रत्यौलीमा रमाइरहेकी आमा, जो अचानक गायिका बनिन् – Online Khabar


विख्यात फिल्ममेकर सत्यजित रेको एउटा कथा छ, ‘पटोल बाबु फिल्मी स्टार ।’ यसमा एक पात्र छन्, पटोल बाबु । उनको उमेर ५० वर्षको हाराहारीमा छ । जीवनको उत्तरार्द्धमा उनीसँग केही गरौंला भन्ने रहर, आकांक्षा छैन ।

सानो छँदा नाटक, रंगमञ्चमा काम गर्ने खुब रहर थियो । उनले जात्राहरुमा त भाग लिएका थिए । तर, सोचेजस्तो कहाँ हुन्छ र जीवन ? अनेक हण्डर खाँदै उनी गुजाराकै लागि संघर्ष गरिरहे । वैंशालु रहरहरु यत्तिकै थन्को लगाएर ।

तर, एकदिन नसोचेको भयो । उनलाई एउटा फिल्मका लागि अफर आयो । त्यो उमेर-चरणमा अनायासै आएको यो प्रस्तावले उनको मनमा कस्तो हलचल पैदा गर्‍यो होला ? कथाले विस्तारमा भन्छ ।

पटोल बाबु र चन्द्रा सुवेदीको उमेर मिल्छ, दुवै ५० हाराहारीका । रहर मिल्छ र कथा पनि करिब-करिब ।

सुर्खेत बानियाँटारकी हुन् चन्द्रा सुवेदी । उमेरमा उनी रौसे थिइन् । गाउँघरका बिहे-बटुलोमा गीत गाउँथिन् । मनको कतै कुनामा सुशुप्त रहर थियो, गायिका बन्ने । तर, जीवन त्यत्तिकै घर्केर गयो । मेलापात, घाँस दाउरामै दिनहरु बिते । उमेर पुग्यो, बिहे गरिन् । घरजम भयो, चार छोराछोरी भए । उमेर बुढ्यौलीतर्फ ढल्कियो ।

तर, एकदिन अचम्मै भयो । उनलाई काठमाडौंबाट फोन आयो । त्यो फोन एक गायक/संगीतकारको थियो । उनले फोनमा भने, ‘तपाईं काठमाडौं आउन सक्नुहुन्छ ? गीत रेकर्ड गराउनुहुन्छ ? म्युजिक भिडियोमा खेल्नुहुन्छ ?’

फोनकर्ता थिए, वसन्त थापा ।

‘सालको पात टपरी’, ‘चौतारीको बर’, ‘जाम सुस्तै’ ‘बोकेझार’ जस्ता मोहनी-गीतका संगीतकार । गायक र मोडल पनि ।

घर-गृहस्थीमा व्यस्त चन्द्रा सुवेदीलाई के भनौं, के नभनौं भयो । एकछिन त वाक्य फुटेन । जीवनमा कहिल्यै नसोचेको कुरा अप्रत्यासित आइपर्दा कस्तो हुन्छ ? उनी भावशून्य भइन् ।

‘शुरुमा त पत्याउनै गाह्रो भयो’ चन्द्रा सुनाउँछिन्, ‘गाउने रहर त सानैदेखि थियो तर यो उमेरमा आएर कसैले गीत गाउने मौका दिन्छ भन्ने लागेकै थिएन ।’ काठमाडौंबाट संगीतकारको फोन आएको कुरा उनले हौसिँदै घर-परिवारलाई सुनाइन् । सबैजना दंग परे । अनि जुटे, यात्राका लागि बन्दोबस्ती मिलाउन । तीन दिनपछि चन्द्रा घरबाट हिँडिन्, बहिनी र छोरीलाई साथ लगाएर । सुर्खेतबाट काठमाडौं जाने बसमा चढिन् ।

०००

वसन्त थापा पर्खिरहे । दिन बित्यो, दुई दिन बित्यो । चन्द्रा सुवेदी आइपुगिनन् ।

वसन्तले चन्द्रा सुवेदीलाई त्यसअघि चिनेका, भेटेका थिएनन् । सुर्खेतमै एकजना भाइ थिए, उमेश अधिकारी । वसन्तले उनैलाई चन्द्रा सुवेदीको मोबाइल नम्बर खोज्न सहयोग मागे । फोन नम्बर फेला पर्‍यो । वसन्तले फोन गरे ।

‘त्यो गीत गाएको हजुरले हो आमा ?’ उनले फोनमा सोधे ।

उताबाट जवाफ आयो, ‘हो बाबु, मैले गाएको ।’

वसन्तले प्रश्न गरे, ‘तपाईं काठमाडौंमा आएर गीत रेकर्ड गराउन चाहनुहुन्छ ? वा अरू कसैले गीत रेकर्ड गराइदिने भनेको छ ?’

