मारमा क्यान्सर, मिर्गौला र मुटु रोगी – Online Khabar


१ साउन, काठमाडौं । काठमाडौंका ५५ वर्षीय एक पुरुषलाई कलेजो दिन उनकी २५ वर्षकी छोरी तयार भइन् । बाबु–छोरीको सबै परीक्षणमा सकारात्मक रिपोर्ट आयो । प्रत्यारोपणका लागि उनीहरू २०७८ वैशाख दोस्रो साता त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना पनि भए ।

प्रत्यारोपणमा सघाउन भारतको फोर्टिस अस्पतालका डा.विजय भिजको नेतृत्वमा चिकित्सकको टोलीले काठमाडौंका लागि टिकट बुक गरिसकेको थियो । त्यही बेला सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा लगायो ।

‘वैशाख १६ देखि निषेधाज्ञा जारी भएपछि डेढ महीना लामो तयारी बालुवामा पानी सरह भयो’, त्रिवि शिक्षण अस्पतालका लिभर, प्यान्क्रियाज सर्जन प्रा.डा. रमेशसिंह भण्डारीले भने । तीन महीना बितिसक्दा पनि ती पुरुषको कलेजो प्रत्यारोपण कहिले हुने टुङ्गो लागेको छैन ।

नवलपरासीकी ३८ वर्षीया महिला मिर्गौला प्रत्यारोपण गर्न काठमाडौं आएकी थिइन् । मिर्गौला दिन उनकी आमा तयार थिइन् । लामो तयारी र स्वास्थ्य जाँचपछि ललितपुरको किस्ट अस्पतालमा वैशाख दोस्रो साता उनको प्रत्यारोपण हुने निश्चित भयो ।

प्रत्यारोपणअघि कोरोना संक्रमण छ/छैन भनेर जाँच गरियो । नभन्दै ती महिलामा संक्रमण देखियो । त्यही संक्रमणकै कारण उनले वैशाख १२ गते ज्यान गुमाइन् । मिर्गौला प्रत्यारोपण शल्यचिकित्सक तथा युरोलोजिस्ट डा. नारायण भुसाल प्रत्यारोपण गर्नुअघि डायलासिस गर्ने क्रममा उनलाई संक्रमण भएको बताउँछन् ।

संखुवासभाकी एक २० वर्षीया युवतीले पेटको देब्रे पाटो दुखाइलाई शुरूमा सामान्य ठानिन् । पेनकिलर खाएर घरमै बसिन् । दुखाइ सहनै नसक्ने गरी बढेपछि ठाउँ–ठाउँको निषेधाज्ञा छल्दै काठमाडौं आइपुगेर असार पहिलो साता किस्ट अस्पतालमा भर्ना भइन् । ‘जोखिम मोलेर ट्युमर निकाल्यौं तर क्यान्सर फैलिइसकेको रहेछ’, डा. भुसालले सुनाए ।

कोरोना नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि क्यान्सर, मिर्गौला, मुटु र श्वास–प्रश्वासका दीर्घरोगीहरू नियमित उपचारबाट पनि वञ्चित भए र कतिपयले ज्यानै गुमाए । यसबीचमा बिमार छिप्पिएकाहरू हजारौं छन् भने यसले बढाएको आर्थिक भारको हिसाबै छैन ।

कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन र निषेधाज्ञा जारी गरेर आउजाउमा कडाइ गरेपछि अस्पतालहरू पनि कोभिड–१९ को उपचारमा केन्द्रित भए । यसबाट थुप्रै दीर्घरोगी नियमित उपचार सेवाबाट वञ्चित भए भने कतिपयले यही बीचमा ज्यानै गुमाए । समयमा औषधोपचार नपाएर बिमार छिप्पिएकाहरू हजारौं छन् । यसले बढाएको आर्थिक भारको त हिसाबै छैन ।

त्रिवि शिक्षण अस्पतालतमा नगरी नहुने आकस्मिक शल्यक्रिया बाहेक महीनामा ३० देखि ५० वटासम्म शल्यक्रिया हुने गरेकोमा महामारीका बेला छिटपुट मात्र हुने गरेको छ । ‘ठ्याक्कै तथ्याङ्कमा भन्न नसके पनि नगरी नहुने बाहेकका शल्यक्रिया बन्द जस्तै छ’ डा. भण्डारीले भने, ‘यसबीचमा कलेजो र प्यान्क्रियाजका केही जटिल शल्यक्रिया मात्रै गरियो ।’

