धनकुटाका धरोहर खगेन्द्र प्रधानाङ्ग – Online Khabar


२०३८ सालमा पहिलोपल्ट धनकुटा पुग्दा त्यहाँ गएपछि भेट्ने सूचीमा यौटा मात्र टड्कारो नाम थियो, खगेन्द्र प्रधानाङ्ग, तल्लो कोप्चे । तल्लो कोप्चे नाम मलाई कण्ठस्थ यसकारण थियो कि, त्यो ठेगाना साहित्यिक साथी अशेष मल्लले आफ्ना रचना प्रकाशित गर्दा लेख्ने गर्थे । त्यसैले त्यो ठाउँ नपुगे पनि कण्ठस्थ थियो र चिरपरिचित जत्तिकै ।

खगेन्द्र प्रधानाङ्ग अरु कोही नभई तिनै मेरा मित्र अशेष मल्लका पिताजी थिए । तिनको नाम अशेषको पिताबाहेक धनकुटामा साहित्यको जगेर्ना गर्ने, लेख्ने, पढ्ने, पत्रिका सम्पादन गर्ने व्यक्तित्वका रुपमा मैले चिनेको थिएँ । उनले अनुवाद गरेको एशियाका प्रथम नोवेल पुरस्कार विजेता भारतीय विश्वकवि रवीन्द्रनाथ ठाकुरको गीताञ्जली मैले काठमाडौंमा देखिसकेको थिएँ । त्यसैले धनकुटामा मैले भेट्नुपर्ने व्यक्तित्वका रुपमा खगेन्द्र प्रधानाङ्गको नाम सिरानमा लेखेको थिएँ ।

धनकुटा पुगेको भोलिपल्ट धनकुटा बहुमुखी क्याम्पसका लेखा-अधिकृत टहलबहादुर खड्कालाई मैले खगेन्द्र प्रधानाङ्गको विषयमा सोधपुछ गरें । उनले हाँसेर भने, ‘ उहाँलाई भेट्न जाने हो ?  म लगिदिइहाल्छु नि !’

उनले म जस्ता धेरैलाई तल्लो कोप्चेको खगेन्द्र निवास पुर्‍याइसकेका रहेछन् । बरु उनले थप भने,  ‘फर्कनचाहिं छिट्टै पर्छ है !’

मैले नाईं भन्ने कुरै थिएन । अर्को दिन अफिसको काम सकेपछि टहलबहादुरजीले मलाई तल्लो कोप्चे लगे खगेन्द्र प्रधानाङ्ग भेटाउन ।  हामी पुग्यौं । टहलजीले मेरो परिचय गराइदिंदै भन्नुभयो, ‘ उहाँ अशेषजीको साथी पनि हो !’

घरको फलैंचामा बसेर कुराकानी थाल्यौं । उनका धाराप्रवाह कुराकानीले म मन्त्रमुग्ध भएँ । वनस्पति र जडीबुटीमा उनको ज्ञान र रुचि, पत्थरहरुको ज्ञान र रुचि, विभिन्न भाषाहरुको ज्ञान र रुचि, यी सबै मेरा लागि अद्भुत् थिए । त्यसदिन डेढ-दुई घण्टा मैले उनको साथमा बसेर कुरा सुन्न पाएँ । तर उनको विषयमा पूर्वजानकारी त्यति सङ्कलन नगरेको र अध्ययन नगरेकोले म सामान्य श्रोताको हिसाबले सोध्ने सामान्य प्रश्न र जिज्ञासामै सीमित भएँ । तर उनले निर्माण गरेको यौटा शब्दचाहिं मेरा लागि अविस्मरणीय रह्यो । त्यो शब्द थियो, ‘खम्विरी’ ।

धेरै महत्त्वाकांक्षा बोकेका खगेन्द्र प्रधानाङ्ग एकसुरे स्वभावका थिए । केही नयाँ गरेर देखाऊँ भन्दाभन्दै उनको समय त्यसै बितेर गयो । एकताका धनकुटामा स्याउखेती गर्नेतिर लागे । पछि सुन्तला फलाउने भनेर अघि सरे । सफलता हात परेन ।

