एउटा जीर्ण घर, जहाँबाट नेपालमा ‘बिजुली युग’को उद्घाटन भयो – Online Khabar


६ साउन, काठमाडौं । खोकनाको इन्द्रायणी मन्दिरबाट उत्तरतर्फ करीब ५० मिटर दूरीमा एउटा घर छ, निकै जीर्ण । तीनतले घरको मोहोडामा मक्किएको इँटा, दोस्रो र तेस्रो तलामा आँखीझ्याल र विमानझ्याल छ । दोसो तलामा एउटा सिंहको मूर्ति छ, जसको मुखबाट बिजुलीको बल्ब निस्किएको देखिन्छ ।

यो घरको कथा यहींबाट शुरु हुन्छ ।

११८ वर्षअघि । खोकोनाको यो घरमा चमत्कार भएको थियो । गाउँभरका मान्छे भेला भएका थिए । टुकी–बत्तीको धमिलो उज्यालोमा रात गुजारिरहेकाहरु त्यो झलमल्ल ज्योतिपुञ्ज देखेर चकित भएका थिए । त्यो घरमा बिजुली बालिएको थियो ।

अहिलेका पुस्ताका लागि त यो मामुली कुरा भयो । बिजुली बाल्नु कति नै नौलो कुरा भयो ? तर, त्यसबेला यो एकदमै नयाँ कुरा थियो । यसकारण कि त्यसअघि नेपालको कुनै यस्तो घर थिएन जहाँ बिजुली बलेको होस् ।

यो घर कुनै राजा–महाराजाको थिएन, कुनै सम्भ्रान्तको थिएन । एक सर्वसाधारणको थियो । अर्थात्, सिद्धिलाल महर्जनको थियो । घरमा तार जडान गरेर आधा दर्जन बल्ब झुन्ड्याइएको थियो । ती बल्बहरु झलमल्ल बल्दा रमितेहरुको ओइरो लागेको थियो ।सिद्धिलालले नाति मदनकृष्ण महर्जनलाई यो कुरा दन्त्यकथा जसरी सुनाएका थिए । ‘त्यसबेला हाम्रो घरमा बिजुली बालेर पहिलो पटक प्रयोग गरिएको रहेछ’ उनी भन्छन् ।

वि.सं. १९६८ जेठ ९ गते हाइड्रोपावरको उद्घाटन हुनुअघि नै सो घरमा बत्ती बलिसकेको महर्जन बताउँछन् ।

यो घरको इतिहाससँग दुईतर्फी साइनो छ । एउटा त पहिलो बिजुली बलेको घर हो र अर्काे हो नेवारी कला संग्रहालय । घरको भुइँ तलामा नेवारी समुदायले दैनिक भोज एवं घरायसी सामग्रीको लागि प्रयोग गर्ने भाँडावर्तन र कलात्मक वस्तुहरुको संग्रहालय छ ।

भूकम्पले भत्काएको थिएन भने अहिले पनि त्यो संग्रहालय सिंगो नेवारी समुदायको कला झल्काउने जीवित सम्पदाको रुपमा यो घर चिनिएको हुन्थ्यो ।

बिजुली जडान गरे पनि पहिले मिटर राखिएको थिएन । जति बालेपनि एक महीनाको पाँच पैसाको दरमा बिजुलीको शुल्क तिर्नुपर्थ्यो । बत्ती बाल्नेबाहेक अरू कुनै विद्युतीय सामग्री थिएनन् ।

सारमा भन्नुपर्दा, यो पहिलो घर हो जहाँबाट नेपालमा बिजुली युगको प्रवेश हुन्छ । गजब त के पनि भने, उक्त घरमा बिजुली उद्घाटन गरेको केही समयपछि मात्रै तत्कालीन प्रधानमन्त्री चन्द्र शमसेर राणाले टुँडिखेलमा भाषण गर्दै ‘नयाँ युगको शुभारम्भ’ भएको बताइरहेका थिए ।

