका कारण पछिल्लो समय एक र दुई रुपैयाँको सिक्का कम प्रयोग हुन थाले पनि अनुत्पादक काममा यसको खपत बढेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपाल बताउँछन् ।

तुलादान (आफ्नो तौल बराबरको सिक्का दान) जस्तो अनुत्पादक प्रयोगमा सिक्का खपत बढेपछि सटहीमा कडाइ गरिएको उनले बताए । नेपालका अनुसार, अहिले तुलादान पछि सुपरमार्केटहरूमा सिक्का बढी चल्छ । सुपरमार्केटमा फिर्ताको रूपमा ग्राहकले पाउने सिक्काहरू पुनः बजारमा ‘सर्कुलेट’ हुने वा राष्ट्र बैंक पुग्ने सम्भावना कमै हुन्छ ।

अहिले राष्ट्र बैंकसँग एक रुपैयाँको ४० लाख र दुई रुपैयाँको एक करोड थान सिक्का मौज्दात छ

मुद्रा व्यवस्थापन विभाग प्रमुख नेपालका अनुसार अहिले राष्ट्र बैंकसँग एक रुपैयाँको ४० लाख र दुई रुपैयाँको एक करोड थान सिक्का मौज्दात छ । नयाँ सिक्का जारी हुन अझै ५-६ महीना लाग्ने भएकाले अत्यावश्यक बाहेक अरूलाई सटहीमा कडाइ गरिएको उनले बताए ।

मुद्रा अवमूल्यनका कारण पछिल्लो समय कम प्रयोग हुन थालेको एक र दुई रुपैयाँको सिक्का राष्ट्र बैंकले १२ वर्षपछि जारी गर्न लागेको हो । यसअघि २०६६ सालमा यी सिक्का जारी गरिएका थिए ।

‘यसपालि एक रुपैयाँको ३० करोड र दुई रुपैयाँको १० करोड थान सिक्का जारी गर्ने तयारी छ’ मुद्रा व्यवस्थापन विभाग प्रमुख नेपाल भन्छन्, ‘एक रुपैयाँको प्रतिसिक्का लागत दुई रुपैयाँ ४० पैसा र दुई रुपैयाँको प्रतिसिक्का लागत दुई रुपैयाँ ७० पैसा छ । दुवैको कुल लागत ९९ करोड छ ।’

उनका अनुसार, एक रुपैयाँको पोल्याण्ड र दुई रुपैयाँको सिक्का बेलायतमा टकमारी हुँदैछ । ती सिक्का आगामी माघ-फागुनमा बजारमा पठाउने राष्ट्र बैंकको तयारी छ ।

नेपाली सिक्काको विकासक्रम

४ हजार ५०० वर्ष पहिलेको सिन्धु सभ्यतादेखि ऋग्वैदिक कालसम्म वस्तु विनिमय नै चल्तीमा थियो । ऋग्वैदिक कालमा विनिमयको साधनको रूपमा गाई समेत प्रयोग हुन्थ्यो ।

इसापूर्व ७०० तिर पश्चिम एशियाको टर्की क्षेत्रमा मुद्रा प्रचलनमा आयो । चीन र भारतसँग त्यो क्षेत्रको व्यापारिक सम्बन्ध थियो । त्यही व्यापारको क्रममा पैसाको अवधारणा यो क्षेत्रमा भित्रिएको इतिहासकारहरूको मत छ ।

आहत मुद्रा

धातुको टुक्रामा दबाब दिएर कुनै आकृति कुँदिएको ‘आहत मुद्रा’ एशियाको पहिलो मुद्रा मानिन्छ । इसापूर्व पाँचौं-छैटौं शताब्दीमा यो मुद्रा आजको भारतमा प्रचलनमा आएको इतिहासकारहरूको भनाइ छ ।

घरको जग खन्ने क्रममा काठमाडौंको गौशालामा पनि दुईखाले आहत मुद्रा भेटिएको डा. रमेश ढुंगेल बताउँछन् । उनका अनुसार, कपिलवस्तु क्षेत्रमा पनि दुईखाले आहत मुद्रा भेटिएका थिए । नेपालमा पाइए पनि आहत मुद्रा नेपालका राजाहरूले जारी गरेका होइनन् ।

