अपहरणको उजुरी दिँदा ज्यान जोखिममा पर्ने डर ! – Online Khabar


७ साउन, काठमाडौं । गलैंचा कारखानाबाट बन्दी श्रमिक भागेपछि सञ्चालक रत्न लामाले निशा दम्पतीलाई खोज्न हरसम्भव प्रयास गरे । नभेटेपछि पर्साको ठोरीबाट उनका बच्चाहरु अपहरण गरेर ल्याए । बच्चाको सहायताबाट उनीहरुको आमाबुवालाई खोज्ने प्रयास गरेपनि नभेटेपछि बच्चाहरुलाई श्रममा मात्रै लगाएनन्, कुटपिट पनि गरे ।

तीन महिना बढी श्रममा लगाएपछि लामाले सात वर्षकी बालिका र पाँच वर्षका बालबालिकालाई अर्कै घरमा दिए । बच्चाहरुको नाजुक स्थिति देखेर ल्याएको भने पनि उनीहरुको शारीरिक अवस्था राम्रो थिएन । बच्चाहरुको उद्धारपछि कारखाना सञ्चालकले ती बालिकालाई कुट्ने, भाँडा माझ्न लगाउने लगायत गरेको बताएकी थिइन् ।

बालबालिकाको उद्धार गरेको दाबी गर्ने ती व्यक्तिले बालबालिका ल्याउन मानेका थिएनन् । त्यसैले त्यो उद्धार नभएर बेचबिखन भएको  निशाकी दिदी फुलमाया परियार दाबी गर्छिन् । उनी भन्छिन्, ‘उनले बालबालिकाको बिजोग देखेर उद्धार गरेको हुन्थ्यो भने उनीहरुको अवस्था राम्रो हुनुपर्ने हो । अर्को कुरा जाँदा किन बच्चा ल्याएनन् ? त्यसैले यो बेचविखन हो ।’

बच्चासँग भेट भएपछि  निशा खुशी त छिन् तर, फेरि खोज्दै आएर त्यही गलैंचा कारखानामा लग्ने हो कि भन्ने डर अझै छ । गलैंचा कारखाना सञ्चालक रत्न वाईबा (लामा)ले आफ्ना छोराछोरीलाई अपहरण गरेर ल्याउँदा पनि उनी खोज्न जाने आँट गरिनन् । आफू निरीह भएकैले बन्दी बनाएको र फेरि बनाउँछ भन्ने उनलाई लागेको छ ।

लामाले अपहरण गरेर ल्याएका बालबालिकाहरुलाई बच्चाहरु अखिल नेपाल घरेलु श्रमिक संघको सकृयतामा उद्धार भयो । संघले उनलाई प्रहरी कहाँ उजुरी गर्न सहयोग गर्ने प्रतिवद्धता गर्दा पनि उनी तयार भइनन् । निशालाई प्रहरी कहाँ गए पनि न्याय पाउँदिन भन्ने लाग्छ । लामा शक्तिशाली छ प्रहरीले पनि उनैलाई साथ दिन्छ भन्ने निशाको बुझाइ छ । त्यसकारण उजुरी गर्न जान डराएकी छिन् ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी हरिबहादुर पाल उजुरी आए प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराख्ने बताउँछन् । उनी भन्छन्, ‘पीडितले चिन्ता लिनुपर्ने वा डराउनुपर्ने कुनै अवस्था रहँदैन ।’





यो पनि पढ्नुहोस
गलैंचा कारखानाबाट भागेकी निशा

उनी भन्छिन्, ‘जहाँ भेट्यो त्यहीँबाट उठाएर लान सक्छ, मार्न पनि के वेर !’ त्यही डरले बसेको स्थानबाट अन्त काम खोज्न जान पनि सकेकी छैनन् । भन्छिन्, ‘मलाई भेट्यो भने त लान्छ । फेरि कारखानामा नै काम लगाउँछ । मार्न पनि बेर लगाउँदैन ।’

कानूनी उपचारमा जान फकाउँदा पनि नमानेपछि बच्चाहरु उद्धार गरेर सञ्चालकलाई अब केही नगर्ने सर्तमा सम्झौता गरेर छोडेको संघकी अध्यक्ष संगीता बानियाँ बताउँछिन् । भन्छिन्, ‘पीडित कानूनी उपचारमा जानै चाहनु भएन । तर यो एकदमै गम्भीर मुद्दा हो ।’

सामान्य श्रमिकहरुले रोजगारदातालाई शक्तिशाली र पहुँच भएका सम्झिने गरेकाले कानूनी उपचारमा नजाने गरेको कानून व्यवसायी युवराज लुइँटेल बताउँछन् । उनी भन्छन्, ‘कानूनी प्रक्रियामा जानु झन् दुख पाउनु मात्रै हो भन्ने बुझाइ छ ।’

बन्दी श्रम शोषणमा परेकालाई रोजगारदाताले विभिन्न खालका धाक धम्की दिने गरेको उनी बताउँछन्। श्रमिकहरुमा न्यायिक चेतना पनि नहुने हुँदा ज्यान बचेपछि कानूनी उपचारमा जानै नचाहने गरेको लुइँटेलको भनाइ छ ।

उनी थप्छन्, ‘पीडितले बच्चा प्राप्तिलाई ठूलो मान्नु स्वभाविक हो । तर त्यो एउटा परिवारले भोगेको शोषण मात्रै  नभइ, अपराध हो भन्ने बुझाउनुपर्छ । र, पीडकले मुक्ति पाउने अवस्था अन्त्य गर्नुपर्छ ।’

कानूनतः दास नबाउने वा इच्छाविपरित काममा लगाएर अपहरणा तथा शरीर बन्धकको कसूर गरेको प्रमाणित भए सात वर्षदेखि दश वर्षसम्म कैद र ७० हजारदेखि १ लाख रुपैयाँसम्म जरिबाना हुनसक्छ ।



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0