साङ्लाप्रति मानिसलाई यतिधेरै घृणा किन ? – Online Khabar


हरेकको घर-भान्सामा साङ्ला ‘अतंक’ छ । खासगरी रातको समयमा मान्छेहरुको चहलपहल बन्द भएपछि साङ्लाहरु निस्कन्छन् र जताततै सल्बलाउन थाल्छन् । साङ्ला देख्नसाथ कसैलाई घिन लाग्छ, कसैलाई डर लाग्छ । त्यसैले यसलाई मारेर सखाप पार्ने अघोषित अभियान नै चल्छ, घरघरमा ।

आखिर साङ्लालाई मार्दा किन हामीलाई दुःख लाग्दैन ? किन साङ्लाप्रति यतिधेरै घृणा ?

यसले हाम्रो मनोविज्ञानको एक गजब पाटोलाई उधिन्छ । मान्छेले आफुलाई अरुभन्दा उन्नत, बुद्धिमान र अलग प्राणीको रुपमा लिन्छन् । साथै आफुलाई धर्तीका अरु सबै प्राणी भन्दा सर्वश्रेष्ठ सावित गर्ने प्रयास गर्छन् । धर्तीमा जे-जति प्राणी छन्, ति सबैमाथि आफ्नो अधिकार जमाउने यत्न गर्छन् । तिनीहरु सबैभन्दा आफु अब्बल, श्रेष्ठ, उन्नत हो भन्ने ठान्छन् ।

सैद्धान्तिक हिसाबले ‘बाँच र बाँच्न देउ’ भन्ने मान्छे सकेसम्म सबैतिर आफ्नो मात्र आधिपत्य जमाउन खोज्छन् । आफ्नो मात्र हैकम एवं राज चलाउन खोज्छन् । त्यही कारण मान्छेले प्राणीमाथि पनि आफ्नो अधिकार जमाउँछन् । कुनै प्राणीलाई आफ्नै वशमा राख्छन् भने कसैलाई सखाप पर्ने कोशिस गर्छन् ।

किन मान्छेले सबै प्राणीलाई समान दृष्टिले हेर्दैनन् ?

यही कुरालाई बुझ्नका लागि आयुर्वेदिक चिकित्सक, लेखक, चिन्तक डा. अबरार मुल्तानीले एक छोटो प्रयोग गरेका छन् । उनको नतिजाले के भन्छ त ?

हामी किन सबै प्राणीलाई एकसमान दृष्टिले हेर्दैनौं ?

हालै मैले फेसबुकमा आफ्ना साथीलाई एक सानो काम दिएको थिए । उनलाई मैले आफ्नो बच्चालाई सोध्न लगाएको थिएँ कि, ‘उनलाई ककरोच मर्दा किन दुःख लाग्दैन ? साथै उनलाई चरा मर्दा किन दुःख लाग्छ ? जबकि दुबै प्राणी हो र दुबैमा प्राण हुन्छ ।’

‘चरा वा साङ्ला मर्दा उनको मनले फरक-फरक प्रतिक्रिया जनाउँछ ?’

उनको जवाफ घतलाग्दो थियो । भनौं, उनको जवाफमा हाम्रो मनोविज्ञानको प्रतिछायाँ झल्कन्थ्यो । अधिकांश मान्छे भन्छन् कि, ‘साङ्ला मर्दा हाम्रा बालबच्चा यसकारण दुःखी हुँदैनन् कि किनभने साङ्ला फोहोरी हुन्छ, फोहोरमा बस्छ । त्यसलाई देख्दा घिन लाग्छ । त्यसले रोग फैलाउँछ । डरलाग्दो हुन्छ ।’ यही कारण साङ्ला मर्दा बच्चाको मनमा दुःखको भाव जाग्दैन ।

तर, सोही बच्चा चरा मरेको देख्दा दुःखी हुन्छ किन ?

