धोका-गद्दारीको अनन्त भुमरीमा छटपटाएको कम्युनिष्ट पार्टी – Online Khabar


१ साउन, काठमाडौं । विश्व कम्युनिस्ट आन्दोलनमाथि लेखिएको चन्द्रदेव जोशीको एक लाख ८८ हजार शब्दको पुस्तकको निचोडले भन्छ– नेपालमा कम्युनिस्ट पार्टीको जन्म संकीर्णताको आधारमा भएको थियो ।

आगामी महिना प्रकाशित हुने उक्त पुस्तकमा नेपाली कम्युनिष्टहरूको सत्तरी वर्षमाथि सूक्ष्म विश्लेषण गरिएको छ । २०२१ सालदेखि कम्युनिस्ट पार्टीमा आवद्ध ८४ वर्षीय वामपन्थी नेता जोशीसँग हामीले गरेको लामो कुराकानीको निष्कर्ष पनि उनको पुस्तककै निचोडसँग मिल्दोजुल्दो छ ।

अर्थात्, २००६ सालमा सानो समूहले कम्युनिस्ट पार्टी सुरु गर्दा नै संकीर्ण सोच र स्वार्थको बीज रोपिएको थियो । टुटफुट र धोका–गद्दारीको श्रृंखला पार्टीको गर्भसँगै सुरु भएको थियो । जसको पुनरावृत्तिको शिकार हुँदै केपी ओली सोमबार अदालतको फैसलाबाट सत्ताच्यूत भए । यसपछि ओली र माधव नेपालबीच एकले अर्कोलाई ‘गद्दार’ करार गर्ने क्रम चलिरहेको छ ।

यो कुरा बुझ्न, कम्युनिष्ट पार्टीको फर्मेसन (गठन) कुन परिवेशमा भयो त्यो केलाउन जरुरी हुने नेता जोशी बताउँछन् ।

संस्थापक नेता पुष्पलाल ९७ सालको काण्डका चार सहिदमध्ये एक गंगालाल श्रेष्ठका भाइ थिए । प्रजा परिषद हुँदै नेपाली कांग्रेसमा पुगेका युवा पुष्पलाललाई रूसी बोल्सेभिक नेता लेनिनको जीवनीले प्रभावित गर्यो । लेनिनका दाजु अलेक्सेन्द्रलाई पुष्पलालका दाजु गंगालालझैं रूसीको जारशाहीले मृत्युदण्ड दिएको थियो ।

‘विभिन्न राजनीतिक–सामाजिक समूहबाट अलग हुन चाहेका युवाहरूले कम्युनिष्ट पार्टी गठन गरे’ नेता जोशी भन्छन्, ‘यसको अगुवाई टंकप्रसादको प्रजा परिषदबाट अलग भई छुट्टै राजनीति सुरू गर्ने क्रममा पुष्पलालले गरे ।’

पार्टी टुटफुटको श्रृंखला नेकपा स्थापनाको दुई वर्षपछि नै सुरु भयो । सन् १९५२ को अन्त्यतिर जनकपुरको बटेश्वरमा बसेको बैठकले पोलिटब्युरोका सदस्यहरूको प्रस्तावमा पुष्पलालको नीतिलाई ‘अतिवादी र वामपन्थी सङ्कीर्णतावादी’ ठहर गर्दै उनलाई पार्टी नेतृत्वबाट हटाएर मनमोहन अधिकारीलाई पार्टी महासचिवमा नियुक्त गर्यो ।

तथ्यगत आधारमा हेर्दा पनि अध्ययनका लागि भारतमा रहेका मनमोहन अधिकारी १९९९ देखि नै भारतीय कम्युनिस्ट पार्टीको सदस्य थिए र भारत छोडो आन्दोलमा जेल बसिसकेका थिए ।

