अर्थात् अभिमानसिंह बस्नेतको निशानी – Online Khabar


२४ असार, काठमाडौं । वि.सं. १८२५ असोज १३ गते गोरखाली सेनाको फौजले काठमाडौंमाथि कब्जा जमायो । इन्द्रजात्राको दिन सबै काठमाडौंवासी जात्रामा व्यस्त भएको दिन आक्रमण गरेर राज्य त कब्जामा लिए । तर यहाँको संस्कृतिमाथि भने हस्तक्षेप गरेनन् ।

राज्य कब्जा गरेलगत्तै पृथ्वीनारायण शाहले पहिले कुमारीको अघि शिर निहुराए । यहाँको संस्कृतिलाई स्वीकार गरेपछि स्थानीयले पनि उनलाई सहजै राजा मानेका थिए भन्ने ऐतिहासिक दस्तावेजमा भेटिन्छ ।

काठमाडौं एकीकरणपछि गोरखाली सेना र मुख्य सहयोगीहरुले काठमाडौंमै बस्ने इच्छा व्यक्त गरे । सेना र राजाको मुख्य सहयोगीहरुले बसोबासको लागि काठमाडौंका विभिन्न ठाउँ रोजे । त्यसमध्ये सैन्य कमाण्डर समेत रहेका अभिमानसिंह बस्नेतले रोजेको क्षेत्र हो, हालको केलटोल ।

मच्छिन्द्र बहालबाट असनतर्फ करिब १०० मिटर अघि बढेपछि बायाँतर्फ एउटा पुरानो घर भेटिन्छ । तल्लो तलामा तिलिंगा आयुर्वेदालय छ । साथमा केही अन्य पसलहरु । पहिलो तल्लामा टुटफुट भइसकेका सिसाको झ्याल छ । त्यसभन्दा मुनि साना साना सिपाहीहरुको प्रतिमा । त्यसमाथि बरण्डा छ । त्यसमाथि झिँगटीको छानो । यही घरलाई कसैले तिलिंगा घर भनेर चिन्छन् त कसैले पल्टन घर । तर यसको पुरानो नाम भने मानमन्दिर हो । जुन सैन्य कमाण्डर अभिमानसिंह बस्नेतले आफू र आफ्ना सेनाहरुलाई बस्नको लागि बनाएका थिए । भनिन्छ, यही घरमा पृथ्वीनारायण शाहको हस्तलिखित दिव्योपदेश भेटिएको थियो ।

एकीकरणताका सैन्य बलको नेतृत्व गरेर सेना प्रमुख र राजा समेत युद्ध लड्न जान्थे । जुनसुकै बेला पनि आफूविरुद्ध आक्रमण हुन सक्ने भएकाले सेनालाई एकीकृत रुपमा राख्नुपर्थ्यो । तर त्यतिबेला ब्यारेकको संरचना नभएकाले बस्नेतले पनि आफ्नै घरमा ७३ जवान पाल्ने गरेको बताउँछन् नेपालका लागि मलेसियाका पूर्व राजदूत डा. निरन्जनमान सिंह बस्नेत । डा. बस्नेत अभिमानसिंहका छैठौं पुस्ताका सन्तति हुन् । अहिले पल्टनघरको बाहिर देखिने प्रतिमा बस्नेतले पालेका सिपाहीहरुको हुन सक्ने उनको बुझाइ छ ।

उनका अनुसार त्यो घर आजभन्दा २४५ वर्ष पहिले बनाइएको हो । ‘तत्कालीन सैनिक कमाण्डर अभिमान सिंह बस्नेतले आफू एवं आफ्ना सैनिक अधिकारीहरुलाई बस्नको लागि यो घर बनाएका थिए,’ बस्नेत भन्छन्, ‘वि.सं. १८३३ सालमा बनेको यो भवनलाई समयसमयमा फरक-फरक प्रयोजनको लागि प्रयोग गरियो, धेरै प्राकृतिक विपत्ति आयो तर यो भत्किएन ।’

अभिमानसिंह बस्नेत वि.सं. १८०१ सालमा जन्मिएका थिए । उनी दुई वर्षको हुँदा उनका पिता शिवरामसिंह बस्नेत युद्धमा मारिए । त्यतिबेला युद्धमा मारिएका सेनाको परिवार तथा बच्चाको हेरचाह दरबारकै तर्फबाट गरिन्थ्यो । जसका कारण अभिमानसिंह बस्नेतले पृथ्वीनारायण शाहको प्रत्यक्ष रेखदेखमा हुर्किने मौका पाएको कुरा डा. बस्नेतले तयार पारेको श्रीपाली बस्नेतहरुको एकीकरणमा योगदान सम्बन्धी पुस्तकमा उल्लेख छ ।

