संकटको भुमरीमा फेवाताल र संरक्षणका सूत्र – Online Khabar


फेवाताल पर्यावरणीय र पर्यटकीय गन्तव्यको रुपमा परिचित सिमसार क्षेत्र हो । यो पोखराको मुटुमा अवस्थित छ । यसको जलाधार क्षेत्र पश्चिममा साविकको भदौरे, तामागी, चापाकोट र उत्तरमा नागडाँडा, सराङकोटसम्म पर्दछ । वरपरको बढ्दो शहरीकरणका साथै फोहोर पानीको निष्काशन केही मात्रामा तालसँग जोडिएको छ । वर्षासँगै जलाधार क्षेत्रबाट बगेर आएको गेग्रान र कृषि उत्पादनको लागि प्रयोग गरिएको रासायनिक मल वर्षासँगै बगेर तालको पानीमा मिसिन आउने क्रम जारी छ । यसले तालमा जलकुम्भी झारको व्यापक विकाससँगै यसको फैलावट बढेको पाइन्छ ।

विशेषगरी पानीमा रहेको नाइट्रेट, फस्फेट र एमोनियाका कारणले जलकुम्भी फैलनुमा सकारात्मक भूमिका निर्वाह गरेको देखिन्छ । त्यसको अलावा हरेक पटक वर्षासँगै आएको गेग्रानसहितको पाँगो माटोले पनि जलकुम्भी झारको फैलावट गर्न सहयोग गरेको छ । अर्कोतिर दिनानुदिन तालको भू-सतह पुरिन गई तालको गहिराइ घटेको र मानव अतिक्रमणसँगै तालको क्षेत्रफल घटेको अनुसन्धानको तथ्याङ्कले देखाउँछ ।

फेवा जलाधार क्षेत्रको सबैभन्दा उच्च स्थान २ हजार ५१७ मीटर उँचाइमा रहेको पन्चासेको पश्चिमी भू-भागबाट निस्केको खोलामा स-साना पानीका मूल र स-साना खोलाहरू मिसिए सँगसँगै हर्पन खोला निस्किएको छ । हर्पन खोलाका प्रमुख सहायक खोलाहरूमा अँधेरी (खहरे), महभिर, बेतिनी, सिदाने, लौरुक र बाम्दी पर्दछन् । साविक चापाकोटको दक्षिणबाट निस्किएको हाँडीखोला हाल बाढीले आंशिक क्षति बनाएको गेग्रान पोखरी भन्दा करीब ५०० मीटर माथि मिसिएको छ । दक्षिणतिरको  भू–झुकाव करीब ३० देखि ५० प्रतिशतसम्म भिरालो छ भने पश्चिमतिरको भू–झुकाव ५० प्रतिशत भन्दा बढी भिरालो छ । डाँडाका साँघुरा खोंचहरूबाट बगेका उच्च भू—झुकाव भएका यी दुई खोलाहरूको कटान क्षमता गेग्रान पोखरी भन्दा माथिल्लो भागमा धेरै हुन्छ । यसका साथै खोलाको ढुङ्गा, माटो, गिटी, बालुवा संवाहन गर्ने क्षमता उच्च रहेको हुन्छ । गुगल अर्थबाट ऐतिहासिक तस्वीरहरूको संग्रह अध्ययन गर्दा फेवाको जलाधार क्षेत्रभित्र थुप्रै मोटर बाटोहरू निर्माण सँगसँगै मानव बस्तीहरू बढेको स्पष्टसँग देख्न सकिन्छ ।

खोलाको ढुङ्गा, माटो, गिटी, बालुवा संवाहन गर्ने क्षमता, खोलामा बहने पानीको विशिष्ट शक्ति, खोलाको पिंधमा सिर्जित तनाव र बहावको गति माथि निर्भर रहन्छ । खोलाको बहाव कम भू-झुकावमा आउँदा र फिजारिएको ठाउँहरूबाट बहँदा बहावसँग आश्रित उपरोक्त तीन आयामको परिमाण घट्न जान्छ ।