पेन वा फाउण्टेन पेनको भिर्ने ह्याण्डलको नाम ‘खम्विरी’ हुनुपर्छ भन्ने उनको दरो अभिमत थियो, जुन शब्द शब्दकोशमै थिएन । नेपाली शब्दकोशमा ‘खम्बिर’ विशेषणात्मक शब्द रहेको छ, जसको अर्थ हुन्छ, ‘खम्बा जस्तै दरो’ । शब्दकोशमा भए पनि नभए पनि मेरो मानसपटलमा भने ‘खम्विरी’ शब्द सदासदाको लागि अङ्कित भयो, खोपियो, शिलालेख बन्यो र त्यस शब्दका निर्माता थिए खगेन्द्र प्रधानाङ्ग ।

तल्लो कोप्चेबाट धनकुटा बहुमुखी क्याम्पसको अतिथिगृहतिर टहलबहादुरजीसँग फर्किरहँदा मैले आफूलाई परेको प्रभाव उनलाई भनें । उनले बेवास्तापूर्वक भने, ‘बूढाले जसलाई भेटे पनि सधैं भन्ने यही यौटै कुरा हो ।’

सधैं सुन्नेलाई त्यस्तो लाग्नु स्वाभाविक होला । तर मेरो लागि त त्यो अद्भुत अनुभव थियो ।

उनी वि.सं १९८० कार्तिक ३ गते त्यही तल्लो कोप्चे बजारमा जन्मेका थिए । गजेन्द्रबहादुर र पवित्राकुमारी प्रधानाङ्गका सुपुत्रका रुपमा जन्मेका उनको विवाह नारायणी प्रधानाङ्गसँग भएको थियो । उनका ६ सन्तान भए । ६ जनामध्ये तीन छोराहरू भए ओजेश, मुकेश र अशेष । तीन छोरीहरु भए कविता, सुजाता र ममता ।

खगेन्द्र नब्बे सालको भुईंचालोपछि हिउँदको एकदिन न्यानो घाम तापिरहँदा अचानक साहित्य लेखनका लागि प्रेरित भए, जुन आजीवन कायम रह्यो । उनको प्रथम रचना कविता ‘जाग गोर्खा’ सन् १९४२/४३ तिर दार्जीलिङको ‘गोर्खा’ पत्रिकामा प्रकाशित भएको थियो । उनले नब्बे सालमै लेखेको कविता ‘स्वाधीन देश’ श्री गोकुण्डेश्वर इङ्गलिस स्कूल, धनकुटामा प्रार्थना गीतको रुपमा सोही सालदेखि २०२८ सालसम्म नियमित गाइने गर्थ्यो ।

खगेन्द्रले धनकुटामा साहित्यको जग बसाउने काम गरे । उनी धनकुटाका साहित्यिक खम्बा थिए । धनकुटाबाट काठमाडौं आएर तुलसी दिवस राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा नामी भए । डा. दयाराम श्रेष्ठ सम्भवले काठमाडौं आएर कथा साहित्यमा विद्यावारिधि गरेर कथा साहित्यका नामी अध्येता एवं प्रोफेसर भए, त्रिभुवन विश्वविद्यालयमा । अशेष मल्ल, उनकै सुपुत्र बेजोड नाटककार र रंगकर्मी बने काठमाडौं आएर । धनकुटाकै मोमिलाले राष्ट्रिय व्यक्तित्व बनाइन् ।

तर खगेन्द्रले धनकुटा छाडेनन् । क्षेत्रीय प्रतिभा भइरहे । स्थानीय प्रतिभा भइरहे । धनकुटाकै माटोमा रमाइरहे । र सधैं काठमाडौंबाट टाढा भइरहे । छायाँमा भइरहे । मूलधारको नेपाली साहित्यले उनलाई कहिल्यै समेटेन ।

त्यसो त उनले २०२० सालमै नेपाली साहित्य संस्थानले आयोजना गरेको ‘साहित्य सम्मेलन’मा धनकुटाको प्रतिनिधिका रुपमा काठमाडौं आएर ‘राष्ट्र निर्माणमा साहित्यकारको भूमिका’ विषयक सेमिनारपत्र प्रस्तुत गरेका थिए । तर उनले धनकुटा स्थायी रुपले छाड्ने विचार कहिल्यै गरेनन् ।