भारतीय कम्युनिष्ट नेता नृपेन्द्र चक्रवर्तीको संगतमा पुगेको पुष्पलाललाई कम्युनिष्ट पार्टी गठन गर्ने हतारो जाग्यो । उनले काठमाडौंबाट चार दौंतरीलाई बोलाएर कलकत्ताबाट पार्टी स्थापनाको घोषणा गरे ।

अर्कोतिर कोलकातामा अध्ययनरत केशरजंग रायमाझी पनि २००२ सालदेखि नै भारतमा कम्युनिस्ट पार्टीको सदस्य थिए । भारतमा पढिरहेका अन्य युवासमेत त्यहाँको भारत छोडो आन्दोलन तथा कम्युनिस्ट गतिविधिसँग परिचित थिए ।

अर्का भारतीय कम्युनिष्ट नेता रत्नलाल ब्रह्मणको संगतमा रहेका रायमाझी नेपाली विद्यार्थीहरू बीच ‘प्रगतिशील अध्ययन समूह’ चलाउँथे । यिनै युवा समयक्रममा नेपालमा आई जोडतोडका साथ कम्युनिस्ट पार्टीमा सक्रिय भए ।

मनमोहन अधिकारीको भिन्नै धार थियो । बनारसमा पढेर फर्केका अधिकारी विराटनगर जुट मिलमा कर्मचारी थिए । बनारसमा उनले भारतीय स्वतन्त्रता आन्दोलनमा भाग लिनुको साथै भारतीय कम्युनिष्ट पार्टीको सदस्यता लिए । चर्चित विराटनगर जुट मिल हड्तालपछि अधिकारीलाई गिरफ्तार गरी हिँडाएरै काठमाडौं ल्याइएको थियो ।

कम्युनिष्ट पार्टी स्थापनाको गर्भमै पुष्पलाल, रायमाझी र मनमोहन अधिकारीको फरकफरक पृष्ठभूमि र आकांक्षाको टसल थियो । पार्टी संस्थापक बन्ने हतारोमा पुष्पलाल श्रेष्ठले राम्रो सरसल्लाह र समन्वय नगरेको भावना रायमाझी र अधिकारीमा थियो ।

तर, तीनवटै नेता भारतीय कम्युनिष्ट नेताको सङ्गतबाट आएका थिए । त्यो समय भारतीय कम्युनिष्ट आन्दोलनमा चिनियाँ जनवादी क्रान्तिको प्रभाव पर्न थालिसकेको थियो । नेपालमा नयाँ जनवादी कार्यक्रमको अवधारणा भने चीनबाट सिधै नभएर भारत हुँदै नेपाल छिरेको थियो ।  नेपालमा माक्र्सवादी विचार प्रवाह गर्न त्यतिबेला जुनजुन पर्चा निकालियो त्यो भारतीय कम्युनिस्ट पार्टीकै पर्चा हुबहु अनुवादजस्तो थियो । यसरी गठन भएको कम्युनिस्ट पार्टीले नेपाली कांग्रेससँग मिलेर २००७ सालको आन्दोलनमा होमियो । केही कम्युनिस्ट नेता भारतबाट त केही नेपालमै रहेर प्रजातन्त्रको लागि संघर्ष गरे ।

प्रजातन्त्र घोषणपछि काठमाडौं, बनारस र कोलकातामा रहेर कम्युनिस्ट पार्टीले आफ्नो गतिविधि ग¥यो । यसो त नेपाली कांग्रेसले पनि सुरूवाती समयका सबै बैठक, पार्टी सम्मेलन भारतमा गरेको थियो । तर सामन्तवादमा आधारित नेपाली समाजको रूपान्तरणलाई मुख्य एजेण्डा बनाएको नेपाल कम्युनिस्ट पार्टीले भने स्वदेशमा प्रभाव विस्तार गर्न सकेको थिएन । रूस हुँदै चीन अनि चीनबाट भारतमा फैलिएको कम्युनिस्ट प्रवाह छिमेकी नेपालमा प्रवेश गरेको थियो ।

