कारण र व्यवस्थापन – Online Khabar


पछिल्लो समय देशमा राजनैतिक संकट चुलिंदो छ । जस्तो खालको राजनैतिक चर्चा देशमा बेलाबेला भैरहन्छ, त्यस्तै चर्चा प्राकृतिक प्रकोप र तिनको व्यवस्थापनमा बारम्बार जस्तै हुने गर्दछन् तर प्रकोप व्यवस्थापनमा ठोस कदम भने न केन्द्र सरकारले चाल्न सक्यो न त प्रदेश र स्थानीय तहले चाल्न सकेको छ । सधैंको जस्तै नेपालमा वर्षायाम शुरु भएसँगै देशका विभिन्न भाग बाढी र पहिरोको उच्च जोखिममा रहने गर्दछन् । लगातार हरेक वर्ष बाढी पहिरोबाट अरबौंको क्षति हुने गर्दछ ।

गृह मन्त्रालयको पछिल्लो समयको तथ्यांकलाई हेर्ने हो भने पछिल्लो आठ वर्षमा मात्रै झण्डै आठ हजारको हाराहारीमा प्राकृतिक प्रकोपबाट मानवीय क्षति भएको पाइन्छ । हरेक वर्षजस्तै विपत्तिको सामना गर्दै आइरहेका हामीलाई वर्षायामको सुरुवातसँगै सिन्धुपाल्चोकको मेलम्चीमा बाढीले मच्चाएको वितण्डाले थप चिन्तित तुल्याएको छ । पछिल्लो अवस्थालाई आकलन गर्ने हो भने जुन दर र जुन प्रकृतिको पहिरो गइरहेका छन् तिनको आक्रामकता अझै बढी देखिन्छ । वर्षायामको सुरुवातसँगै हुने भीषण वर्षा, बाढी र पहिरो कारक भए पनि कतिपय ठाउँमा भने मापदण्ड विपरीत बनाइएका मानवीय संरचना पनि यसको लागि जिम्मेवार हुने गर्दछ ।

उसो त अत्यन्तै चलायमान एवम् कमजोर भू-बनोट भएको नेपाल विश्वमा भूकम्पीय र बाढी-पहिरोको हिसाबले पनि अति जोखिम मुलुकको सूचीमा पर्छ । अहिलेकै आँकडालाई आधार मानेर भन्ने हो भने पनि भूकम्पको हिसाबले नेपाल ११औं स्थानमा पर्दछ भने बाढीपहिरोको हिसाबले ३०औं अति जोखिमयुक्त मुलुकमा पर्दछ ।

गत वर्षझैं यस वर्ष पनि वर्षायामको सुरुवातसँगै सानादेखि ठूला पहिरोहरू जाने क्रम जारी छ । पछिल्लो समय हेर्ने हो भने जति पनि बाढी पहिरोका घटनाहरू भएका छन् । ती सबै सधैं जस्तै भारी वर्षालाई र भिरालो जमीनलाई मात्रै दोषारोपण गर्ने खालका देखिंदैनन् । देशैभरिका पछिल्लो समयको विकास निर्माण हुटहुटीलाई हेर्ने हो भने विना अध्ययन, विना मापदण्ड एवम् मनपरी ढंगले निर्माण भैरहेका सडक सञ्जालले नै झनै पहिरोलाई प्रोत्साहन गरेको जस्तो देखिन्छ ।

समष्टिगत एवम् केही विश्लेषणात्मक ढंगले भन्ने हो भने जोखिम पहिचान, पूर्वाधार विकासको शैली, बस्ती विकासको ढाँचा र प्रविधि साथै विपद् पूर्व सम्बन्धी गरिने अध्ययन र अनुसन्धानको कमि लगायतका कुराहरू पनि पछिल्लो समय क्षतिको प्रमुख कारणको रुपमा देखिन्छ । सामान्य त यो वर्ष मनसुन शुरु भएयता छोटो समयमा पनि औसत भन्दा बढी वर्षा भैरहेको पनि जल तथा मौसम विज्ञान विभागको तथ्यांकले पनि देखाउँछ । यसले गर्दा वर्षाको पानी जमीनको सतहमा एकैतर्फ बग्दा त्यसको प्रभाव सतहको माटोमा पर्न गई पहिरोको सुरुवात हुन थाल्छ । यसको प्रभाव त्यो जमीनको तल रहेको कमजोर भू-भागमा पर्न जान्छ र पहिरोको आकार झनै ठूलो साथै विनाशकारी रुपमा परिणत हुन पुग्छ । यस्तै पहिराहरू नेपालमा अहिले गहिरहेको देखिन्छ ।

नेपालमा पहिरो जानुको अर्को कारण २०७२ सालमा गएको भूकम्पले हल्लाएको जमीन पूर्ण रुपले पुरानो अवस्थामा आई नसक्नु हो जो प्रक्रिया पूरा हुन कम्तीमा पनि १० वर्ष लाग्ने गर्छ ।