साहित्य सम्मेलनको वेला परिचय भएका कवि कालिप्रसाद रिजाल पछि प्राचार्य भएर धनकुटा कलेज पुगे । कालिप्रसाद रिजाल धनकुटा पुगेपछिको त्यो वेला चार जना कविहरुको रचनात्मक टिम बनेको थियो । त्यो टिम साँझ-बिहान नियमित सँगै घुम्ने, कविता सुन्ने सुनाउने गर्थे । त्यो चारजनाको टिममा कालिप्रसाद रिजाल, रामेश्वरबहादुर श्रेष्ठ, तुलसी दिवस र खगेन्द्र थिए । उनीहरूलाई धनकुटेलीहरुले चतुरमुखी नामकरण नै गरेका थिए । कालिप्रसादले ती दिनको सम्झना गर्दै आफ्नो संस्मरणमा लेखे, ‘प्रत्येक दिन चार बजे खगेन्द्रजी, रामेश्वरजी, तुलसी दिवस र म चारजना घुम्न निस्कन्थ्यौं । पहाडको टाकुरामा पुगेर साहित्यिक परिचर्चा गर्ने गर्थ्यौं । कहिलेकाहीं काव्यपाठ पनि हुने गर्थ्यो । धनकुटेलीहरूले हामीलाई चतुर्मुख भनेर नाम राखिदिएका थिए ।’

उनको पहिलो प्रकाशित साहित्यिक पुस्तक ‘एकादशी’ (२०२०) कवितासङ्ग्रह थियो । तर प्रकाशित पहिलो पुस्तक भने ‘विज्ञानको ज्ञान’ (२०१५) थियो जुन तीन भाग प्रकाशित भएको थियो ।

उनले शेक्सपियरको ‘म्याक्वेथ’ नाटक पनि अङ्ग्रेजीको माध्यमबाट अनुवाद गरेका थिए । उनको लेखनप्रति लगाव, निष्ठा र समर्पण थियो । तर राजधानीबाट टाढा भएकैले उनी चर्चा परिचर्चा, प्रकाशन र पुरस्कारबाट वञ्चित रहे ।

आफैं अनुवादक खगेन्द्रको नेपाली साहित्यमा अनुवादको खाँचो भएको अभिमत थियो । नेपाली साहित्य संस्थानको काठमाडौंमा सम्पन्न सेमिनारमा ‘राष्ट्र निर्माणमा साहित्यकारको भूमिका’ विषयक कार्यपत्रमा उनले अनुवादको खाँचो औंल्याउँदै यस्तो विचार प्रस्तुत गरेका थिए, ‘हाम्रो साहित्यिक गतिविधिमा अनुवाद साहित्यमाथि पनि नौलो विचारले सोच्ने खण्ड परिसक्यो । हाम्रो साहित्यको भण्डारलाई अनुवाद साहित्यको अति खाँचो छ ।

फाटफुट देखिन थाले पनि अघाइन्जेल भएको छैन । राष्ट्र निर्माणमा साहित्यकारलाई सृजनशील व्यक्तिहरुलाई यो किन चाहियो भन्ने पनि प्रश्न उठ्न सक्छ, तर विदेशका असल असल कृतिहरुलाई गतिलो हातले मूल भाषाबाट अनुवाद गरेर हाम्रो भाषा र साहित्यलाई समृध्द र धनी तुल्याउन सकिन्छ र अघि धकेल्न सजिलो पर्छ ।’

उनको ‘हारी’ उपन्यास आञ्चलिकताका कारणले र सांस्कृतिक हिसाबले निकै महत्त्वपूर्ण थियो । यो उपन्यासप्रति उनी पनि निकै आशावादी देखिन्थे । फेरि यो उपन्यास नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित भएको थियो । तर त्यस उपन्यासको यथोचित चर्चा भएन । यौटा ठूलै पुरस्कार पाउने लाइनमा पुगेको सुनिन्थ्यो, तर उनले पुरस्कार पाएनन् । पुरस्कृत भएको भए, पाठक अध्येताको अलिकति ध्यान जान्थ्यो कि ?  तर त्यसो हुन सकेन ।