यहीक्रममा २००८ साल माघ १० गते मातृकाप्रसादको सरकारले पार्टीमाथि प्रतिबन्ध लगायो । पाँच वर्ष प्रतिबन्धित अवस्थामा रहेको पार्टी २०१३ सालमा टङ्कप्रसाद आचार्य प्रधानमन्त्री छँदा नेपाली राजतन्त्रअन्तर्गत रहेर शान्तिपूर्ण रूपमा समाजवादको प्रचार गर्ने लिखत दिएपछि मात्र प्रतिबन्धबाट हट्यो ।

पार्टी टुटफुटको श्रृंखला नेकपा स्थापनाको दुई वर्षपछि नै सुरु भयो । सन् १९५२ को अन्त्यतिर जनकपुरको बटेश्वरमा बसेको बैठकले पोलिटब्युरोका सदस्यहरूको प्रस्तावमा पुष्पलालको नीतिलाई ‘अतिवादी र वामपन्थी सङ्कीर्णतावादी’ ठहर गर्दै उनलाई पार्टी नेतृत्वबाट हटाएर मनमोहन अधिकारीलाई पार्टी महासचिवमा नियुक्त ग¥यो ।

भनिन्छ, यसमा शैलेन्द्रप्रसाद उपाध्याय र धनुषचन्द्र गौतमको विशेष पहल थियो । बैठकपूर्व शैलेन्द्र उपाध्याय भारतीय कम्युनिस्ट पार्टीको सल्लाह लिन गएका थिए । पछि यी दुवै नेता कम्युनिष्ट आन्दोलनमा रहेनन् । उपाध्याय पञ्चायत प्रवेश गरी मन्त्री गए, गौतम साहित्यतिर लागेर नामी उपन्यासकार बने ।

यसो त नेपाल कम्युनिस्ट पार्टीको स्थापना हुँदै गर्दा विश्व कम्युनिस्ट आन्दोलनमा पनि सङ्कीर्णतावादी धार रहेको कुरा पुराना वामपन्थी नेता कृष्णराज बर्मा बताउँछन् । बर्माका अनुसार भारतीय कम्युनिस्ट पार्टीमा पी.सी. जोशीलाई हटाएर १९४७ मा बी.टी. रणदिवे कार्यकारी महासचिव भएजस्तै नेपाल कम्युनिस्ट पार्टीमा भएको थियो ।

छिमेकी चीनमा कम्युनिस्ट पार्टी स्थापनाको एक सयौं वार्षिकोत्सव चलिरहँदा नेपालमा पनि कम्युनिस्ट पार्टीले आफ्नो ७२ वर्षको इतिहासलाई धूलिसात गर्ने कदम चालिरहेको छ । अन्तर पार्टीसंघर्षले नेपाली कम्युनिस्ट आन्दोलन नै धरासायी भइरहेको छ ।

टुट र धोका–गद्दारीको अनन्त श्रृंखला

नेकपा फुटको विषयले अहिले सिङ्गो देश आक्रान्त छ । सत्तासीन दलको लफडाले राज्यसंयन्त्रमा नै असर परिरहेको छ । पूर्वएमालेकै कुरा गर्दा १४ वर्ष महासचिव भएका माधवकुमार नेपाल र वर्तमान अध्यक्ष केपी ओलीबीचको फाटो उत्कर्षमा छ । यता प्रचण्ड र केपी ओलीबीच प्रधानमन्त्री पद र शक्तिशाली अध्यक्ष हुने होडबाजीले एकीकृत भइसकेको नेकपा फेरि विभाजित भएको छ ।

नेताबीच चरम सत्तालोलुपता र फुट देखिनु नेपाली कम्युनिस्ट आन्दोलनको  इतिहासमा नौलो कुरा भने होइन ।  स्थापनाको पाँच वर्षमै पुष्पलाल खेमा, रायमाझी खेमा र मनमोहन समूहको तीन ध्रुवमा पार्टीको आन्तरिक संगठन बाँडिएको थियो ।