किस्ट अस्पतालका युरोलोजिस्ट डा. भुसालका अनुसार त्यहाँ महामारीकै कारण ५ चैत २०७६ देखि बन्द भएको मिर्गौला प्रत्यारोपण ७ वैशाख २०७८ मा मात्र शुरू भयो । ‘वैशाख ७ को पहिलो शल्यक्रिया सफल भएपछि नवलपरासीकी महिलाको शल्यक्रिया गर्ने तयारी गरेका थियौं । उनको परीक्षणकै क्रममा कोरोना संक्रमण भएर मृत्यु भएपछि फेरि प्रत्यारोपण बन्द गर्‍यौं’ उनले भने ।

त्रिवि शिक्षण अस्पतालका डा.भण्डारीका अनुसार प्रत्यारोपणको मुखैमा रद्द गरेर लामो अन्तरालमा अर्को मिति तय गर्दा धेरै प्रक्रिया दोहोर्‍याउनुपर्छ । यसले बिरामीलाई सास्ती मात्र दिंदैन, आर्थिक भार पनि बढाउँछ ।

‘प्रत्यारोपणका लागि बिरामीलाई तयारी गर्न मात्रै होइन, चिकित्सकको टिमदेखि कानूनी प्रक्रियासम्म पूरा गर्न लामो समय लाग्छ’ उनले भने, ‘जटिल शल्यक्रिया भएकाले प्रत्यारोपण गर्नु केही दिनअघि मात्र सम्पूर्ण जाँच गर्नुपर्छ ।’

उनका अनुसार कलेजो प्रत्यारोपण गर्न २५ देखि ३० लाख रुपैयाँसम्म खर्च हुन्छ ।

एक पटकमा एक जना मात्र बिरामीको प्रत्यारोपण गर्न मिल्ने भएकाले अन्य बिरामीलाई तयार राख्न मिल्दैन । जसका कारण महामारी थामिएपछि पनि बिरामीको पालो स्वतः लम्बिन्छ ।

‘पालो कुर्दाकुर्दै कतिपय बिरामी रोग झन् जटिल भएर प्रत्यारोपण गर्न नमिल्ने अवस्थामा पुग्छन् कतिपय बिरामीको त पालो नआउँदै मृत्यु हुन्छ’, डा. भण्डारीले भने ।

किस्ट अस्पतालमा डायलासिस गरेर मिर्गौला प्रत्यारोपणका लागि पालो कुर्ने बिरामी थुप्रै छन् । अन्तिम तयारी पूरा भइसकेपछि कतिपयको प्रत्यारोपण रोकिएको अस्पतालले जनाएको छ । तीमध्येका हुन् हेटौंडाका ३८ वर्षीय उद्धवकुमार मोक्तान । स्वास्थ्यमा समस्या भएपछि उनी गत वैशाख २ गते किस्ट अस्पताल आए । जचाउँदा मिर्गौलामा समस्या देखियो । चिकित्सकले ‘दाता मिल्यो भने छिटो प्रत्यारोपण गर्नुपर्छ’ भनेर सुझाए ।

मोक्तानलाई मिर्गौला दिन उनकी ५१ वर्षीया दिदी तयार भइन् । ‘क्रस म्याच भेरिफिकेसन’मा प्रत्यारोपण गर्न मिल्ने देखियो । प्रत्यारोपणअघि कोरोना परीक्षण गर्दा मोक्तानकी दिदीलाई संक्रमण पुष्टि भयो । त्यसपछि रोकिएको प्रत्यारोपण अझै शुरू भएको छैन । ‘दुई महीना बितिसक्यो, अझै कति कुर्नुपर्ने हो थाहा छैन । खर्च पनि बढ्ने भयो’, मोक्तानले भने ।

त्रिवि शिक्षण अस्पतालका शल्यचिकित्सक डा. भण्डारी निषेधाज्ञाका कारण काठमाडौं बाहिरबाट बिरामी आउन नसकेको बताउँछन् । आकस्मिक शल्यक्रिया गर्नुपर्ने अवस्थामा पनि आईसीयू बेड खाली नभएर अन्यत्रै पठाउनु परेको उनले सुनाए । ‘महामारी बढेका बेला बेडहरू कोरोना संक्रमितलाई छुट्याइएकाले शल्यक्रिया गर्नैपर्ने कतिपय बिरामीलाई अन्यत्र रेफर गर्नुपरेको थियो’, डा. भण्डारीले भने ।

किस्टका मिर्गौला प्रत्यारोपण शल्यचिकित्सक डा.भुसालले महामारीका कारण अस्पताल आउन डराउनाले धेरै बिरामीले रोग पालेर बसेको बताए । ‘कोरोना संक्रमणको डरले रोग सहेर बस्ने र अत्यन्त सिकिस्त भएपछि मात्रै अस्पताल आउने ट्रेन्ड बढेको छ’ उनले भने, ‘अस्पताल नपुगिकन ज्यान गुमाएका र अत्यन्तै जटिल अवस्थामा अस्पताल पुगेका बिरामीको संख्या धेरै छ ।’

