जहाँ राजारानीले फिल्म हेर्थे – Online Khabar


३ साउन, काठमाडौं । नारायणहिटी दरबारभित्रको संसार बुझिनसक्नु थियो, रहस्यमयी । त्यहाँ के हुन्छ, के गरिन्छ ? धेरैलाई थाहा पत्तो नहुने । जबकि, दरबारभित्र रसरंगको एउटा छुट्टै दुनियाँ रहेछ ।

नियमितजसो हुने मधुरस भोज, बेलामौकामा हुने खेल–तमासा, सप्ताहान्त हुने फिल्मी रमझम ।

दरबारभित्र एउटा सिनेमा घर नै सञ्चालनमा थियो । बजारमा रिलिज भएका कुनै पनि सिनेमा तात्तातो दरबारमा पुर्‍याइन्थ्यो । चाहे, त्यो दक्षिणा होस्, देवदास होस् वा अन्य कुनै । नेपाली, हिन्दी, अंग्रेजी सबै–सबै । मध्यभागमा विराजमान हुन्थे, राजा–रानी र उनका परिवार ।

यो फिल्मी–रसरंगमा सुरक्षागार्ड, कर्मचारी समेत मिसिन पाउँथे । तर, त्यहाँ केही शर्त लागू हुन्थ्यो । जस्तो कि, सिनेमा हेरिरहँदा राज–खानदान बाहेक अरूले बोल्न, हाँस्न नपाउने । कुनै दृश्य देखेर जब हाँस उठ्छ, हलबाट सुटुक्कै बाहिर निस्किएर हाँस्नुपर्थ्यो । यो कुनै दन्त्यकथा होइन ।

जतिबेला राजदरबार हत्याकाण्ड (२०५८) भयो त्यसबेलासम्म यो हल सग्लो र सजीव थियो । अर्थात् नियमित सञ्चालनमा थियो । सोही बखतको जेठ १९ राति पनि फिल्म हेर्ने गाइँगुइँ चर्चा थियो । यद्यपि त्रिभुवन सदनमा भइरहेको रात्रिभोज समाप्त हुन नपाउँदै त्यहाँ भयानक घटना भयो । त्यससँगै राज परम्पराको एउटा अध्यायको पटाक्षेप भयो । दरबार हत्याकाण्डसँगै उक्त सिनेमा हलमा सन्नाटा छायो ।

‘प्युठान’ हल



जगजाहेर नै छ, नारायणहिटी दरबारभित्रका कोठाहरुलाई विभिन्न जिल्लाको नामकरण गरिएको छ । ढोकाहरुलाई हिमालको नामबाट ।

ल्होत्से द्वारबाट प्रवेश गरेपछि पुगिने नारायणहिटी दरबारमा यस्तै एउटा कोठा छ, प्युठान । सोही कोठामा छ मझौला सिनेमा घर । मोटामोटी आरामदायक सिनेमा घरकै प्रारुपमा । भनिरहनु परेन, यो हल राज–खानदानकै लागि बनेको थियो । त्यहाँ उनीहरु आफ्नो मर्जी अनुसार सिनेमा हेर्थे ।

दरबारको हलमा सप्ताहन्त सिनेमा देखाइन्थ्यो । राजा–रानी र उनका नातेदारले त्यहाँ बसेर बजारमा रिलिज भएका सिनेमा हेर्थे । राज परिवार बाहेकलार्ई त्यहाँ एउटा शर्त लागू हुन्थ्यो ।

नारायणहिटी दरबारभित्रको यो चलचित्र घरसँग जोडिएका थुप्रै रमाइला किस्साहरु छन् । यो एउटा नितान्त फिल्म हल हो । यसमा अन्य सांस्कृतिक कार्यक्रम भएको जानकारीमा नआएको तत्कालीन राजप्रसादका कर्मचारीहरु बताउँछन् । तर फिल्म हल भए पनि यसभित्र प्रवेश गर्नेले मान्नुपर्ने धेरै अनुशासनहरु थिए ।

सामान्यतया राति आठ बजेदेखि हलमा चलचित्र शुरु हुन्थ्यो । चलचित्र कति लामो छ त्यसको आधारमा भोजनको समय निर्धारण हुन्थ्यो । चलचित्र सकिएपछि हलका सबैजना त्रिभुवन सदनतिर लाग्थे । रात्रि भोज चल्थ्यो । अनि सकिन्थ्यो त्यो विशेष समारोह ।