पार्टीभित्रको गुटबन्दीमा पुष्पलाल विरोधी साँठगाँठ बलियो हुँदै गयो । आफैंले स्थापना गरेको पार्टीमा पुष्पलाल आफैं अल्पमतमा परे । पार्टीभित्रको  विपक्षी नेताजस्तो बनाइए । अध्ययन, संगठन र आन्दोलन तीनवटै क्षेत्रमा पुष्पलाल अरूभन्दा बर्ता मेहनती थिए । तर, पार्टी स्थापनापछिको पहिलो महाधिवेशन अघि नै उनी महासचिवबाट हट्न बाध्य भए । सन् १९५४ मा पाटनमा भएको पहिलो महाधिवेशनले मनमोहन अधिकारीलाई नै महासचिव चुन्यो ।

नेताबीच चरम सत्तालोलुपता र फुट देखिनु नेपाली कम्युनिस्ट आन्दोलनको  इतिहासमा नौलो कुरा होइन । स्थापनाको पाँच वर्षमै पुष्पलाल खेमा, रायमाझी खेमा र मनमोहन समूहको तीन ध्रुवमा पार्टीको आन्तरिक संगठन बाँडिएको थियो ।

सन् १९५७ मा भएको दोस्रो महाधिवेशनमा डा. केशरजंग रायमाझी महासचिव भए । काठमाडौंको फोहोरा दरबारमा भएको यो पहिलो खुल्ला महाधिवेशन थियो । २०१५ सालको पहिलो आम निर्वाचनमा पुष्पलाल श्रेष्ठ काठमाण्डौंबाट कांग्रेसका गणेशमान सिंहसँग पराजित भए । ललितपुरबाट तुल्सीलाल अमात्य र पाल्पाबाट कलमराज रेग्मी दुई पोलिटब्यूरो सदस्यले मात्र चुनाव जिते, बाँकी २ जाना रौतहटका स्थानीय कार्यकर्ता थिए । चार सदस्यीय संसदीय दलमा तुल्सीलाल अमात्य संसदीय दलको नेता भए ।

रायमाझीको उदय र अवशान कम्युनिष्ट आन्दोलनको एक महत्त्वपूर्ण कालखण्ड बन्यो । डा. रायमाझी ‘रायमाझी प्रवृत्ति’ का रूपमा चित्रित भए । २०१७ साल पुष १ गते राजा महेन्द्रले निर्वाचित संसद विघटन गरी  निर्वाचित प्रधानमन्त्री बीपी कोइरालालगायत कांग्रेस–कम्युनिष्ट नेताहरूलाई पक्राउ गर्दा मस्को भ्रमणमा रहेका रायमाझीले भने राजा महेन्द्रको समर्थनमा वक्तव्य दिए ।

बनारसमा भएको २०१९ को तेस्रो महाधिवेशनमा तुल्सीलाल अमात्य महासचिव छानिए । तर, दोस्रो महाधिवेशनका महासचिव डा. रायमाझीले यो महाधिवेशनलाई मान्यता दिएनन् । पुष्पलाल श्रेष्ठ महाधिवेशनमा उपस्थित थिएनन तर पनि महाधिवेशनका निर्णयलाई उनले समर्थन गरे । संस्थापक महासचिव श्रेष्ठलाई तेस्रो महाधिवेशनले पनि महासचिव पत्याएन । पुष्पलाल त्यसपछि एकीकृत पार्टीको महासचिव नभइकन बिते ।

डा. रायमाझी आफ्नो गुटको निरन्तर महासचिव रहेनन् । रायमाझी दरबारसँग नजिक भएर सिद्धान्तच्यूत हुँदै गएपछि कृष्णराज बर्मा, चन्द्रदेव जोशीलगायतले २०३२ मा विष्णुबहादुर मानन्धरलाई महासचिव बनाए  ।

