कम्युनिष्ट आन्दोलनभित्र चाकरी र गाली : इतिहासदेखि ओलीसम्म


‘आफ्नै सरकार ढाल्ने नाइके, लाजसरम पचेका, गद्दार …’ यो गाली आफ्नै निजी निवास बालकोटको बरन्डामा उभिएर अस्ति असार ३० गते केपी ओलीले आफ्ना समर्थकहरूबीच सहकर्मी माधव नेपाललाई गरेका हुन् । ‘माधव नेपाल – मुर्दावाद ! केपी बा ! आइ लभ यु !!’ अनि यो चाहिं ओलीको बोलीमा लोली मिलाउँदै समर्थकहरूले उनको घरको प्राङ्गणमा लगाएका नारा हुन् ।

राजनीति सबै नीतिहरूको माउ नीति हो । यसर्थ राजनीति गर्ने नेताहरू समाजको सबैभन्दा अगुवा, जिम्मेवार, सुसंस्कृत, आदर्शवान, चरित्रवान हुनुपर्दछ । अझ राज्यकै नेतृत्व गरिरहेका र गरिसकेका व्यक्तिहरू त झन् विनम्र र शालीन हुनैपर्दछ । उनीहरूले ‘रिस उठेको बेला वेद पढिन्न’ भन्न पाइँदैन ।

तर विडम्बना राज्य र पार्टीको नेतृत्व गरिरहेका र गरिसकेका कतिपय नेताहरू जो सबैभन्दा विनम्र, शालीन, जिम्मेवार, सुसंस्कृत, आदर्शवान, चरित्रवान हुनुपर्ने हो; उनीहरू नै सबैभन्दा अभद्र, आक्रामक, गैरजिम्मेवार, संस्कारहीन, ढोंगी, पाखण्डी र चरित्रहीन देखिन्छन् । समाजले प्रायः आफूभन्दा अघिल्ला पुस्ताहरू र अगुवाहरूबाट उत्तरदानको रूपमा संस्कार सिक्दै र संस्कृति निर्माण गर्दै जान्छ । त्यसैले सुसंस्कृत समाज निर्माणको मुख्य जिम्मा अघिल्ला पुस्ताह र समाजका अगुवाहरूकै हुन आउँछ ।

गलत स्कूलिङ

सामान्यतः मान्छे न त शतप्रतिशत असल हुन्छ न त शतप्रतिशत खराब । मान्छे पशुजगतबाट विकसित प्राणी भएकाले उसँग पशुत्व भाव निहित हुन्छ । तर सबैभन्दा सचेत सामाजिक प्राणी भएकाले आफूसँग भएको ज्ञान, विज्ञानको आधारमा आफूभित्रको पशुत्व भावलाई नियन्त्रण गरी मानवतालाई प्रवर्धन गर्ने भरपूर क्षमता पनि हुन्छ । नेता समाज र देशकै अगुवा हुनुको नाताले उसले आफूभित्रको पशुत्व भावलाई नियन्त्रण गरी मानवता प्रवर्धन गर्ने विशेष क्षमता राख्नै पर्दछ ।

यस विषयमा हाम्रो देश र समाजमा आजसम्म न त कहिल्यै सार्थक बहस भएको छ न त जिम्मेवार निकाय र अगुवाहरू बहस गर्नै तयार छन् । शायद अगुवाहरूको गलत स्कुलिङको कारणले होला नागरिक तहमा पनि यसबारे खासै चासो र चिन्ता देखिंदैन । उल्टै आदर्शहीन ढोंगी, पाखण्डीहरूकै महिमागान गाउने र अझ उनीहरूको अनुयायी बन्नमा गर्व गर्ने एकप्रकारको प्रतिस्पर्धा नै चल्न थालेको देखिन्छ ।

यस आलेखमा खासगरी विश्व कम्युनिष्ट आन्दोलनमा चाकरी र गाली संस्कृतिको विरासत र नेपाली कम्युनिष्ट आन्दोलनमा त्यसको प्रभावबारे संक्षिप्तमा चर्चा गरिनेछ ।

कम्युनिष्ट हुनु भनेको साम्यवादी हुनु हो । साम्यवाद भनेको संक्षिप्तमा भन्दा विश्वभरिका मानव जाति समान भएको ‘मानव-स्वर्ग’ हो । साम्यवादमा मानव मानवबीच वर्गीय, जातीय, लैंगिक, क्षेत्रीय लगायत कुनै पनि प्रकारका शोषण, उत्पीडन, भेदभाव रहँदैन । सबैखाले भेदभावको अन्त्य भएको उदात्त मानव मूल्यमा आधारित विश्व मानव समाज नै साम्यवाद हो । यति उदात्त वैचारिक आदर्श बोकेका कम्युनिष्टहरूका जीवन साँच्चै विचार अनुसार उदात्त छन् त ?

कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले सन् १८४८ मा कम्युनिष्ट घोषणा-पत्र प्रकाशन गरे । पूँजीवादको एकछत्र दुनियाँमा कम्युनिष्ट घोषणा-पत्रले सामान्य तरङ्ग मात्रै होइन, शक्तिशाली भूकम्प नै ल्याइदियो । घोषणा-पत्र प्रकाशन भएको २३ वर्षपछि संसारमा पहिलोपटक सन् १८७१ मा मजदूरहरूले सशस्त्र विद्रोह गरे । सत्ता कब्जा गरे । इतिहासमा पेरिस कम्युन निर्माण गरे । तर त्यो ७२ दिनपछि ढल्यो ।

चाकरीदेखि गालीसम्म

विश्व कम्युनिष्ट आन्दोलनमा व्यक्तिको देवत्वकरण (चाकरी) र दानवीकरण (गाली) को इतिहास प्रथम अन्तर्राष्ट्रिय (सन् १८६४) को समयदेखि नै शुरु भएको देखिन्छ । मार्क्सका समकालीन बाकुनिनले प्रथम अन्तर्राष्ट्रियको नेतृत्व हत्याउन मार्क्सको चाकरी गर्दै भनेका थिए- ‘म तपाईंको शिष्य हुँ र त्यसमा मलाई गर्व छ ।’ जब नेतृत्व हत्याउन सकेनन् त्यसपछि मार्क्सलाई गाली गर्दै भनेका थिए- ‘एकजना जर्मन र यहुदी हुनाको कारण ऊ टुप्पीदेखि पैतालासम्म निरंकुशतावादी र तानाशाह छ ।’

त्यस्तै दोस्रो अन्तर्राष्ट्रियको पाँचौं महाधिवेशन (सन् १९००) को सेरोफेरोमा काउत्स्कीले लेनिनलाई ‘एकेश्वरवादीहरूको ईश्वर’ भनेर गाली गरेका थिए भने लेनिनले काउत्स्कीलाई गद्दार घोषणा गर्दै ‘गद्दार काउत्स्की’ पुस्तक नै लेखेका थिए । त्यस्तै लेनिनले रोजा लग्जेम्बर्गलाई कहिले महान क्रान्तिकारी विदुषी भन्दै आकाशमा उडेको चीलसँग तुलना गर्थे त कहिले धूर्त स्याल जस्ती आइमाई भनेर निन्दा पनि गर्थे ।

विश्व कम्युनिष्ट आन्दोलनमा चाकरी र गालीको कीर्तिमान ख्रुश्चोभले बनाएको देखिन्छ । ख्रुश्चोभले स्टालिन जीवित हुँदा गरेको चाकरी र उनी मरेपछि गरेको गाली शायद विश्व कम्युनिष्ट आन्दोलनको सबैभन्दा रोचक नमूना होला । स्टालिन जीवित छँदा ख्रुश्चोभ भन्थे- ‘स्टालिन मानव जातिका महानतम प्रतिभाशाली व्यक्तित्व, शिक्षक र नेता एवं सदा विजयी मार्शल तथा जनताका सच्चा मित्र हुनुहुन्छ ।’ चाकरी गर्दागर्दा उनले स्टालिनलाई ‘आफ्नै पिता’ भनेर पनि सम्बोधन गर्थे रे !

स्टालिनको मृत्यु (सन् १९५३) भएपछि ख्रुश्चोभले स्टालिनलाई शब्दकोशमा भएका सबै शब्दहरू प्रयोग गरेर गाली गरेका थिए । उनले स्टालिनलाई- ‘हत्यारा, अपराधी, डाँका, दुस्साहसी, जोखिमबाज, भयंकर इवान, निरंकुश शासक, बञ्चरोको भरमा शासन टिकाएका रुसी इतिहासको सबैभन्दा ठूलो तानाशाह, मूर्ख, बुद्धिहीन, बेइमान आदि भनेर गाली गरेका थिए । गाली गर्दागर्दा ख्रुश्चोभले एकपटक यतिसम्म पनि भनेका थिए कि- ‘थुक्क स्टालिन ! १० वर्ष पहिले मरेको हुँदो हो त…।’