उनले खासगरी क्यान्सर पहिचानमा ढिलाइ हुँदा बिरामीलाई बचाउन नसकिने बताए । शिक्षण अस्पतालका डा. भण्डारीका अनुसार जटिल अवस्थाका बिरामीको शल्यक्रिया गर्नु जोखिमपूर्ण हुन्छ ।

नेपालमा कोभिड–१९ को पहिलो केस भेटिएको डेढ वर्ष नाघेको छ । मानिसको आउजाउ र भीड नियन्त्रण गर्न सरकारले पहिलोपटक ११ चैत २०७६ देखि देशव्यापी लकडाउन गरेको थियो । लकडाउन खुल्ने र थपिने क्रम लामो समयसम्म चल्यो ।

दोस्रो लहर शुरू भएपछि गत वैशाख दोस्रो सातायता विभिन्न जिल्लामा निषेधाज्ञा लगाइएको छ । लकडाउन र निषेधाज्ञाका कारण क्यान्सर, मिर्गौला, मुटु सर्जरी, श्वास–प्रश्वासका र अन्य दीर्घरोगीलाई अस्पताल जान सहज भएन । सहज पहुँचमा भएकाहरू पनि संक्रमण सर्ने डरले अस्पताल जाने गरेका छैनन् । संक्रमण सरेको अवस्थामा पनि दीर्घरोगीलाई नै बढी समस्या हुने गरेको पाइएको छ ।

राजधानीका त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, मानव अङ्ग प्रत्यारोपण केन्द्र लगायतमा कार्यरत चिकित्सकहरू पहिलेको तुलनामा १० प्रतिशत बिरामी मात्रै उपचारमा आउने गरेको र तीमध्ये पनि अधिकांश आकस्मिक सेवाका रहेको बताउँछन् । मानव अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशक डा. प्रेम ज्ञवालीका अनुसार त्यहाँ दिनमा ५–६ वटासम्म प्रत्यारोपण हुने गरेकोमा अहिले एउटा गर्न समेत सकस छ ।

किस्ट अस्पतालका प्रमुख कार्यकारी अधिकृत अमिश पाठकका अनुसार त्यहाँ कोरोना महामारीअघि दिनमा २०० हाराहारी बिरामी भर्ना हुन्थे र करीब ६०० ले ओपीडी सेवा लिन्थे । ‘अहिले दिनमा १५ देखि २० जनासम्म बिरामी भर्ना हुन्छन् । ओपीडी सेवा लिने बिरामीको संख्या ८० हाराहारी छ’ उनले भने, ‘आकस्मिकका बाहेक बिरामी अस्पताल आएकै छैनन्, धेरैले अनलाइनबाट सेवा लिइरहेका छन् ।’

शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा महामारीअघि दिनमा ६०० जना ओपीडीमा भर्ना हुन्थे र ६० जना हाराहारीले आकस्मिक सेवा लिन्थे । महामारी उत्कर्षमा पुगेर घट्दै गर्दा आकस्मिक सेवा लिने बिरामी २० जना हाराहारी छन् । ओपीडीमा बल्ल २०० हाराहारी बिरामी आउन थालेको केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारीले जानकारी दिए ।

अन्नपूर्ण न्युरो अस्पतालका न्युरो सर्जन डा. वसन्त पन्तले पनि महामारीका कारण बिरामी रोगले च्यापिसकेपछि मात्रै अस्पताल आउने गरेको बताए । न्युरोका बिरामी अस्पताल ढिलो आउँदा बचाउने सम्भावना कम हुने उनको भनाइ छ ।

‘न्युरोका बिरामी अस्पताल ढिलो पुग्दा रोग जटिल भइसकेर सर्जरी नै गर्न नमिल्ने अवस्थामा पुग्छ’ उनले भने, ‘ट्युमरका बिरामी तीन महीना ढिलो अस्पताल पुग्दा ट्युमर बढेर उपचार प्रक्रियामै असर पुग्छ । खर्च पनि बढ्छ ।’

नसर्ने रोगका बिरामी कति ?

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले सन् २०१९ मा ७२ वटा जिल्लामा गरेको अध्ययनले कुल मृतकमध्ये ७३ प्रतिशतको मृत्यु मुटु, श्वास–प्रश्वास, मिर्गौला, मधुमेह, क्यान्सर जस्ता नसर्ने रोगका कारण भएको देखाएको थियो ।

बाँकी २७ प्रतिशतको मृत्यु सरुवा रोग, मातृ तथा नवजात शिशु तथा पोषण सम्बन्धी रोग देखिएको थियो । श्वास–प्रश्वासका समस्या ११.७ प्रतिशत, मधुमेह ८.५, मिर्गौला सम्बन्धी रोग ६ प्रतिशत र मुटुरोग २.९ प्रतिशतमा रहेको देखाएको थियो ।