अर्कोतिर २०१९ को एकिकृत तेस्रो महाधिवेशनमा मोहन विक्रम सिंह नयाँ नेताका रूपमा उदित भए । उनको गुट विस्तारै बलियो हुँदै थियो ।  सिंहको गुट पछि चौथो महाधिवेशन हुँदै मसालमा विकास भयो । मोहन वैद्य, प्रचण्ड, डा. बाबुराम भट्टराई, चित्रबहादुर केसीजस्ता नेताहरू यही ‘चौमधार’बाट विकास भएका हुन् ।

३० को दशकमा नै झापा विद्रोहबाट कोअर्डिनेशन केन्द्र हुँदै २०३५ सालमा ‘नेकपा माले’ बन्यो । नेकपा अमात्य समूह, नेकपा मानन्धर समूह छँदै थियो । मनमोहन अधिकारी नेतृत्वको समूहलाई पूर्वकोशी प्रान्तीय कमिटी भनिन्थ्यो । २०२७ सालमा अधिकारीको समेत संलग्नतामा मोहनविक्रम सिंह, निर्मल लामा, शम्भुराम श्रेष्ठ सहितको ‘केन्द्रीय न्युक्लियस’ बनेको थियो । पछि  मोहन विक्रम सिंहको समूहको भिन्नै चौथो महाधिवेशन भयो । तुल्सीलाल अमात्य र पुष्पलाल श्रेष्ठका भिन्नाभिन्नै समूह छँदै थिए । भक्तपुरे नेता नारायणमान बिजुक्छेले पुष्पलाल समूहबाट निस्केर भिन्नै मजदुर किसान पार्टी बनाए ।

यसरी २०४७ सम्म आइपुग्दा दर्जनौं कम्युनिष्ट घटक बनिसकेका थिए ।

शंका, आरोपप्रत्यारोप, फुट र विभाजन नेपालको कम्युनिष्ट आन्दोलनको अन्तर्निहित स्वभाव देखियो । अवस्था कतिसम्म आयो भने २०४६ सालको जनआन्दोलनको लागि कम्युनिष्टहरूले संयुक्त बाम मोर्चा बनाउन हम्मेहम्मे परेको जनमोर्चाका नेता चित्रबहादुर केसीले आफ्नो प्रकाशोन्मुख जीवनीमा बताएका छन् ।

२०४७ पछि नेकपा मसालका प्रचण्ड, मोहन वैद्य, बाबुरामले युद्धको पृष्ठभूमि तयार पारिहेका थिए । यता माले र माक्र्सवादी समूहको एकताबाट  बनेको एमाले ‘जनताको बहुदीय जनवाद’ भन्दै संसदीय खेलमै मग्न थियो । २०३५ सालमा गठन भएको मालेमा सीपी मैनाली, झलनाथ खनाल हुँदा २०४५ भाद्रको सिराहा महाधिवेशनबाट मदन भण्डारी उदाएका थिए । २०५१ को मध्यावधि निर्वाचनमा एमाले पहिलो पार्टी भएपछि वि.स. १९९८ सालदेखि आन्दोलनमा लागेका वयोवृद्धनेता नेता मनमोहन अधिकारी देशको पहिलो कम्युनिष्ट प्रधानमन्त्री भए ।

२०५४ मा फेरि एमाले फुटेर माले–एमाले भयो । माले धारको नेतृत्व बामदेब गौतमले गरे भने एमाले धारको नेतृत्व माधव कुमार नेपालले गरे । नेपाल एमाले धारमा मदन भण्डारीको रहस्यमय दासढुंगा जिप दुर्घटनापछि अप्ठ्यारो समयमा  एमालेको महासचिव भएका थिए ।

२०६३ सम्म आइपुग्दा नेकपा एमाले, नेकपा माओवादी, नेकपा माले, जनमोर्चा, नेकपा संयुक्तजस्ता पार्टी प्रमुख कम्युनिष्ट पार्टी थिए । अन्य तीन दर्जन बढी स–साना समूहले पनि आफूलाई कम्युनिस्ट पार्टी दाबी गर्दै राजनीतिमा सक्रिय थिए ।