११६ सिट क्षमताको उक्त हलमा चलचित्र हेर्नेबाहेक अन्य सांस्कृतिक क्रियाकलापहरु गर्ने गरिंदैनथ्यो । चलचित्र हेर्दा हलको बीचमा राजा–रानी र राजपरिवारका सदस्यहरु बस्नको लागि सोफा राखिएको हुन्थ्यो, जुन अहिले पनि देख्न सकिन्छ । अगाडिका ७२ वटा सिटहरु राजपरिवारका आफन्त एवं निजी कर्मचारीको लागि छुट्याइन्थे । राजा–रानीको पछाडि एडीसी र दरबारका अन्य सीमित कर्मचारीहरुको लागि कुर्सी राखिएको हुन्थ्यो । यसरी एउटा सानो चलचित्र हलले नेपाली चलचित्रकर्मीलाई उत्प्रेरणा जगाउनमा ठूलो भूमिका खेलेको थियो ।

कहिले बन्यो सिनेमा हल ?

२०२० सालमा शुरु भएर २०२६ मा निर्माण सम्पन्न भएको नारायणहिटी दरबारभित्रको चलचित्र घर कहिले बन्यो भन्ने यकिन रेकर्ड भेटिंदैन । तर यो हलको नाम र यसको ढोकामा लेखिएको नामको आधारमा भने दरबार निर्माणको समयमै हल बनाएको अनुमान गर्न सकिने संग्रहालयका कर्मचारीहरु बताउँछन् ।

सो क्रममा यसमा पछितिरबाट प्रवेश गर्ने द्वारको नाम ‘ल्होत्से’ र हल रहेको कोठाको नाम ‘प्युठान’ राखिएकोबाट पनि यो हल दरबार निर्माणको क्रममा नै बनेको थियो कि भनेर अनुमान गर्न सकिने नारायणहिटी दरबार संग्रहालयका अधिकारीहरु बताउँछन् ।

कस्ता चलचित्र हेर्थे राजारानी ?

२०४४ सालदेखि राजप्रासाद सेवामा निरन्तर सेवारत कर्मचारी हुन्, बुद्धिबहादुर गुरुङ । २०६५ सालमा दरबारलाई संग्रहालय बनाउने निर्णयपछि उनी पनि संग्रहालयका कर्मचारी बने । उनी दरबारको हलमा चल्ने अधिकांश चलचित्र आफूले पनि हेर्ने मौका पाएको सुनाउँछन् । उनी अहिले संग्रहालयमा प्रदर्शनी शाखामा कार्यरत छन् ।

‘म राजप्रासादमा कार्यरत सानै ओहोदाको कर्मचारी भए पनि मैले चलचित्र हेर्ने मौका पाएँ’ उनले अनलाइनखबरसँग भने, ‘यो हलमा सुरुसुरुमा त सबैजसो नेपाली चलचित्र र चर्चित हिन्दी तथा अंग्रेजी चलचित्र देखाउने गरिन्थ्यो, तर डेकबाट टेलिभिजनमा नै सबै चलचित्र हेर्न सकिने प्रविधिसँगै बिस्तारै हलको उपभोग कम हुँदै गयो । तर यो निष्क्रिय भने रहेन ।’ सानो पर्दामा हेर्न उपयुक्त नहुने चलचित्रलाई मात्रै हलमा ल्याएर हेर्न थालेपछि विस्तारै हलको महत्व कम हुँदै गएको गुरुङ सुनाउँछन् ।

२०६२ सालमा ज्ञानेन्द्रले हेरे ‘स्पाइडर म्यान’

राजा वीरेन्द्रको स्वर्गारोहणपछि विस्तारै चलचित्र हलमा चहलपहल कम हुँदै गयो । दरबार हत्याकाण्डपछि राजपरिवारका सदस्यहरुले सञ्जय लीला भन्सालीको सुपरहिट फिल्म ‘देवदास’ यही हलमा हेरेका थिए ।

नारायणहिटीभित्रको फिल्म हल जहाँ राजारानी फिल्म हेर्थे ।

२०६२ सालमा राजा ज्ञानेन्द्रले यही हलमा आएर हलिउड सुपरहिरो फिल्म ‘स्पाइडर म्यान’ पनि हेरेको त्यतिबेला राजप्रासादमा कर्मचारीको रुपमा कार्यरत तामाङ सुनाउँछन् । त्यसपछि यो हल राजपरिवारका सदस्यहरुको उति चासोमा आउन छाड्यो ।