नेपालमा भटमासलाई कपडाले बेरेर बनाइएको मुद्रा, छालाको मुद्रा, माटोका मुद्रा, सुन, चाँदी र तामाका मुद्रा विभिन्न कालखण्डमा प्रचलनमा आएको डा. ढुंगेल बताउँछन् ।

मानांकले कोरेको मुद्रा विकासको बाटो

नेपालमा पाइएका आहत मुद्रा र कुषाण सिक्काहरू नेपालका राजाले जारी गरेका होइनन् । लिच्छवि राजा मानदेव पालाको मानिएको मानांकलाई धेरै विद्वानले नेपालको पहिलो मौलिक सिक्का मानेका छन् ।

मानदेव, अंशुवर्मा एवं सामन्त जिष्णुगुप्त लगायतको नाम अंकित ७ प्रकारका मुद्रा लिच्छविकालमा जारी भए । ती सबै तामाका थिए । लिच्छविकालीन नै मानिएको वैश्रवण, पशुपति जस्ता मुद्रा भने कुन राजाको समयमा जारी भयो भन्ने यकिन छैन ।

मध्यकालमा भारत र तिब्बतबीचको व्यापारिक केन्द्र पनि थियो नेपाल । तिब्बतले भारतसँगको व्यापारमा नेपालमा टकमारी भएकै मुद्रा प्रयोग गर्थ्यो । आज नेपालले पोल्याण्ड वा बेलायतमा सिक्का बनाएर आयात गरेजस्तै त्यसबेला तिब्बतले नेपालमा टकमारी भएको मुद्रा चलाउँथ्यो ।

वि.सं. ९३७ बाट नेपालमा पूर्वमध्यकाल शुरू भएको मानिन्छ । पूर्वमध्यकालीन राजा शिवदेव तृतीय -अनुमानित समय १०९८-११२६ इ.) ले सुन र चाँदीको मुद्रा जारी गरेका थिए, जसलाई ‘शिवका’ र ‘दम्म’ भनिन्थ्यो ।

मानांक मुद्रा

शिवदेवपछि एकैपटक १५औं-१६औं शताब्दीका राजाले जारी गरेको मुद्रा पाइएको छ । वंशावलीहरूमा भने त्यसबीचमा अरू राजाहरूले पनि सिक्का जारी गरेको उल्लेख छ । इस्वीको १६औं शताब्दीमा काठमाडौंका राजा महेन्द्र मल्लले ‘महेन्द्र मल्ली’ र दोलखाका राजा जय इन्द्रसिंह देवले चाँदीको सिक्का जारी गरे । तिनमा मिति उल्लेख छैन ।

सत्यमोहन जोशीका अनुसार नेपाल संवत् ६८६ (१५६६ इ.) तिर महेन्द्रमल्ली प्रकाशनमा आयो । त्यसबेला तिब्बतलाई चाहिने सबै मुद्रा नेपालमा बन्थे । तिब्बतबाट कच्चा सुनचाँदी ल्याएर टकमारी गरेर मुद्रा उता पठाइन्थ्यो ।

सिक्काकै कारण तिब्बतसँग युद्ध

महेन्द्र मल्लले तिब्बतबाट चाँदी लिएर मुद्रा बनाई पठाउने सम्झौता सन् १५५६ मा गरेका थिए । मल्लकालभर नेपालले टक बनाएर तिब्बत पठाउने गरेको प्रमाणहरू पाइन्छन् । त्यसबापत नेपालले निश्चित प्रतिशत चाँदी र टकमारी शुल्क पाउँथ्यो ।

त्यसरी नेपालले वार्षिक एक लाख रुपैयाँसम्म फाइदा गरेको कर्क पेटि्रकले उल्लेख गरेका छन् । उनको पुस्तक ‘एन अकाउन्ट अफ किङ्डम अफ नेपाल’ का अनुसार नेपालले मुद्रा बनाउने कच्चा चाँदीमा २४ प्रतिशतसम्म कमिसन पाउँथ्यो ।

