अब के गर्ने ? – Online Khabar


सन् १९७० को दशकमा अमेरिकी ३७औं राष्ट्रपति रिचार्ड निक्सनले रेमन्ड स्याफरको नेतृत्वमा गाँजाबारे अध्ययन गर्न एउटा कमिटी गठन गरेका थिए । उक्त कमिटीको काम गाँजालाई वैधानिकरण गर्ने कि नगर्ने ? भनेर विस्तृत रूपमा रिपोर्ट बुझाउनुपर्ने थियो । गाँजाको प्रयोगले मानिसको स्वास्थ्य साथसाथै समाजमा अन्य लागूऔषधहरू जस्तो असर नगर्ने भएकाले व्यक्तिगत प्रयोगका लागि भने रोक नलगाउने सुझावस्याफर कमिसनले दिएको थियो ।

निक्सनले स्याफर कमिसनको रिपोर्ट टेबलमा थन्काएर कन्ट्रोल सब्सटान्स एक्ट (सिएसए) मार्फत् ‘वार अन ड्रग’ सुरु गरे । त्यस बेला अमेरिकाले विश्वको अधिकांश मुलुकहरूमा गाँजालगायत अन्य लागूऔषधमा प्रतिबन्ध लगाउन दबाब दिएको थियो । नेपाल पनि बाध्य भई गाँजाको खुल्ला प्रयोगमा रोक लगाउने अवस्थामा पुग्यो । सन् १९७३ जुलाई २ मा तत्कालीन प्रधानमन्त्री कृतिनिधि विष्टले गाँजामा प्रतिबन्ध लगाईएको घोषणा गरेका थिए । त्यस बेला नेपाली गाँजा एसियाको नै उत्कृष्ट मानिन्थ्यो। अहिले पनि मानिन्छ। त्यसैले पनि प्रतिबन्ध लगाइएको दशकौँ पछि नेपाली गाँजा ‘नेपाली हृयासिस’ नाममा अन्तर्राष्ट्रिय बजारमा अझै पनि बिक्री वितरण गरिन्छ। अहिले नेपाली गाँजा तस्करहरूले भारतको समुद्री मार्ग प्रयोग गरी युरोपेली र अमेरिकी मुलुकहरूमा पुर्याउने गरेका छन् । त्यसैले बेलाबखतमा नेपाल प्रहरीले लाखौँ मूल्यको गाँजा बरामद गर्ने गरेको छ।

नेपाली जमीन गाँजा प्रजातिको वनस्पतिका लागि उर्वर मानिन्छ। गाँजा उमि्रन धेरै पानी पनि चाहिँदैन। त्यसैले नेपालको अधिकांश गाउँ घरमा गाँजाको बोटहरू भेटिन्छ। गाँजाको सहज उपलब्धताको कारण पनि नेपाली समाजमा परम्परागत रूपमा विभिन्न प्रयोजनको लागि गाँजाको प्रयोग हुने गरेको छ। गाउँ-घरमा अझै पनि गाँजाको दानाको अचार खाने चलन छ। पेट दुख्दा ‘गाँजा चपाएर खा’ भन्ने बुढापाका अझै गाउँ घरमा भेटिन्छन् । तर ६० को दशकमा गाँजामा प्रतिबन्ध लगाएसँगै गाँजा नेपाली समाजबाट टाढिँदै गएको छ। अहिले भने नेपालको बौद्धिक जमातमा गाँजाको सम्भावना र यसले अर्थतन्त्रमा पुर्याउने योगदानबारे विचार विमर्श सुरु भएको छ। अधिकांश छलफलहरूको निष्कर्ष गाँजा सम्भावना नै सम्भावना भएको वनस्पति हो भन्ने छ।

पर्यटनको सम्भावना

सन् १९७३ मा तत्कालीन नेपाल सरकारले गाँजामा प्रतिबन्ध लगाउन अघि काठमाडौँ घुम्न आउने पर्यटकहरूको संख्या दैनिक बढ्दै गइरहेको थियो । त्यसैबेला नेपालमा हिप्पीहरू पनि काठमाडौँको ठमेल, न्युरोड, मरु, वसन्तपुर,ओम बहाल, लगन, झोछें (फ्रिक स्ट्रिटको नामले प्रख्यात थियो) जस्ता ठाउँहरूमा गाँजामा तल्लीन अवस्थामा भेटिन्थे । हिप्पीहरूले गर्दा यस ठाउँमा आर्थिक गतिविधिहरू पनि बढेको थियो। होटेल, क्याफे, लज, टुरिस्ट गाइडलगायत अन्य व्यवसायहरू फस्टाएको थियो। यी ठाउँहरू अहिले पर्यटकीय साथै आर्थिक दृष्टिकोणबाट जुन स्वरूपमा छ त्यसमा हिप्पीहरूको पनि केही देन अवश्य छ।

