‘भाग्यमा संगीत छैन कि क्या हो जस्तो लाग्थ्यो’ – Online Khabar


‘आत्मामा तिम्रो आत्मामा
म छु कि छैन त्यहाँ हेर न
मनमा तिम्रो मनमा
म छु कि छैन त्यहाँ हेर न ।’

चिनेजानेका मित्र–मण्डलीलाई फोन गर्दा ‘रिङ ब्याक टोन’मा यही धुन गुञ्जन्छ । रेडियो र टेलिभिजनमा यसै गीतको श्रव्य–दृश्य देख्छन् । रेष्टुरेन्टमा, गाडीमा, मादक जमघटमा यही भाका सुनेर रमाइरहेका पाउँछन् । आफ्नै संगीत–रचना सर्वप्रिय भएको पाउँदा कमल खत्रीलाई अपार आनन्द अनुभूत हुन्छ ।

२०६९ सालतिरको कुरा ।

कमलले आफ्नै शब्द/संगीत/स्वरमा ‘आत्मामा’बोलको आधुनिक गीत सार्वजनिक गरेका थिए । गीतलाई युवापुस्ताले निकै रुचाए । त्यसअघि सीमित स्रोतासम्म सुनिएका कमललाई सो गीतमार्फत करोड बढी स्रोताले सुने । उनी अनलाइनखबरसँग सो गीतले दिलाएको सफलता सुनाउँछन्, ‘विस्तारै कन्सर्ट पाउँन थालेँ । स्रोता/स्रोताहरुले चिन्न थाल्नुभयो । सांगीतिक करिअरको कुरा गर्नुपर्दा त्यसपछि कहिल्यै पछाडि फर्किनुपरेन ।’

युट्युब अहिलेजस्तो सर्वशुलभ नभएको समयमा सार्वजनिक उक्त गीतलाई १ करोड २२ लाख बढीले हेरिसकेका छन् । अहिलेपनि उक्त गीत गुनगुनाउने स्रोताहरु भेटिन्छन् ।

०००
‘आत्मामा’गीतबाट स्रोता एवं दर्शकमाझ रुचाईएपनि त्यहाँसम्म आउन उनले धेरै दुःख, संघर्ष र धैर्य गरेका छन् । कतिसम्म भने त्यसको तीन वर्ष अगाडिसम्म पनि उनी काठमाडौंमा टिक्न गाह्रो भएर घर फर्किने अवस्थामा पुगेका थिए । सांगीतिक क्षेत्रमा ७/८ वर्ष बिताईसकेका थिए । टिक्नका लागि चार/पाँचवटा रेकर्डिङ स्टुडियोमा स्टुडियो सफा गर्ने, माइक मिलाउने हुँदै रेकर्डिष्टको रुपमा काम गरिसकेका थिए ।

‘धेरै दुःख भोगिसकेको थिए’ २०६५/६६ सालतिर फर्किन्छन् उनी ‘तर, गायनमा राम्रो अवसर पाएको थिइन् । धेरैले आश मात्रै देखाउँथे । अवसर कसैले दिँदैनथे ।’

एकछिन रोकिएर अगाडि भन्छन्, ‘टिक्न गाह्रो भईरहेको थियो । घरबाट पनि के गरिरहेको छस् ? खोइ तेरो गीत पनि आएन, बरु घर आइज भनेर दबाब आईरहेको हुन्थ्यो । त्यो बेला ‘भाग्यमा संगीत छैन कि क्या’हो जस्तो लाग्थ्यो । काठमाडौं छाड्न मन थिएन् तर गाह्रो भएपछि घरै फर्किन्छु भन्ने मनस्थितिमा पुगिसकेको थिएँ ।’

घर फर्किन्छु भन्ने सोँच बनाएपनि उनको मनमा आउँथ्यो, ‘अझै पनि कतै अवसर पाइहाल्छु कि ? अवसर पाएर घर फर्किनुपर्दैन कि ?’