त्यसो त चलचित्र मात्रै नभएर आफ्ना पूर्वजहरुले धानेको परम्पराको संग्रह पनि हो यो चलचित्र हल । राजा महेन्द्रको समयदेखि नै राजपरिवारका सदस्यहरुको न्वारान, पास्नी, बिहे, व्रतबन्ध जस्ता समारोहमा खिचिएका तस्वीरहरुको संग्रह यही चलचित्र घरमा राखिएको हुन्थ्यो । त्यहाँ आएर पुराना विधि र परम्पराहरु हेर्ने चलन समेत रहेको गुरुङ बताउँछन् । उनका अनुसार तत्कालीन युवराज पारस शाहले छोरा हृदयेन्द्रको व्रतबन्ध गर्ने बेलामा कस्तो संस्कार पूरा गर्नुपर्ने हो ? भन्ने डकुमेन्ट्री हेर्न २०६४ मा सो हलमा आएका थिए । त्यसपछि त्यो हल पूर्ण रुपमा बन्द भयो । त्यतिबेला उनले श्रुतिको गुन्यु चोली र बिहेको भिडियो एवं दीपेन्द्र र निराजनको व्रतबन्धको भिडियो हेरेको दरबारको दस्तावेजलाई उद्धृत गर्दै गुरुङ बताउँछन् ।

हलमा हेरेको रिल दरबारको लागि

चलचित्र हलको व्यवस्थापनमा समेत लामो समयसम्म कार्यरत गुरुङ काठमाडौंका विभिन्न हलमा चलेको फिल्म दरबारमा ल्याउने परम्परा पनि रोचक रहेको सुनाउँछन् । जय नेपाल लगायतका हलमा त्यतिबेला ६ बजे चलचित्रको अन्तिम सो चल्ने गर्थ्यो । राजदरबारमा आठ बजेदेखि सो सुरु हुन्थ्यो ।

प्रायः एउटा रिलमा १५–२० मिनेटको रिल हुन्थ्यो । जति रिल हलमा देखाइएका हुन्थे ती सबै दरबार पठाइन्थ्यो । दरबारमा चलचित्र हेर्न भनेर हलको नियमित सोलाई असर पार्ने काम कहिल्यै नभएको गुरुङ सुनाउँछन् । हलमा सकिएको रिल ल्याएर हेरिसकेपछि भोलिपल्टको सोको लागि फेरि सम्बन्धित हललाई नै फिर्ता गरिन्थ्यो ।

हलमा हो-हल्ला र हाँस्न मनाही

राजारानीले चलचित्र हेर्ने समयमा फिल्म हलभित्र हाँसो मजाक र हल्ला गर्ने छुट कसैलाई पनि थिएन । कसैसँग कुरा गर्न परे हातको इसारा वा सासले बोल्नुपर्थ्यो । चलचित्रको बीचमा हाँसो उठ्यो भने पनि बाहिर निस्किनुपर्ने अवस्था रहेको सुनाउँछन् गुरुङ । हलभित्र ठूलो अनुशासन पालना गर्नुपर्ने हुन्थ्यो । चलचित्रको बीचमा लाइट बालेर हिंड्ने अधिकार कसैलाई थिएन ।

गणतन्त्र आएपछि अन्तिमपटक २०६४ सालमा खुलेको सो हल १४ वर्षपछि फेरि सञ्चालनको तयारी अघि बढेको छ । यो हल यस्तो समयमा पुनः सञ्चालनमा ल्याइँदैछ, जतिबेला बजारका सबै चलचित्र घरहरु भटाभट बन्द हुँदैछन् ।

‘एक पटक हलभित्र सिट खोज्दै जाँदा एडीसीको तिघ्रातिर हात पुगेछ, एडीसी जंगिए । पछि माफी नै माग्नु परेको थियो’ गुरुङ सम्झन्छन्, ‘दरबारमा चलचित्र हेर्न छुट्टै अनुशासन पालना गर्नुपर्थ्यो ।’ तर हलमा कसैको कुनै गल्ती भएको आधारमा राजा–रानी रिसाएर प्रतिक्रिया जनाउने भने नगरेको उनी सुनाउँछन् ।

दरबारमा फिल्म देखाउन गएका श्रेष्ठको स्मरण

मञ्जुकुमार श्रेष्ठ ‘शाही नेपाल चलचित्र संस्थान’का जागिरे हुन् । उनले २०२९ सालमा संस्थानमा जागिर शुरु गरेका थिए । उनी जागिर शुरु गरेको दुई वर्षपछि अर्थात् २०३१ सालमा दरबारमा फिल्म देखाउन पुगेका थिए । चलचित्र देखाउन मात्रै होइन, संस्थानको तर्फबाट समय–समयमा हुने समारोहमा तस्वीर वा भिडियो खिच्न समेत जाने गर्थे । अहिले पनि उक्त हलको भित्तामा एउटा मात्रै फोटो छ, जसमा श्रेष्ठलाई समेत देख्न सकिन्छ ।