प्रतिवेदन अनुसार पछिल्ला १० वर्षमा मधुमेहसँग सम्बन्धित जटिलताका कारण हुने मृत्यु झन्डै ५९ प्रतिशतले वृद्धि भएको छ । मिर्गौलाको दीर्घरोगबाट हुने मृत्यु यो अवधिमा ३७ प्रतिशतले बढेको छ ।

सन् १९९० को तुलनामा सन् २०१७ मा मुटुरोगका कारण हुने मृत्यु प्रति लाखमा ६० प्रतिशतले बढेको छ । यस्तै ‘स्ट्रोक’ का कारण हुने मृत्यु यो अवधिमा २१ प्रतिशत वृद्धि भएको छ । श्वास–प्रश्वासका कारण हुने मृत्यु १४ प्रतिशतले बढेको छ ।

सर्नेभन्दा नसर्ने रोगको क्षति धेरै हुने गरे पनि महामारीको डेढ वर्षमा १० प्रतिशत हाराहारी मात्र बिरामी अस्पताल पुगेकाले ठूलो क्षति भएको चिकित्सकहरू आकलन गर्छन् । ‘हरेक अस्पतालमा नसर्ने रोगका बिरामीको लाइन हुन्थ्यो, सर्जरी गर्न महीनौं पालो कुर्नुपथ्र्यो, यी सबै बिरामी अहिले कहाँ र कुन अवस्थामा छन् भन्ने कसैलाई थाहा छैन’, मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले भने ।

आर्थिक वर्ष २०७६/७७ मा सरकारले विपन्न नागरिकका लागि आठवटा रोगमा दिएको आर्थिक सहुलियत पाउने ५४ हजार ८८६ जना थिए । जसमा डायलासिसका मात्रै ५ हजार ६५७ जना थिए । क्यान्सरका ३४ हजार ६६७ जना र मिर्गौला प्रत्यारोपणका १ हजार ३१ जना थिए ।

सरकारले विपन्नका लागि दिने सेवा लिन नाम लेखाएर कुर्नेको संख्या सयौं छ । वीर अस्पतालको युरोलोजी विभागका अनुसार त्यहाँ मात्रै २१४ जना सरकारी सहुलियतमा डायलासिस गर्न पालो कुरिरहेका छन् । मानव अङ्ग प्रत्यारोपण केन्द्रमा २५० र त्रिवि शिक्षण अस्पतालमा ३०० जना पालोमा छन् ।

अन्य डायलासिस सेन्टरमा सहुलियतको पालो कुर्नेको संख्या ठूलो छ । ‘सरकारले दिएको सहुलियत सेवा लिनेको ठूलो संख्याले मात्रै पनि धेरै बिरामी महामारीको चपेटामा परेको बुझ्न सकिन्छ’, डा. काफ्लेले भने । उनले महामारी कम हुँदै गएपछि अस्पतालमा बिरामीको चाप ह्वात्तै बढ्ने बताए ।

गङ्गालालका निर्देशक डा.अधिकारीका अनुसार श्वास–प्रश्वास, मुटु, मिर्गौला, क्यान्सर लगायतका दीर्घरोगीको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । त्यसैले उनीहरू संक्रमित भए भने अवस्था जटिल बन्ने र मृत्यु हुने सम्भावना धेरै हुन्छ । ‘त्यही कारण नसर्ने रोगका बिरामी आफैं सचेत भएर अस्पताल गएका छैनन्’, उनले भने ।

गङ्गालालले नै गरेको अध्ययन अनुसार महामारीको पहिलो लहरमा त्यहाँ मुटु रोग लागेका संक्रमितको मृत्युदर ११.१ थियो । दोस्रो लहरमा मृत्युदर बढेर २४.५ पुग्यो । यो अध्ययनले पनि कोरोना महामारीमा नसर्ने रोगका बिरामी खतरामा रहेको देखाएको डा. अधिकारी बताउँछन् ।

टुट्यो फलोअप जाँच

लकडाउन र निषेधाज्ञाका कारण आउजाउमा समस्या भएपछि बिरामीले नियमित फलोअप जाँच गराउने क्रम टुटेको छ । यसले पनि बिरामीमा समस्या बढेको चिकित्सकहरू बताउँछन् ।

दुई वर्षअगाडि मिर्गौला प्रत्यारोपण गरेका एक बिरामी असार दोस्रो साता किस्ट अस्पतालमा फलोअपमा आए । प्रत्यारोपण गर्दा उनको शरीरमा क्रियटिनिनको मात्रा २१ थियो । क्रियटिनिन ३ मा झरेपछि उनलाई घर पठाइएको थियो । फलोअपमा क्रियटिनिन बढेर ७ पुगेको देखियो । रक्त चाप २४०/१२० थियो । समयमै फलोअपमा नआउँदा यस्तो समस्या देखिएको डा. भुसालले बताए ।

