‘देउवा प्रधानमन्त्री भएका छन् भन्दैमा म चुप बस्दिनँ’ – Online Khabar


अघिल्लो आइतबार कवि श्रवण मुकारुङ ‘बौलाए’ । सम्भवतः उनको टाउको फनफनी घुम्यो । आँखा तिर्मिर-तिर्मिर भए । उनको दुःखेसो त, ‘नाथे स्वास्थ्य क्षेत्र शुद्धीकरण नगरेकोमा’ थियो । तर, उनलाई दशा लाग्यो । आफ्नै पैतालाले कहाँ टेकिएको छ ? भेउ पाएनन् । उनी रन्थनिए ।

बिहान ११ नबज्दैको घटना । नागरिक आन्दोलनमा सम्मिलित भएर सिंहदरबारनिर मात्र के पुगेका थिए, दक्षिण गेटतर्फ बढ्दै गर्दा प्रहरीले उनको कठालो समात्यो । लछारपछार गर्‍यो । यहीबेला ‘खड्ग ओली अत्याचार बन्द गर’ भन्दै मुकारुङले विरोध गरे ।

त्यस दिन मुकारुङ सहित दुई दर्जन कवि-लेखक पक्राउ परे । उनीहरूलाई भृकुटीमण्डपको महेन्द्र पुलिस क्लबमा लगेर राखियो । दिनभर त्यहाँ थुनेपछि साँझपख मात्र छाडियो ।

संयोग कस्तो जुर्‍यो भने श्रवण मुकारुङ, खगेन्द्र संग्रौलाले नारा लगाएको २४ घन्टा नबित्दै प्रधानमन्त्री केपी शर्मा ओली पदच्यूत भए । बृहत् नागरिक आन्दोलनले सिंहदरबारमा गरेको उक्त प्रदर्शन नै ओली विरुद्धको अन्तिम आन्दोलन बन्न पुग्यो ।

‘हामीले सडकमा नारा मात्र के लगाएका थियौं, तानाशाही सत्ता ढल्न पुग्यो’, ठट्यौली शैलीमा मुकारुङले व्यंग्य गरे ।

पुलिस क्लबको चिसो बेन्चमा बस्नुपर्दाको क्षण उनले अग्रज लेखक खगेन्द्र संग्रौलासँग सेल्फी खिच्दै कैद गरे । किनभने यो त्यही प्रहरी थाना थियो, जहाँ कवि/पत्रकार कृष्ण सेनलाई प्रहरीले चरम यातना दिएर हत्या गरेको थियो ।

प्रहरीले पक्राउ गरेपछि अग्रज लेखक खगेन्द्र संग्रौलासित बातचित गर्दै श्रवण मुकारुङ ।

‘पुलिस क्लबमा बस्दा मैले जनताका कवि कृष्ण सेनलाई सम्झिरहें’, श्रवण भन्छन्, ‘तिनै कृष्ण सेनहरूको बलिदानले प्राप्त गणतन्त्र एउटा सन्की शासकले नामेट पार्न खोजेकाले म सडकमा आएको हुँ ।’

कवि मुकारुङ अहिले ५३ वर्षका भए । जीवनकालमा सडक आन्दोलनकै कारण तीनपटक पक्राउ परे ।

पहिलोपटक २०४५ सालमा भारत मेघालयबाट नेपालीभाषीहरू खेदिएको विरोधमा आन्दोलन गर्दा हनुमानढोकामा दुई रात थुनिए । त्यतिबेला पञ्चायत प्रहरीको रवैया राम्रैसँग भोग्नुपरेको स्मरण उनी गरिरहन्छन् । दोस्रो पटक २०६३ सालको जनआन्दोलनमा दुई घण्टा पक्राउ परे ।

जनआन्दोलनका सबैभन्दा चर्चित कवि भएकाले उनी प्रहरीको तारो बनेका थिए । तेस्रोपटक भने यही आइतबार केपी शर्मा ओलीको शासनमा सडकमा उभिंदा मात्रै पनि पक्राउ परे ।

कवि श्रवण मुकारुङ भन्छन्- मैले फोन घुमाएर खोप लगाउने अवसर लिएँ भने अर्को एकजना मान्छेको भाग घट्छ । अरूको भाग खोस्न मेरो आत्माले दिंदैन । नेताका आसेपासे, सरकारी कर्मचारी तथा ठूला व्यापारीले जनताको लागि ल्याएको खोप हडप्ने काम निकृष्ट कर्म हो

सेतै कपाल फुलेका यी कविलाई रिसको पारो चढ्नुको कारण भने देशमा व्याप्त चरम बेथिति नै हो । मुकारुङलाई पहिलो लकडाउनकै बेला कोरोना संक्रमण भयो । त्यसयता सरकारले दर्जनौं पटक खोप ल्याएको घोषणा गरे पनि उनले खोप लगाउन पाएका छैनन् ।
चिनेजानेका मानिसलाई भनेर खोप लगाउने पक्षमा कदापि नरहेको बताउने यी कवि भन्छन्, ‘मैले फोन घुमाएर खोप लगाउने अवसर लिएँ भने अर्को एकजना मान्छेको भाग घट्छ । अरूको भाग खोस्न मेरो आत्माले दिंदैन ।’