फिल्म हलको माथि प्रोजेक्टर रुममा ३५ इन्चको जापानिज पोर्टेबल प्रोजेक्टर थियो । उक्त प्रोजेक्टर कार्बाेन बाल्न नपर्ने र बल्बले काम गर्ने खालको थियो । त्यो एनालग प्रविधि हो । जुन अहिलेसम्म पनि जस्ताको त्यस्तै छ । प्रोजेक्टर रुपमा रिलभरि चलचित्र र विशेष समारोहमा खिचिएका डकुमेन्ट्रीहरु राखिएका हुन्थे ।

त्यहाँ चलचित्र र डकुमेन्ट्रीका गरी तीन सय हाराहारीमा रिलहरु रहेको नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका प्रमुख भेषनारायण दाहाल बताउँछन् । त्यही रिलको डिजिटाइजेसन तथा रिस्टोरेसन गरेपछि यो हल सर्वसाधारणको लागि खुला गर्ने तयारी गरिएको दाहालले जानकारी दिए ।

श्रेष्ठ दरबारमा फिल्म देखाउने बेलामा संस्थानबाट प्राविधिक बोलाउने गरिएको बताउँछन् । ‘नेपाली त चार वर्षमा एउटा बन्थ्यो । पहिलो सो दरबारमा देखाउन पाए हुन्थ्यो भन्ने सबैको चाहना हुन्थ्यो’ श्रेष्ठ भन्छन्, ‘सबैले फिल्म बनाएपछि दरबारमा बिन्ती चढाउने चलन थियो ।’

दरबारमा हल पुनः सञ्चालन हुने

नारायणहिटी दरबार संग्रहालयमा रहेका ५२ वटा कोठामध्ये सबै कोठा खुलिसकेका छैनन् । जसका कारण फिल्म हल, पुस्तकालय जस्ता राजपरिवारको इतिहास बोल्ने कोठाहरु अहिलेसम्म पनि सर्वसाधारणको पहुँचमा छैनन् ।

पछिल्लो समय नारायणहिटी दरबार संग्रहालय प्रशासनले नारायणहिटीभित्रको चलचित्र घर सर्वसाधारणको लागि खुला गर्ने तयारी अघि बढाएको छ । जसको लागि असार अन्तिम साता अत्याधुनिक २–डी पर्दा र प्रोजेक्टर खरीद गरेर ल्याइसकिएको छ ।

समितिका कार्यकारी निर्देशक दाहालका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ मा सो हल सर्वसाधारणका लागि खुला गर्ने तयारी गरिएको जानकारी दिए । यद्यपि त्यहाँ फिल्म हेर्न नभई राजदरबारसँग सम्बन्धित वृत्तचित्रहरु मात्रै देखाइने छ ।

उता समितिका सूचना अधिकारी गुरुङ नारायणहिटी दरबार संग्रहालयका सबै कक्षहरु लुकाउन नभई देखाउन लायक रहेको भन्दै समितिका कार्यकारी निर्देशक दाहालको सक्रियतामा भटाभट बन्द कोठाहरु खुल्न थालेको बताउँछन् । पुरातत्व विभागको कमाण्ड समेत सम्हालिसकेका दाहालले संग्रहालयको जिम्मेवारी सम्हालेपछि बन्द रहेका धेरै कोठाहरु सर्वसाधारणको लागि खोलिन थालेको बताउँछन् । चलचित्र हल शुरु गर्ने कदम पनि उनैको पहलमा भएको गुरुङको दाबी छ ।

मुलुकमा गणतन्त्र आएपछि अन्तिमपटक २०६४ सालमा खुलेको सो हल १४ वर्षपछि फेरि सञ्चालनको तयारी अघि बढेको छ । यो हल यस्तो समयमा पुनः सञ्चालनमा ल्याइँदैछ, जतिबेला बजारका सबै चलचित्र घरहरु भटाभट बन्द हुँदैछन् ।

नारायणहिटी दरबार संग्रहालयभित्र रहेका सार्वजनिक गर्न बाँकी कोठाहरु सार्वजनिक गर्दै जाने योजना अनुरुप चालु आर्थिक वर्षभित्र नै त्यो हल समेत सर्वसाधारणको लागि खुला गर्ने तयारीमा समिति जुटेको नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक दाहालले जानकारी दिए ।

राजारानी बस्ने सोफा

 

 

प्रोजेक्सन रूम
नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहाल
दरबारभित्र संग्रहित रिलहरू, जसलाई डिजिटाइज गर्ने तयारी हुँदैछ ।
रिल बेर्ने उपकरण
त्यो बेलाको प्रोजेक्टर
राजारानीले प्रयोग गर्ने सिगरेट केस
पुरानो प्रोजेक्टरको लेन्स



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0