‘शल्यक्रिया गरेका बिरामी तथा दीर्घरोगीहरू संक्रमण सर्ने डरले अस्पताल आउने गरेका छैनन्’ उनले भने, ‘नियमित फलोअप नहुँदा बिरामीमा जटिलता बढिसक्ने हुनाले यसपछि चिकित्सक र बिरामी दुवैलाई सास्ती हुन्छ ।’

मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले सामान्य अवस्थामा अस्पतालमा धान्न नसकिने बिरामी हुने गरेकोमा अहिले उनीहरू घरमै रहेकाले समस्या धेरै जटिल भइसकेको आकलन गर्छन् । ‘नियमित फलोअपमा आउनुपर्ने बिरामी पनि घरमै छन् उनीहरूको अवस्था चिकित्सकलाई थाहा हुँदैन’ उनले भने, ‘अहिले त जटिल अवस्थाका बिरामी मात्र अस्पताल आइपुग्छन् ।’

भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. रोशन प्रजापतिका अनुसार क्यान्सर रोगको उपचार प्रक्रिया सात महीनादेखि एक वर्षसम्म लामो हुन्छ । हरेक तीन सातामा फलोअपका लागि अस्पताल आउनुपर्ने बिरामीलाई लकडाउन/निषेधाज्ञाले सास्ती दिएको उनले बताए ।

‘उपत्यका बाहिरका बिरामी १० हजार रुपैयाँ खर्च लाग्ने उपचारका लागि ३० देखि ५० हजार रुपैयाँसम्म एम्बुलेन्स भाडा तिरेर आएका उदाहरण दर्जनौं छन्’, डा. प्रजापतिले भने ।

उनका अनुसार जसोतसो अस्पताल आउने पुराना क्यान्सरका धेरै बिरामीमा समस्या झनै बढेको पाइएको छ । कतिपय बिरामी ढिलो फलोअपमा आउँदा क्यान्सर शल्यक्रिया गर्न नमिल्ने गरी तेस्रो, चौथो स्टेजमा पुगेको हुन्छ । ‘महामारीले नसर्ने रोगलाई गरेको असर अहिले थोरै देखिंदैछ तर यसको दीर्घकालीन असर भयानक देखिनेवाला छ’, डा. प्रजापतिले भने ।

चिकित्सकहरूका अनुसार क्यान्सरको उपचार गराइरहेका बिरामीको नियमित फलोअप गर्नुपर्छ । केमोथेरापीदेखि औषधिको मात्रासम्म मिलाइरहनुपर्छ । औषधिको नियमितता भंग भयो भने बिरामीको उपचार प्रक्रियामा नसोचेको जटिलता आउँछ ।

‘अधिकांश बिरामीको फलोअप गर्नुपर्ने समय ६/७ महीना धकेलिइसक्यो । गाउँ गएका बिरामीको औषधि सकिएर अवस्था नाजुक छ’ डा. प्रजापतिले भने, ‘यसको जटिल असर तत्काल नदेखिएला तर दुई/तीन वर्षमा अवश्य देखिन्छ । क्यान्सरबाट हुने मृत्युदर बढ्छ भने निको हुने दर घट्छ ।’

अक्सिजन र आईसीयू बेडको समस्या

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ चैत २०७६ मा विज्ञप्ति जारी गर्दै ‘इलेक्टिभ सर्जरी’ (तत्काल नगर्दा बिरामीलाई जोखिम नहुने) लाई स्थगन गर्ने सूचना जारी गर्‍यो । पहिलो लहरको महामारी कम हुँदै गएपछि गत मंसीरमा इलेक्टिभ सर्जरी शुरू भयो तर महामारीको दोस्रो लहर बढ्न थालेपछि गत वैशाख १४ गते मन्त्रालयले फेरि इलेक्टिभ सर्जरी स्थगन गर्ने निर्णय गर्‍यो।

महामारीको पहिलो लहरमा सक्रिय संक्रमितको संख्या कम भए पनि डरका कारण बिरामी अस्पताल जान सकेनन् । ‘महामारीकै डरले इलेक्टिभ सर्जरी त ठप्प नै भयो भन्दा पनि हुन्छ । जटिल किसिमका सर्जरी पनि १० प्रतिशत मात्रै गर्न सक्यौं’, किस्ट अस्पतालका शल्य चिकित्सक डा. भुसालले भने ।

उनले महामारी उत्कर्षमा पुगेका बेला कोरोना संक्रमितका लागि नै अक्सिजन र आईसीयू बेड नपुगेर आकस्मिक शल्यक्रिया गर्न समेत सकस परेको सुनाए । त्रिवि शिक्षण अस्पतालका शल्य चिकित्सक डा. भण्डारीले सर्जरीका आईसीयू बेडमा समेत संक्रमित राखिएका बेला आकस्मिक सर्जरी गर्न नपाएको बताए ।

