जानसेन खोपमा गुइलिन–बारे सिन्ड्रोमको जोखिम कति ? – Online Khabar


३० असार, काठमाडौं । नेपालमा जोनसन एण्ड जोनसनको खोप (जानसेन) लगाउने तयारी भइरहँदा अमेरिकाको फुड्स एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडीए) ले दिएको चेतावनीले धेरैलाई झस्कायो । उसले भनेको छ, ‘यो भ्याक्सिन लगाएकाहरुमा स्नायु प्रणालीसम्बन्धी एक दुर्लभ रोग ‘गुइलिन–बारे’को जोखिम बढेको पाइयो ।’

एफडीएका अनुसार एक करोड २५ लाख मानिसमा जानसेन खोप लगाउँदा करिब १०० जनामा गुइलिन–बारेको संक्रमण देखिएको छ । गुइलिन–बारेको संक्रमण देखिएका १०० जनामध्ये ९५ जनाको अवस्था गम्भीर बनेको र अस्पतालमा भर्ना गर्नुपरेको छ । तर जानसेन खोपकै गुइलिन–बारेको जोखिम बढेको हो स्थापित गर्न यो प्रमाण अपर्याप्त भएको एफडीएले बताएको छ । यसबारे अनुसन्धान भइरहेको छ ।

यसअघि पनि यो खोप लगाएका मानिसमा रगत जम्ने समस्या देखिएको थियो । जसका कारण केही समयका लागि यो खोपको प्रयोगमा रोक समेत लगाइएको थियो । तर यो खोपमा रगत जम्ने जोखिम निकै कम देखिएको भन्दै अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले पुनः खोप प्रयोगका लागि अनुमति दिएको थियो ।

के भन्छन् नेपालका विज्ञहरु ?

अमेरिका सरकारले सोमबार मात्र एक डोज मात्र लगाए पुग्न जोनसन एण्ड जोनसनको खोप १५ लाख ३४ हजार ८५० डोज कोभ्याक्समार्फत उपलब्ध गराएको छ । यो खोप ४ साउनबाट ५०–५४ वर्ष उमेर समूहका नागरिकलाई दिने तयारी छ ।





यो पनि पढ्नुहोस
काठमाडौंमा जोन्सन एण्ड जोन्सनको खोप साउन ४ गतेदेखि लगाइने, यी हुन् खोपकेन्द्र

जनस्वास्थ्यविद्हरुले भने ढुक्क भएर खोप लगाउन आग्रह गरेका छन् । जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षित भ्याक्सिन लगाएकै कारण ‘गुइलिन–बारे’को संक्रमण भएको प्रमाण कहीँ कतै नभेटिएकाले निर्धक्क भएर खोप लगाउन अनुरोध गर्छन् । ‘यो दुर्लभ न्यूरोलोजिकल डिस्अर्डर हो । एकदम कम मानिसमा देखिन्छ’ उनले भने, ‘खोप लगाएको मानिसमा देखिएको भनिएको छ । तर भ्याक्सिन लगाएकै कारण भएको प्रमाण छैन । एफडीएले पनि एकदमै कम मानिसमा हुने सम्भावना भनेको छ ।’

कोभिड– १९ बाट जोगिन खोप एकदम महत्वपूर्ण भएको भन्दै दीक्षितले सबै नागरिकलाई ढुक्क भएर खोप लगाउन आग्रह गरे । उनले अघि भने, ‘हामी ‘रिक्स भर्सेज बेनिफिट’ हेर्छौं । भ्याक्सिनको ‘रिक्सभन्दा बेनिफिट हाई’ छ । त्यसैले ढुक्क भएर खोप लगाए हुन्छ ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका डा. शेरबहादुर पुन पनिसबै खोप आपतकालीन प्रयोगमा रहेकाले केही न केही कम्प्लिकेसनहरु देखा परेको खबर आइरहेको बताउँछन् । प्रायः सबै खोपका ‘खोप लगाउँदा केही शारीरिक समस्या देखा पर्नसक्छ’ उनले भने, ‘तर कम्प्लिकेसनभन्दा पनि खोपको प्रभावकारी बढी छ । त्यसैले खोप लगाउँदा केही भइहाल्छ कि भनेर आत्तिहाल्नु पर्ने अवस्था हुँदैन ।’

‘सिस्टम बनाउनुपर्छ’

आपतकालीन अनुमति पाएका खोप नागरिकले लगाइरहेका कारण यसबाट आउन सक्ने स्वास्थ्य समस्यालाई हल गर्न निश्चित सिस्टम बनाउनुपर्ने डा. पुनको सुझाव छ ।

खोप लगाएका नागरिकका बारेमा मनिटरिङ गर्ने, स्वास्थ्यमा समस्या आए उनीहरुको उपचारको व्यवस्था मिलाउने, प्रयोग भएका खोपको प्रभावकारीताबारे अध्ययन गर्ने लगायतका कार्य गर्नुपर्ने उनको सुझाव छ ।

‘खोप लगाएका सबै नागरिकमा समस्या देखिने होइन । लाखौं, करोडौंमा केहीलाई स्वास्थ्य समस्या देखिने हो’ उनले भने, ‘खोप लगाएपछि स्वास्थ्य समस्या देखिए त्यसको व्यवस्थापन सरकारले गर्नुपर्छ ।’ खोप लगाएका मानिसमा कुनै स्वास्थ्य समस्या देखिए सूक्ष्म ढंगले अध्ययन गर्नु पर्ने उनको जोड छ ।

के हो गुइलिन–बारे सिन्ड्रोम ?