सोही समय रिबल क्रियशन स्टुडियोका गगन प्रधान उनको दिमागमा आए । उक्त स्टुडियो सो समय निकै चर्चित थियो । रिबल क्रियशनमार्फत चलेका थुप्रै गायक–गायिकाहरुका गीतहरु आईरहेका थिए ।

त्यसअघि कमल ‘ईथोज ब्याण्ड’सँग जोडिएका थिए । ब्याण्डबाट केही गीत बजारमा आएका थिए । तिनै गीत सुनेर सो स्टुडियोका प्रधानले आफ्नो स्वरलाई मन पराउने साथीहरुमार्फत कमलले सुनेका थिए । तर, प्रधानसम्म पुग्न सकिरहेका थिएनन् ।

घर फर्किने मनस्थितिमा पुगेको अवस्थामा उनको दिमागमा प्रधान आएपछि नम्बर पत्ता लगाएर उनलाई फोन गरे । सोही एउटा फोन कलले कमलको अवसरको ढोका खुल्यो ।

‘उहाँलाई फोन गरेको भोली नै भेटिहालौं भन्नुभयो । भेटन गएर कम्पोज गरेका गीतहरु सुनाएँ । उहाँले ८ वटा गीत समावेश गरेर मेरो एल्बम नै निकालिदिनुभयो’ – त्यो अवसर आफ्नो करिअरको ‘टर्निङ प्वाइन्ट’ नै मान्छन् कमल ।

उक्त ‘पीडा’ एल्बममा ‘म त मरेँ’, ‘सातौं जन्म होइन तिमीलाई’ लगायतका गीत समावेश छन् । यद्यपी, यी गीतहरु औसत चले । कमल पनि उत्तिसाह्रो स्रोता एवं दर्शकमाझ परिचित हुन सकेनन्, खातिर एल्बम निकाल्ने रहरबाहेक । ‘चर्चा भन्दा पनि आफ्नो एल्बम ल्याउने सपना पुरा भयो । काठमाडौं छोडनु परेन्’– उनले सुनाए ।

०००
रिबल क्रियशनका प्रधानले नै कमललाई संगीत सिक्न सुझाए । कमलले गान्धर्व संगीत पाठशालामा गुरु चन्दन श्रेष्ठसंग संगीत सिक्न थाले । उनले त्यहाँ तीन वर्ष शास्त्रीय संगीत सिके । यता ‘ईथोज ब्याण्ड’बाट ‘सुस्तरी’, ‘झ्यालैमा’ जस्ता केही गीतहरु बजारमा आए । यी गीतहरुमा ¥यापर यमबुद्धको ¥याप छ । यी गीतहरुले राम्रै चर्चा पाईरहेका थिए । ब्याण्डबाट आएको हुनाले कमलको चर्चा भने जति हुनुपर्ने भएको थिएन् ।

सांगीतिक क्षेत्रमा जम्न संघर्ष गरिरहेका थिए । सोही समय यूएसमा रहेका साथी विश्व शर्माले एउटा गीत तयार पार्न लगाएका थिए । कमल गीत लेखिरहेका हुन्थे । उनले आफूले लेखेको गीत ‘आत्मामा…’ सुनाए । गीत सुनेर विश्व खुःसी भए । अडियोको लगानी उनलै ब्यहोरे । कमलले संगीतमा एक दशकको मेहनत र साधना गरेका थिए । भिडियो यूएसमै छायाँकन गरे । एचडी क्यालिटिमा भिडियो सार्वजनिक भयो । मेहनत र साधनाले काम गर्यो । गीतले दर्शक र स्रोताबीच जादु देखायो । गीतको चर्चासँगै कमल एकाएक सेलिब्रेटी बने ।

