‘थोत्रो थिति आजै फालौं’ भन्दै युवाहरू सडकमा – Online Khabar


७ साउन, काठमाडौं । सामान्यतः आन्दोलनहरूमा नाराबाजी गर्ने तथा जिन्दावाद–मुर्दावादको एकोहोरो नारा लगाइन्छ । तर बिहीबार भएको प्रतिरोध–सभाको प्रदर्शनमा भने पुरै समय गीत गाएर जात व्यवस्था, असमानता र रुढी परम्पराहरूको विरोध गरियो ।

माइतीघरबाट शुरु गरिएको प्रदर्शनलाई गायक अञ्जान बाबुले दमाहा बजाउँदै, गीत गाउँदै अगाडि बढाए । साउने झरीको परवाह नगरी विभिन्न भाषामा लेखिएका ब्यानर बोकेर गीत गाउँदै अरु प्रदर्शनकारीले उनलाई पछ्याए ।

‘यस्तो थिति फालौं, आउनुस् आजै फालौं’ भन्ने बोलको गीत गाउँदै अघि बढेको प्रदर्शन बानेश्वरको निषेधित क्षेत्रअगाडि पुगेर सभामा परिणत भयो । सभा शुरु हुनुअघि थिएटर मलका कलाकारले सडक नाटक देखाए ।

नाटकमा मानिसले मानिसलाई गर्दै आएको शोषण प्रतीकात्मक ढंगले देखाइएको थियो । कोट लगाएका एक व्यक्ति कुर्सीमाथि बसेर अरु मानिसहरुलाई खुट्टाले कुल्चिरहेका थिए । तर कुल्चिइएका मानिसहरूले अन्तिममा आफूलाई कुल्चिने मानिसविरुद्ध विद्रोह गरेको नाटक हेर्न सकडपेटीमा हिँडिरहेका सर्वसाधारण पनि रोकिएका थिए ।

नाटकपछि ‘सुसेला’ समूहको तर्फबाट गायक अञ्जान, शकुन्तला जोशी, अनिता पण्डितले भारतीय गायक भूपेन हजारीको चर्चित गीत ‘ओ गंगा तुम बहेती हो क्यूँ’लाई नेपालीमा रुपान्तरण गरी प्रस्तुत गरे । विश्वका धेरै भाषामा अनुवाद गरी गाइएको उक्त प्रतिरोधको गीतलाई नेपालीमा पहिलोपटक ‘ओ बागमती जान्छौ कहाँ’ बोल दिएर गाइएको थियो ।

नेपाली बाजाहरूकै प्रयोग गरेर गाइएको उक्त गीतले समाजमा हुने शोषण, अत्याचार र अमानवीय कर्मविरुद्ध सन्देश दिएको थियो ।

गीतपछि अनिता माझी, राजु स्याङ्तान, विनोदविक्रम केसी र निभा शाहले कविता सुनाए । तीनैजना कविको कविताले उत्पीडित नागरिकको आवाजलाई केन्द्रमा राखेको थियो ।

सभामा बोल्दै किसान आन्दोलनकर्मी अमृत विकले श्रम गरेर अरुलाई खुवाउने किसान नै सबैभन्दा पिँधमा हुने व्यवस्था सधैंका लागि अन्त्य हुनुपर्ने बताए ।

काठमाडौं उपत्यकामा अव्यवस्थित सहरीकरणबाट यहाँका किसानलाई बहिष्करण गरिएको बताउँदै उनले जुनसुकै व्यवस्था आउँदा पनि किसानको महत्त्वपूर्ण भूमिका रहेको कुरा उठाए ।

‘झापाको आन्दोलन होस् वा भीमदत्त पन्तको आन्दोलन, किसानहरू अग्रभागमा रहेका छन्’ विकले भने ‘सत्तामा पुगेपछि किसानका समस्या वेवास्ता गर्ने सत्तालाई अब परास्त गर्नुपर्छ ।’

‘प्रतिरोध : जनअधिकार आन्दोलन’ नाम दिइएको बिहीबारको आन्दोलनमा लेखक, साहित्यकारसँगै किसानहरूको पनि उपस्थिति थियो । दमाहा, सारंगी, मादल, पातजस्ता मौलिक नेपाली बाजाको प्रयोगले प्रदर्शनलाई सांस्कृतिक आन्दोलनको झल्को दिएको थियो ।

प्रदर्शनमा गीतबाटै जात व्यवस्था, पितृसत्ता, धर्मसत्ताजस्ता विभेदको अन्त्य हुनुपर्ने बताइएको थियो ।

यता मंगलबार प्रतिरोध : जनअधिकार आन्दोलन नामबाट एक विज्ञप्ति प्रकाशन गर्दै जनताले भोग्नुपरेका सबै शोषण, उत्पीडनको अन्त्य गर्न जनता नै जाग्नुपर्ने बताइएको थियो ।

विज्ञप्तिमा भनिएको छ, ‘साथीहरू, हामी जुट्यौं भने यस्तो थिति अवश्य फाल्न सक्छौं, हामी उठ्यौं भने यो समय साँच्चै फेर्न सक्छौं । तमाम विभेदका जराहरू एकैचोटि उखेलौं र नयाँ ब्याडमा नयाँ थितिको बिरुवा रोपौं ! लोकतन्त्रको खोल ओडेको यो धनतन्त्र फालौं, आउनुस् यो काम आजैदेखि थालौं !’

बिहीबारको प्रदर्शनमा गाइएको भूपेन हजारीको चर्चित गीत ‘ओ गंगा बहेती हो क्यूँ’को नेपाली अनुवाद यहाँ प्रस्तुत गरिएको छ :

हेर वारी र पारी
छ रुवा र बासी
यो चित्कार सुनी
नबोली–नबोली
ओ बागमती खोली
ओ बागमती जान्छौ कहाँ…

नैतिकता नष्ट हुँदा, मानवता भ्रष्ट हुँदा
लाजै–घिनै नमानी जान्छौ कहाँ
ओ बागमती जान्छौ कहाँ…
कति मान्छे यहाँ अनपढ छन्
कति–कति मान्छे भोको पेट छन्
नदेखेझैं चुप छौ किन हो
इतिहासको निम्ति, हुंकारको निम्ति, सुन रे बागमती
दुखी ज्यामीलाई, सबल संग्रामी, समग्रगामी
बनाउँदैनौ रे किन हो ?

मान्छे सारा म हुँ, मै हुँमा छ
समाज पनि यही दौड
यस्तो विरसिलो समाज बगाउँदैनौ किन हो !

थप तस्वीरहरु हेर्नुहोस्

तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0