हरियो चुरा लगाएपछि पतिको दीर्घायु हुन्छ ? – Online Khabar


हिन्दू धर्मको परम्परागत संस्कृति अनुसार चुरा, टीका, पोते नारीको सौन्दर्यको गहना मानिन्छ। ज्योतिषशास्त्र अनुसार, हरियो रङ बुध ग्रहको प्रतीक हो। हरियो रङ लगाउँदा बुध बलियो भएर सन्तान सुख प्राप्ति हुन्छ। अनि यस रङले बुद्धि र समृद्धि प्राप्ति हुन्छ भन्ने विश्वास छ। विवाहित महिलाका लागि रातो रङ खुशी र सौभाग्यको प्रतीक हो भन्ने गरिन्छ। अनि हरियो रङ चाहिं परिवार र जीवनमा खुशी ल्याउनका लागि लगाइन्छ।

बुध ग्रहको असर व्यक्तिको करिअर र व्यवसायमा सीधै पर्छ। यस रङलाई शरीरमा धारण गर्दा मनुष्य आफ्नो कार्यक्षेत्रमा सफल हुन्छ भन्ने विश्वास छ। अझै साउन महीनामा सोमबार भगवान शिवको व्रत बस्ने, चोखो खाने गरिन्छ। भगवान शिव योगी हुनुहुन्छ। योगी भएका कारण उहाँलाई प्रकृतिको सुन्दरताका बीच रहेर ध्यानमा बस्न एकदमै मन पर्छ।

हरियो रङ लगाउँदा महादेव प्रसन्न हुनुहुन्छ भन्ने भनाइ पनि छ। त्यसैले महिलाहरू साउन महीनामा हरियो मेहन्दी र हरियो चुरा लगाउने गर्छन्। अर्कोतिर पतिको दीर्घायु हुने विश्वासमा पनि परम्परादेखि नै साउन महीना विशेष रुपमा शिवको महिमा गाएर मनाइन्छ। अविवाहित महिलाहरू पनि योग्य वर प्राप्तिका लागि साउन महीनाका सबै सोमबार व्रत बस्छन्।

अझै वैवाहिक महिलाको हातमा चुरा छैन भने उसको हातको पानी पनि नखाने उखान यदाकदा सुन्नमा आउँछ। म पनि विवाहित महिला भएकोले यस्तो कुराहरू बेला-बेलामा सुन्न पाउँछु।

अहिले त साउन महीना चलिरहेको छ। अधिकांश महिलाको हातमा हरियो र पहेंलो चुरा, मेहन्दी लगाएको देख्न सकिन्छ। प्रायः पसलहरूमा यो महीना हरियो, पहेंलो चुरा र मेहन्दी राखेको देखिन्छ। शायद यसको अधिकांश माग हुने भएकोले यसको आपूर्ति पनि सोहीअनुरुप पूरा गर्नलाई होला।

यसरी धर्म र संस्कृतिलाई जोगाउन र परम्परागत व्यवस्थालाई निरन्तरता दिनको लागि यस्ता चिजहरूको प्रयोग गरिन्छ। त्यतिसम्म स्वभावैले ठीकै होला। तथापि धर्म र परम्पराको नाममा आफ्नो क्षमता विकासमा ध्यानै नराखी आफूलाई यस्तो अनुत्पादनशील काममा खर्चिनुले आफ्नो सुधार, उन्नति र प्रगतिमा बाधा ल्याउने कुरामा कसैको विमति नहोला भन्न सकिन्न।

वर्तमान परिस्थितिमा विकसित देशहरूमा भएको आर्थिक-सामाजिक रुपान्तरण तथा महिलाहरूमा भएको स्वावलम्बन, आत्मनिर्भरता, आत्मविश्वास जस्ता पक्षलाई विश्लेषण गर्दा फरक यथार्थ थाहा हुन्छ। यसले महिलाहरूले धर्म र संस्कृतिको नाममा कुनै चिज लगाएर कार्य क्षेत्रमा सफल हुने र जीवनमा सुख, शान्ति र समृद्धि प्राप्ति हुने होइन रहेछ भनी सोच्नुपर्ने अवस्था छ।

विवाहित महिला दिदीबहिनीले श्रीमानलाई खुशी तथा दीर्घायु बनाउन उसको भावना बुझेर आत्मनिर्भर र स्वाबलम्बन हुनुपर्छ। समझदारीमा काम गरेर अगाडि बढ्नुपर्छ न कि परम्पराको नाममा यस्तो पहिरन लगाएर।

