एक हिरोइनको आध्यात्मिक रूपान्तरण – Online Khabar


भर्खरै थामिएको मुसलधारे झरीले नागार्जुन पारिका वनपाखा निथ्रुक्क भिजेका छन् । डाँडामाथिको बादल हटिसकेको छैन । कालो बादललाई चिरेर छरिएका घामका किरणमा इन्द्रेणी परेको छ ।

तल खोंचमा बगेको पानीको ध्वनि, झ्याउँकिरीको एकनासे आवाज र चराहरूको चिरबिरले संगीतमय झंकार पैदा गरेको छ । यद्यपि त्यहाँ बेग्लै शून्यता छ । नीरव अनि निर्जन !

आफैंमा ध्यानमग्न लाग्छ, ओशो तपोवन ।

घुमाउरो गोरेटो, त्यसकै आसपासमा नुहिएको निगालो, मस्त फक्रिएका फूलहरू । सुरिला रूखहरू सतर्क र शान्त भएर उभिएका छन् । दोबाटोमा जिसस क्राइस्ट ठिंग उभिएका छन्, दुवै हात फैलाएर । अर्को कुनामा आफ्नो अपूर्ण कद लुकाएर बसिरहेका छन् सन्त कविर । गौतमबुद्ध पद्मासनमा मौन छन् ।

मध्यभागमा अवस्थित ध्यान-मन्दिरभित्र नौजवान चेला-चेली बेपर्वाह नाचिरहेका छन् । कोही-कोही बगैंचामा यत्तिकै टहल्दैछन् ।

त्यहीं भेटिन्छिन्, सोविता सिम्खडा

गेरु रंगको कुर्ता, सेतो सुरुवाल । गलामा ‘ओशो’ अंकित माला । यो रुपरंगमा उनलाई देखेपछि स्मरण हुन्छ उनले नै सामाजिक सञ्जालमा लेखेका केही पंक्ति । सोविताले यसरी लेखेकी छिन्-

‘पहिला मनोरञ्जन लिन र दिन नाच्थें
अहिले परमात्माको लागि नाच्छु ।
पहिला आफू हुनुको प्रमाण देखाउन नाच्थेँ
अहिले आफूलाई मेटाउनका लागि नाच्छु ।’

सोविता किन ‘आफूलाई मेटाउन’ चाहन्छिन् ? संभवतः उनी विराट शून्यतामै जीवनको सार भेट्छिन् । र, त्यसमा आफूलाई समाहित गर्न रुचाउँछिन् । आकांक्षा, लोभ, माया-मोह, डर, घृणा, अहंकार, पछुतो, ग्लानि, दम्भ, कुण्ठाबाट मुक्त जीवन । न भूत, न भविष्य । वर्तमानमा जिउन चाहन्छिन् ।

किनभने सोविता ‘ओशो संन्यासी’ हुन् । र, उनको सेरोफेरो ओशो तपोवन । ध्यान गर्छिन्, प्रवचन सुन्छिन्, भक्ति-साधनामा लीन हुन्छिन् । आध्यात्मिक विमर्श गर्छिन् । आफैंमा मग्न हुन्छिन् ।

बिहान सबेरै उठ्छिन् । शरीर शुद्ध गर्छिन् । ६ बजेदेखि ध्यान शुरू हुन्छ, डाइनामिक मेडिटेशन । सक्रिय ध्यान साढे सात बजेसम्म जारी रहन्छ । अनि पालो योगको । त्यसपछि प्रवचन । साढे नौ बज्छ ।

बिहानको नास्ता तयार हुन्छ । ११ बजेबाट पुनः ध्यान शुरू हुन्छ । अनि दिवा-खाना । खानपान सात्विक हुन्छ । खानपानपछि उही क्रम शुरू हुन्छ, ध्यान, योग, प्रचवन । उनको दिनचर्या दुई वर्षदेखि यस्तै वितेको छ ।

तर, करियरको पूर्वार्द्ध ठीक विपरीत थियो । अनेक रहर, आकांक्षा, मोह, प्रतिस्पर्धा, स्क्याण्डल Û त्यो बखत उनी आफूलाई दुनियाँसामु चिनाउन चाहन्थिन् । नाम र चर्चाको उल्कै भोक थियो सोवितालाई ।

सोविताको विगत : टिभी होस्टदेखि हिरोइनसम्म

एसएलसी दिएपछि रहरैले उनी मोडलिङमा लागिन् । फेसन शोका लागि र्‍याम्पमा हिंडिन् ।

तर, त्यसबेला उनलाई के बोध भयो भने, ‘मेरो प्रवृत्ति, स्वभाव भन्दा फरक काम हो यो ।’ नियमित प्रवचन सुनेर, ध्यान गरेर हुर्किएकी उनलाई त्यो तामझामले विरक्त बनायो ।
मोडलिङ छाडिन् । एसएलसी नतिजा आयो । पढ्न थालिन् । तर, नामको मोहले कहाँ छाड्ने ? एक टेलिभिजन कार्यक्रमका लागि अडिसन दिन गइन् । टेलिभिजनमा मौका मिल्यो । कार्यक्रम थियो ‘नमस्ते कलिउड’ ।