महेन्द्र मल्लदेखि जयप्रकाश मल्ल, श्रीनिवास मल्ल र रणजित मल्लसम्म आइपुग्दा कान्तिपुर, भादगाउँ र पाटनमा तिब्बतको लागि छुट्टाछुट्टै टकमारी हुन्थ्यो । जयप्रकाश, रणजित र श्रीनिवास क्रमशः कान्तिपुर, भादगाउँ र पाटनका अन्तिम मल्ल राजा हुन् । त्यसबेलासम्म अन्य धातु मिसावट गरेको (खोटो) सिक्का पठाउने क्रम धेरै चलिसकेको थियो ।

महेन्द्र मल्ली (पहिलो) र तिब्बतियन सिक्का(दोस्रो) ।

सत्यमोहन जोशीको पुस्तक ‘नेपाली राष्ट्रिय मुद्रा’ अनुसार मध्यकालीन मल्ल शासकहरूले छापेको मुद्रालाई तिब्बतमा ‘चोटाङ्ग’ भनिन्थ्यो । उत्तरमध्यकालीन मल्ल राजाहरूले चाँदीमा अन्य धातु मिसाएर कमसल मुद्रा पठाउन थाले । त्यस्तो मुद्रा केही वर्षमै कालो हुन्थ्यो । त्यसलाई तिब्बतमा ‘नागटाङ्ग’ भन्न थालियो र तिब्बतीहरू त्यसैमा बानी परे । पृथ्वीनारायण शाहले काठमाडौं विजय गरेपछि शुद्ध चाँदीको मुद्रा पठाउन खोज्दा तिब्बतीहरूले मान्यता दिएनन् ।

प्रतापसिंह शाहको पालामा नेपाल-तिब्बत व्यापारिक गतिविधि सुचारु गर्न प्रयासहरू भए । तिब्बतका शेलु, खेम्पो र देन्यो प्रतिनिधिमण्डलसँग वार्तापछि सन्धि पनि भयो । सन्धि अनुसार नेपालले चाँदीको मुद्रा टकमारी गरी पठाउने, तिब्बतले पूूर्वतर्फको नाका बन्द गरी केरुङ र कुतीबाट मात्र नेपालसँग व्यापार गर्ने जस्ता बुँदामा सहमति भए, तर तिब्बतले पालना गरेन । बहादुर शाहको पालामा सन् १७८८ देखि चार वर्षसम्म भएको युद्ध जितेपछि नेपालले फेरि भोटमा शुद्ध चाँदीको मुद्रा पठाउन थालेको इतिहास छ ।

टकमारीमा नेपालको ओरालो यात्रा

टकमारीमा २०६३ सालदेखि विदेश निर्भर हुन थालेको नेपालले २०६६ पछि मुद्रा बनाउन पूरै बन्द गर्यो । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपाल कच्चा पदार्थ पनि विदेशबाटै ल्याउनुपर्ने भएपछि नेपालमा सिक्का छाप्न महँगो भएर बन्द गरेको बताउँछन् । राष्ट्र बैंकको टक्सार शाखाको मेसिनले सिक्कामा अहिले जस्तो चमक ल्याउन पनि नसकिने उनले बताए ।

२००२ सालमा खुलेको सदर मुलुकी खानाले नोट छपाइ थालेसँगै नेपालमा सिक्का टकमारी संकुचित हुँदै गयो । २०२१ सालको निकासी पैठारी नियन्त्रण सम्बन्धी ऐनले नेपाली पैसा नेपालबाहिर चलाउन प्रतिबन्ध लगायो । अहिले त नेपाली सिक्काको प्रयोग पनि तुलादान, शपिङ मल र पूजापाठमा मात्र सीमित भएको मुद्रा व्यवस्थापन विभाग प्रमुख नेपाल बताउँछन् ।



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0