लोकतन्त्रको बन्ध्याकरण

वास्तवमा ख्रुश्चोभले स्टालिनलाई यति तल्लोस्तरको गाली किन गरे ? तथ्याङ्कमा स्टालिनको निरंकुशता हेरौं । उनले सन् १९३४ देखि १९३९ को बीचमा लगभग ५० लाख पार्टी सदस्यहरूलाई विभिन्न आरोपमा गिरफ्तार गरेका र तीमध्ये करीब ५ लाखको हत्या गरिएको अनुमान छ । १९३४ मा पार्टीको सत्रौं महाधिवेशनमा भाग लिएका १८२७ प्रतिनिधिमध्ये १९३९ को अठारौं महाधिवेशनसम्म आइपुग्दा जम्मा ३७ जना मात्रै जीवित रहेका थिए । सत्रौं महाधिवेशनबाट निर्वाचित १३९ सदस्यहरूमध्ये ९८ जनालाई मारिएको थियो । स्टालिनलाई ‘नोकरशाही र निरंकुश शासक’ भन्दै गाली गर्ने त्रोत्स्कीलाई देश निकाला मात्रै गरेनन्, १९४० मा मेक्सिकोको एउटा गाउँमा लुकेर बसेको अवस्थामा बञ्चरो प्रहार गरेर निर्ममतापूर्वक हत्या गराए ।

रुसी कम्युनिष्ट पार्टीको स्थापना, क्रान्तिको तयारी, बोल्सेभिक क्रान्तिमा खेलेको नेतृत्वदायी भूमिका, दोस्रो विश्वयुद्धका प्रमुख नाइके हिटलरमाथिको विजय स्टालिनका महान् योगदानहरू थिए भने आफ्ना विरोधीहरूमाथि क्रूर दमन गर्नु उनका अपराध थिए । जब लोकतन्त्रमाथि बन्देज लगाइन्छ तब आलोचनात्मक चेत र सिर्जनात्मक क्षमतामा नसबन्दी हुन्छ । जसको अनिवार्य परिणाम कि त अन्धभक्तहरू जन्मन्छन् कि त भयंकर विरोधीहरू । स्टालिनको काखमा ख्रुश्चोभ जन्मनुमा स्टालिनको निरंकुशता नै कारक देखिन्छ ।

चिनियाँ कम्युनिष्ट पार्टीभित्र पनि चाकरी र गाली मौलाएकै देखिन्छ । चिनियाँ कम्युनिष्ट पार्टीभित्रको एउटा मात्रै उदाहरण हेरौं । सन् १९५९ मा रक्षामन्त्री बनेका लिनप्याओ सन् १९६९ को नवौं महाधिवेशनबाट चिनियाँ कम्युनिष्ट पार्टीको उपाध्यक्ष र घोषित रुपमै माओको उत्तराधिकारी भएका थिए । लिनप्याओ भन्थे- ‘अध्यक्ष माओ असाधारण रुपले महान् हुनुहुन्छ । अध्यक्षका सबै कुरा महान् छन् । अध्यक्ष माओका हरेक शब्दको अर्थ हामी जस्ता हजार जनाले बोलेको भन्दा बढी हुन्छ ।’

पछि यिनै लिनप्याओले माओलाई मार्न ‘प्रोजेक्ट ५७१’ तयार गरे । षड्यन्त्रको योजना खुलेपछि उनी मंगोलियातर्फ भागे । जहाँ हवाई दुर्घटनामा उनको मृत्यु भयो ।

माओ पार्टी र देशमा सधैं जनवाद (लोकतन्त्र) को पक्षपोषण गर्दथे । ‘सयौं फूललाई फुल्न देऊ, हजारौं विचारलाई प्रतिस्पर्धा गर्न देऊ, ढोका बन्दवादको विरोध गर’ माओका यी भनाइ असाध्यै चर्चित थिए । तर माओलाई पनि आलोचना भन्दा प्रशंसा नै मनपर्‍यो । उनले नेतृत्व निर्माणका लागि लोकतान्त्रिक विधि निर्माण गर्नुभन्दा लिनप्याओलाई उत्तराधिकारी घोषणा गर्नु सजिलो ठाने । जसको परिणाम लिनप्याओ जन्मियो ।

