‘म पार्टीलाई मात्र होइन, देशैलाई नयाँ दिशा दिन चाहन्छु’ – Online Khabar


७ साउन, काठमाडौं । पूर्वनिर्धारित कार्यतालिका अनुसार महाधिवेशन भए अबको डेढ महीनामा कांग्रेसले नयाँ नेतृत्व पाउनेछ । कांग्रेसको जिल्लादेखि केन्द्रीय नेतृत्व चयनको विषय अहिले सर्वत्र चर्चा र चासो बनेको छ । भदौ १६–१९ गतेसम्म १४औं महाधिवेशनका लागि नेतृत्वमा आधा दर्जन बढी नेताले दाबी गरिरहेका छन्, त्यसमध्येका एक हुन्– कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल ।

१३औं महाधिवेशनमा सभापतिमा पराजित पौडेल अहिले पनि आफू स्वतः र स्वाभाविक उम्मेदवार भएको दाबी गर्छन् । महाधिवेशन नजिकिएसँगै कांग्रेसभित्र नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको मुद्दा पनि उठेको छ । तर पौडेल यसलाई अलोकतान्त्रिक विषय भन्दै ठाडै इन्कार गर्छन् ।

कांग्रेसमा वैचाारिक नेताका रूपमा पहिचान बनाएका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग अनलाइनखबरकर्मी खगेन्द्र भण्डारीले गरेको कुराकानीको सम्पादित अंश–

कांग्रेस महाधिवेशनको मिति नजिकिएसँगै विभिन्न विकल्पमाथि छलफल शुरू भएको छ । कांग्रेस महाधिवेशन तोकिएकै समयमा नहुने सम्भावना बढेको हो ?

महाधिवेशन समयमा हुँदैन भनेर विकल्पका जुन कुरा आइरहेका छन्, ती सबै काल्पनिक र अड्कलबाजी मात्रै हुन् । जहाँसम्म भदौ १६ देखि १९ गतेसम्मको महाधिवेशनको मिति छ, त्यो अनिवार्य र अपरिहार्य छ । यो समयमा महाधिवेशन गर्नैपर्ने बाध्यता छ हामीलाई । हाम्रो देशको संविधान र पार्टीको विधानले पनि अब हामीलाई महाधिवेशन पर धकेल्ने छुट छैन । तोकिएको मितिभन्दा महाधिवेशन पर सर्‍यो भने पार्टीको वैधानिक अस्तित्व खतरामा पर्छ । हामी कुनै पनि हालतमा पार्टीको वैधानिक संकट आउन दिंदैनौं । जसरी मान्छेलाई बाँच्नका लागि हावा, पानी, खाना चाहिन्छ; त्यस्तै महाधिवेशनले कांग्रेसलाई बचाउँछ । हामी कांग्रेस बचाउन चाहन्छौं । त्यसकारण यो अधिवेशन जस्तोसुकै अप्ठ्यारोमा पनि गर्छाैं ।

आउने महाधिवेशनमा पनि नेतृत्वमा तपाईंको दाबी रहन्छ ?

म पार्टीभित्र सामूहिक नेतृत्वको सिद्धान्तमा विश्वास गर्ने मान्छे हुँ । साथीहरूको बीचमा एउटा समझदारी र सहमति गरेर अगाडि बढूँ भन्ने प्रयासमा म छु । जहाँसम्म मेरो नेतृत्वमा दाबीको कुरा गर्नुभयो, देशभरका साथीका कुरा बुझ्दा मेरो अहिलेसम्मको योगदान, निष्ठा, संघर्ष, प्रतिबद्धता सबै कुरालाई हेरेर यसपटक रामचन्द्र पौडेल सभापति बन्नुपर्छ भन्ने आमचाहना रहेको मैले बुझेको छु ।

तपाईंकै समूहभित्रका नेतृत्वका आकांक्षीले रामचन्द्र पौडेल उम्मेदवार बन्नुहुँदैन भनेर सार्वजनिक रूपमै अभिव्यक्ति दिइरहेका छन्, यसले त तपाईंलाई समूहभित्रै स्वीकार नगरेको अर्थ लाग्दैन र ?