चन्द्र शमशेर यसो भन्दै, ‘ईश्वरका अनुग्रहले आज हाम्रो मुलुकको बिजुलीको कारखाना प्रकाश गर्न पाउने भयो । नेपालमा यस किसिमको काममा यो पहिला कारखाना हो । यस्तो यो कारखानासँग म सँग राखन पाउनाको (मोसर) मलाई मिलेको हुनाले लागेका अहेशानको यथार्थ बयान ञाहा गर्न सकिन्न ।’

राणाकालको बेला एउटा रैतीको घरमा नै किन बिजुली बालियो ? कथा चाखलाग्दो छ ।

जब चन्द्रशमशेरले बेलायतमा बिजुली देखे

तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेर वि.सं. १९६४ मा बेलायत भ्रमणमा निस्किएका थिए । करीब १० हप्ताको बेलायत बसाइँको क्रममा उनले बिजुली बत्तीको उत्पादन र त्यसका फाइदाको बारेमा बुझ्ने मौका पाए । त्यतिबेला विश्वमा बिजुली बत्तीको उत्पादन शुरु भएको जम्मा ३० वर्ष भएको थियो । बेलायतमा वि.सं. १९३८ (सन् १८८१) मा जलविद्युत् आयोजनाको सुरुवात भएको थियो ।

बेलायतको यात्राबाट नेपाल फर्किएका चन्द्र शमशेरले जलविद्युत आयोजनाको लागि काठमाडौंबाट १२ किलोमिटर दक्षिणमा फर्पिङ क्षेत्र रोजाइँमा पारे । वि.सं.१९६० काे दशकमा नेपालले पनि जलविद्युत्को नयाँ युगको अनुभव गर्न पायो ।

वि.सं. १९६५ मा नेपाल फर्किएपछि उनकै निर्देशनमा हाइड्रोपावरको निर्माण सुरु भएको थियो । जसलाई इन्जिनियर बार्नाउ प्याउटे र पद्म शमशेर जबरा लगायतले नेतृत्व गरेका थिए ।

राणा दरबारमा नबालेर किन रैतीको घरमा ?

राणाकालमा शासक र रैतीबीच ठूलो दूरी थियो । तर, राणा प्रधानमन्त्रीले बिजुली बत्तीचाहिं किन आफ्नो दरबारमा नबालेर रैतीको घरमा बाल्न उक्सिए ? त्यो प्रश्नको उत्तर न त्यतिबेलाका शासकले दिए न त त्यतिबेलाका जनताले नै थाहा पाए । जसको बारेमा अहिले पनि अनुमानको आधारमा धारणा बनाउने गरिन्छ ।

एकाथरी इतिहासकारको अनुमान छ, ‘बिजुली परीक्षणको क्रममा सर्ट भएर आगलागी जस्ता क्षतिको जोखिम भएकोले जनताको घरमा परीक्षणको लागि बिजुली बालिएको हो । तर, घरधनी महर्जनको यसबारेमा फरक मत छ ।’

उनी परीक्षणको लागि मात्रै नभएर पहुँच र परिश्रमको आधारमा खोकनावासीलाई राज्यले बिजुली बाल्न अधिकार दिएको बताउँछन् । महर्जनका मामाघरपट्टिका हजुरबुबा त्यतिबेला सो टोलका मुखिया थिए । फर्पिङ जलविद्युत आयोजना बनाउने बेलामा स्थानीय जनश्रमदान पनि लगाइएको थियो । त्यतिबेला खोकनावासीको ठूलो परिश्रम परेको थियो । त्यही परिश्रमबाट खुसी भएका चन्द्र शमशेरले पहिले यही गाउँमा बस्ने उनका हजुरबुबासहित केहीलाई बिजुली बाल्ने अधिकार दिएको मदनकृष्ण सुनाउँछन् । तर कुन-कुन घरमा बत्ती बालिएको थियो भनेर यकिन भन्न नसक्ने उनी बताउँछन् ।