खोलाको बहावसँगै आएका ढुङ्गा, माटो, गिटी, बालुवा संवाहन गर्ने क्षमतामा ह्रास आउन गई बहावसँगै आएका सामग्रीहरूको खोलाको बहाव कमसँगै किनारामा र खोलाले छोडेको भागमा विसर्जन हुन्छ । हर्पन खोलाको उपल्लो तटीय क्षेत्रमा पानीको बहाव शक्ति धेरै हुने हुँदा ठूला–ठूला ढुङ्गाहरू बगाएर ल्याएको देख्न सकिन्छ भने फेवातालको मुखमा खोलाको बहाव शक्ति थोरै हुने हुँदा मसिनो पाँगो माटो देख्न सकिन्छ । उच्च भू-झुकावको खोलाहरूको उच्च शक्तिमा ह्रास आउने शुरुवातको विन्दुमा नै हालको गेग्रान पोखरी निर्माण भएको देखिन्छ ।

उच्च भू–झुकावमा बग्ने खोलाहरूको ढुंगा बगाउने क्षमता खोलामा आउने पानीको परिमाण, पानी बग्ने निकासमा पानीले ओगट्ने परिमिति, त्यसको क्षेत्रफल र खोलाको पिंधको भू-झुकावमा भर पर्दछ । फेवा जलाधार क्षेत्रको उच्च भू-झुकावलाई मध्यनजर गर्दा माथिल्लो तटीय क्षेत्रमा खोलाको बहावमा आउने ठूला–ठूला ढुंगा साथै रुखहरू बगाउन सक्ने क्षमता देखिन्छ ।

२०६५ सालमा सराङकोटको विभिन्न स्थानमा पहिरोसँगै आएको सेदीबगर, भकुण्डेको बाढीले ९ जनाको ज्यान लिएको थियो । साविकको जिल्ला विकास समिति कास्कीको समन्वयमा त्यतिखेरको बाढीपहिरो क्षति स्थलगत अनुगमनमा देखिएका फेवा जलाधार क्षेत्रभित्रको ठाडो खोलाहरूको वितण्डा आज १३ वर्षपछि पुनः दोहोरिएको छ । २०७८ असार २४ गतेको अविरल वर्षासँगै हर्पन खोलामा आएको बाढीले घाटीछिनास्थित गेग्रान पोखरीको बाँध आंशिक रुपमा बगाएको छ । फेवा जलाधार संरक्षणमा गेग्रान पोखरीको महत्व, पानीसँग अन्तरसम्बन्ध भएका भौतिक संरचना निर्माण डिजाइनका महत्वपूर्ण पक्षहरू बारेमा केन्द्रित रहेर यो आलेख तयार पारिएको छ ।

गेग्रान पोखरी निर्माको उद्देश्य

फेवा जलाधार क्षेत्रको माथिल्लो भू-भाग अत्यन्त कमजोर माटो र चट्टानले बनेको छ । हर्पन खोलाको उत्पत्ति स्थानबाट तल्लो फिजारिएको बाढी मैदानसम्म (घाटीछिना) आइपुग्दा माथिल्लो भू–सतहको झुकाव धेरै हुने हुँदा खोलाको कटान क्षमता धेरै हुन्छ । यसले गर्दा भू–क्षय, पहिरो गएर थुप्रिएको ढुङ्गा, माटो, गिटी, बालुवालाई खोलाको उर्लंदो भेलले सहज रुपमा बगाएर ल्याउँछ ।

पहाडी भू-भागमा उच्च भू–सतह हुने हुँदा त्यहाँ बन्ने सडकहरूका किनारामा बग्ने वर्षाको पानीले कटान गरी भू–क्षय हुने, अत्यधिक वर्षा, अव्यवस्थित डोजर बाटो निर्माण, वन फडानी र प्रकृतिमाथि मानवको प्रहारको कारणले निम्त्याएको पहिरो आदि कारणले गर्दा भू–क्षय, भिरालो जमीनको कटान हुन गई पहिरो निम्त्याउँछ ।