उनको लडाइँ यात्रा वि.सं. १८१२ को सिरानचोकको युद्धबाट भएको थियो । उनी त्यतिबेला मुस्किलले १० वर्ष पूरा भएर ११ वर्ष लागेका थिए । पछि मकवानपुरको वि.सं. १८१९ को लडाइँ, सिन्धुलीमा अँग्रेजसँगको लडाइँ र कीर्तिपुरको पहिलो लडाइँमा गोरखाको तर्फबाट लडेका थिए । सिन्धुलीमा किनलकले आक्रमण गर्दाको समयमा उनी हरिहरगढीमा खटिएका थिए । पछि काठमाडौं जितेपछि १८३३ सालमा पल्टन घर निर्माण गरेका हुन् ।

०००

हाल पल्टन घर भनेर चिनिने मानमन्दिर अभिमानसिंह बस्नेतको समयमा पाहुनासँग भेटघाट गर्ने प्रयोजनको लागि बनाइएको थियो भन्ने दाबी गर्छन् डा. बस्नेत । पहिलो तलामा ठूलो इरानियन कार्पेट, बाहिर बेल्जियमबाट ल्याइएको सिसाको झ्याल । अन्य थरीथरीका सजावट सामग्री आदिले सजिएको बैठक कक्ष देशी तथा विदेशी पाहुनासँगको भेटका लागि प्रयोग गरिन्थ्यो । डा. बस्नेत दरबारबाहेक जनताको घरमा सिसाको ऐना राखेको यो पहिलो घर रहेको दाबी गर्छन् ।

एउटा घरमा छिरेपछि बरण्डा हुँदै त्यो क्षेत्रमा रहेको सबै घरमा जान मिल्नेगरी घरहरु जोडिएका थिए । सो क्षेत्रकै विशाल महलले करिब २४५ वर्षको कालखण्डमा धेरै विपत्तिको सामना गर्यो । ठूलाठूला भूकम्प र आगलागीबाट समकालीन घरहरुमा क्षति पुगे । कतिपयले आधुनिक शैलीमा पुनर्निर्माण गरेसँगै यसको अस्तित्व सकियो । अहिले अभिमानसिंह बस्नेतको निशानीको रुपमा एउटा जीर्णसहित दुई घर अस्तित्वमा छन् ।

पल्टन घरको पहिलो तलामा अहिले पनि सञ्चालित छ झण्डै उस्तै पुरानो इतिहास बोकेको तिलिंगा आयुर्वेदालय । औषधालयका सञ्चालक वासुकृष्ण वैद्य सो औषधालय आफ्ना पुर्खाले १८३२ सालबाट सञ्चालनमा ल्याएको दाबी गर्छन् । अहिले यो आयुर्वेदालयको कोठा समेत खुम्चिँदै गएको छ ।

अभिमानसिंह बस्नेतले बनाएको घरमा ७ वटा चोकहरु थिए । सबै घरहरु बराबर दुरीमा तीन तलाको बनाइएको थियो । झिँगटीको छानो थियो भने सातवटै चोकलाई घेर्नको लागि एक दर्जनभन्दा बढी घरहरु बनेका थिए । अभिमानसिंह बस्नेत कुन घरमा बस्थे भन्ने यकिन छैन । आसपासमा ठूला-ठूला दर्जन बढी घरहरु आधुनिक शैलीमा पुनर्निर्माण भइसकेका छन् भने उतिबेलाको सात चोक अहिले तीन वटा चोकमा सीमित भएको छ ।

अभिमानसिंहको पालापछि पल्टनघरको उपयोग

देशका विभिन्न ठाउँमा युद्ध र आक्रमणमा सक्रिय रहेका अभिमानसिंह बस्नेतको साढे ५५ वर्षको उमेरमा १८५७ सालमा निधन भयो । उनको निधनसँगै त्यो घर पहिलेको जस्तो सैन्य अड्डाको रुपमा प्रयोग हुन छाड्यो ।

तत्कालीन राजा रणबहादुर शाहको पालासम्म आइपुग्दा यो घर पहलमान लडाउने घरको रुपमा विकास भएको ऐतिहासिक दस्तावेजमा उल्लेख छ । असन बालकुमारी तर्फको पहिलो तल्लामा हुने पहलमान लडाइँको लागि राजा रणबहादुर शाह स्वयं त्यहाँ आउने गर्थे ।