क्षतिको अवस्थालाई हेर्ने हो भने यस वर्ष पनि गत वर्ष जस्तै तहसनहस पर्ने संकेत देखिन थालेको छ । हाम्रा विपद् पूर्व अपनाइने सावधानीको कमिले पनि हाम्रो क्षति धेरै हुने गरेको पनि देखिन्छ । अझै विस्तृत रुपमा भन्ने हो भने विपद् सम्बन्धी जीवन उपयोगी अध्ययन अनुसन्धानको कमि राष्ट्रियस्तरमा नै देखिन्छ । जसको कारण कुन ठाउँ कुन बस्ती पहिरोको हिसाबले जोखिम स्थानमा छन् भन्ने कुरा नै यकिन गर्न सकिएको छैन । यसले गर्दा बस्ती स्थानान्तरण गर्ने कामले पनि मूर्तरुप लिन सकेको छैन । यस्ता किसिमका समस्या समाधानको लागि वैज्ञानिक भू-उपयोगको नीति बनाएर व्यावहारिक ढंगले लागू गर्नुपर्ने अहिले गइरहेका पहिरोहरूको प्रकृतिले देखाउँछ ।

हाम्रो जस्तो कमजोर भौगर्भिक बनोट भएको मुलुकमा अति कमजोर, असमान एवम् संवेदनशील भू-बनोट भएको ठाउँमा बस्ती बस्नु, पहिरोले घेरिएको ठाउँमा बस्ती हुनु, पुरानो पहिरो गएको ठाउँमा बस्ती बस्नु, अति नै भिरालो भू-भागमा बस्ती बस्नु, खहरे खोला नजिक बस्ती बस्नु र यस्तै किसिमले मानवीय क्रियाकलापलाई अगाडि बढाउनु साथै विकासका नाममा सम्भावित विपद्को पहिचान नगरी हचुवाको भरमा सडक विस्तार गर्नु लगायतका कामहरू गर्नुहुँदैन भनी गत र यो वर्ष गैरहेका पहिरोहरूले निर्देश गर्न खोजेको देखिन्छ ।‌‍‍‌‍

विपद् व्यवस्थापनमा सर्वसाधारण नागरिकदेखि स्थानीय सरोकारवालाहरू, विषयविज्ञ, मिडियाकर्मीहरू, राजनैतिक पार्टीहरू सबैको आफ्नो ठाउँबाट प्रयास जरुरी हुन्छ । प्राकृतिक प्रकोपबाट पूर्णरुपमा जोगिन र पूर्ण रुपमा नियन्त्रण गर्न कठिन देखिन्छ तर प्रकोप सम्बन्धी पूर्व तयारीबाट भने धेरै हदसम्म क्षति न्यूनीकरण गर्न भने सकिन्छ । सामान्यतः प्राकृतिक प्रकोपको पूर्व तयारीको लागि गरिने खर्च र प्रकोप पछि पुन:स्थापनाको खर्चको पनि आकाश-पातालको जस्तो फरक पर्न जान्छ । त्यसैले पनि हामीले विपद् पूर्वतयारीको लागि नै जोडदार तरिकाले अगाडि बढाउनु पर्ने देखिन्छ । त्यसको लागि तिनै तहका सरकारहरूले संयुक्त प्रयासहरू अगाडि बढाउनुपर्ने देखिन्छ । आगामी प्रकोप व्यवस्थापनको बाटोलाई नियाल्ने हो भने प्रकोप व्यवस्थापन एवं पूर्व तयारीको लागि छुट्टै संयन्त्रको विकास गरी तलदेखि माथिल्लो तहसम्म नै प्रकोप व्यवस्थापन सम्बन्धी अध्ययन तथा अनुसन्धानलाई जोड दिएर सम्भावित जोखिम क्षेत्र पहिचानको अनुसन्धानको दायरा बढाउनुपर्ने देखिन्छ ।

यति मात्रै होइन समुदायस्तरमा प्रकोप सम्बन्धी सचेतनाका कार्यक्रमलाई अगाडि बढाई समग्र रुपमै बस्ती विकासको नवीन योजनाहरू बनाउनुपर्ने देखिन्छ । अर्कोतर्फ भन्ने हो भने पहिरो बाढी जस्ता प्राकृतिक प्रकोपबाट बच्न स्वयम् नागरिक पनि बढी चनाखो हुनुपर्ने देखिन्छ । सरकारी संयन्त्रले जारी गरेको सूचना र जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान हेर्ने, सुन्ने र आफू जोखिम स्थानमा भएको थाहा भए सुरक्षित स्थानमा जानुपर्दछ ।

अन्त्यमा समग्र नेपालभरिको अवस्थालाई नियाल्ने हो भने पहिरो र बाढी बढी जानुको कारण मनसुनी वर्षा भए पनि त्यसलाई मात्रै आधार मानेर बस्ने अवस्था छैन । पहिरो जाने मुख्य भूमिका वर्षाले खेले पनि जोखिम र क्षति बढाउने प्रमुख कारक भने विना विज्ञान भइरहेका मानवीय कामहरू देखिन्छन् । त्यसैले पनि कस्तो ठाउँमा बस्ती बसाउने र कहाँ-कहाँ सडक सञ्जाल विस्तार गर्ने भन्ने कुराको स्पष्ट मापदण्ड बनाउनुपर्छ ।

(भौगर्भिक इन्जिनियरिङका अध्येता आचार्य त्रिभुवन विश्वविद्यालयसँग आवद्ध छन् ।)



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0