सन् २०१५ मा युएनडीपीले गरेको अध्ययन प्रतिवेदन अनुसार फेवा जलाधार क्षेत्रमा वर्षेनि २७ लाख ८४ हजार २५० घनमिटर गेग्रान बगाएर ल्याउने तथ्याङ्क देखाउँछ, जसमा हर्पन खोलाले मात्र वर्षेनि १० लाख घनमिटर गेग्रान बगाएर ल्याउने तथ्याङ्क प्रतिवेदनमा समेटिएको छ । यस जलाधार क्षेत्रभित्र २९ वटा पहिरोहरू रहेको तथ्याङ्क उक्त प्रतिवेदनले देखाउँछ । त्यस्तै सन् २००२ मा जाइकाले गरेको अध्ययनबाट वर्षेनि सालाखाला १ लाख ७५ हजार घनमिटरदेखि २ लाख २५ हजार घनमिटर गेग्रान फेवातालमा जम्मा हुने तथ्याङ्क देखाउँछ ।

सालाखाला वार्षिक ४ हजार मी.मी. यो जलाधार क्षेत्रमा वर्षा हुन्छ । सन् १९७९ मा १३ किमी निर्माण भएको माटे सडकको लम्बाइ सन् २०१३ सम्म आइपुग्दा ३१० किमी भएको देखिन्छ । सडक निर्माण भएसँगै हुने भू—क्षय र पहिरोको कारणले वर्षाको पानीसँगै आउने लेदो माटोसहितको गेग्रानले गर्दा वर्षेनि तालको सतह पुरिन गई सन् १९४० मा १० वर्ग किमी क्षेत्रफल भएको ताल सन् २००० मा आइपुग्दा ४.४ वर्ग किमी क्षेत्रफलमा सीमित हुन पुगेको थियो । लेदो माटो र गेग्रानलाई फेवातालमा छिर्न नदिनको लागि हर्पन खोलामा गेग्रान पोखरी आवश्यक हुने भएकोले यसको निर्माण गरिएको हो (चित्र नं. १) । गेग्रान पोखरीको अलावा फेवा जलाधारमा उक्त युएनडीपीको प्रतिवेदनले ११७ वटा भू-क्षय रोक्नको लागि स-साना निर्जीव संरचनाहरूसहित सजीव संरचना प्रस्ताव गरेको थियो ।

गेग्रान पोखरीको डिजान 

ऐतिहासिक जलविज्ञान सम्बन्धी जस्तै- बाढीको बहावको मात्रा, समय, वर्षा, तापक्रम, पहिरो, भू–क्षय आदि तथ्याङ्कहरूको आवश्यकता र विश्लेषण विना निर्माण गरिएको भौतिक पूर्वाधारहरू दिगो हुँदैनन् । डिजाइनमा आवश्यक यस्ता तथ्याङ्कहरू हामीसँग मुश्किलले ५० वर्षसम्मको पनि पाउन गाह्रो हुने अवस्था छ ।  ठूलो बाढी र बाढी आउन सक्ने सम्भावित समय प्रक्षेपणको लागि यी तथ्याङ्कहरू अत्यन्त महत्वपूर्ण हुन्छन् ।

यति थोरै समयको तथ्याङ्कहरूबाट १०० वर्षको बाढीलाई प्रक्षेपण गरी डिजाइन गरे पनि भविष्यमा आउन सक्ने बाढीलाई सही आकलन गर्न सकिंदैन । इतिहासमा आएका आकस्मिक बाढीका तथ्याङ्कहरूले पानीमा बन्ने पूर्वाधारहरूको डिजाइनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् । पूर्वाधार डिजाइनमा यस्ता आकस्मिक बाढी र बाढीसहित गेग्रान, लेदो माटोका तथ्याङ्कहरूको विश्लेषण गरी खोला र नदी किनारामा निर्माण गरिने भौतिक पूर्वाधारहरूको परिकल्पना गर्न सकेमा पूर्वाधारमा दिगोपन आई ठूलो जनधनको क्षति हुनबाट जोगाउन सकिन्छ ।