महामारी उत्कर्षमा भएका बेला गङ्गालालमा एक दिन मुटुरोग लागेका कोरोना संक्रमित ८५ जना थिए । दिनमा २०० सम्म संक्रमितको उपचार गरेको उक्त अस्पतालले हृदयघात भएर अस्पताल पुगेका १०० जनाभन्दा बढीको ‘प्राइमरी एन्जियोप्लास्टी’गरेको थियो ।

पहिले महीनामा ५० जना हाराहारीमा प्राइमरी एन्जियोप्लास्टी हुन्थ्यो । महामारीका दुई महीनामा एन्जियोप्लास्टी बढे पनि अन्य अत्यन्तै थोरै भएको गङ्गालालका निर्देशक डा. अधिकारीले बताए । गङ्गालालका मुटुरोग विशेषज्ञ डा. कुञ्जन शेर्पाले महामारी बढेका बेला सर्जरीका लागि रगत, आईसीयू बेड र अक्सिजन जुटाउन पनि गाह्रो भएको सुनाए ।

रोग पहिचान अवरुद्ध

नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी)को अध्ययन प्रतिवेदन अनुसार अस्पताल पुग्ने बिरामीमध्ये करीब ८१.५ प्रतिशत र तीमध्ये अन्तरङ्ग सेवा लिने ८८ प्रतिशतलाई नसर्ने रोगको समस्या देखिने गरेको छ । करीब २० वर्ष पहिले नेपालमा सर्ने रोग भएका ७० प्रतिशत र नसर्ने रोग भएका ३० प्रतिशत हुने गरेका थिए । महामारीका बेला नसर्ने रोगका नयाँ बिरामी पत्ता नलागेको चिकित्सकहरू बताउँछन् ।

यकिन तथ्याङ्क नभए पनि अस्पतालहरूको विवरण केलाउँदा वर्षेनि तीन हजार नयाँ मिर्गौला रोगी भेटिन्छन् । मिर्गौला रोग विशेषज्ञ डा. काफ्लेका अनुसार महीनामा लगभग २०० जनाको प्रत्यारोपण हुने गरेकोमा महामारीका कारण एक वर्षयता त्यो स्थगित छ । ‘महामारी थामिएपछि एक वर्षसम्म डायलासिस र प्रत्यारोपणको सिट पुरानै बिरामीले ओगट्ने देखिन्छ’, उनले भने ।

चिकित्सकहरूका भनाइमा महामारीका कारण रोग पहिचान, फलोअप जाँच र शल्यक्रियामा देखिएको अवरोधका कारण आगामी दिनमा स्वास्थ्य संरचनामा असर पर्ने, मृत्युदर बढ्ने र बिरामीको उपचार खर्च बढ्ने निश्चित छ । चिकित्सा समाजशास्त्री आमोद प्याकुरेल भन्छन्, ‘आकस्मिक बाहेकका बिरामी अस्पताल जान नपाउनु र उनीहरूबारे राज्य र चिकित्सकलाई थाहा नहुनु दुर्भाग्य हो ।

भक्तपुर क्यान्सर अस्पतालमा सन् २०१८ मा क्यान्सरका ३४ सय नयाँ बिरामी भेटिएका थिए । सन् २०१९ मा त्यो संख्या बढेर ३५ सय पुगेको थियो ।

महामारी शुरू भएको वर्ष सन् २०२० मा २५ सयमा झरेको अस्पतालका कार्यकारी निर्देशक डा. प्रजापतिले जानकारी दिए । ‘महामारीको डर या यातायातको असुविधाले नसर्ने रोगका धेरै बिरामी घरमै बिमार सहेर बसेका छन्’, उनले भने ।

कान्ति बाल अस्पतालमा मात्र हरेक वर्ष क्यान्सरका झन्डै २०० नयाँ बिरामी पहिचान हुने गरेको थियो । ‘कोरोना महामारीका कारण यो वर्ष नयाँ बिरामी पहिचान गर्न मुश्किल भएको छ’, डा. सुधीर सापकोटाले भने । उनले कतिपय बिरामी तुरुन्त उपचार गर्नुपर्ने अवस्थामा पनि अस्पताल आउन नसकेको बताए ।

जोखिममा ज्येष्ठ नागरिक

बुटवलका ७५ वर्षीय वृद्धले वैशाख दोस्रो साता किस्ट अस्पतालका ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा. रमेश कँडेललाई फोन मार्फत समस्या सुनाए । डा. कँडेलले हृदयघातको आशङ्का गर्दै उनलाई तुरुन्त अस्पताल जान सुझाए । तर उनी कोरोना सर्ने डरले अस्पताल गएनन् । तेस्रो दिन सहन नसक्ने स्थिति भएपछि उनलाई अस्पताल लगेर भेन्टिलेटरमा राखियो । दुई सातापछि उनको मृत्यु भयो ।