मनको कतै कुनामा सुषुप्त रहर थियो, गायिका बन्ने । तर, जीवन त्यतिकै घर्केर गयो । मेलापात, घाँस दाउरामै दिनहरु बिते । उमेर पुग्यो, बिहे गरिन् । घरजम भयो, चार छोराछोरी भए । वैंश बुढ्यौलीतर्फ ढल्कियो । तर, एकदिन अचम्मै भयो ।

जवाफ आयो, ‘मैले त उहिलेदेखि नै गीत गाएकी हुँ । साथीभाइ, छिमेकीले रेडियोमा गाउन भनेकी थिइन् । खै, त्यो दिन कहिल्यै आएन बाबु । गाउने रहर त कति छ कति ।’

वसन्तले उनलाई काठमाडौं डाके । यसो भन्दै, ‘ढुक्कले आउनुहोस् आमा, म गीत रेकर्ड गराइदिन्छु ।’

०००

भाइको विवाह थियो गाउँमा । खुब रमझम थियो । आफन्त, छिमेकीहरु गीत गाउँदै रमाइलो गरिरहेका थिए । यत्तिकैमा कसैले त्यसको भिडियो खिचेर युट्युबमा अपलोड गरेछ ।

रत्यौलीको टुक्का टिकटकमा भाइरल भयो ।

टिकटकमै देखेपछि वसन्तले चन्द्रा सुवेदीको आवाजमा गीत रेकर्ड गराउने मनसाय बनाए । रत्यौली एक सांस्कृतिक गीत हो । खासगरी विवाहमा गाउने गरिन्छ । रत्यौली पनि दुई प्रकारको हुन्छ । एउटा, बेहुली लिन जन्ती हिँडेपछि बेहुलाको घरमा महिला मात्र भेला भएर गाउने । यतिबेला पुरुषलाई निषेध गरिन्छ । महिलाहरु मनखुसी गाउँछन् । यो केही उत्ताउलो हुन्छ । खुलेर यौनका प्रसंगहरु जोड्न सकिन्छ ।

खासमा बेहुली लिन गएपछि एकरात उतै बस्ने र भोलिपल्ट मात्र दुलही लिएर आउने प्रचलन छ । यसरी बेहुली लिएर फर्किएपछि पनि पुनः रत्यौली सुरु हुन्छ । तर, यतिबेला अघिल्लो रातको जस्तो उत्ताउलो गर्ने छुट हुँदैन । अलि संयमित भएर खेल्नुपर्छ । नव दुलहीलाई रत्यौलीमा ‘सानी माया’ भनी सम्बोधन गरिन्छ ।

अहिले विवाहमा रत्यौली गाउने प्रचलन हराउँदै गएको छ । तर, सुर्खेतको विवाहमा खिचिएको भिडियो टिकटकमा भाइरल भएपछि यसको रौनक बढेको हो ।

वसन्त थापाले रत्यौलीको ट्र्याक तयार गरिसकेका थिए । उता चन्द्रा सुवेदी आइपुगेकै थिइनन् । ‘उताबाट हिँडेपछि निकै बिजोग भएछ’ थापाले सुनाए, ‘नवलपरासी र नारायणघाट खण्डको पहिरोले उनीहरुलाई चार दिनसम्म रोक्यो ।’

आखिर दुःखजिलो सहदै चन्द्रा सुवेदी काठमाडौं आइपुगिन् ।

०००

सुरुमा स्टुडियो भित्र लगेपछि चन्द्रा सुवेदी आत्तिइन् । ‘अलि डर लाग्यो बाबु’ चन्द्रा सुवेदी सुनाउँछन्, ‘कहिल्यै त्यस्तो देखिएको थिइनँ ।’

एकैपटक स्टुडियोमा लगेर गाउन लगाउँदा गाह्रो हुन्छ भनेर वसन्त थापाले गाडीमा पनि गीत गाउन लगाए । ‘सुरुमा उहाँलाई स्केल थोरै हाइ भयो, टाइमिङ समेत समात्न गाह्रो भयो’ वसन्त भन्छन्, ‘गाउँमा स्वतन्त्र गाउन र स्टुडियोमा एउटा फ्रेमभित्र गाउन धेरै अन्तर हुन्छ ।’  तीन चार दिनसम्म आफैँसँग राखेर वसन्त थापाले गायनको अभ्यास गराए । यसको लय संकलन र शब्द रचना उनै चन्द्रा सुवेदीको थियो ।

गीत रेकर्ड भयो । सुरुमा ज्योति मगरले गीत उठाएकी छिन् र त्यसपछि चन्द्रा सुवेदीले गाएकी छिन् । अडियो तयार भयो ।



‘यसमा मैले तीज र रत्यौलीको भेद छुट्याउन खोजेको छु’ वसन्त भन्छन्, ‘साथै सभ्य रत्यौली र अलि शृङ्गारिक रत्यौलीको भेद पनि छुट्याउन खोजेको हुँ ।’

०००

म्युजिक भिडियोको तयारी भयो । चन्द्राले अब क्यामेराको अघिल्तिर उभिएर नाचगान गर्नुपर्ने भयो । यो पनि नसोचेकै भयो ।

दुई हप्तासम्मको काठमाडौं बसाइँ यस्तो भयो, मानौं उनी एक चल्तापूर्जा सेलिब्रेटी हुन् । कहिले रेकर्डिङमा, कहिले सुटिङमा, कहिले अन्तर्वार्तामा । गाउँमा घाँस दाउरा गर्दै बसेकी उनलाई यो शहरले बेग्लै आतिथ्य दियो ।

यसपालि काठमाडौंबाट फर्कँदा उनले बसको पट्यारलाग्दो यात्रा गर्नुपरेन । त्रिभुवन विमानस्थलबाट सुर्खेतका लागि उड्दै गर्दा उनले नयाँ चिनारी पाउँदै थिइन्, गायिका ।



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0