उनी अङ्ग्रेजी र बङ्गला भाषाको जानकार थिए । उनले लेखनका साथसाथै अनुवाद कर्ममै पनि समर्पित भएर योगदान पुर्याएका थिए । उनले भारतका प्रथम नोवेल पुरस्कार विजेता विश्वकवि रवीन्द्रनाथ ठाकुरको गीताञ्जलीलाई सोझै बाङ्गला भाषाबाट नेपालीमा अनुवाद गरेका थिए र २०२१ सालमा पहिलो संस्करण ‘नेपाल भारत मैत्री संघ’बाट प्रकाशित भएको थियो भने २०६६ सालमा बीपी कोइराला भारत नेपाल प्रतिष्ठानबाट मरणोपरान्त दोस्रो संस्करण प्रकाशित भएको थियो ।

उनले नाट्योपन्यास ‘अविवाहित मेनका’ लेखेका थिए । प्रकाशित भएको थियो । तर उनी साहित्यमा मात्र केन्द्रित भएनन् । उनको रुचि र स्वभाव नजिकबाट नियालेका कवि कालिप्रसाद रिजालको अनुभव थियो, ‘धेरै महत्त्वाकांक्षा बोकेका प्रधानाङ्ग एकसुरे स्वभावका थिए । केही नयाँ गरेर देखाऊँ भन्दाभन्दै उनको समय त्यसै बितेर गयो । एकताका धनकुटामा स्याउखेती गर्नेतिर लागे । पछि सुन्तला फलाउने भनेर अघि सरे । सफलता हात परेन । किसिम किसिमका फलफूल जडीबुटी लगाउने उद्देश्यबाट कोठेबारीमा उहाँले धेरै प्रयोग गर्नुभयो ।

एक समय उहाँ ढुङ्गा खोज्ने अभियानमा लाग्नुभएको थियो । किसिम किसिमका ढुङ्गा बटुलेर घोट्ने गर्नुहुन्थ्यो । ढुङ्गालाई परिस्कृत गर्न सकेमा बहुमुख्य रत्नको रूपमा प्रदान गर्न सकिन्छ भन्नुहुन्थ्यो । उहाँले बारीको एक छेउमा ढुङ्गाको उद्यान पनि बनाउनुभएको थियो । अरूको दृष्टिमा उहाँका परिकल्पना र विचारहरू अव्यावहारिक पनि प्रतीत हुन्थे तर उहाँ आफ्नो अठोटमा दृढ हुनुहुन्थ्यो ।’

खगेन्द्रले धनकुटालाई धेरै दिए । नेपाल राष्ट्रलाई धेरै दिए । भाषा साहित्यलाई धेरै दिए । मौलिक लेखनले दिए । अनुवादले दिए । पत्रिका सम्पादनले दिए । साहित्यिक जागरणले दिए । तर उनले पाए निराशा मात्र । अथाह असन्तुष्टि उनको भागको प्राप्ति भयो । जीवनको पछिल्लो समय उनी काठमाडौं, विराटनगर, धनकुटा आलोपालो चहारे, भौंतारिए । उनले दिएको देख्ने दृष्टिवान भेटिएनन् । उनलाई दिन सकिने स्थान दिन समय चुक्यो, नजिककाहरु चुके ।

खगेन्द्रको इच्छा थियो,  लामो जीवन स्वस्थ जीवन बाँची समाजलाई केही दिन सकूँ । तर उनको त्यस्तो इच्छाले २०६६ सालमा विसौनीको माग गर्‍यो र उनी अस्ताए ।

कसैले देखे पनि नदेखे पनि, कसैले मूल्याङ्कन गरे पनि नगरे पनि, मान सम्मानबट वञ्चित रहे पनि उनले नेपाली भाषा साहित्यमा पुर्याएको योगदान स्तुत्य छ । धनकुटाका धरोहर खगेन्द्रको सालिक नबने पनि अक्षरको सालिक, शब्दको सालिक भएर उनी नेपाली वाङ्मयको टुँडिखेलमा टड्कारो उपस्थित छन् ।

(२२ असार २०७८, काठमाडौं)



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0