श्रमिक, मजदूर र पहुँचहीन नागरिकले खोप लगाउन नपाएसम्म मुकारुङले खोप नलगाउने अड्डी लिएका छन् । नेताका आसेपासे, सरकारी कर्मचारी तथा ठूला व्यापारीले जनताको लागि ल्याएको खोप हडपेको कुरालाई उनी किटानका साथ निकृष्ट कर्म मान्छन् ।

स्वास्थ्य क्षेत्रमा भएको यही बेथितिविरुद्ध लड्न उनी आइतबार सिंहदरबार पुगेका थिए । बृहत् नागरिक आन्दोलनले उठाएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ आन्दोलन तथा समग्र स्वास्थ्य क्षेत्र शुद्धीकरणको प्रदर्शनमा पूर्ण समर्थन जाहेर गर्दै उनले गिरफ्तारी दिए ।

‘आइतबार मात्र होइन, म निरन्तर सडकमा जानेछु’ उनी भन्छन्, ‘स्वास्थ्य र शिक्षामा यतिसम्म बेथिति बढेको छ कि यसले गणतन्त्रकै धज्जी उडाएको छ ।’

उसो त मुकारुङ एक कवि मात्र होइनन् । १७ र ११ वषर्ीया छोरीका पिता समेत हुन् । आफ्ना सन्तानले शिक्षा र स्वास्थ्यमा भोग्नुपरेको असमानता र भोलि हुने चरम असमानता राम्रोसँग बुझेका छन् उनले । यसैले बेथिति विरुद्ध एक भएर लड्न सबैलाई आहृवान गरिरहेका छन् ।

‘कांग्रेसको सत्ता हुँदैमा चुप बस्दिनँ’

२०७० सालको निर्वाचनताका श्रवण मुकारुङ नेपाली कांग्रेस प्रवेश गरेको घटना त्यतिबेलाको साहित्यिक जमातमा ‘हटकेक’ बनेको थियो । तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाले मुकारुङ सहितको कवि लेखकको टोलीलाई स्वागत गरेका थिए ।

अहिले प्रजातान्त्रिक विचारमा आस्था राख्ने संस्था ‘नेपाली लेखक संघ’को अध्यक्ष छन् उनी । कांग्रेसका अध्ययनशील नेताहरूसँग उनको चिया-चमेना चलिरहन्छ । प्रवक्ता विश्वप्रकाश शर्माको ‘ऐना’ कार्यक्रमको शीर्षगीत पनि मुकारुङले नै लेखेका हुन् ।

कतिपय कांग्रेस नेता उनका गीत र कविताका बेहद प्रशंसक पनि हुन् । तर यी सबै कुरा तपसिल मान्ने मुकारुङ कांग्रेसको सत्ता हुँदैमा चुप नबस्ने उद्घोष गर्छन् ।
‘देउवा प्रधानमन्त्री भएका छन् भन्दैमा म सामाजिक न्यायको पक्षमा चुप लाग्ने कुरै आउँदैन’ आफूलाई सडकको सत्ता बताउने यी कवि भन्छन्, ‘म नेपाली कांग्रेसको शुभेच्छुक भए पनि हाँसीहाँसी जेल जान तयार छु ।’

उनको कविता ‘बिसे नगर्चीको बयान’ २०६२/६३ को आन्दोलनमा सयौं पटक सडकमा वाचन गरिएको थियो । अहिले फेरि आन्दोलनमा निरन्तर सहभागी भइरहँदा श्रवणको जोश अन्य युवाहरूमा सरेको बताउँछन् युवाकवि चन्द्रवीर तुम्बापो ।

‘खगेन्द्र संग्रौला, श्रवण मुकारुङ जस्ता लेखकहरू सडकमा आउनु ठूलो बिम्ब हो’ चन्द्रवीर भन्छन्, ‘उनीहरूको आवाजमा हजारौं जनताको आवाज समेटिएको हुन्छ । उनीहरूको विद्रोहको बलियो अर्थ हुन्छ ।’

मुकारुङ पनि आफूलाई जहिल्यै एक आम नेपाली मात्र सोच्ने गरेको बताउँछन् । यही सोच्दै आफ्नो डेरा सामाखुसीबाट साथीभाइ भेट्न बागबजारतिर आइरहन्छन् । गाडी नचल्दा हिंडेरै एकठाउँबाट अर्को ठाउँ पुग्छन् । जागीर नगरेकाले पूर्णकालीन लेखन नै उनको कर्म हो । साहित्यकार, संगीतकार भेट्नु, लेखपढ र सृजना गर्नु उनको दैनिकी बनेको छ ।

बागबजार पद्मकन्या क्याम्पस नजिकै रहेको कवि क्याफे चियापसलमा प्रायःजसो आइरहने यी कवि ‘सामाजिक न्याय र लोकतन्त्रको लागि जसको सत्ता भए पनि म चुप बस्ने छैन !’ भन्दै कुर्लिरहेका भेटिन्छन् ।



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0