नेपालमा पनि उस्तै

नेपाली कम्युनिष्ट आन्दोलन पनि चाकरी र गालीबाट अछुतो छैन । स्टालिन र माओत्सेतुङको प्रभाव नेपाली कम्युनिष्ट आन्दोलनमा दार्शनिक, वैचारिक, राजनीतिक, सांगठनिक, सांस्कृतिक सबै क्षेत्रमा जबर्जस्ती परेको देखिन्छ । जुन स्वाभाविक पनि हो । किनकि, एकातिर हिटलरलाई परास्त गरेर विश्वकै शक्तिशाली बनेका स्टालिन रुसमा थिए भने अर्कोतिर च्याङकाइसेक र जापानी साम्राज्यवादलाई परास्त गरेर कम्युनिष्ट सत्ता स्थापित गरेका माओत्सेतुङ चीनमा उदाएका थिए ।

यी दुवै कम्युनिष्ट पार्टीका नेपाली प्रतिनिधिहरू हुने नै भए । किनकि नेपाल कम्युनिष्ट पार्टी स्थापना (सन् १९४९) भएको झन्डै एक दशकपछि अन्तर्राष्ट्रिय स्तरमा रुसी र चिनियाँ कम्युनिष्ट पार्टीबीच महाविवाद शुरु भएको थियो । जुन महाविवादले संसारभरिका कम्युनिष्ट पार्टीहरूलाई दुई खेमामा विभाजित गर्‍यो । र, एकले अर्कालाई संशोधनवादी, दक्षिणपन्थी करार गर्न थाले । नेपाली कम्युनिष्ट आन्दोलनमा गालीगलौज त्यहींबाट शुरु भयो । राजतन्त्रको अन्त्य गर्न कांग्रेससँग संयुक्त मोर्चा बनाउनुपर्छ भन्ने पुष्पलाल श्रेष्ठलाई गाली गर्दै २०३१ सालमा मोहनविक्रम सिंहले ‘गद्दार पुष्पलाल’ नामको पुस्तक नै लेखे ।

माओवादी जनयुद्धकालमा मुख्यतः प्रचण्ड र बाबुरामबीच निकै तीखो विचारधारात्मक संघर्ष भएको देखिन्छ । उनीहरूबीच वैयक्तिक संघर्ष नहुँदानहुँदै पनि कहिलेकाहीं निषेधात्मक प्रकृतिको संघर्ष पनि भएको देखिन्छ । स्टालिनको निषेधात्मक विचार र शैलीको सधैं विरोधी रहेका बाबुराम भट्टराई आफ्नै पार्टीभित्र झन्डै त्यही विचार र शैलीको शिकार बनेका थिए ।

माओवादी पार्टीभित्र ‘आलोक प्रवृत्ति’ को रूपमा संश्लेषण गरिएको यानप्रसाद गौतम (आलोक) मा डरलाग्दो निषेधात्मक प्रवृत्ति थियो । उनले रामेछापका रमेश ढुङ्गेलको हत्या समेत गरेका थिए । ख्रुश्चोभी शैलीमा प्रचण्डको महिमामण्डन गर्ने र अरुलाई रौं बराबर नगन्ने आलोकले अन्त्यमा प्रचण्डमाथि नै हमला गर्न थाले । त्यसपछि बल्ल उनीमाथि कारबाही गरियो ।

त्यस्तै कुनैबेला माओवादी पार्टीमा रामबहादुर थापा (बादल) मा ‘लिनप्याओ प्रवृत्ति’ रहेको निष्कर्ष निकालिएको थियो । चुनवाङको बैठक (वि.सं. २०६१) मा आँसु झारेर अंकमाल गर्दै आफ्नो नेता र कमाण्डर प्रचण्ड नै रहेको घोषणा गरेपछि उनीमाथि लागेको ‘लिनप्याओ प्रवृत्ति’ प्रचण्डले फिर्ता लिएका थिए । तर आरोप फिर्ता लिएको झन्डै डेढ दशकपछि बादल र प्रचण्डबीचको सम्बन्ध झनै तिक्ततापूर्ण देखिएको छ । आफू गृहमन्त्री भएको बेला बादलले प्रचण्डलाई जनावरको संज्ञा दिंदै ‘जावलाखेलको चिडियाखानामा लगेर थुनिदिने’ धम्की दिएका थिए ।