जवाफ यस्तो आउँछ, ‘चरा सुन्दर हुन्छ । मीठो आवाजले कराउँछ । हाम्रो कुनै कुरा नष्ट गरिदिदैन । त्यसले फोहोर फैलाउँदैन । त्यसको रगत पनि हाम्रो जस्तै रातो हुन्छ । चराले कुनै रोग फैलाउँदैन ।’

के मान्छेले क्रोधित देवताको जस्तो व्यवहार गर्न थालेको छ ?

केही सताब्दीदेखि मान्छे समूहमा बस्न थालेपछि आगो र औजारको माध्यामबाट आफ्नो आधिपत्य जमाउने प्रयास थाले । त्यही बेलादेखि मान्छेको व्यवहार कुनै क्रोधित देवताको जस्तै हुन थाल्यो ।

मान्छेले धर्तीका जीव र वनस्पतिमाथि आफ्नो प्रभूत्व जमाउन थाल्यो । जुन जीव वा बनस्पति राम्रो लाग्छ, जसले आफुलाई फाइदा गर्छ त्यसलाई संरक्षण गर्ने काम गरे । ठीक त्यसैगरी जुन जीव र वनस्पतिले आफ्नो फाइदा गर्दैन त्यसलाई नष्ट गर्न थाले । यसरी मान्छेले धर्तीका धेरै कुराको अस्तित्व नै नामेट बनाइदियो । कति वनस्पती र जीव यो धर्तीबाट सधैका लागि विदा भए ।

मान्छेको मनोवृत्ति 

मान्छेको मनोविज्ञानलाई  सुक्ष्म रुपले अध्ययन गर्ने हो भने, खासमा मान्छेले प्राणीमाथि मात्र होइन मान्छेमाथि पनि यस्तै व्यवहार गरिरहेका हुन्छन् । जो मान्छे आफुलाई राम्रो लाग्छ वा जसबाट आफुलाई फाइदा छ, उसैप्रति मान्छे बढी प्रेम र सद्भाव राख्छन् । आफुलाई मन नपर्ने वा आफुलाई कुनै फाइदा नपुग्ने मान्छेप्रति उनीहरु सद्भाव राख्दैनन् । बरु घृणा गर्छन् ।

अलि कमजोर, हेर्दा आकर्षक नदेखिने, आफुलाई फाइदा नहुने मान्छेसँग मान्छेले त्यती राम्रो व्यवहार गर्दैनन् ।

मान्छे धेरै हदसम्म स्वार्थी प्राणी हो, जो आफ्नै मात्र रजगज चलाउन खोज्छन् । ‘मै खाउँ, मै मात्र बाँचौं’ भन्ने धारणा पालेर मान्छेहरु सोही अनुसार व्यवहार गरिरहेका हुन्छन् । यसैको असर हो, मान्छे-मान्छेबीच झगडा, काटमार, घृणा, द्वेष, सत्रुता आदि । अनि यसैबाट जन्मिएको छ, डिप्रेसन, उच्च रक्तचाप आदि ।

के हाम्रो धारणा परीक्षण गर्न जरुरी छ ?

यो हाम्रो मूल मनोविज्ञान हो कि आफुलाई फाइदा नपुग्ने जीव र प्राणीप्रति हामी सधै घृणा गरिरहेका हुन्छौं । जुन जीवले दुर्गन्ध फैलाउँछ, रोग फैलाउँछ, कुरुप हुन्छ, डरलाग्दो हुन्छ, त्यसलाई हामी सखाप पार्न खोज्छौं । यसलाई हामी सत्रुकै रुपमा लिन्छौं ।

तर, के यो धारणा सही हो ? यसको परीक्षण गर्नु जरुरी हुन्छ । किनभने यस किसिमको धारणा जति जति विकसित हुँदै जान्छ, उति नै हामी मान्छे-मान्छेबीच पनि घृणा गर्न उक्सन्छौं । आफ्नो स्वार्थ र फाइदामा मात्र केन्दि्रत हुन्छौं । यसले हामीलाई क्रुर बनाउँछ । अरुप्रति प्रेम र स्नेह हराउँछ । हामी एकलकाँटे हुन्छौं ।

फेमिनाबाट भावनुवाद



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0