ओलम्पिकका नौ क्षण, जसले इतिहास बदले – Online Khabar


३ साउन, काठमाडौं । खेलकुदको महाकुम्भ मानिने गृष्मकालीन ओलम्पिकको ३२ औं संस्करण आगामी शुक्रबारदेखि जापानको टोकियोमा शुरु हुँदैछ । सन् १९६४ मा ओलम्पिक आयोजना गरेको जापानले दोस्रो पटक ओलम्पिक आयोजना गर्दैछ ।

ओलम्पिकलाई खेलाडीको खेल कौशल देखाउने स्थानको रुपमा लिइन्छ । तर पनि ओलम्पिकको इतिहास राजनीतिक, सांस्कृतिक र सामाजिक रुपमा सम्बन्धित रहेको हुन्छ । ओलम्पिकमा केही त्यस्ता क्षणहरु छन्, जुन सधैं सम्झनलायक हुन्छ । महिला खेलाडीको सहभागितादेखि पाराओलम्पिकको जन्म र म्युनिख आतंक लगायत केही त्यस्ता क्षण पनि छन् । जसले ओलम्पिक इतिहासमा मात्र नभएर विश्व इतिहासमा समेत छुट्टै महत्व राखेको छ ।

विफोरमले तयार पारेको इतिहासलाई मोड्ने ९ ओलम्पिक क्षण यस्ता छन् ।

पहिलो पटक महिला खेलाडीको सहभागिता

सन् १९०० मा पेरिसमा भएको ओलम्पिकदेखि महिला खेलाडीले पनि सहभागिता जनाउन थालेका हुन् । पेरिस ओलम्पिकमा कुल ९९७ खेलाडीमध्ये २२ महिला थिए । तर उनीहरुलाई जम्मा ५ खेलमा मात्र भाग लिने अनुमति थियो । जसमा टेनिस, सेइलिङ, क्रोकुएट, एक्युस्ट्रीनाजिम र गल्फ थियो ।

एक शतकपछि धेरै परिवर्तन भइसकेको छ । लण्डनमा सन् २०१२ मा भएको ओलम्पिकमा महिला खेलाडीले सबै खेलमा भाग लिएका थिए । अब ओलम्पिकमा कुनै नयाँ खेल थपियो भने त्यसमा महिला सहभागिता अनिवार्य बनेको छ ।

एडोल्फ हिटलरलाई जेसी ओवेन्सको च्यालेन्ज

सन् १९३६ मा जर्मनीमा भएको ओलम्पिकमा गोराहरुले कालामाथि दबाब सिर्जना गर्ने अनुमान गरिएको थियो । तर त्यतिखेर सबैभन्दा सफल खेलाडी काला जातिका थिए, जेसी ओवेन्स । ओलम्पिक इतिहासकै उत्कृष्ट खेलाडीको रुपमा रहेका अमेरिकी खेलाडी ओवेन्सले एक सय मिटर, २ सय मिटर तथा ४ सय मिटर रिले र लङजम्पमा स्वर्ण जिते ।

पछिल्लो स्पर्धामा जर्मन खेलाडी कार्ल लुडविङ लङले ओवेन्सलाई सुझाव दिएका थिए । ओवेन्सपछि रहँदै लङ दोस्रो भए । खेल सकिएपछि ओवेन्सलाई पहिले बधाई दिने खेलाडी उनै लङ भए र दुवै खेलाडी मेडल लिन सँगै गए ।

ओवेन्सले पछि यसो भनेका थिए, ‘हिटलरको अगाडि मसँग साथी हुन लङलाई धेरै आत्मबल चाहिएको थियो, तिमीले मसँग भएको सबै मेडल र कपलाई पगाल्न सक्छौं, तर त्यस समयमा लुजसँगको मेरो २४ क्यारेट फ्रेण्डसिपलाई कसैले पनि तोड्न सक्ने छैन ।’