माक्र्सवादसँगै अक्षरशः चीनका माओत्से तुङको विचारलाई अवलम्बन गर्ने नेकपा माओवादी पनि शान्तिपूर्ण राजनीतिमा आएको पाँच वर्षमै चिराचिरा भयो । अध्यक्ष प्रचण्ड सत्ता र शक्तिमामात्रै केन्द्रीत भएको भन्दै मोहन वैद्य, नेत्रविक्रम चन्दलगायतले माओवादी परित्याग गरे । ‘प्रचण्डले सिंगो पार्टीलाई नै प्रतिस्पर्धी नेतालाई सकाउने हतियार बनाएको’ कुरा माओवादी नेतृ हिसिला यमीले आफ्नो आत्मकथामा समेत लेखेकी छिन् ।

२०७२ को नयाँ संविधान घोषणापछि केपी ओलीको उदय भयो । शक्तिहीन बन्दै गएको नेकपा माओवादी प्रचण्ड समूह अन्ततः संसदीय शक्तिमा परिपक्व भइसकेको एमालेसँग मिसियो ।

२०७४ को आम निर्वाचनको बहुमतपछि नेकपा फुट नै राजनीतिको मियो बन्यो ।  यो फुटले देशको राजनीतिक, सामाजिक, आर्थिक सबै क्षेत्रमा प्रभाव पार्यो । कतिसम्म भने दर्जनौ पटक मन्त्रीमण्डल पुर्नगठन गरिँदै दुईपटक संसद विघटन गर्नेसम्मका चलखेलले देश जटिल र कष्टसाध्य संक्रमणतर्फ धकेलियो ।

नेता चन्द्रदेव जोशीकै भनाइमा जाँदा २०७२ को संविधान घोषणापछि भएका कम्युनिष्ट गतिविधिलाई ‘निम्न पूँजीवादी धोकेबाज चरित्र’को संज्ञा दिन सकिन्छ ।

‘प्रचण्ड–ओली दुई जनालाई माक्र्सवादमा नै नयाँ अध्याय लेख्ने अवसर थियो । तर उनीहरूले दुई नाउमा खुट्टामा राखेकाले सम्झौताहीन अवस्था आयो’, नेकपा फुटबारे उनी बताउँछन् ।

रोजा लब्जेम्बर्गले जनताको समर्थनबिना केही पनि काम गर्न नहुने बताएझैं नेकपाले बहुमत प्राप्त गरी सत्ता पाउनुलाई भने जोशी सकारात्मक ठान्छन् । तर पाएको बहुमतलाई नेकपाले धोका, छलकपट र सत्तास्वार्थले बेकम्मा बनाएको उनको ठहर छ ।

‘नेकपाले बन्दुकको क्रान्तिबाट सत्ता लिएका हैनन्, यसैले एउटा विधानमा बाँधिनैपर्छ’ जोशी बताउँछन्, ‘तर बहुदलीयतालाई स्वीकार्दै देशको आर्थिक–सामाजिक विकासमा केन्द्रीत हुनुपर्ने नेकपा शक्तिको होडबाजीमा लाग्दा सम्पूर्ण संघर्षको उपहास भइरहेको छ ।’

अस्पष्ट लक्ष्यमा हुर्किएको पार्टी

भनिन्छ– ‘क्रान्तिकारीलाई क्रान्ति गर्नुपर्छ भन्ने त थाहा हुन्छ तर कुन परिवेशमा कहाँ कोसँग लडिरहेको छु भन्ने थाहा हुँदैन ।’