गोरखापत्रमा उल्लेख छैन ‘बिजुली घर’

वि.सं. १९६८ ताका गोरखापत्र हरेक साताको सोमबार प्रकाशित हुन्थ्यो । सो साल जेठ ९ गते गोरखापत्र प्रकाशनमा आए पनि त्यसमा चन्द्रज्योति जलविद्युत् उद्घाटनको कुनै प्रसंग उल्लेख छैन । जेठ १६ गते प्रकाशित गोरखापत्रको अधिकांश भागमा चन्द्रज्योति जलविद्युत्को विषय उल्लेख छ ।

सो अंकमा नअटेर त्यसपछि जेठ २३ गते सोमबारको अंकमा समेत सो विषय उल्लेख छ । दुवै अंकमा इलेक्ट्रिकल इन्जिनियर प्वान्टेले तयार पारेको लागत लगायतका विषय उल्लेख छ, तर यसमा पहिलो पटक खोकनामा बत्ती बालेको विषय भने कतै उल्लेख पाइँदैन ।

बिजुली इतिहासको साक्षी, जो ‘खण्डहर’ हुँदैछ

पहिलो पटक बिजुली बलेको घर अहिले पुनर्निर्माणको पर्खाइमा छ । पुराना इँटाहरु मक्किएका छन् भने पाली र दलानमा प्रयोग भएका काठहरु क्षतिग्रस्त अवस्थामा छन् । समग्रमा भन्दा यो घर मान्छे केही बेर बस्नको लागि समेत उपयुक्त अवस्थामा छैन । २०७२ सालको भूकम्पबाट पूर्ण क्षति भएको यो घरमा विगत ६ वर्षदेखि कोही बसेका छैनन् । न त पुनर्निर्माणको सुरसार नै छ ।

घरको पहिलो तलामा नेवारी जीवनशैलीसँग जोडिने सबै परम्परागत सामानहरु थन्काइएको छ । यही सामान हेर्न कुनैबेला देशी तथा विदेशी पर्यटकहरु खोकना पुग्ने गर्थे ।

भित्र छिरेपछिको सानो चोकमा ३/४ वटा दियालो झुण्ड्याइएको छ । जुन बिजुली बत्ती जोडिनु पहिले काठमाडौंवासीको हरेक घरमा हुन्थे । साथमा परम्परागत शैलीका अरू सामान पनि एउटै कोठामा थन्काइएको छ ।

पहिलो तल्लामा रहेको सबै कोठाहरु कुनै न कुनै कलात्मक वस्तुले भरिएका छन् । काठे भर्‍याङबाट माथिल्लो तलमा जाने बाटो चोकसँगैको भित्ताबाट छ । माथिल्ला दुई तलामध्ये बीचको तला राखनधरन गर्ने ठाउँ थियो भने सबैभन्दा माथि भान्सा थियो । यो घर सबै परम्परागत नेवारी घरको शैलीसँग मिल्नेगरी बनाइएको छ ।

महर्जन यो घरलाई पुरानै अवस्थामा पुनर्निर्माण गर्ने हो भने चारदेखि पाँच करोड लाग्ने अनुमान गर्छन् । तर त्यतिधेरै पैसा लगानी गर्ने अवस्था नहुँदा यही दुर्दशा हेरेर बस्नु परेको सुनाउँछन् । ‘यो इतिहास बोकेको घर नयाँ शैलीमा बनाउन पनि मन छैन’ उनी भन्छन् ‘पुरानो शैलीमा बनाउन त्यत्रो पैसा खर्च गर्ने आँट छैन ।’

उनी वडा कार्यालयले पनि निर्माण सुरु गरे सहयोग गर्ने भने पनि वडाले दिने थोरै सहयोग पर्याप्त नहुने उनी बताउँछन् ।