एउटा सत्य कुरा– रामचन्द्र पौडेल कांग्रेसको सभापति बन्नुहुँदैन भन्ने नेपालमा कोही मान्छे छैन । तर जो आकांक्षी छन्, तिनीहरूले रामचन्द्र होइन, म हुनुपर्छ भन्नुलाई म अन्यथा लिन्नँ । आकांक्षीहरूले म हुन पाए हुन्थ्यो भन्नु अस्वाभाविक पनि होइन । तर आम कांग्रेस कार्यकर्ता र आमजनता रामचन्द्र सभापति बन्नुपर्छ भन्ने पक्षमै छन् । रामचन्द्र पौडेल सभापति बन्नुहुँदैन भनेर कमजोरी देखाउने मान्छे एउटा पनि छैन । किनकि मैले त्यो ठाउँ राखेको छैन ।

म त २०१७ असार ३ गते अगाडि अर्कै पार्टीमा थिएँ । म प्रगतिशील वामपन्थी विद्यार्थी युनियनको प्रतिनिधि भएर काठमाडौं आएको थिएँ । तर जब २०१७ साल पुस १ गतेको घटना भयो, जननिर्वाचित सरकारलाई अपदस्थ गरियो र जनताका प्रतिनिधिलाई थुनियो, त्यसपछि ममा राजाप्रति वितृष्णा पैदा भयो र विस्तारै कांग्रेसतिर आएँ ।

कांग्रेससँग नजिक हुन पनि मलाई २०१७ सालको घटनापछि ६ महीनाजति लाग्यो । त्यहाँबाट शुरु गरेको मान्छे, ३० वर्षको पञ्चायतविरुद्धको लडाइँमा कहीं पनि झुकिनँ र चुकिनँ । मेरो नैतिकता, निष्ठालाई कसैले पनि चुनौती दिन सक्दैनन्, ममाथि खोट लगाउन सक्दैनन् । यो त कांग्रेसको लागि मैले बचाइदिएको सम्पत्ति हो । त्यसकारण अहिले सभापतिको लागि मैले ज्यादा मागिरहनुपर्छ भन्ने लाग्दैन । म उम्मेदवार हुँ भनेर भनिरहनुपर्छ जस्तो नलागेर नै सल्लाह गरौं भनेर अरू साथीहरूलाई भनिरहेको छु ।

मभन्दा उपयुक्त कोही छ भने म छोड्न तयार छु भन्नुभएको थियो, आफूभन्दा योग्य देख्नुभएको छैन ?

अब हाम्रो समूहमा सभापतिका आकांक्षीबीच सहमतिका लागि आधार त चाहियो नि ! को किन सभापति हुने ? कसले नेतृत्वमा प्राथमिकता पाउने ? त्यो कुरा त वास्तविकतालाई हेरेर आउन सक्नुपर्‍यो नि ! ‘म पनि उम्मेदवार’ भनेर चर्चाका लागि मात्र भनेर त भएन ।

यति धेरै उम्मेदवार हुनुहुन्छ । कसैले कसैलाई छोड्ने परिस्थिति देखिंदैन । नेताहरूको कसरी व्यवस्थापन गर्नुहुन्छ ?

अन्तिममा हामीबीच सहमति हुन्छ । पार्टीमा सुधारको आवश्यकता छ । यहाँ हामीले सभापतिसँग असहमति राख्नुमा व्यक्तिगत रिसइवी वा द्वेष होइन । यो त कार्यशैलीको कुरा हो । नीतिगत, व्यवहार र प्रवृत्तिको सवाल हो । आज पार्टीको अवस्था कहाँ पुगेको छ, पार्टीलाई कसरी बचाउने र जोगाउने ? यी सबैलाई हेरेर विकल्पको खोजीमा हामी एकस्वरले उभिएका मान्छे हौं । अब विकल्प पनि हामीले एक स्वरमै दिन्छौं ।

तर तपाईंको समूहभित्रै १३औं महाधिवेशनमा नेतृत्वमा प्रतिस्पर्धा गरेका नेताहरूले अब छोड्नुपर्छ भन्ने आवाज पनि उठेको छ । तपाईंलाई त सहज देखिंदैन नि ?

विरोध गर्नेलाई एउटा न एउटा तर्क त चाहियो नि ! अब कसैले शेरबहादुर र रामचन्द्र एउटै उमेर समूहमा रहेकाले दुवै जनाले छोड्नुपर्छ भन्लान् । कसैले १३औं महाधिवेशनमा प्रतिस्पर्धा गरेका तीन जनाले नै छोड्नुपर्छ भन्लान् । तर यो कुनै राजनीतिक तर्क भएन । शेरबहादुर र रामचन्द्रलाई सँगै तुलना गर्नु कहीं न्यायोचित हुन्छ ? एउटै उमेर समूहको भनेर तुलना गर्न कहीं मिल्छ ? एउटै उमेर समूह हो भनेर उनीहरूको चरित्र, संस्कार, आचरण, व्यवहार र कार्यशैलीलाई हेर्नुपर्दैन ? गोलमटोल गरेर जुन खालका अफवाह र अखबारी हल्लाहरू आएका छन्, यिनीहरूको कुनै अर्थै छैन ।

नेतृत्व हस्तान्तरणको सवाल त जायज होइन र ?

