कर्णाली सरकारलाई सुझाव दिन भन्दै माओवादी संसदीय दलले बनायो संयोजन समिति

कर्णाली सरकारलाई सुझाव दिन भन्दै माओवादी संसदीय दलले बनायो संयोजन समिति

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलले विकास निर्माण लगायतका विषयमा प्रदेश सरकारलाई सुझाव दिन भन्दै विभिन्न ‘संयोजन समिति’ बनाएको छ ।

माओवादी केन्द्र संसदीय दलको आइतबार र सोमबार बसेको बैठकले सातवटा विषयगत संयोजन समितिहरु बनाएको प्रमुख सचेतक ठम्मरबहादुर विष्टले जानकारी दिए ।

विष्टका अनुसार पूर्वाधार, मुख्यमन्त्री रोजगार कार्यक्रम, दलित, महिला लक्षित वर्ग समुदाय, अल्पसंख्यक, लोपोन्मुख, सीमान्तकृत, विपन्न वर्ग समुदाय, राउटे समुदाय, बजेट अद्यावधिक र कोभिड–१९ महामारी ‘संयोजन समिति’ बनाएको हो ।

समितिले प्रदेश सरकारले ल्याएको बजेटलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न र विकास निर्माणसँग सम्बन्धित विभिन्न विषयमा सरकारलाई सुझाव दिनेछ । ‘समितिहरुले विकास निर्माण र बजेट कार्यान्वयन लगायतका विषयमा सरकारलाई सुझाव दिनेछन्, समितिको सुझावका आधारमा सरकारले काम गर्ने अपेक्षा छ,’ प्रमुख सचेतक विष्टले भने ।

मन्त्रीहरुको संयोजकत्वमा रहने ती समितिहरुले खासगरी बजेट कार्यान्वयनका लागि निर्माण गरिने कार्यविधि बनाउने लगायतका विषयमा सल्लाह सुझाव दिने बताइएको छ ।

दलको बैठकले समितिको संयोजकहरुमा बिन्दमान विष्ट, गणेशप्रसाद सिंह, नरेश भण्डारी, विमला केसी लगायतलाई तोकेको छ । तर, सबै समितिको जिम्मेवारी नटुङ्गिएकाले दलको अर्को बैठकबाट पूर्णता दिइने विष्टले बताए ।

दलको बैठकले प्रदेश सरकारको तीन वर्षको समीक्षा समेत गरेको र तीनवर्षे अवधिमा कर्णाली सरकारले विभिन्न समस्याका बाबजुद सन्तोषजनक कार्य गरेको निष्कर्ष निकालेको प्रमुख सचेतक विष्टले जानकारी दिए ।

संरचनात्मक ढिलासुस्ती, संघ र प्रदेशको साझेदारीमा बन्ने नियम कानून नबन्दा प्रदेश सरकारले तीन वर्षमा गर्नुपर्ने काम गर्न नसकेको उनको भनाइ छ । ‘प्रदेश सरकारबाट हालसम्म भए गरेका कामहरु सकारात्मक रहेको दलको बैठकको निष्कर्ष छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0