यो कुरा फिडेल क्यास्ट्रोको सन्दर्भमा भनिएको भएपनि नेपालका कम्युनिस्टहरूमा हुबहु लागू हुने चन्द्रदेव जोशी बताउँछन् । जोशीका अनुसार पुष्पलालले लेखेको पर्चा तथा घोषणापत्रमा स्पष्ट रूपमा कहाँ काम गर्ने उल्लेख थिएन । यद्यपि पुष्पलालले विषम परिस्थितिमा आफ्नो सम्पूर्ण जीवन पार्टीकै लागि खर्च गरे । त्यही जगमा नेपालको कम्युनिष्ट आन्दोलन हुर्केको तथ्य सबैले समर्थन गरेको उनी बताउँछन् ।

यसरी केका लागि संघर्ष गरेको भन्ने स्पष्ट आधारबिना टुसाएको कम्युनिष्ट पार्टीले समाजमा आफ्नो प्रभाव विस्तार गर्दै गयो । (यता भारतीय कम्युनिस्ट पार्टीले चीनको किसान आन्दोलनको प्रभावमा भारतमा पनि त्यहीखालको प्रभाव सृजना गर्ने सोचले काम गर्दै थिए ।)

‘स्पष्ट लक्ष्यबिना गरिएको संघर्षले केही प्रतिफल दिँदैन’ जोशी भन्छन्, ‘कम्युनिस्ट आन्दोलनले त झन् आफूले राखेको लक्ष्यप्रति अटल भएर उभिनुपर्छ । त्यहीँ हाम्रो चुक भयो ।’

वर्तमान प्रधानमन्त्री खड्ग ओलीमा व्यक्तिगत क्षमता हुँदाुहँदै पनि स्पष्ट लक्ष्य नराखेकाले कम्युनिस्ट आन्दोलन विकृत बनेको जोशीको ठहर छ । हातमा हतियार हुँदासमेत उपयोगी काम गर्न नसक्नुले केपी ओली र प्रचण्ड अध्यक्ष भएको पार्टी पतनउन्मुख भएको उनी बताउँछन् ।

‘मर्दैन कम्युनिस्ट विचार’

नेपालमा कम्युनिस्टहरू वा कुनै पनि व्यक्ति तलवितल हुने बित्तिकै भारतपरस्त र गद्दार भनिन्छ । कम्युनिस्ट स्कुलभित्र त झनै एकले अर्काले ‘गद्दार’ ट्याग लगाउने गरेका छन् । मोहनविक्रम सिंहले पुष्पलाललाई गद्दार, मोहन वैद्यले प्रचण्डपथलाई, तत्कालीन पार्टी र पुष्पलालले केशरजंग रायमाझीलाई यस्ता आरोप लगाउने गरेका छन् । विप्लवका आँखामा अहिले सबै अग्रजहरू ‘महापतन’को शिकार भएका छन ।

बामपन्थी नेता जोशीकै भनाइमा जाँदा ‘गद्दार’ भनिएका सबै उत्तिकै ‘गद्दार’ हैनन । लाइन र स्वार्थ नमिल्दा ‘गद्दार’ भन्नु र स्वार्थ मिले ‘महान् क्रान्तिकारी कमरेड’ भन्दै गला लगाउनु कम्युनिष्ट आन्दोेलनको चारित्रिक विशेषता बनेको छ ।

भनिएजस्तो सबैजना पनि सिद्धान्तच्यूत छैनन् । यसैले नेपाली कम्युनिस्ट आन्दोलन फेरि ब्युँतिने विश्वास राख्छन् उनी । केपी ओली वा प्रचण्डको कदमले समाजमा असर पारे पनि कम्युनिस्ट विचारको फेरि बाहुल्य हुने उनी बताउँछन् । यसका लागि युवा पुस्ताका नेताले आफ्नो निर्णयमा अडिग हुन सक्नुपर्ने उनको सुझाव छ ।

‘युवा छिमलका नेताहरू टाउको हेरेरमात्र नेतृत्वको पछि लाग्न हुँदैन’ उनी भन्छन्, ‘बरू जनमत सृजना गरेर नयाँ कम्युनिस्ट आन्दोलनको सृजना गर्नुपर्छ । समाजवादको बाटोमा लाग्नुपर्छ ।’



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0