मैले काम गरेर कार्यकारी अधिकार प्रयोग गरेर असफल भएको भए पो मलाई यो प्रश्न गर्न मिल्छ । म ‘अनटेष्टेड’ मान्छे । अनि म एकपटक नेतृत्व गरिसकेको भए छोड्थें, तर यो स्थिति अहिले होइन नि ! मेरो परीक्षण पनि हुनुपर्‍यो नि ! यो नेपाली समाजले मेरो परीक्षा गर्न पाउनुपर्‍यो नि ! सबैलाई एउटै डालोमा हालेर विरोध गर्नु न्यायोचित होइन । म यो कुरामा सहमत छैन ।

उसो भए नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको मुद्दामा तपाईं सहमत हुनुहुन्न ?

यो केवल हल्ला मात्रै हो । नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको कुरा राजनीतिक होइन । न यो लोकतान्त्रिक विषय हो । हस्तान्तरण र पुस्तान्तर भन्दा आवश्यकता रूपान्तरणको हो । आज कांग्रेस र नेपाली राजनीतिमा रूपान्तरण चाहिएको छ । रूपान्तरण विचार, चिन्तन र अग्रगामी सोचले हुन्छ । समाजवादीको स्वर्ग भविष्यमा हुन्छ । प्रतिक्रियावादीको स्वर्ग अतीतमा हुन्छ । त्यसकारण भविष्य–दृष्टिको आवश्यकता छ । प्रचारवाजीका लागि जसरी महाधिवेशन आएपछि नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको चर्चा हुन्छ, यसमा सहमत हुन सकिंदैन ।

अहिले पनि नेपाली राजनीतिमा ‘विचारको राजनीति’ अस्तित्वमा छ र ?

अहिले राजनीतिमा विचारभन्दा पनि गुट हावी छ । ‘डनवाद’ र ‘धनवाद’को बोलवाला छ । यी कुरा राजनीतिमा आएका विसंगति र विकृति हुन् । अर्काे, राजनीति भन्ने चीज खुला छ, यसका दुष्चक्रका परिणाम हुन् । राजनीतिको कमजोर पक्ष गुटबन्दी हो । सत्ता–राजनीतिले यसरी गुटबन्दी जन्माउँछ कि त्यसले एउटा राम्रो र बलियो शक्ति पनि कमजोर बन्न सक्छ । आज नेपालको राजनीति जसरी अगाडि बढेको छ, त्यसमा म सन्तुष्ट छैन । १३औं महाधिवेशनको उद्घाटन गर्दैगर्दा मैले टुँडिखेलबाट भनेको थिएँ– राजनीतिबाट जनताको सम्मान हट्यो, राजनीति सम्मानको क्षेत्र बन्न सकेन ।

राजनीतिप्रति समाजको दृष्टिकोण सकारात्मक छैन । किन यस्तो भयो भन्ने कुरामा चिन्तन हुुनु जरूरी छ । राजनीतिज्ञले समीक्षा गर्नुपर्ने विषय हो, यो । राजनीति गर्नेकै क्रियाकलाप, व्यवहारका कारण राजनीतिप्रति सम्मान छैन । किनकि राजनीतिमा निष्ठा र सिद्धान्त छैन । सिद्धान्तमा आधारित राजनीति छैन । व्यवस्थालाई भन्दा सत्तालाई महत्व दिइन्छ । सत्तालाई महत्व दिएर व्यवस्थालाई गौण सम्झेपछि विकृति त जन्मिहाल्छ नि ! त्यसकारण म चाहन्छु, सत्तालाई होइन कि व्यवस्थालाई महत्व दिऊँ । व्यवस्था बलियो बनाउनेतर्फ राजनीतिककर्मी र दलहरूले सोच्नु जरूरी छ ।

पार्टीमा संख्या पुर्‍याएर नेतृत्व लिंदैमा कांग्रेसमा रूपान्तरण हुँदैन भन्ने तपाईंको निष्कर्ष हो ?