फिल्मी कार्यक्रम । फिल्मको गीत, प्रोमो देखाउनुपर्ने । कलाकार, निर्माता, निर्देशकसँग बारम्बार भेट हुने । त्यही संगतले उनलाई पुर्‍यायो, सिनेमामा ।

कसम, गंगाजल, आफ्नै मनलाई सोधिहेर, मार्‍यो नि मायाले मार्‍यो जस्ता फिल्मबाट ‘हिरोइन’ भइन् । तर, बुवाआमा दुःखी थिए । सोविताको लागि यो एक संक्रमणकाल थियो । रहर एकातिर, कर्तव्य अर्कोतिर । आकांक्षा एकातिर, बाध्यता अर्कोतिर । पारिवारिक पृष्ठभूमिभन्दा ठीक विपरीत पाइला चालेकी थिइन्, उनले ।

ओशो भक्त आमाबुवा । बुवाले ध्यान गराउँथे । गाउँभरका मान्छेहरू भेला हुन्थे । घरमा भजनकीर्तन हुन्थ्यो, प्रवचन सुनाइन्थ्यो, योग ध्यान गरिन्थ्यो । सात्विक परिवार, आध्यात्मिक माहोल ।

सोविता सुनाउँछिन्- ‘मलाई कतिसम्म भएको थियो भने ! बाटोमा हिंड्दा, सार्वजनिक बसमा चढ्दा अरूले देख्छ, चिन्छ भन्ने डर हुने । त्यसबेला मसँग स्कुटर पनि थिएन । ट्याक्सी चढ्नुपर्ने । ट्याक्सी चढ्नकै लागि मैले कति त गरगहना पनि बेचें ।’

बुवाआमाकै संगतमा उनले ओशो चिनिन् । ध्यान र योगलाई बुझिन् । बेलामौका तपोवन धाइन् । तर, सोवितालाई ‘संन्यासी’ बन्नु थिएन । सांसारिक जीवनबाट विमुख हुनु थिएन । किनभने उनलाई त ‘ग्ल्यामर संसार’को चमकदमकले आकर्षण गरिसकेको थियो ।

त्यो यस्तो समय थियो, जतिबेला नेपाली सिनेमाको स्तर खस्किएको थियो । सिनेमाप्रति सर्वत्र वितृष्णा थियो । फिल्ममा खेल्नु, कलाकार बन्नु, हिरोइन हुनु ‘फोकट’को काम मानिन्थ्यो ।

सोविता सुनाउँछिन्, ‘मलाई कतिसम्म भएको थियो भने, बाटोमा हिंड्दा, सार्वजनिक बसमा चढ्दा अरूले देख्छ, चिन्छ भन्ने डर हुने । त्यसबेला मसँग स्कुटर पनि थिएन । ट्याक्सी चढ्नुपर्ने । ट्याक्सी चढ्नकै लागि मैले कति त गरगहना पनि बेचें ।’

आज विगतमा फर्किएर हेर्दा उनलाई आफ्नै जीवन कस्तो लाग्छ ?

‘गजब’ उनी उत्साहित भावमा बोल्छिन्, ‘त्यसबेला जे गरें, त्यो गलत थियो भन्ने लाग्दैन । त्यसमा मलाई कुनै ग्लानि वा पछुतो छैन । बरु रमाइलो लाग्छ ।’

आफैंभित्रको खोज

लाइट, रिफ्लेक्टर, क्यामेराको सम्मुखमा उभिएर उनले अनेकथरी जीवन बाँचिन् । कहिले प्रेमिका, कहिले श्रीमती, कहिले बुहारी, कहिले बहिनी । यी सम्पूर्ण जीवनभित्र आफू कहाँ छु ?

मनमा तूफान उठ्यो ।

कता-कता अलमलिए जस्तो । कुनै भेउ नपाए जस्तो । बाटो बिराए जस्तो । जीवनको फेरो नभेटिए जस्तो ।

घुम्दैफिर्दै जीवनको घडी एउटा विन्दुमा टक्क रोकियो । अनि पो उनलाई बोध भयो, ‘मेरो स्वभाव यो होइन । मेरो प्रवृत्ति यस्तो होइन । म बोलेर, भनेर, देखाएर आफूलाई अभिव्यक्त गर्न सक्दिनँ ।’