ओलीको उदय

केपी ओली माओवादी जनयुद्धको घोर विरोधी थिए । माओवादी जनयुद्धलाई हत्या-हिंसा र जनयुद्धको नेतृत्वलाई हत्यारा, अपराधी र आतंककारी भन्थे । प्रचण्डलाई कहिले बिरालोसँग तुलना गर्थे त कहिले ब्वाँसोसँग । उता प्रचण्ड पनि के कम ? एमाले पार्टी संशोधनवादी, दक्षिणपन्थी रहेको र ओली गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता विरोधी भएको भन्दै ‘बयलगाडे’ उपनाम नै दिएका थिए ।

दुवैको स्वार्थले अन्ततः दुई ध्रुवका यी यात्रीद्वयलाई एक ठाउँमा ल्याइदियो । दुनियाँ छक्क परेर हेरेको हेरेकै भए । ‘राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैन’ भनेको हो र’छ गाँठे भन्दै तमासा हेर्नथाले ।

पार्टी एकता घोषणा सभामा ओलीले प्रचण्डलाई देखाउँदै भनेका थिए- ‘नेकपा टेम्पो होइन, एउटा मात्रै ड्राइभर हुने; यो त जेट विमान हो । याद रहोस् जेट विमानमा दुईजना पाइलट हुन्छन् ।’ त्यसबेला ओलीको कुराले प्रचण्ड पनि हर्षविभोर भएका थिए ।

अहिले तपाईंको समर्थनमा गुन्जिएको ‘आई लभ यु’ को नारा केही समयपछि ‘आई हेट यु’ भएर तपाईंकै कानमा गुन्जिनेछ । किनकि, तपाईंले दिएको संस्कारले आलोचनात्मक चेत भएको सिर्जनशील मान्छे जन्माउनै सक्दैन

पार्टी एकता भएको दुई वर्ष नबित्दै दुई पाइलटबीचमा शुरु भयो स्वार्थ-संघर्ष । आरोप-प्रत्यारोप, गालीगलौजमा प्रतिस्पर्धा नै चल्यो । विवादकै क्रममा २२ कात्तिक २०७७ मा प्रचण्डसहित पाँच सचिवालय सदस्यले बैठकको माग गर्दै ओलीलाई पत्र बुझाए । त्यसलगत्तै ओलीले कात्तिक २५ मा १० पेज लामो पत्र प्रचण्डलाई लेखे । प्रचण्डले कात्तिक २८ गते १० पेजे पत्रको जवाफ ३३ बुँदा र १९ पेज मार्फत फर्काए । प्रचण्डले ३३ बुँदामार्फत ओलीलाई राष्ट्रघाती, भ्रष्टाचारी, अहंकारी, तानाशाही, बुर्जुवा, गणतन्त्र विरोधी, सङ्घीयता विरोधी सबै आरोपहरू लगाए ।

जब सर्वोच्च अदालतले नेकपालाई साविकको एमाले र माओवादी बनाइदियो, त्यसबेलादेखि ओलीको लडाइँ माधव नेपालतिर सोझियो । ओलीले नेपाललाई धम्क्याएर होस् वा लोभ्याएर पछिपछि घिसारिरहे । माधव नेपाल घिस्रिरहे । सर्वोच्च अदालतले असार २७ गते बालुवाटार छाडेर बालकोट फर्कने परमादेश जारी गरेपछि ओली नराम्रोसँग तिल्मिलाए । भएजति सबै अस्त्र निष्क्रिय भएपछि अन्ततः ओली बालकोट फर्कन बाध्य भए । तामझामसहित बालकोट फर्किए । घर पुगेपछि बार्दलीबाट गाली बर्साए- ‘आफ्नै सरकार ढाल्ने नाइके, लाजसरम पचेका, गद्दार …।’

केपी ओलीलाई प्रश्न गर्न मन छ- ‘आई लभ यु केपी बा’ भन्ने आवाजहरूमा के साँच्चै तपाईंप्रति सम्मान लुकेको होला ? कि क्षणिकको निहित स्वार्थ मात्रै ? मलाई लाग्छ, मनैदेखि सम्मान गर्नेहरूले बाहिर नारा लगाइरहँदैन । संसारमा सत्यको बाटो हिंड्न जति गाह्रो हुन्छ, शक्तिको पूजा गर्न त्यतिकै सजिलो हुन्छ । यी आवाजहरू सम्मानको होइन, शक्ति पूजाको हो । तसर्थ, अहिले तपाईंको समर्थनमा गुन्जिएको ‘आई लभ यु’ को नारा केही समयपछि ‘आई हेट यु’ भएर तपाईंकै कानमा गुन्जिनेछ । किनकि, तपाईंले दिएको संस्कारले आलोचनात्मक चेत भएको सिर्जनशील मान्छे जन्माउनै सक्दैन ।

समाधान के ?

