एमाले बैठकमा रिपोर्टिङः कर्णालीमा दबाव, सुदूरपश्चिममा भीम रावल आए पुग्छ

माधव समूहले कतैपनि चुनाव जित्दैन, मुख्य प्रतिस्पर्धा कांग्रेससँग

एमाले बैठकमा रिपोर्टिङः कर्णालीमा दबाव, सुदूरपश्चिममा भीम रावल आए पुग्छ

फ्लोर क्रस गर्ने २२ सांसदले स्पष्टीकरण सोधेको नेकपा एमाले ओली पक्षको बैठकमा माधवकुमार नेपाल समूह बिना कस्तो पार्टी बन्छ र आगामी चुनावको परीणाम कस्तो हुन्छ भनेर विश्लेषण भएको छ । नेताहरुको दाबी छ, उनीहरुले कहीँ पनि चुनाव जित्दैनन् । हामीलाई एकाध निर्वाचन क्षेत्रमा असर पर्छ । मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेससँगै हो ।

च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा मंगलबार बसेको केन्द्रीय कमिटी बैठकको सुरुमा १०बुँदे सहमति जुटाएको कार्यदलमा ओली पक्षको संयोजक सुवास नेम्वाङले रिपोर्टिङ गरेका थिए । नेताहरुको ठूलो पहलका बाबजुद नेता नेपालको नकारात्मक भूमिका कारण पार्टी एक बनाउन नसकिएको उनले बताए । अध्यक्ष ओलीले पनि नेता नेपाललाई स्वागत गर्न घुँडा टेकेर हात फैलाएर बसेको तर घुँडामा पाइन्ट प्वाल पर्दा पनि नआएको उनले बताए । उनले भनेका छन्, ‘हाम्रो प्रयास अहिले पनि जारी छ ।’

त्यसपछि सात प्रदेशका अध्यक्षहरुले रिर्पोटिङ गरे । उनीहरुले पार्टी संगठनको अहिलेको अवस्था मात्र होइन, भोलिका दिनमा केही मानिस बाहिरिँदा के प्रभाव पर्छ ? चुनावमा कस्तो असर गर्छ भन्ने रिपोर्टिङ गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । एक केन्द्रीय सदस्यका अनुसार सुरुमा प्रदेश दुई र कर्णाली बाहेक अन्य प्रदेशले आफूहरुको अवस्था राम्रो भएको बताएका छन् ।

१०बुँदे सहमतिले माधव नेपाल समूहमा रहेका जिल्ला तहका नेताहरु समेत मुल पार्टीमै रहने अवस्था बनेको भन्दै उनीहरुले नेतृत्वले भूमिका दिनुपर्ने बताएका छन् ।

प्रदेश १ बाट अध्यक्ष देवराज घिमिर र प्रदेश २ बाट ज्वालाकुमारी साहले रिपोर्टिङ गरेका थिए ।

प्रदेश २ मा कतिपय ठाउँमा अझै नेकपाकै कमिटीहरु रहेको र एमालेको कमिटी भएको ठाउँमा पनि आन्तरिक विवाद भएको उनले बताइन् । ‘त्यहाँ रघुवीर महासेठ, प्रभु साह र ज्लालाकुमारी साहको केही इश्यु देखिएको छ’ एक केन्द्रीय सदस्य भन्छन्, ‘कतिपय ठाउँमा रघुवीरजीले ज्यादती गरेको कुरा पनि आयो ।’ प्रभु साहलाई समेटेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिएकी छन् ।

बाग्मती प्रदेशका अध्यक्ष आनन्द पोखरेलले सिन्धुपाल्चोक बाहेक अन्यत्र खासै प्रभाव नपरेको बताएका छन् । आफूहरु कमजोर मानिएको सिन्धुलीमा माधव नेपाल समूहमा रहेका सांसद गणेश पहाडीका साथै माओवादी केन्द्रका नेताहरु समत आएकाले आफूहरु बलियो अवस्था भएको उनको रिपोर्टिङ थियो ।

गण्डकी प्रदेशका अध्यक्ष जगत विश्वकर्माले सबभन्दा राम्रो अवस्था आफ्नो प्रदेशमा भएको बताएका छन् । आफूहरु कमजोर मनिएको बाग्लुङमा समेत १० बुँदे सहमतिपछि अवस्था फेरिएको उनको रिपोर्टिङ थियो ।

लुम्बिनी प्रदेशका लिला गिरी केही जिल्ला बाहेक सवै जिल्लामा संगठनको अवस्था भएको रिपोर्टिङ गरेका थिए । अहिले पनि माधव नेपाल समूहको अवस्था नाजुक भएको र विभाजनपछि थप संकटतिर जाने उनको भनाइ थियो ।

कर्णली प्रदेशका अध्यक्ष गोरख बोगटीले भने माओवादीको राम्रो प्रभाव भएको र कांग्रेसले पनि आफूहरुलाई दबावमा राख्नसक्ने विश्लेषण सुनाएका थिए । पार्टीका ठूला नेताहरु आफ्नो निर्वाचन क्षेत्र र जिल्लामा मात्र केन्द्रीत भएको उनको गुनासो थियो ।

सुदूरपश्चिमका अध्यक्ष कर्णबहादुर थापाले भीम रावल आफूहरुतिर आए समस्या नहुने बताएका छन् । ‘भीम करमेड ठीक ठाउँमा उभिएपछि प्रेम आलेहरु गएर केही फरक पर्दैन’ उनले केन्द्रीय कमिटी बैठकमा भनेका छन् । नेतृत्वको वरिपरि रहेकाहरुले नेता र कार्यकर्तालाई जोड्ने काम नगरेको उनको गुनासो थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0