 डिजानमा विज्ञहरूको आवश्यकता

कुनै पनि भौतिक संरचना डिजाइनमा क्षेत्रगत विशेषज्ञहरूको आवश्यकता पर्दछ । पानीमा निर्माण गरिने भौतिक संरचनाहरू पानी नभएको स्थानमा गरिने संरचनाहरू भन्दा पृथक् हुन्छन् । भौतिक संरचनाको क्षेत्रगत आधारमा जल विज्ञान सम्बन्धी विज्ञ, माटो विज्ञान सम्बन्धी विज्ञ, भूगर्भिक विज्ञ, स्टक्चरल विज्ञ, नदी सम्बन्धी विज्ञहरूको आवश्यकता रहन्छ । यसैकारण यस्ता जोखिमयुक्त्त संरचना डिजाइनमा एउटा परिपक्व विज्ञहरूको समूह भएर संरचना डिजाइन गरिएको हुनुपर्दछ ।

गेग्रान पोखरीको क्षतिबाट सिका

समुदायमा सिभिल इन्जिनियर भन्ने वित्तिकै इन्जिनियरिङ विधाका सबै कुरा थाहा भएको भन्ने आम बुझाइ छ । हामी इन्जिनियर समुदायका पनि केही इन्जिनियर साथीहरूमा आफूलाई सबै विषयको ज्ञान छ भन्ने घमण्ड भएको पाइन्छ । डिजाइन पूर्वको तयारी, डिजाइनमा छुट्याइने बजेट, विज्ञहरूलाई कागजातमा मात्र सीमित गर्ने प्रचलन र परामर्शदाताहरूबाट डिजाइन भएर आएको रिपोर्टको विश्लेषण गरी स्वीकार गर्न सक्ने सरकारी कार्यालयमा प्राविधिक जनशक्तिको कमि पनि यसमा जिम्मेवार देखिन्छ ।

त्यस्तै, चेकजाँच नगरी परामर्शदाताको प्रतिवेदन स्वीकार, राजनीतिक दबाबमा योजनाको छनोट र सम्भाव्यता अध्ययन विनाको योजनाको छनोट गरी आर्थिक विनियोजन र कमजोर कार्यान्वयन पनि यसमा जिम्मेवार छ । बोलपत्र छिटो गर्नुपर्ने राजनीतिक दबाब, शिलान्यास र उद्घाटनमा हतारो, अध्ययन अनुसन्धान विनाको डिजाइन, कमजोर डिजाइन, डिजाइन गरे अनुसारको निर्माण गुणस्तर कायम गर्न नसक्नु, डिजाइन गरिएको भन्दा पूर्वाधारमा अस्वाभाविक बढी चाप पर्न जानु आदि कारणहरूले निर्माण भएको भौतिक संरचनाहरूको आयु कम हुन जान्छ ।

पहिलो तस्वीर : आंशिक क्षतिग्रस्त गेग्रान पोखरीको बाँध । दोस्रो तस्वीर : बाढीले बगाएर ल्याएको गेग्रान सहितका ठूला ढुङ्गावर्तमान अवस्थामा आंशिक फुटेको बाँधको (चित्र नं. २) तल्लोतटीय क्षेत्रमा खोलाले बगाएर ल्याएको करीब १ देखि १.५ मिटरका ढुङ्गाहरूलाई आधार मानी गणितीय हिसाब गर्दा बाँध फुट्दा निस्किएको पानीको उच्च बहाव करीब १२०० देखि १८६० घन मिटर प्रति सेकेन्ड आएको अनुमान गर्न सकिन्छ । गेग्रान पोखरी निर्माण उच्च भू-सतहबाट बगेर आएको ढुङ्गा, पाँगो माटो सहितको गेग्रानलाई छेक्न मात्र बनाइएको हुनुपर्दछ । खोलाको बहावलाई छेक्नको लागि र छेकेको पानीलाई संकलन गरी राख्न बलियो संरचनाको निर्माण हुनुपर्दछ । पानीको बहावलाई अवरोध मात्र गरेर संरचनाभित्रबाट पानी छिर्न दिंदा पानीको चाप संरचनामा कम पर्छ । सन् २०१५ मा युएनडीपीले गरेको फेवा जलाधार क्षेत्रको अध्ययन प्रतिवेदनमा प्रारम्भिक गेग्रान पोखरी डिजाइनमा यो कुरा उल्लेख गरेको पाइन्छ ।