साम्यवादी उदात्त विचार बोकेका कम्युनिष्टहरू व्यवहारमा पूँजीवादी भन्दा पनि असहिष्णु, निषेधकारी र शक्ति पूजक किन हुन्छन् ? यसको अन्तर्यमा गएर हेर्दा दार्शनिक रुपमै समस्या देखिन्छ । द्वन्द्वात्मक भौतिकवाद सापेक्षित रूपमा वैज्ञानिक दर्शन हो । ज्ञान विज्ञानको विकास सँगसँगै यस दर्शनलाई पनि विकास गर्दै लैजानुपर्ने हो । तर त्यस्तो भएको देखिंदैन । विपरीतहरूको एकत्व नै विकास हो ।

द्वन्द्वात्मक भौतिकवादको एक प्रवर्ग निषेधको निषेध हो । जसरी विपरीतहरूको एकत्व सार्वभौम छ, त्यसरी निषेधको निषेध सार्वभौम छैन । यो सापेक्षित छ । सापेक्षित प्रवर्गलाई सार्वभौम मान्नु नै कम्युनिष्टहरू असहिष्णु, निषेधकारी र शक्ति पूजक बन्नुको एउटा कारण हो । द्वन्द्वात्मक बन्नुको अर्थ निषेधात्मक बन्नु होइन, शक्ति पूजक बन्नु होइन, गतिशील सन्तुलन कायम गर्नु हो ।

साम्यवाद एक परिकल्पना हो । यसको सफलताको सुनिश्चित गर्न सकिने आधारहरू बलिया छैनन् । सफल भएछ भने पनि यो निकै सुदूर भविष्यको कुरा हो । सामान्यत: भविष्यको बारेमा मान्छेले चिन्ता गर्नुपर्छ । तर सुदूर भविष्यको बारेमा चिन्ता गर्नु समयको बरबादी मात्रै हो । कम्युनिष्टहरूको अर्को नमिलेको कुरा यहीं हो । विचार साम्यवादी, व्यवहार सामन्तवादी । ट्रयाक्टरको इन्जिनमा जेट विमानको बडी जोड्दैमा ट्रयाक्टर आकाशमा उड्दैन । कागको शरीरमा मयुरको प्वाँख लगाउँदैमा काग, मयुर हुँदैन ।

पूर्ण समानुपातिक र सहभागितामूलक लोकतन्त्रको जगमा आवधिक निर्वाचनद्वारा पार्टी र राज्यभित्र नेतृत्व चयन गर्ने प्रणाली विकास गर्नुपर्दछ । एक व्यक्ति एक कार्यकारी जिम्मेवारी र अधिकतम दुई कार्यकाल निर्धारण गरिनुपर्दछ । नेतृत्व सम्बन्धी उत्तराधिकारीको कन्सेप्ट आजको लोकतान्त्रिक युगमा पूर्णरूपमा बेकार सावित भइसकेको छ । त्यसैले औपचारिक लोकतन्त्रको ठाउँमा सहभागितामूलक प्रत्यक्ष लोकतन्त्र लागू नगरेसम्म नेतृत्वका लागि छलछाम, षड्यन्त्र, चाकरी, गालीगलौज, निषेध बारम्बार भइनै रहनेछन् ।

राजनीति राज्य सञ्चालनको मूल नीति भएका कारण अब देश, काल, परिस्थिति अनुसार दर्शन, विचार र राजनीतिक सिद्धान्त निर्माण गर्न जरुरी छ । त्यो भनेको आजको सन्दर्भमा निजी स्वतन्त्रता र सामूहिकतामा आधारित समुन्नत समाजवाद हो । यसले गुण र दोषको आधारमा समर्थन र विरोध गर्दछ । कुनै पनि कुराको निषेध र पूजा गर्दैन, गतिशील सन्तुलनका आधारमा व्यवहार गर्दछ । अहिले राज्य र पार्टीको नेतृत्वमा रहेका अधिकांश नेतृत्वमा जुन अभद्रता, गैरजिम्मेवारीपन, संस्कारहीनता अनि ढोंग र पाखण्ड छ; त्यसमा क्रमशः परिवर्तन ल्याउनेछ ।



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0