त्यो घरमा रहेका सात चोकहरु बस्नेत परिवारले बिक्री गरेसँगै अस्तित्वविहीन बन्दै गए । कतिपय अतिक्रमणको चपेटामा परे । अहिले त्यो दरबार परिसरमा केवल तीन वटा चोक र तीन वटा मात्रै पुराना घरहरु बाँकी छन् । जसमा एउटा पल्टन घर, नारायण चोकको सम्मुखमा रहेको एउटा जीर्ण बनेको घर र गणेश चोकमा अर्काे एउटा घर छ ।

तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा बस्नेतहरुले पल्टनघर परिसरका अधिकांश घरहरु भक्तपुरका जोशी र प्रधानाङ्ग (मल्ल)लाई बिक्री गरे ।

बस्नेत खलकले बिक्री गरेसँगै धेरैले नयाँ शैलीमा घर बनाए । कतिपय घर भूकम्प र १९७० को दशकमा केलटोलमा भएको आगलागीमा क्षति पुगेपछि नयाँ घर बनाइयो । अभिमानसिंह बस्नेतको इतिहास बोल्ने सग्लो घर त्यही पल्टन घरमात्रै बाँकी रहेको स्थानीय बताउँछन् । त्यही घरमा २००७ सालपछि पृथ्वीनारायण शाहको दिव्योपदेश हस्तलिखित अवस्थामा भेटिएको डा. विपीन अधिकारीले नेपाली सेनाद्वारा प्रकाशित सिपाही नामक पत्रिकामा लेखेको आलेखमा उल्लेख छ ।

पुरातत्व विभागको चासो

प्राचीन स्मारक संरक्षण ऐनको व्यवस्था अनुसार १०० वर्ष पुराना कुनै पनि भवन वा अन्य स्मारकको पुनर्निर्माण गर्दा पुरातत्व विभागसँग अनुमति लिनुपर्ने व्यवस्था छ । यस्ता घरहरु पुनर्निर्माण गर्दा सकेसम्म पुरानै सामग्री र उस्तै शैलीमा निर्माण गर्नुपर्ने ऐनमा उल्लेख छ । नारायण चोकमा रहेको एक जीर्ण भवन र पल्टन घर पनि उक्त ऐनको व्यवस्थासँग आकषिर्त हुने भएपछि यसको पुनर्निर्माणमा पुरातत्व विभागले चासो देखाएको छ ।

यो घर अहिले बस्नेत खलकका आठ जना दाजुभाइको नाममा छ । उनीहरुले नयाँ मोडलमा घरको पुनर्निर्माणका लागि केही वर्ष पहिले नै तयारी गरेका थिए । एकातर्फ भाइहरुबीचको समझदारी नहुनु र अर्काेतर्फ पुरातत्वले चासो देखाएपछि लामो समय यो घरको पुुनर्निर्माण रोकिएको स्थानीय नेपालकुमार मिश्र बताउँछन् ।

पुरातत्व विभागले चासो देखाएपछि सो पुनर्निर्माणको काम रोकिएको थियो । अहिले पुरातत्वको निगरानीमा अगाडिको मोहोडा जस्ताको त्यस्तै राखेर घर पुनर्निर्माण गर्ने समझदारी भएको छ ।

दरबारमा उजुरी

वि.सं. २०१८ सालमा बस्नेत परिवारले बाँकी रहेको पल्टन घर पनि राजमानसिंह जोशीलाई बिक्री गर्ने तयारी गरेका थिए । त्यतिबेला भर्खर प्राचीन स्मारक संरक्षण ऐन कार्यान्वयनमा आएको थियो । पल्टनघर क्षेत्रका एकाधबाहेक अरु घर आधुनिक शैलीमा पहिले नै बनिसकेका थिए । तर दिव्योपदेशको धेरै अंश भेटिएको घर भएकाले पनि पल्टनघर त्यतिबेला विशेष थियो ।

सो घर बिक्री गरेर नयाँ शैलीमा निर्माण गर्न स्वीकृति दिने बस्नेतहरुको योजनाविरुद्ध दरबारमा उजुरी पर्यो । प्राचीन स्मारकको अस्तित्व सकिनेगरी बिक्री गर्न लागिएको विरुद्ध तत्कालीन तिलिंगा आयुर्वेदिक औषधालयका सञ्चालक विश्वनाथ वैद्यले उजुरी दिएको उनका भतिजा बासुकृष्ण वैद्य बताउँछन् ।

दरबारमा उजुरी परेपछि त्यो घर नयाँ शैलीमा बनाउन नमिल्ने फैसला भयो र तत्कालका लागि बिक्री समेत रोकिएको वैद्य स्मरण गर्छन् ।



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0