महिलाहरूले आफूमा भएको आन्तरिक क्षमता र समभावनाको अधिकतम उपभोग गरेर आफूलाई स्वावलम्बन र आत्मनिर्भर बनाउनेतर्फ आफ्नो स्रोत र साधन खर्चिनुपर्दछ। विवाहित महिला दिदीबहिनीले श्रीमानलाई खुशी तथा दीर्घायु बनाउन उसको भावना बुझेर आत्मनिर्भर र स्वावलम्बन हुनुपर्छ। समझदारीमा काम गरेर अगाडि बढ्नुपर्छ न कि परम्पराको नाममा यस्तो पहिरन लगाएर। त्यस्तै अविवाहित महिलाले पनि राम्रो श्रीमान पाउन आफ्नो क्षमताको विकास गर्नुपर्छ। आफ्नो क्षमता र सम्भाव्यतालाई उत्पादनमुखी क्षेत्रमा लगानी गर्नुपर्छ।

प्राकृतिक रुपमै हामी महिलाहरूका काम तथा जिम्मेवारीहरू धेरै छन्। घर व्यवस्थापन, सन्तान उत्पादनदेखि लिएर अधिकांश जिम्मेवारी बोकेर अगाडि बढ्नुपर्ने अवस्था छ। अझै जागीरे महिलाहरूले घरपरिवारको प्रभावकारी रुपमा व्यवस्थापन गरेर अगाडि बढ्नुपर्ने अवस्था छ। तर पनि हाम्रो क्षमता र सम्भाव्यता अधिक छ।

तसर्थ धर्म, संस्कृतिको नाममा आफ्नो स्रोत-साधन (समय, पैसा, सोच र विचार)लाई अनुत्पादक क्षेत्रमा नखर्चिऊँ। आफ्नो परम्परागत सोच र संस्कारमा फेरबदल ल्याऊँ। आफूलाई उद्यमशील बनाऊँ। हाम्रा छोराछोरीहरूलाई राम्रो, उपयोगी कुराहरू सिकाऊँ। फजुल खर्च गर्ने प्रवृत्तिमा परिवर्तन ल्याई बचत गर्ने बानी बसालौं। हरेक महिलाले यस्ता कुराहरूलाई मनन गरी आफूमा सुधार ल्याऔं। परिवर्तन आजै हुने कुरा होइन। परिवर्तनको अनुभूति कायम गर्न सबैको सामूहिक तथा साझा प्रयासबाट मात्रै सम्भव छ भन्न सकिन्छ।

हामी प्रायः महिलाहरू अधिकांश समय यस्तै अनुत्पादक समयमा आफूलाई खर्चिने गर्दछौं। यस्ता फजुल खर्चहरू तथा मूल्यवान समयमा आफुलाई व्यस्त नराखौं। यो क्षमता र समय कुनै उद्यमशीलतामा लगाउन सकेमा आफ्नो मात्रै हित हुने होइन कि यसले सिङ्गो संस्कार र मनोवृत्तिमा पनि फेरबदल भई मुलुकको आर्थिक-सामाजिक रुपान्तरणमा सहयोग गर्न महत्वपूर्ण भूमिका खेल्दछ।

आज हामीले जे क्रियाकलाप गर्दछौं, भोलि हाम्रो सन्ततिले पनि त्यसलाई अनुकरण गर्दै जाने हो तसर्थ सामाजिक सुधारका लागि यस्तो परम्परा, सोच र मनोवृत्तिमा परिवर्तन हुन आवश्यक छ।

हामीले उपभोग गर्ने यी मालवस्तुहरू स्वदेशमा उत्पादन नभई बाहिरबाट आयातित हुने भएकोले हाम्रो आन्तरिक मुद्रा विदेशमा जान्छ। अर्थशास्त्रको सिद्धान्त अनुसार आर्थिक विकासको लागि यो कुरा अनुकूल मान्न सकिन्न। मुद्राको विदेश पलायनले अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्दछ। यसले घरेलु लगानी न्यूनीकरण हुन्छ र कुल गार्हस्थ्य उत्पादनलाई पनि प्रभावित बनाउँछ। आन्तरिक लगानी कमजोर हुँदा पूँजी-श्रम अनुपात पनि घट्छ, जसले श्रम उत्पादकत्व र उत्पादनको स्तर पनि घट्छ।

तसर्थ, हरियो र पहेंलो चुरा, मेहन्दीको पुरातनवादी संस्कारमा परिवर्तन गरौं। प्रत्येक वर्ष यस्ता फजुल खर्चको लागि विदेश पलायन हुने ‘क्यापिटल फ्लाइट’ लाई रोकौं। आर्थिक उपार्जन हुने काममा स्रोतसाधनहरूको उपभोग गरौं। महिला दिदीबहिनी आत्मनिर्भर र उद्यमशील बनौं। उपभोगमुखी भन्दा पनि उत्पादनमुखी संस्कृति निर्माणमा जोड दिऊँ र यसलाई निरन्तरता दिंदै जाऔं।

(लेखक सरकारी सेवामा छिन् ।)



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0