व्यक्ति परिवर्तनको सवाल होइन, यहाँ प्रवृत्ति परिवर्तनको कुरा छ । कुन–कुन प्रवृत्तिले गर्दा नेपालको राजनीति बिग्रिएको हो र कसरी राजनीतिलाई सही दिशामा ल्याउन सकिन्छ भन्नेबारे छलफल होस् । म पार्टीलाई मात्र होइन, देशैलाई नयाँ दिशा दिन चाहन्छु । म नयाँ संस्कार र संस्कृति दिन चाहन्छु । म बराबरीको संस्कृति स्थापना गर्न चाहन्छु । लोकतन्त्रमा सबै बराबर हुन्छ । बराबरको बीचमा कोही अघि–पछि मात्रै हुने हो । त्यसकारण म सच्चा लोकतान्त्रिक संस्कार विकास होस् भन्ने चाहन्छु । नेपाली समाजलाई लोकतन्त्रीकरण गर्न शुरूमा आफ्नै पार्टीलाई सच्याउनु जरूरी छ । र, म यसैमा बढी ध्यान दिनेछु ।

देशलाई सही दिशामा लैजान सभापति भन्दा त प्रधानमन्त्री भएर नै बढी योगदान दिन सकिन्छ होला । सभापति अरूलाई छोडेर प्रधानमन्त्री बन्दा उपयुक्त हुँदैन ?

होइन । पहिले सबैभन्दा ठूलो कुरा पार्टी हो । पार्टी ठीक नभइकन एकैचोटि प्रधानमन्त्री तपाईं कुन सिंढीबाट उक्लनुहुन्छ ? राजनीतिक हतियार भनेको राजनीतिक पार्टी हो । नेपालमा राजतन्त्र थियो । जस्तो भए पनि त्यसलाई भरोसाको रूपमा मान्थे । तर आज जनताको भरोसा भनेको त राजनीतिक दलहरू हुन् । यी दलहरू नै ठीक भएनन् भने सत्ता कहाँ ठीक हुन्छ ? त्यसकारण म पहिला पार्टी ठीक बनाउन चाहन्छु । पार्टी ठीक पार्नको लागि मेरो भिजन र मिसनलाई मैले यहाँ उपयोग गर्न चाहन्छु ।

तर, तपाईं आफ्नै समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार बन्न नै कठिन देख्नुहुन्न ?

चुनौतीको सामना गर्दै अगाडि बढ्ने हो । यस्ता चुनौती आउँछन्, फेरि समाधान हुन्छन् भन्ने कुरामा विश्वास लिएर म अगाडि बढ्छु ।

१४ औं महाधिवेशनमा देउवा र तपाईंबीच नै पुनः प्रतिस्पर्धा हुने हो ?

अब को–को प्रतिस्पर्धामा आउँछन् त्यो चाहिं मलाई थाहा छैन । म सत्ताको लागि भनेर लागेको होइन । कतिपयले १७ चोटि प्रधानमन्त्रीमा हारेको भन्छन् । तर मैले त एकपटक मात्रै दरखास्त हालेको थिएँ नि ! मैले १७ चोटि निवेदन दिएको त थिइनँ । तर एउटा प्रक्रियामा लगेर षड्यन्त्र गरियो । तर मेरो प्रश्न छ– के को लागि सभापतिको उम्मेदवार बन्ने ? मैले मेरो सभापतिलाई प्रधानमन्त्रीको दौडमा हुँदा पनि प्रश्न गरेको थिएँ– तपाईं प्रधानमन्त्री बन्न चाहँदै हुनुहुन्छ, तपाईं प्रधानमन्त्री किन हुने ? तपाईं प्रधानमन्त्री भएर के गर्ने ? त्यही प्रश्न मलाई पनि छ । म सभापति किन हुने ? मैले सभापति भएर के गर्छु ? यसबारे मसँग भिजन प्रष्ट हुनुपर्छ । मसँग अगाडिको कार्ययोजना प्रष्ट हुनुपर्छ । त्यसले मात्रै राजनीतिलाई सफा गर्छ ।

वैचारिक स्पष्टता चाहियो । राजनीतिलाई सैद्धान्तिक बहस र वैचारिक सोचले सुधारेर लैजान्छ । त्यसैले म राजनीति नै सुधार्न चाहन्छु । त्यसको लागि पहिला म पार्टी सुधार्न चाहन्छु । पार्टी सुध्रिएपछि त्यहींबाट टेकेर यो राष्ट्रको कार्यकारी अधिकारमा गएर राष्ट्रको विकास, रूपान्तरण, उत्थान र कायापलट ल्याउने काम गर्ने हो । एउटा दृष्टिकोण अगाडि सारेपछि नेपाललाई बनाउन सकिन्छ । मसँग केही विचारहरू छन् । जुन विचारको आधारमा नेपालको विकास र उन्नति, नेपाली जनताको खुशियाली हामी प्राप्त गर्न सक्छौं ।



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0