गाँजामा प्रतिबन्ध पश्चात् हिप्पीहरू अमेरिका साथै अन्य पश्चिमी मुलुकहरूको दबाबमा काठमाडौँबाट लखेटिएका थिए । उनीहरूलगायत अन्य पर्यटकहरू नेपालको धार्मिक, अध्यात्मिक र प्राकृतिक दृष्टिकोणले धेरै नै आकषिर्त थिए। त्यसैले त्यस बेला नेपाल घुम्न आएका कलाकार साथै लेखकहरूले आफ्नो कृति र सृजनाहरूमा नेपालको प्रशंसा गरेको पाइन्छ । ब्राजिलियन लेखक पाउलो कोहेलोले पनि नेपाल र काठमाडौँको प्रशंसा आफ्नो आत्मकथा ‘हिप्पी’ मा गरेका छन् । गायक बब सेगरले ‘आई एम गोइंग टु काठमाडौँ’ अर्थात् ‘म काठमाडौँ जाँदैछु’ भनेर गीत गाएका छन् । त्यस्तै बिटल्स बेण्डका जोन लेनन साथै क्याट स्तेभेन्सले पनि ‘काठमाडौँ’ भन्ने प्रसिद्ध गीतमा नेपालको प्रशंसा गरेको पाइन्छ। अहिले पनि ती कलाकारहरूको कृतिको प्रभावले नेपालमा पर्यटकहरू आउने गरेका छन् ।

बैतडीका देवी दत्त शर्माले त्यस बेला नेपाली गाँजाको सम्भावना र व्यापार बुझ्ने मध्येका एक थिए। उनी ६० को दशकमा बैतडीबाट झोला बोकेर राजधानी पसे। शर्माले ६ वर्षको अवधिमा नै गाँजाको व्यापार गरेर काठमाडौँको सबै भन्दा अग्लो होटेल ‘एडेन’ खडा गरेका थिए । त्यसबेला होटेल एडेनमा ग्राहकको चाहनाअनुसार गाँजा मिश्रति चिया, कफी, केकलगायत विभिन्न परिकारहरू पाइन्थ्यो। होटेल एडेनका त्यस बेलाका ग्राहकहरूले अहिले पनि होटेलको पुराना पोस्टर, मेन्यु सयौँ डलरमा विश्व बजारमा खरिद गर्ने गरेका छन् ।

नेपालले अहिले पर्यटन वर्ष भन्दै पर्यटनको विकासको लागि अर्बौँ रुपैयाँ खर्च गर्ने गरेको छ । तर त्यसबेला नै नेपाली गाँजाले गर्दा विदेशबाट आउने पर्यटकहरूको घुइँचो लाग्थ्यो । नेपालजस्तो मुलुकले अहिले पनि गाँजाको उचित प्रयोगलाई वैधानिकरण गरेर अर्बौँको पर्यटन विस्तार सजिलै गर्न सकिन्छ।

औषधिको सम्भावना

सन् १८०० मा महिनावारी हुँदा पीडा कम गर्नलाई महारानी भिक्टोरियालाई गाँजा मिश्रति औषधि दिइएको थियो। अहिले पनि गाँजाको चिकित्सा क्षेत्रमा सम्भावनाबारे अन्तर्राष्ट्रिय प्रयोगशालाहरूमा अध्ययन र अनुसन्धान हुँदै आएको छ। अल्जाइमर, एड्स, मिर्गी, पीडा कम गर्नेलगायत अन्य थुप्रै रोगको उपचारमा अहिले गाँजाको प्रयोग हुँदै आएको छ। गाँजाले क्यान्सर रोगको उपचारमा पनि मद्दत गर्ने भएकाले अमेरिकन क्यान्सर सोसाइटीलगायत अन्य सङ्घ-संस्थाहरूले गाँजाको अझ धेरै अनुसन्धान अघि बढाउनुपर्ने वकालत गर्दै आएका छन् ।