पारालम्पिकको जन्म

सन् १९४८ मा न्युरोलोजिस्ट सर लुडविङ गट म्यानले बेलायतमा स्पाइनलबाट पीडित व्यक्तिहरुसँग काम गरेका थिए । उनले रिहाविलिटेसन कार्यक्रममा आफ्ना बिरामीहरुलाई खेल मार्फत् चलायमान बनाए । उनको त्यो कार्यलाई अरुले पनि सिको गर्न थाले । त्यसपछि अस्पतालहरुको बीचमा प्रतियोगिता हुन थाले ।

सन् १९६० मा रोममा भएको ओलम्पिकमा गटम्यानले चार सय ह्विलचियर खेलाडीलाई पनि प्रतिस्पर्धा गराउन लगे, जसलाई प्यारलल ओलम्पिक भनियो । त्यसपछि पारालम्पिक्स अझै बलियो बन्दै गएको छ । सन् २०१२ मा लण्डनमा भएको पारालम्पिकमा १६४ देशका ४ हजार ३०२ खेलाडीले ५०३ इभेन्टमा सहभागिता जनाएका थिए ।

मोहम्मद अलीलाई ३६ वर्षपछि पुन: स्वर्ण पदक

मोहम्मद अलीको ओलम्पिक खेलसँग धेरै समय सम्बन्ध रह्यो  । कासिउस क्लेको नामले चिनिने अलीले सन् १९६० मा रोममा भएको ओलम्पिकमा स्वर्ण पदक जितेका थिए । आफ्नै देश अमेरिकामा गहिरो जातीय विभेद भए पनि ओलम्पिक र अमेरिकी खेलाडीका उनी ठूला समर्थक थिए ।

उनी ओलम्पिकलाई कतिसम्म माया गर्थे भने उनी मेडलसँगै सुत्थे । तर जब अमेरिकामा गोराहरुले मात्र काम गर्ने रेस्टुराँमा उनलाई काम गर्ने अनुमति दिइएन उनले आफ्नो मेडल नदीमा फ्याँकिदिए । त्यसको ३६ वर्षपछि जतिबेला उनी पार्किन्सनबाट पीडित थिए, सन् १९९६ को एटलान्टा ओलम्पिकमा आधुनिक ओलम्पिकको सय वर्ष पूरा भएको अवसरमा अलीले ओलम्पिक फ्लेम बोक्ने मौका पाएका थिए । यस्तै ओलम्पिक कमिटीले उनलाई नयाँ मेडल समेत प्रदान गरेको थियो ।

ब्ल्याक पावर स्यालुट

 

सम्भवतः सन् १९६८ मा मेक्सिकोमा भएको ओलम्पिकलाई सबैभन्दा खराब राजनीतिक प्रदर्शनीको रुपमा लिइन्छ । २ सय मिटर दौडमा टोमी स्मिथ र जोन कार्लोसले क्रमशः स्वर्ण र कास्य पदक जितेपछि भएको मेडल वितरण समारोहमा उनीहरुले आफ्नो हात माथि उठाउँदै ब्ल्याक पावर स्यालुट गरेका थिए  ।

त्यति बेला झण्डा माथि उठाइएको थियो र राष्ट्रिय गान पनि बजाइएको थियो ।

उक्त कार्यले अमेरिकन सिभिल राइट्स मुभमेन्टमा ठूलो उचाई दियो । जहाँ केही व्यक्तिहरुले काला अमेरिकी खेलाडीलाई प्रतिबन्ध लगाउनुपर्ने बताएका थिए ।

त्यसका बाबजुद स्मिथ र कार्लोसलाई सिभिल राइट्सको लागि संघर्ष गरेको भन्दै मान्यता दिइयो ।

स्मिथले पछि उक्त प्रदर्शनीलाई ब्ल्याक पावर स्यालुट भन्दा पनि मानव अधिकारको स्यालुट भएको बताएका थिए । दुई काला खेलाडीसँगै पोडियममा उभिएका गोरा अष्ट्रेलियन खेलाडी पिटर नर्मन जसले उनीहरुलाई समर्थन गरेका थिए । पछि मेडल समारोहमा उनीहरुले मानव अधिकारका लागि ओलम्पिक प्रोजेक्ट ब्याड्ज लगाएका थिए ।