उक्त प्रतिवेदनमा प्रस्तावित गेग्रान पोखरी हालको घाटीछिनास्थित आंशिक क्षति भएको गेग्रान पोखरीको स्थानमा नै प्रस्ताव गरिएको थियो । गेग्रान पोखरी निर्माणमा ०.६ देखि १.० मिटरसम्मका ठूला ढुङ्गाहरूको माध्यमबाट ३.५ मिटर अग्लो र ८.९ मिटर पिंधको चौडाइ भएको ढुङ्गे बाँधको प्रस्ताव गरिएको छ । थेग्रिएको गेग्रान वर्षेनि निकाल्नुपर्ने कुरा प्रतिवेदनमा उल्लेख गरिएको थियो । आंशिक क्षति भएको बाँध मर्मतमा यो कुराहरूलाई समेट्नुपर्ने देखिन्छ । बगाएको बाँधको मर्मतमा साना ढुङ्गाहरूसँगै सिमेन्ट मसलाको प्रयोग गर्नुको सट्टा बाढीले बगाएर ल्याएको ठूला ढुङ्गाहरूको प्रयोग गरी पानीलाई शतप्रतिशत रोकावट नगर्ने तर स-साना ढुङ्गाहरू र गेग्रानलाई छेक्ने रक फिल ड्यामको निर्माण गरी मर्मत गर्नुपर्ने देखिन्छ ।

विद्यमान गेग्रान पोखरीको बाँध निर्माणले फेवातालमा पाँगो माटो त कम गर्ला तर फेवा जलाधारबाट हुने भू-क्षयलाई रोक्ने देखिंदैन । सम्पूर्ण फेवा जलाधारबाट निस्कने ढुङ्गा, माटो, गेग्रानलाई फेवातालमा पुग्न रोक्नु मात्र दीर्घकालीन समाधान होइन । भू-क्षय हुने, पहिरो जाने विभिन्न स्थानहरूको पहिचान गरी ढुङ्गा, माटो, गेग्रानको उत्पत्ति स्थानमा नै साना साना भू–संरक्षण गर्ने संरचनाहरूको निर्माण गर्नु आजको आवश्यकता भएको छ ।

प्रदेश सरकार, स्थानीय सरकारले भावी दिनहरूमा अध्ययन अनुसन्धानमा सानो रकम विनियोजन गरी आफूसँगका विज्ञ, सम्बन्धित विश्वविद्यालयका विज्ञ साथसाथै निजी क्षेत्रसँग आवद्ध विज्ञहरूसँग हातेमालो गराई एकीकृत रुपमा कार्ययोजना अघि बढाउन सके फेवा जलाधार संरक्षण र फेवातालको दीर्घकालीन संरक्षणमा प्रभावकारी कदम हुनेछ ।

(यो आलेख प्रारम्भिक अध्ययनका आधारमा तयार पारिएको हो । यसबारे विस्तृत अध्ययनको निष्कर्ष अर्को आलेखमा प्रकाशित गरिनेछ– लेखकत्रय) 

(डा.अर्जुन बानियाँ जापानको साईतामा विश्वविद्यालय जियो न्भायरोमेन्ट न्जिनियरिङ विषयका पूर्व पोष्ट डक्टरल रिसर्चर हुन् । डा.महेन्द्र ब. बानियाँ गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयमा कार्यरत सिनियर डिभिजनल न्जिनियर हुन् भने ई. कौशल जि.स. न्जिनियरिङ अध्ययन संस्थानका उपप्राध्यापक हुन् )



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0