बीबीसी नेपालीमा प्रकाशित एक लेखमा सिंहदरबार वैद्यखानाका पूर्वनिर्देशक प्राध्यापक डा. चन्ऽराज सापकोटाकाले विश्वयुद्धको समयमा वैद्यखानाले गाँजाबाट झाडापखालाको औषधि उत्पादन हुने गरेको बताएका छन् । उक्त औषधि युरोपेली र अमेरिकी मुलुकहरूमा निर्यात् हुन्थ्यो। तर अहिले हाम्रै देशमा बर्सेनि सयौँ बालबालिकाहरूको ज्यान झाडापखालाले लिने गरेको छ।

नेपालमा प्राचीनदेखि नै गाँजालाई औषधिको रूपमा प्रयोग हुँदै आएको इतिहास छ। तर गाँजामा प्रतिबन्ध लगाएसँगै गाँजाबाट उत्पादन हुने औषधिमा पनि प्रतिबन्ध लगाइयो। आयुर्वेद साथै अथर्ववेदमा पनि गाँजा विभिन्न रोगहरूको उपचारमा प्रयोग हुने उल्लेख गरिएको छ। त्यसैले अहिले भारतमा पतञ्जलीका वैज्ञानिकहरूले गाँजाबाट औषधि बनाउन निरन्तर खोज र अनुसन्धानमा लागिपरेका छन् । हाम्रो मुलुकले पनि गाँजाबाट औषधि उत्पादन गरेर ‘प्याटेन्ट’ दर्ता गरी निर्यात गर्न सके नेपाली अर्थतन्त्र कुन उचाइमा पुग्थ्यो होला?

हेम्पको सम्भावना

गाँजामा सय भन्दा बढी तत्वहरू पाइन्छ । तीमध्ये टिएचसी र सीबीडीलाई सबैभन्दा महत्वपूर्ण मानिन्छ। हेम्पमा ०.३ प्रतिशतभन्दा कम टिएचसी हुन्छ । त्यसैले हेम्पको फूललाई भन्दा रेसाहरूलाई विभिन्न सामानहरूको उत्पादनमा प्रयोग गरिन्छ। नेपालको ग्रामीण भेगमा अहिले पनि हेम्पबाट निर्मित डोरी तथा कपडाको प्रयोग हुन्छ। अहिलेको खोज र अनुसन्धान अनुसार प्लास्टिकको सबै भन्दा प्राकृतिक र जैविक विकल्प ‘हेम्प’ पनि हुनसक्ने देखाएको छ। अनुसन्धान अनुसार साधारण प्लास्टिक कुहिनलाई ४५० वर्ष सम्म लाग्छ। तर हेम्पबाट उत्पादित बायो-प्लास्टिक सजिलै कुहिनुका साथै बलियो र टिकाउ पनि हुन्छ।

सन् १९४१ मा हेनरी फोर्डले हेम्पबाट गाडी बनाएका थिए। उक्त गाडी गुडाउन हेम्पबाट उत्पादित इन्धनको प्रयोग भएको थियो। वातावरणलाई ध्यानमा राख्दै फोर्डले बनाएका उक्त गाडी स्टिल भन्दा दस गुणा बलियो थियो। अहिले पनि बीएमडब्लुको विद्युतीय कारको ढोकाको हृयान्डलमा हेम्पको प्रयोग हुन्छ । नेपालजस्तो मुलुकले पनि हेम्पको औद्योगिक विकासमा लगानी गरेमा धेरै आर्थिक लाभ लिन सकिन्छ।

हेम्पबाट बनेको ‘हेम्प क्रिट’ बाट सस्तो, बलियो र टिकाउ घर बनाउन सकिन्छ। फ्रान्समा अहिले पनि हेम्प क्रिटबाट बनेको १६ सय वर्ष पुरानो पुल छ। हेम्पको बोटबाट आउने रेसाबाट लुगा र कागज पनि उत्पादन गर्न सकिन्छ। नेपालमा पनि हेम्पबाट बनेको कपडाहरू ठमेल, वसन्तपुर जस्ता ठाउँहरूमा पाइन्छ। तर गाँजामा प्रतिबन्ध लगाएसँगै हेम्प उत्पादनमा पनि प्रतिबन्ध लाग्यो। त्यसैले पनि हेम्पको व्यापार नेपालमा फस्टाउन सकेको छैन।