उद्घाटनको दिन टुँडिखेलमा चन्द्र शमशेरको भाषण

उद्घाटनको दिन श्री ३ चन्द्र शमशेरले टुँडिखेलमा लामो भाषण दिए । जसमा जलविद्युत् आयोजना निर्माणमा देखिएको उत्साह र नयाँ युगको सुरुवात भएको प्रसंग उल्लेख गरेका छन् । जुन निम्नानुसार छ ।

श्री ३ महाराजबाट बक्स्याको स्पीच

‘ईश्वरबाट दया भयाको आफ्ना मुलुकमा पाइने वस्तुबाटै मिल्न सक्ने फाइदा हामीले उठाउन सकेनौं भने त्यसभन्दा अपसोचको कुरा के छ ?

विशेषगरी आफ्नै मुलुकका मानिसहरुका मिहेनतले तयार भयाको यो बिजुलीको कारखाना पूर्व दीपतर्फ रहेका यस यै जत्रो कल कारखाना भन्दा केहि कुरामा घटि छैन् भनन्या कुरा मन्मा विचार गरि हेर्दा मन्मा बहुतै आनन्द लागि आउँछ ।

‘ईश्वरका अनुग्रहले आज हाम्रो मुलुकको बिजुलीको कारखाना प्रकाश गर्न पाउने भयो । नेपालमा यस किसिमको काम्मा यो पहिला कारखाना हो । यस्तो यो कारखानासँग म सँग राखन पाउनाको (मोसर) मलाई मिलेको हुनाले लागेका अहेशानको यथार्थ बयान ञाहा गर्न सकिन्न ।

यो कारखाना हाम्रा श्री ५ सर्कारका बाहुलीबाट ऐल्हे खोलि बक्सने छ । यसबाट हाम्रा मुलुक्को उद्योग उतसाहमा नञाँ युग हुन गया झै उन्नति गराउने होला भनन्या आशा छ । ठूला ठूला कामहरु पैल्हे उठान गर्दा नबिग्रि भरसक राम्रो गरि चलने हिसाबले गर्नुपर्ने हुनाले यो बिजुलीको धेरै (‘.) पनि हाललाई खाली हाम्रो राजधानी शहरमा बत्ति राखना निमित्त मात्र काम लिन सकेका छौं । सडकको बत्तिको काम बाहेक यो बिजुली विना धुवाँ गन्धले कोठा गरम् गराउने काममा ल्याँउ भने पनि हुन्छ ।

नेपाल खाल्डामा सहजसंग प्रशस्त दाउरा गोल पाँइदैन । बिजुलीले गोल दाउराको काम दिने भयाकोले तेसबाट पनि सुविस्ता हुनछ । उद्योगको काम्मा उन्नति गर्ने ठाउँ हिसाब छैन । तेस्तो उद्योगका कामहरुमा यत्नसाथ एकनाश सँग मन लगाइ काम गरेदेखि बलियो दिलसायको दृढउतसाहले पार्लागन (पार लगाउन) नसकने काम केहि छैन् ।

ईश्वरबाट दया भयाको आफ्ना मुलुकमा पाइने वस्तुबाटै मिलन सक्ने फाइदा हामीले उठाउन सकेनौं भने तेसभन्दा अपसोचको कुरा के छ ? एतिका खर्च र मेहनत लगाई यो बिजुलीको कारखाना तयार भयाको छ एसैबाट ल्याइयाको बिजुलीका जोडबाट काम लि हामिले फाइदा उठाउन योग्य छ । अनी मिस्टर प्याएटेले खुलसा बयान गरे झैं यो बिजुलीको जोड लगाइ चिजवस्तु बनाउने काम कारखाना र यस उद्योगमा लाउन कोसिस गर्दै गर्या हाम्रा मानिसबाट पनि यस बाट भयाको काम हुन नसकने केहि छैन् । ऐल्हे यो उतसवको बखतको जोष्मा मात्र यो कुरा हामिले मन्मा लिने होइन ।