सानैदेखि उनले शान्त र चुपचाप रहने कला सिकिन् । त्यही गुण विकास भयो । उनी अन्तर्मुखी भइन् । ‘खासमा म लेखेर मात्र आफूलाई राम्ररी अभिव्यक्त गर्न सक्ने रहेछु’ सोविता सुनाउँछिन्, ‘त्यही भएर शान्त ठाउँ, यस्तो एकान्त रुचाएकी हुन सक्छु ।’

सोविता अखबारका लागि लेख लेख्छिन् । उनको उपन्यास पनि प्रकाशित छ, ‘वीराङ्गना’ ।

उसो त अहिले पनि उनी बेलामौकामा सिनेमाकै विवेचना गरिरहेकी हुन्छिन् । यसमा साथ दिन आइपुग्छन्, खगेन्द्र लामिछाने, मीनबहादुर भाम । ‘उनीहरूसँग बसेका बेला फिल्मको कुरा हुन्छ’ सोविता भन्छिन्, ‘फिल्मको हृयाङओभर रहिरहने रहेछ ।’

हिरोइन कि गुडिया ?

‘एउटा पुरुषले कसैसँग सेक्स गरेमा उसले त्यो कुरा खुलेआम भन्न सक्छ, त्यही कुरा एउटी महिलाले भन्न सक्दिनन् । किन ?’ यो प्रश्नले उनलाई सोचमग्न बनाउँछ ।

नारीप्रधान फिल्ममा हिरोइनलाई एक्सन लेडीको रूपमा प्रस्तुत गरिन्छ । सात तलाबाट उफ्रिएर गुण्डाहरूको रामधुलाई गर्दैमा त्यसले महिलाको शक्ति देखाउँछ र ? पुरुषको आफ्नै क्षमता र शक्ति छ, नारीमा आफ्नै गुण र सौन्दर्य हुन्छ । दुवै एकअर्काका परिपूरक हुन् ।

समाज पितृसत्तात्मक सोचले जकडिएको छ । त्यही सोचको उपज हो, हाम्रा सिनेमामा हिरोइनलाई बोकाइने भूमिका पनि । सिनेमामा हिरोइनको थपना यसकारण गरिन्छ, जब कुनै हिरोको पुरुषत्व देखाउनुपर्ने हुन्छ । हिरोलाई बलियो, निर्भीक, दयालु, उपकारी, सद्गुणी देखाउनका लागि हिरोइनको च्याँखेदाउ थापिन्छ । हिरोइनलाई संकटमा पारेर नै हिरोको पुरुषार्थ देखाइन्छ ।

‘पुरुषले बनाउने सिनेमा त यस्तो नै हुनेभयो, महिलाले बनाएको वा नारीप्रधान फिल्ममा पनि समस्या ज्यूँका त्यूँ छ’, सोविता भन्छिन् ।

महिलालाई केन्द्रीय भूमिकामा राखेर, गुण्डाहरूको रामधुलाई गराएर मात्र नारी सशक्तीकरणको दृष्टान्त पेश गर्नु आफैंमा टिठलाग्दो कुरा हो । उनी भन्छिन्, ‘नारीप्रधान फिल्ममा हिरोइनलाई एक्सन लेडीको रूपमा प्रस्तुत गरिन्छ । सात तलाबाट उफ्रिएर गुण्डाहरूको रामधुलाई गर्दैमा त्यसले महिलाको शक्ति देखाउँछ र ?’

पुरुषको आफ्नै क्षमता र शक्ति छ, नारीमा आफ्नै गुण र सौन्दर्य छ । दुवै एकअर्काका परिपूरक हुन् । ‘महिलाको आफ्नै

विशिष्ट गुण र क्षमता हुन्छ । उनीहरू धैर्यवान्, सहनशील हुन्छन् । हामीले सिनेमामा नारीको यस्तै गुणलाई सुन्दर ढंगले पेश गर्नुपर्ने होइन र ?’ सोविताको प्रश्न छ ।

अनि बनिन् संन्यासी

एक हिरोइन चमकदमकपूर्ण जीवनबाट अलग भएर संन्यासी बनिन् । यो त्यति अनौठो कुरा थिएन । एक नियमित आकस्मिकता थियो ।

बुवाआमाको संगत, घरपरिवारको माहोलले उनलाई आध्यात्मिक मार्गमा डोर्‍यायो । ‘यो अचानक भएको कुरा थिएन’ सोविता भन्छिन्, ‘यो मेरो जीवनको स्वाभाविक परिवर्तन हो ।’ ओशोको प्रचवन सुन्दै, ध्यान र योगको अभ्यास गर्दै, भजनकीर्तन गाउँदै हुर्किएकी उनलाई अन्ततः त्यही विन्दुमा पुगेर समाहित हुनुथियो, जहाँ अहिले आइपुगेकी छिन् ।

फोटो : शंकर गिरी

फाइल फोटो : साइबरसंसार डटकम



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0