डा. कँडेल कोरोनाको डर र निषेधाज्ञा/लकडाउनले यातायातको असुविधा भएर अस्पताल पुग्न नसक्दा धेरै ज्येष्ठ नागरिक पीडित भएको बताउँछन् । कोरोना संक्रमणको असर ज्येष्ठ नागरिक र दीर्घरोगीमा बढी हुने समाचारले त्रास फैलाएको उनको भनाइ छ । उनका अनुसार अस्पताल जान डराएका कारण कोभिड र नन–कोभिडका ज्येष्ठ नागरिकको अस्वाभाविक मृत्यु भएको छ ।

‘हाम्रो स्वास्थ्य प्रणालीमा तुलनात्मक अध्ययन गरिएको तथ्याङ्क त छैन तर यो पटक बचाउन सकिने धेरै ज्येष्ठ नागरिकले अस्पताल आउन नसकेर या औषधि सेवनलाई निरन्तरता दिन नसकेकाले ज्यान गुमाएका छन्’, डा. कँडेलले भने ।

२०६८ सालको जनगणना अनुसार मुलुकमा २७ लाख ज्येष्ठ नागरिक छन् । एनएचआरसीको अध्ययन अनुसार ज्येष्ठ नागरिकमा दम, मधुमेह, रक्तचाप, अल्जाइमर्स लगायतका कुनै न कुनै किसिमको दीर्घरोग हुने गरेको छ । तर महामारीका बेला कोरोना संक्रमण हुँदाबाहेक ज्येष्ठ नागरिक उपचारका लागि अस्पताल पुगेनन् । ‘कतिपय ज्येष्ठ नागरिक त कोभिड हुँदा पनि होम आइसोलेसनमै बसे, जसका कारण उपचार नपुगेर उनीहरूलाई बचाउन सकिएन’, डा. कँडेलले भने ।

कोभिड–१९ का कारण मानसिक समस्या भोग्नेमा अन्य उमेर समूहका भन्दा ज्येष्ठ नागरिक बढी रहेको डा.कँडेल बताउँछन् । उनका अनुसार नियमित उपचार गराइरहेका ज्येष्ठ नागरिकले फोन र इन्टरनेटका माध्यमबाट चिकित्सकसँग सम्पर्क गर्न नसकेर पनि समस्या परेको छ । ‘महामारीले नसर्ने रोगको समस्यालाई ओझेलमा पारेको छ तर यसको असर पछि डरलाग्दो गरी देखिन्छ’, उनले भने ।

विश्वव्यापी समस्या

कोभिड–१९ महामारीका बेला नसर्ने रोगका बिरामीमा परेको प्रभावका विषयमा नेपालमा कुनै अनुसन्धान नभए पनि विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले विश्वव्यापी अध्ययन गरेको छ । उक्त अध्ययन अनुसार सन् २०१९ मा भन्दा २०२० मा मधुमेहका कारण अल्पायुमै ज्यान गुमाउनेको संख्या ५ प्रतिशतले बढेको छ ।

भारतको ग्रामीण भेगमा मुटुको आकस्मिक सेवा लिने बिरामीको संख्या ३० प्रतिशतले घटेको छ । ‘महामारीको डर र निषेधाज्ञाका कारण धेरै देशमा आकस्मिक सेवा लिन समेत बिरामी आउन सकेनन्’– अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

सो प्रतिवेदन अनुसार, इटलीमा कोभिड–१९ का कारण मृत्यु भएकामध्ये ६८ प्रतिशत उच्च रक्तचाप र ३१ प्रतिशत मधुमेहका रोगी थिए । महामारीकै कारण स्वास्थ्य संस्थामा पुग्न नसकेर नेदरल्यान्ड्समा अघिल्लो वर्षभन्दा यो वर्ष क्यान्सरका नयाँ बिरामी २५ प्रतिशत कम भेटिएका छन् ।

स्पेनमा कोभिड–१९ का कारण मृत्यु भएकामध्ये १३ प्रतिशत मुटुरोगी थिए । १९४ वटा देशमा सर्वेक्षण गरिएकोमा १६३ वटा देशमा नसर्ने रोगको उपचारमा अवरोध उत्पन्न भएको पाइएको डब्लूएचओको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । ४६ प्रतिशत देशमा नयाँ बिरामी पहिचानका लागि स्क्रिनिङ भएन । ३९ प्रतिशत देशले नसर्ने रोगका चिकित्सकलाई कोभिड–१९ मा खटाइएकाले उपचार प्रभावित भएको पाइएको छ ।