गाँजा खेतीको नेपालमा पर्यटन, औषधि, हेम्प लगायत अन्य थुप्रै सम्भावनाहरू छ। नेपाली नागरिकहरूले गाँजा खेतीबाट आर्थिक लाभ लिनुका साथै ग्रामीण अर्थतन्त्रमा आमूल परिवर्तन ल्याउने औजार गाँजा हुनसक्छ। तर विडम्बना नेपाली समाजमा अहिले ‘गाँजा’ शब्द उच्चारण पनि गर्नु हुँदैन भन्ने मान्यता छ। संयुक्त राष्ट्र सङ्घले गाँजालाई हालसालै लागू औषधको सूचीबाट हटाए पनि नेपाली समाजमा यस वनस्पतिलाई अझै पनि लागू औषधको दृष्टिले हेरिन्छ। कसैले झुक्किएर गाँजाको उच्चारण गर्दा पनि त्यस व्यक्तिको आचरणमा नै प्रश्न चिन्ह खडा गरिन्छ। तर अब हामीले गाँजाको बारे सकारात्मक साथै नकारात्मक दुवै पक्ष नियालेर स्वास्थ्य छलफल अगाडि बढाउने समय आइसकेको छ।

अहिले गाँजालाई वैधानिकता दिन देशका युवा र अभियन्ताहरू सामाजिक सञ्जालमा साथै सांसदहरू सदनमा पनि आवाज उठाउँदै आएका छन् । तर सरकारी तहमा भने गाँजाको व्यापारिक विस्तारका बारेमा व्यापक बहस र छलफलको अभाव देखिन्छ। गाँजालाई कसरी वैधानिक गर्न सकिन्छ? भन्ने बारे छलफल सरकारी स्तरमा हुन आवश्यक छ।

नेपालले गाँजामा प्रतिबन्ध लगाउन अन्तर्राष्ट्रिय सन्धिमा पनि हस्ताक्षर गरेको छ। उक्त सन्धिमा गाँजालाई अफिम र हिरोइन जस्तै लागू औषधको सूचीमा राखिएको छ। सार्क मुलुकहरूको व्यापार सम्झौताले पनि नेपालमा सजिलै गाँजाको प्रतिबन्ध हटाउन गाह्रो पर्न सक्छ । अहिले नेपालको कानुनअनुसार कसैको खल्तीमा ५० ग्राम गाँजा भेटियो भने पनि तीन महिना कैद र तीन हजारसम्म जरिवाना हुन सक्छ । त्यसैले अन्तर्राष्ट्रिय सन्धि सम्झौता साथै कानूनमा पनि नेपालले धेरै कसरत गर्नुपर्ने देखिन्छ।

धान, मकै जसरी गाँजा सजिलै उत्पादन गरी बिक्री गर्न सकिने धेरैको बुझाई छ । तर गाँजा वैधानिक भएसँगै चुनौतीहरू पनि थपिँदै जान्छ। उत्पादित गाँजालाई अन्य मुलुकहरूमा बजार पाएन भने के गर्ने? भोलिका दिनमा हाम्रा युवाहरू गाँजामा तल्लीन भएर अनुत्पादक भएर बसे भने के गर्ने? वैधानिकरणसँगै आपराधिक गतिविधि, तस्कर र बिचौलियाहरू पनि सक्रिय हुन्छन् । त्यसका लागि के हाम्रो सुरक्षा संयन्त्र तयार छ ?

एउटा अध्ययनले सन् २०३५ सम्म गाँजाको अर्थतन्त्र ३५ बिलियन अमेरिकी डलर हुने प्रक्षेपण गरेको छ। त्यसबाट नेपाल र नेपालीले कसरी लाभ लिन सक्छन् ? भन्नेबारे सोच्ने समय आएको छ। देशको पश्चिम पहाडी भूभागमा गाँजा रोप्न उत्तम हुने प्रारम्भिक अध्ययनको निष्कर्ष छ। कर्णाली प्रदेशको ग्रामीण अर्थतन्त्रलाई उत्थान मात्रै होइन कायापलट गर्न सक्ने क्षमता छ गाँजामा। चुरेको पहाड दोहन गर्न छोडेर त्यहाँ गाँजा खेती गर्दा धेरै आम्दानी हुन् सक्छ। त्यसैले समय रहँदै बहुआयामिक गुण भएको यस वनस्पतिको महत्व र उपयोगितामा बारम्बार सक्रिय छलफल र शैक्षिक अनुसन्धान जरुरी छ। सँगसँगै गाँजा वैधानिकरण पछि आउने चुनौतीहरूलाई पनि ध्यानमा राखी पूर्व तयारी गर्न आवश्यक छ । त्यसैले यसबारे आउने दिनहरूमा बृहत् बहस र छलफल अत्यावश्यक छ।



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0