चिकित्सकहरुका अनुसार यो स्नायु प्रणालीसम्बन्धी निकै दुर्लभ समस्या हो । पोस्ट भाइरल इन्फेक्सनका कारण गुइलिन–बारे संक्रमण हुन्छ । यसले हात–खुट्टामा हुने पेरिफेरियल नर्भमा आक्रमण गर्छ ।

यो समस्याको सुरुवातमा हातखुट्टा झम्झमाउने, कमजोरी महसुस हुने जस्ता लक्षण देखिन्छ । झम्झमाउने समस्या तीव्र रुपमा पूरै शरीरभरि फैलिन्छ र पक्षघात पनि हुन सक्छ ।

पोस्ट भाइरल इन्फेक्सनका कारण हुन्छ
डा. घनश्याम खरेल
कन्सल्टेन्ट न्यूरोलोजिस्ट, बाँसबारी  न्यूरो हस्पिटल

पोस्ट भाइरल इन्फेक्सनका कारण गुइलिन–बारे सिन्ड्रोम हुन्छ । यसले हात र खुट्टामा हुने पेरिफेरियल नशाको बाहिरी भागलाई ड्यामेज बनाउँछ । कतिपयको भित्रको भागको नशालाई पनि ड्यामेज गर्छ । अर्थात यो रोगका कारण पेरिफेरियल नशालाई खियाउनुका साथै असर गर्छ ।

सुरुवाती समयमा खुट्टामा कमजोरी हुन्छ । दुवै खुट्टाबाट बढ्दै गएर यसको असर हातमा पुग्छ । त्यसपछि खुट्टा र हातमा एकै पटक सुरु हुन्छ । यो बढ्न थालेपछि कहिलेकहीँ श्वास प्रश्वासको मांशपेसीमा पनि असर गरेर सास फेर्न गाह्रो बनाउँछ । बढीमा यो समस्या चार हप्तासम्म हुन्छ । चार हप्ता भन्दामाथि भयो भने ‘प्ले टु फेज’ आउँछ । त्यसपछि डाउन हुन थाल्छ । त्यसपछि क्रमशः इम्प्रुभमेन्ट हुन थाल्छ ।

यसको मुख्य समस्या भनेको बिरामीको फोक्सोमा समस्या हुन्छ, जसले गर्दा श्वासप्रश्वासमा समस्या हुन्छ । बिरामीलाई भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आउन सक्छ । एकचोटी भेन्टिलेटरमा राख्नुप¥यो भने लामो समयसम्म राख्नुपर्ने हुन्छ र अरु समस्या आउन सक्छ ।

के छ उपचार विधि ?

गुइलिन–बारे सिन्ड्रोमको आईभीआईजी र प्लाज्मा फेरिसिस विधिबाट उपचार गरिन्छ । आईभीआईजी विधि भनेको औषधि दिने विधि हो । औषधि भारतमा पाइन्छ ।

प्लाज्मा फेरिसिस विधि भनेको रगत छान्ने विधि हो । प्लाज्मा फेरिसिसले रगत छान्ने काम गर्छ र आईभीआईजीले न्यूट्रिलाइज गर्ने काम गर्छ । दुईमध्ये जुनविधि पनि अपनाउन सकिन्छ । यो दुवैबाट नेपालमा उपचार गर्न सकिन्छ । दुई हप्ताभित्र वा रोग तीव्र गतिमा बढ्दै गएको बेला उपचार गर्न सकिए यसलाई रोक्न सकिन्छ । त्यसैले भेन्टिलेटरमा पुग्नुभन्दा पहिलै उपचार गर्न सके छिटो निका हुन्छ ।

नेपालमा पनि कोभिड भएर रिकभरीको अवस्थामा रहेका बिरामीमा यो रोगका समस्या देखा परेको थियो । कोभिड र कोभिड खोपका कारणबाट पनि यो रोगको समस्या देख्न सकिन्छ । उपचार पद्धति भने उस्तै हो ।

के भन्छन् सरकारी अधिकारी ?

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख डा. तारानाथ पोखरेलले जानसेन खोपलाई डब्ल्यूएचओले अनुमति दिएको हुनाले खोप कार्यक्रम अघि बढ्ने बताए ।

‘एफडीएले के भन्यो, त्यो उनीहरुको आन्तरिक कुरा हो । डब्ल्यूएचओले प्रयोग गर्न मिल्छ भनेको छ, त्यसैले हामी पनि प्रयोग गर्छौं ।’

‘खोप लगाइसकेका नागरिकको रेकर्ड हामीसँग हुन्छ । खोप लगाएपछि आधाघण्टा आराम गर्न भन्छौं । पछि पनि केही समस्या देखे जानकारीका लागि अनुरोध गर्छौं । सँगसँगै अनुसन्धान पनि अघि बढ्छ । केही समस्या देखिए डब्ल्यूएचओसमक्ष पठाउँछौं’ डा. पोखरेलले भने ।

जानसेन खोपबारे एफडीएले गरिरहेको अनुसन्धान उनीहरुको आन्तरिक कुरा भएको भन्दै डा. पोखरेलले खोपबारे अध्ययन गर्न गठित समितिले यसबारे अध्ययन एवं अनुसन्धान गर्ने उनको भनाइ छ ।



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0