म्युनिख आतंक

ओलम्पिक जहिल्यै विभिन्न राष्ट्र बीच सहकार्य र भातृत्वको भावनासँग जोडिएको छ । तर सन् १९७२ मा जर्मनीको म्युनिखमा भएको ओलम्पिकमा अन्तर्राष्ट्रिय शान्ति भंग भयो ।  जहाँ प्यालेस्टाइनी आतंककारीले ओलम्पिक खेल्न गएका ११ इजरायली खेलाडीको हत्या गरे । एक जर्मन पुलिस समेत मारिए ।

उनीहरु ओलम्पिक भिलेजमा इजरायली बसेको अपार्टमेन्टको साँचो चोरेर त्यहाँ पुगेका थिए र दुई खेलाडीको हत्या गरे । त्यसपछि ९ खेलाडीलाई बन्धक बनाएर हत्या गरिएको थियो ।

अफ्रिकी राष्ट्रद्वारा १९७६ को ओलम्पिक बहिष्कार

मोन्ट्रेलमा सन् १९७६ मा भएको ओलम्पिक खेल अफ्रिकी राष्ट्रहरुले बहिष्कार गरे । अफ्रिकाका २५ राष्ट्रले बहिष्कार गरेपछि एसियाली  राष्ट्र इराक र दक्षिण अमेरिकी राष्ट्र गुयानाले पनि ओलम्पिक बहिष्कार गरेका थिए ।

केन्याका विदेश मन्त्री जेम्स ओसोगोले एक विज्ञप्तिमा भनेका छन, ‘केन्याको सरकार र जनताको विचार के छ भने मेडलभन्दा आफ्नो सिद्धान्त धेरै महत्वपूर्ण छ । त्यो नै ओलम्पिक बहिष्कारको घटना थिएन । रसियाले अफगानिस्तानमाथि हमला गरेको भन्दै सन् १९८० मा अमेरिकी खेलाडीले पनि ओलम्पिक बहिष्कार गर्दै घरमै बसेका थिए ।

क्याथी फ्रिम्यानको साहस

सन् २००० मा सिड्नीमा भएको ओलम्पिकमा घरेलु खेलाडी क्याथी फिम्यानलाई धेरै दबाब थियो । आयोजकको ६२८ जनाको टोलीमा रहेका ११ जना आदिवासीमध्ये उनी पनि एक थिए र ट्रयाकमा उनको प्रदर्शनले आधुनिक अष्ट्रेलियाको चित्र प्रोत्साहन गर्ने आशा गरिएको थियो ।

उनलाई ओलम्पिक फ्लेम बाल्नको लागि छनोट गरिएको थियो । तर ४०० मिटरमा दौडन लागेकी उनको ध्यान त्यसैतर्फ केन्द्रित थियो । र त्यसका लागि उनी दाबेदार पनि थिए ।

उनले आइकोनिक स्किनसुट लगाएकी थिइन् । पछि उनले ४९.११ सेकेण्डमा ४ सय मिटर दौड पूरा गर्दै अष्ट्रेलियाको लागि ओलम्पिकका स्वर्ण जित्ने सयौं खेलाडी बनिन् । फ्रिमयानले भिक्ट्री ल्यापमा अष्ट्रेलिया र आदिवासीको दुवै झण्डा बोकिन् ।

उत्तर र दक्षिण कोरिया एक भएको क्षण

सन् २००० मा सिड्नीमै भएको ओलम्पिकमा उत्तर र दक्षिण कोरिया टीम उद्घाटन समारोहमा एकै बनेर मार्च पासमा सहभागी भएका थिए । जसलाई ओलम्पिकको ऐतिहासिक क्षण मानिन्छ ।

उक्त समारोहमा दक्षिण कोरियाका महिला बास्केटबल खेलाडी चुङ उन सुन र उत्तर कोरियाका पुरुष जुडो प्रशिक्षक पार्क चोङ चुलले एकीकृत टीमको नेतृत्व गरेका थिए । उनीहरुले संयुक्त रुपमा कोरियाको झण्डा बोकेका थिए । सेतो आकारको पृष्ठभूमि भएको उक्त झण्डामा दुवै कोरियाको नक्सा अंकित थियो ।



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0