एस्मा यौटा कुरा के छ भने सबै तरहबाट उन्नति हुने कुराको विचार गर्दा हाम्रो शहर सफाइ तर्फमा अरु धेरै गै काम् वाकि रहेको देखिन्छ । उन्नतिको मुख (मुख्य) कुरा यौटा सफाइको काम पनि हो । अपसोच छ कि हाम्रा राजधानी शहर ठाँउ ठाँउमा साह्रै मैला फोहर छ । हाम्रो ञाहाँ पानीको कल राखी पानी ल्यायादेखि पानीबाट उत्पन्न हुने किसिमको रोगहरु विशेष गरि हट्तै गयाको छ । तापनि सफाइतर्फको उन्नतितर्फ हामीले सदा सर्वदा बहुतै ध्यान दिनुपर्दछ । एस्मा सरकारलाई दुनिञाहरुबाट हारग्वाहार हुनु अवश्य पर्दछ । सरकारबाट दुनिञालाई शहर सफाईको कामलाई केहि दस्तुर लगायाको छैन् । तेसो हुनाले मुलुक्को बढिया हुने काम्मा सरकारलाई हारग्वाहार गर्नुपर्छ भनि दुनिञाले अघि नसरि यो काम राम्रो गरि हुनसक्ने देखिदैन् ।

अब यो बिजुलीको विषयको कुरामा म यो पनि भन्दछु कि, यो उठान भयाको काम राम्रो गरि तय भयेको हुनाले हामिलाई आनन्द गरायो । कोनैकाममा पनि उठानको काम राम्रा गरी तय हुनालाई उकालो पर्नेहुन्छ । उठानमा परि आउनले कठिन एकपल्ट नाघिसकेपछि तेष्किसिमको काम आफसे आफ बढ्दै जानेगर्छ । विशेषगरि आफ्नै मुलुकका मानिसहरुका मेहनतले तयार भयाको यो बिजुलीको कारखाना पूर्वदीपतर्फ रहेका यस यै जत्रो कल कारखाना भन्दा केहि कुरामा घटिछैन् भनन्या कुरा मन्मा विचार गरिहेर्दा मन्मा बहुतै आनन्द लागि आउँछ ।

राम्रो गरि दस्तुर माफिक काम भै यो कारखाना चलायादेखि तेसबाट हुने आम्दानीले खर्च ढाकि दिन् परदिन् हाम्रा उद्योगका काम कारखानाहरु बढ्दै जाने देखिनाले लागेको भन्दा बढि सन्तोष अरु के होला ? यो काम्मा बहुतै मेहनत गरि काम गर्ने युरोपियन हिन्दुस्थानी र नेपालीहरु सबैले यो कारखाना कोनै सुरतले पनि चलाई छाडोला भनन्या हिकमत लि काम गरेका हुनाले तिनिहरुलाई धन्यवाद छ । बिच बिचमा गाह्रो र दैवीपरि आयेथ्यो तापनि आफ्नु अभिभाराको काम् तय गर्नालाई मेहनत गर्न बाँकी नराखी काम गर्ने मुख्य इलेक्ट्रिक्याल ईन्जिनियर मिष्टर वार्नाउ प्याउटे (Barnau Puwante) लाई खुसी साथ अन्तष्कर्ण देखि म धन्यवाद् गर्छु ।

इनको ठूलो मेहनत र एकनासको भावना साथको काम गराई तारिफ लायेकको छ । ठुला नामि जनरल इलेक्ट्रिक कम्पनीका मिस्टर लिंजले पनि बहुतै उमदा तवरसँग काम गरेका छन् इनलाई पनि मेरो धन्यवाद छ । यो काममा रहेका अफिसर र अन्य मानिसहरुले पनि तन्मनदि काम् गरेको सुन्दा मलाई बहुतै सन्तोष लाग्यो । तिनिहरुको कामदेखि म खुसी छु । जो इन्जिनियरले तिनीहरुको लोसि फारम गरे तेस्को विचार तिनिहरुका आफ्ना आफ्ना अड्डाखानाद्वारा गरिने छ । तिनिहरुकै सगोल मेहनतले आज यो काम् सफल भयो । यो काम् सफल भयाकोमा जनरल पद्मसमसेर जंगबहादुर राणा लाई म धन्यवाद दिन्छु ।