डब्लूएचओको अध्ययनमा नसर्ने रोग उपचार गराउने स्वास्थ्य संस्था बन्द भएकाले बिरामी प्रभावित भएको बताउने ३४ प्रतिशत देश छन् । ३२ प्रतिशत देशले महामारीमा स्वास्थ्यकर्मी अभाव भएर नसर्ने रोगका बिरामी प्रभावित भएको उल्लेख गरेका छन् ।

सो अध्ययन अनुसार, २६ प्रतिशत देशले महामारीको डरले बिरामी स्वास्थ्य संस्थामा पुग्न नसकेको जनाएका छन् । २५ प्रतिशत देशले भर्ना गरेर उपचार गर्नुपर्ने बिरामीलाई महामारीकै कारण उपचार गर्न नसकेको बताएका छन् । उपचारको स्रोतसाधन र उपकरण अभाव भएकाले नसर्ने रोगीलाई सेवा दिन नसकेको २० प्रतिशत देशको भनाइ छ ।

एनएचआरसीका प्रमुख अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालका अनुसार सर्जरी गर्नुपर्ने बिरामी या अन्य नसर्ने रोगका दीर्घरोगीको कोरोना संक्रमणले मृत्युदर २५ प्रतिशत हुने अध्ययनले देखाएको छ । यो अन्य रोगको तुलनामा अत्यन्तै धेरै हो ।

नेपाली, भारतीय र बङ्गलादेशी पाँच अनुसन्धाताले न्यून तथा मध्यम आय भएका देशका नसर्ने रोगका बिरामीमा कोभिड–१९ को प्रभावबारे हालै एउटा अनुसन्धान प्रतिवेदन प्रकाशन गरेका छन् ।

स्रोतसाधनको अभाव खेपिरहेका यस्ता देशमा रहेका अन्य रोगका बिरामीमा कोभिड–१९ को प्रभाव अझ गहिरो हुने भएकाले उनीहरूको उपचारमा पनि विशेष ध्यान दिनुपर्ने उक्त अनुसन्धानले औंल्याएको छ ।

अनुसन्धानको नेतृत्वकर्ता उदयनारायण यादवका अनुसार झन्डै ५० प्रतिशत वृद्धवृद्धामा एकदेखि चारवटासम्म दीर्घरोग देखिएको छ । जसमा हाडजोर्नी, मुटु, मधुमेह र गम्भीर किसिमका फोक्सोका रोग छन् ।

‘महामारीमा सबैभन्दा बढी नसर्ने रोगका बिरामी मारमा परेका छन् । कोभिडको जोखिम पनि उनीहरूलाई नै सबैभन्दा बढी छ’ अनुसन्धानकर्ता यादवले भने, ‘राज्यले नसर्ने रोगका बिरामीको व्यवस्थापनमा कुनै संयन्त्र बनाएन ।’

राज्यले नसर्ने रोगका लागि नीति बनाए पनि कार्यान्वयन र बजेट विनियोजनको पाटोमा चुक्दा समस्या चुलिएको यादवको ठम्याइ छ । महामारीका बेला स्थानीयस्तरका सामुदायिक स्वास्थ्य केन्द्रले नै नसर्ने रोगका बिरामीको व्यवस्थापन गर्न सक्ने उनले बताए ।

‘सामुदायिक स्वास्थ्य केन्द्रले समुदायस्तरमा नसर्ने रोगका बिरामीको व्यवस्थापन गरेको खण्डमा उनीहरू अस्पताल जाने अवस्था नै आउने थिएन’ उनले भने, ‘सरकार अब डिजिटल प्रविधि प्रयोग गरेर टेलिकन्फ्रेन्सद्वारा स्वास्थ्य सुविधा दिनतिर लाग्नैपर्छ । किनकि महामारी धेरै लामो समयसम्म चल्न सक्छ ।’

चिकित्सकहरूका भनाइमा महामारीका कारण रोग पहिचान, फलोअप जाँच र शल्यक्रियामा देखिएको अवरोधका कारण आगामी दिनमा स्वास्थ्य संरचनामा असर पर्ने, मृत्युदर बढ्ने र बिरामीको उपचार खर्च बढ्ने निश्चित छ । चिकित्सा समाजशास्त्री आमोद प्याकुरेल भन्छन्, ‘आकस्मिक बाहेकका बिरामी अस्पताल जान नपाउनु र उनीहरूबारे राज्य र चिकित्सकलाई थाहा नहुनु दुर्भाग्य हो ।’

(यो रिपोर्ट ‘नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिजम नेटवर्क’सँगको सहकार्यमा तयार पारिएको हो ।)





यो पनि पढ्नुहोस
‘विज्ञ, समाज, मिडियाको ध्यान कोभिडमा मात्रै गयो’






यो पनि पढ्नुहोस
‘नसर्ने रोगको उपचार नै भएन’



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0