त्यसपछि ‘कोरेर प्रेमपत्र’ गीतलाई स्रोता एवं दर्शकले रुचाए । ‘बोल्दैन तिम्रो तस्वीर’ हुँदै ‘म गीत हुँ तिम्रो’, ‘जाउँला रेलैमा’, ‘तिमी मेरो पहिलो माया’, ‘माया लै लै’ जस्ता गीतहरु स्रोता एवं दर्शकमाझ लोकप्रिय रहे । पछिल्लो समय ‘फिक्का फिक्का’ बोलको गीतलाई पनि स्रोता एवं दर्शकले रुचाएका छन् । सार्वजनिक भएको डेढ महिनामा झण्डै ५० लाखले यो गीतको भिडियो हेरेका छन् । केही दिनअघि मात्रै उनले ‘तिमी मुस्काउन’ बोलको गीत ल्याएका छन् । यस गीतलाई पनि स्रोता एवं दर्शकले रुचाएका छन् ।

गायक बन्न सर्लाहीदेखि काठमाडौं

हेटौँडामा जन्मिएका कमलको बाल्यकाल सर्लाहीमा बित्यो । उनी सानैदेखि रेडियो नेपाल खुबै सुन्थे । रेडियोमा नारायण गोपाल, भक्तराज आचार्य, अरुण थापा लगायतका गीतहरु सुनेर हुर्किए । बिस्तारै रामकृष्ण ढकाल, उदितनारायण झा, आशा भोष्लेका गीतहरु उत्तिकै सुने । उनमा पनि ‘यसरी नै गाउन पाए’ भन्ने रहर बढ्दै गयो ।

रेडियोमा सुनेका धुन र गीत कपि गर्दै उनीपनि आफ्नै सुरमा गुनगुनाउने प्रयास गर्दै गए । ५/६ कक्षामा पढ्दादेखि विद्यालयमा गीत गाउन थाले । ‘गीत गाउँदा सबैले हौसला दिनुहुन्थ्यो । त्यसैले पनि गाउनुपर्छ भन्ने भावना ममा बढ्दै गयो’ कमल सुनाउँछन् । घर, छिमेकमा जतिबेला पनि गीत गुनगुनाउँदा उनी परिवकारको भने गाली खान्थे । सुनाउँछन्, ‘संगीत क्षेत्रमा चिनेजानेको, आफन्ती कोही नभएकाले सायद उहाँहहरुलाई म्युजिक भनेको के हो ? भविष्य कस्तो हुन्छ भन्ने नै थाहा थिएन् । त्यसैले गाली गर्नुहुन्थ्यो ।’

कमल बाल्यकालदेखि नै शिक्षिका रहेकी छिमेकी कल्पना कटुवालले आफूलाई दिने गरेको हौसला कहिल्यै बिर्सन नसक्ने बताउँछन् । कमलको एसएलसी सकियो । कमलका अनुसार आफूलाई प्रहरी वा आर्मी बनाउने सोँच थियो परिवारको ।

एसएलसीपछिको समय थियो, गाउँमा सांगीतिक कन्सर्ट आयोजना गरिएको थियो । जहाँ रेडियो नेपालका संगीतकार सुशील विश्वकर्मा पुगेका थिए । शिक्षिका कल्पनाले संगीतकार विश्वकर्मासँग कमलबारे कुरा जनाएकी थिइन् । कमललाई पनि आफूसँगै काठमाडौं लगेर संगीत सिक्ने अनि रेडियो नेपालमा स्वर परीक्षा दिने ब्यवस्था गरिदिन सुशीललाई कल्पनाले आग्रह गरेकी थिएन् ।

गायनप्रति देखाएको मोह देखेका बुवा–आमा, दाई– दुई भाई, बहिनीले पनि कमललाई काठमाडौं जान सुझाए । अनि गायक बन्ने सपना बोकेर संगीतकार सुशीलका साथ कमल २०५९ सालमा काठमाडौं आए । तर, काठमाडौंमा उनले सोँचेजस्तो सहज भएन् । कहिल्यै लामो समयसम्म घर नछोडेका उनलाई काठमाडौं आएपछि घरको यादले सताउँथ्यो ।

