तक्मे बुढाको रेसेपी


तक्मे बुढा अर्थात विल्सन विक्रम राई कुनैबेला भाते थिए । भात भनेपछि हुरुक्कै । उनलाई भातमा केही नचाहिने, एउटै पापड भए पुग्ने । पापडसँग फुको भात जतिपनि खाइदिने । उनी सुनाउँछन्, ‘दिनमा पाँच पटकसम्म भात खान्थें ।’ उनी बेलाबखत साथीभाईलाई पनि निम्त्याएर मीठोमसिनो ख्वाउथे । ‘मलाई भेराइटी बनाउन त अल्छी लाग्दैन कि’ विल्सनले थपे, ‘तर, भात भएपछि अरु केही चाहिँदैनथ्यो । स्वादले खाइदिन्थें ।’

उनले साँच्चै स्वादिलो बनाउने परिकार चाहिँ के हो ?

‘पोर्क’ उनले भने ।

‘कसरी बनाउनुहुन्छ ?’, हामीले जान्ने प्रयास ग¥यौं ।

‘पोर्क चाहिँ म घरमा जस्तै नर्मल तरिकाले बनाउँछु’ उनले भने, ‘पाए त्यसमा रायोको साग मिसाउँछु, नभए चाइनिज साग ।’

सुँगुरको मासुको कुरा गर्दागर्दै उनले घुटुक्क थुक निले । अनि थपे– ‘एग करी हुन्छ नि, अण्डाको, त्यो चाहिँ म दामी बनाउँछु ।’

एग करी

 एग करीको विलसन रेसीपी यस्तो छ :

चार जनाका लागि हो भने, पाँचवटा अण्डा ल्याउने । आलु र अण्डा उसिन्ने । चारवटा अण्डालाई तेलमा रातो हुने गरी फ्राइ गर्ने ।  बाँकी रहेको एउटा अण्डालाई मसिनो गरी टुक्राउने । आलुलाई पनि टुक्रा गर्ने ।

तेलमा प्याज फुराउने । प्याज रातो भएपछि त्यसमा अदुवा र लसुनको पेस्ट हाल्ने । अब मगमग बास्ना आउन थाल्छ । त्यसपछि थोरै धनियाको धुलो, बेसार हाल्ने ।    आलु र टुक्रा गरेको अण्डा हालेर राम्ररी फ्राइ गर्ने । त्यसपछि ठिक्क पानी हालेर भकभक उमाल्ने । झोल उम्लिन थालेपछि चारवटा अण्डा पनि त्यसैमा मिसाइदिने ।

‘यसरी बनाइएको एग करीमा अण्डाको फ्लेबर हुन्छ, अरुमा जस्तो आलुको मात्रा बढी हुँदैन’, उनले भने ।

विल्सनलाई खानेकुरा बनाएको हेर्न खुब चाख लाग्छ । उनी यात्रा र खानासम्बन्धी च्यानल ‘टीएलसी’ हेर्छन् । देश विदेश चाहर्दा स्ट्रिट फुडमा चोर आँखा दौडाउँछन् ।

विल्सनले बैंकक भ्रमणमा यसरी नै माछाको परिकार बनाउन सिके । काठमाडौं फर्केपछि त्यसलाई प्रयोग गरे । उनको भाषामा ‘भयानक मीठो’ भयो ।

फिस बोयल

माछा पकाउने उनको रेसीपी यस्तो छ :

अलि ठूलो माछा ल्याउने । त्यसलाई मःम पकाउने भाँडोमा बफ्याउने । बफ्याउनुअघि भाँडाको पानीमा अदुवा सहित लसुन र प्याजको पातलाई मसिनो हुनेगरी काटेर हाल्ने । त्यसमा नुन राख्ने । अनि माछा बफ्याउने ।  यसरी बफ्याइएको माछामा त्यससँगै तयार गरिएको रस हालेर सेवन गर्न सकिन्छ ।

‘मेरो सानो भाञ्जा छ कि, उसले त मेरो यो रेसीपी खुब मन पराएको छ’ विल्सनले भने ।

दाल चिकेन करी बनाउन पनी उनी सिपालु रहेछन् ।

‘भान्सामा नयाँ परिकार तयार गर्न मलाई कम्ता जाँगर चल्दैन’ विल्सनले थपे, ‘भाँडा माझ्न मात्र हो, अल्छी लाग्ने ।’

केदार घिमिरे (माग्ने बुढा) , रोज मोक्तान र विल्सन युरोप गएको बेला अपार्टमेन्ट लिएर बसेका थिए । त्यहाँ अस्थायी रुपमा अपार्टमेन्ट लिएर बस्न पाउने व्यवस्था रहेछ, जो सस्तो र सजिलो हुने उनको भोगाइ छ । अपार्टमेन्टमा आफै खाना पकाउनुपर्ने । हरेक छाक पकाउने जिम्मा, विल्सनकै ।

केदार घिमिरे भन्थे रे, ‘बरु म भाँडा माझ्छु, पकाउने जिम्मा चाहिँ विलसनको ।’



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0