तिनिमाथि मैले जस्तो भर्परि काम लायाको थिञा सो बमोजिम सबै काम पुरा हिसाबसँग पार लाया । यो काम शुरु देखिनै भाई कम्यान्डर इनचीफले गरेका मदतको मैले बहुतै कदर मानेको छु । उनिलाई पनि मेरो अन्तस्कर्ण देखिको बहुतै बहुत धन्यवाद् छ । यो इस्पीच खतम गर्नु अगाडि यो बिजुलीको कामले हामीलाई हो शिक्षा दिन्छ तेसबारेमा म केहि भन्न चाहन्छु । हिक्मतको कामहरु प्रचार भैरहेको आजकाल को जमानामा सो हिक्मतको महिमाको शिरोमणि झैं भयाका बिजुलीले हालको सभ्यताको बाटो राम्रो बनाइ चाँडो उन्नति गराउँदै लगेको छ ।

बिजुलीका प्रकाश नहुँदैका बखतको र सो प्रकाश भया पछिका बखतको बिचमा काहासम्मको अन्धाधुन्धको फरक देखिन्छ । नेपाल्ले पनि अब बिजुली आफ्ना दुनियाँमा प्रकाश भयाको देखि उन्नतिको यस्तो मुख्यकारण हो भनन्या शिक्षा बिर्सने छैन भनन्या आशा लागेको छ । आजकाल नभैनहुने जरुरी समझियाको हिकमतको विद्या जाननुपर्छ भनन्या तिर पनि मन बढ्दै जाला भनन्या हामीले आशा गर्नु होइन सक्ने कुरा केहि छैन् ।

यो बिजुली बत्तिको राम्रो उज्यालो मुनि बसीरहँदा जस्तो त्यो बलिरहेको बत्ति निर्मल सफा छ उस्तै आफ्नु चालचलन पनि वेदागको गराउनुपर्छ भनन्या र जुन जोरबाट सो बत्ति बलेको छ त्यो जोरलाई होइसकेसम्म काम्माल्याई फाइदा उठाउनुपर्छ भन्या दृढ उत्साह पनि मानिसहरुले लिनन् भनन्या आशा पनि लागेको छ । रातको अन्धकार दुरभै जानाले हाम्रो मन्को अन्धकार पनि दुर भैगै नञा ज्ञान पैदा भै अज्ञानसबै पन्छाइ हामीले गरे कतिसम्म हुनसक्ने रहेछ, कति कुरा हामीले गर्नुपर्छ भनन्या अन्तष्कर्णले देखदै जानेछन् भनन्या पनि आशा छ ।

अब म कर्णेल म्यानइइसमिय साहेब र अनलेडि भलादमिहरुले यस मौकामा मेहरमानि साथ आइ शोभायमान गर्नु भयाको हुनाले म अन्तष्कर्ण देखि सुकर्म जारि गर्दछु । सावधान साथ यो मैले बोलेका कुराहरु एकचित्तले सुनिबक्स्याको मा श्री ५ सर्कार महाराहाधिराज का खिदमत्मा मेरो आदाव छ । अरु सबैलाई पनि मेरो धन्यवाद छ । ईश्वरसँग मेरो यहि प्रार्थना छ कि, यो हाम्रो काम्लाई कल्ल्याण गरुन ।’

(प्रस्तुत भाषण १९६८ साल जेठ २३ गतेको गोरखापत्रबाट साभार गरिएको हो ।)

तस्वीर/भिडियो : आर्यन धिमाल



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0