आफन्तकोमा बसेर रेडियो नेपाल जाने आउने गर्न थाले । तर, समय बित्दै जाँदा आफन्तकोमा बस्न उनलाई गाह्रो लाग्न थाल्यो । उनी कामको खोजीमा लागे । तर, उनलाई सांगीतिक मोहोलबाट टाढा हुन मन थिएन् । त्यसैले बिना तलब रेकर्डिङ स्टुडियोमा काम गर्न थाले । स्टुडियो सफा गर्ने, माइक मिलाउने उनको काम हुन्थ्यो । राती स्टुडियोकै सोफामा सुन्थे । यसरी एउटा स्टुडियोमा दुई/तीनवर्ष बिताए ।

२०६२ सालमा रेडियो नेपालले देशब्यापी खुला आधुनिक गायन प्रतियोगीता आयोजना गरेको थियो । प्रतियोगीतामा भाग लिएर उत्कृष्ट १० मा पुगेका थिए । प्रतियोगीतामा उनले गाएको सुशील विश्वकर्माको संगीत रहेको ‘धेरै रोएँ जिन्दगीमा’ बोलको गीत रेकर्ड पनि भयो । गीत रेडियो नेपालमा प्रशारण भयो ।

त्यसपछि अन्य स्टुडियोमा रेकर्डिष्टका रुपमा काम गरे । ‘पहिलेको स्टुडियोमा माइक मिलाउने, सफा गर्ने मात्रै काम हुन्थ्यो भने त्यसपछि रेकर्डिष्टका रुपमा काम गर्न पाएँ । डमी गाउन पाएँ’ उनी भन्छन्, ‘तर त्यहाँ पनि सोफामै सुत्नुपथ्र्यो । अवस्था उस्तै थियो ।’ यसरी ६÷७ वर्षको संघर्षपछि रिबल क्रियशनसँग जोडिएका थिए । त्यसको केही वर्षपछि ‘आत्मा’मा गीतबाट चर्चित बनेका थिए ।

संगीतबाट सन्तुष्ट, आफ्नै कमाईले गाडी र काठमाडौंमा घर
संघर्षका दिनमा स्टुडियोमा सोफामा रात काट्नुपथ्र्यो । सार्वजनिक सवारीमा हिँडने पैसा नभएर पैदल हिँडनुपथ्र्यो । आज आफ्नै बलबुँताले गाडी चढ्ने भएका छन् । सांगीतिक क्षेत्रबाटै कमाएको पैसाले काठमाडौंमा घर ठ्डयाउँदैछन् । ‘हिजोका दिनमा गाडी चढेर हिँडछु, घर बनाउँछु भन्ने सोँचेको थिइन् । यो सबै कुरा मलाई सांगीतिक क्षेत्रले दिएको हो । एकदमै सन्तुष्ट छु’ उनी सुनाउँछन् ।

कन्सर्टकै क्रममा देशका अधिकांश जिल्लामा पुगेका छन् । विदेशको कुरा गर्दा १४/१५ देशमा पुगिसकेका छन् । उनी यहाँसम्म आउनुको पछाडि संगीतप्रतिको लगाव, मेहनत र धैर्यता रहेको बताउँछन् । उनको धारणा छ, ‘जुन कुरालाई हामी मनदेखि माया गर्छौ त्यो कुराले हामीलाई पनि माया गर्छ ।’ उनी आफूले संगीतलाई माया गरेकै कारण संगीतले आफूलाई साथ दिएको बताउँछन् । उनी सांगीतिक क्षेत्रमा इमान्दार भएर संघर्ष गर्नेलाई टिक्न गाह्रो नहुने बताउँछन् । यद्यपी संघर्ष, साधना र धैर्यता भने आवश्यक हुने उनको धारणा छ ।

तस्वीरहरु : शंकर गिरी/अनलाइनखबर



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0