खोलालाई दोष, सरकार-ठेकदार निर्दोष ! – Online Khabar


२२ असार, काठमाडौं । निर्माणाधीन र निर्माण सकिएर सञ्चालनमा रहेका पुलहरु भाँचिने र बगाउने क्रम उच्च दरमा बढेको छ । तर, यसको जिम्मेवारी लिन कोही पनि तयार छैनन्, बरु बाढी र खोलालाई नै दोष दिएर पन्छिने क्रम चलिरहेको छ ।

सवारी चलिरहेका पुलको सुरक्षामा गम्भीर नदेखिएको सरकार पछिल्लो सयममा पुल निर्माणका क्रममा हुने लापरवाही र गुणस्तरहीन काममा पनि मुकदर्शक बनिरहेको छ । पुल भत्किँदा न निर्माण व्यवसायीले आफ्नो कमजोरी स्वीकारेका छन्, न सरकारले दोषी ठहर गरेर कारवाही गर्न कुनै कदम चालेको छ ।

गत चैत २३ गते राति तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्ने त्रिशूली नदीमाथि बनिरहेको पुल भत्कियो, भत्किएको भाग व्यवस्थापन गने क्रममा गत वैशाख १३ गते सोही पुलमा थप क्षति भयो र दुई श्रमिक त्रिशूलीमा बेपत्ता भए ।

पुल भत्किएको घटना छानबिन गर्न बनेको समितिले दिएको प्रतिवेदनलाई सडक विभागले दराजमा थन्क्यायो । जुन, प्रतिवेदनमा ठेकेदार कम्पनीको लापरवाहीपूर्ण तवरको कामको कारण दोहोर्‍याएर घटना भएको ठहर गरिएको विभाग स्रोत बताउँछ ।

पुल निर्माणमा भइरहेको यस्तो लापरबाही र बनेका पुलको असुरक्षाका पक्षलाई बेलैमा सम्बोधन नगर्दा वैशाखयता मात्रै १८ वटा पुलहरु क्षतिग्रस्त भएका छन् । सडक विभागका प्रवक्ता शिवप्रसाद नेपालकाअनुसार १८ मध्ये १४ वटा सडक विभागसम्बद्ध पुल छन् भने ४ वटा प्रदेश, स्थानीय तह र अन्य विभागले बनाएका पुल हुन् । यि पुल भत्किँदा करिब १ अर्ब २५ करोड नोक्सान भएको छ ।





यो पनि पढ्नुहोस
बाढी पहिरोबाट पुलमा पुगेको क्षति अध्ययन गर्न कार्यदल गठन

चितवनको ठिमुरामा २२० मिटर लामो ढलान भइसकेको पुलको ८० मिटर भाग भत्किँदा भएको बदमासीबारे सडक विभाग अहिलेसम्म मौन छ । न छानबिन प्रतिवेदन सार्वजनिक गरिएको छ, न विभागले दोषीमाथि कारबाही गरेको जानकारी गराएको छ ।

पुल भत्किने क्रम बढेपछि फेरि सरकारले कर्ममाण्ड पूरा गर्न विभागको पुल महाशाखा प्रमुख दीपक श्रेष्ठको संयोजकत्वमा छानविन समिति बनाएको छ ।

दोषीलाई दण्डित गर्न चुकिरहेको सरकार पटक-पटक यस्ता घटना दोहोरिँरहदा पनि पुल भाँचिने, बग्ने र क्षति पुग्ने घटनाप्रति गम्भीर देखिएको छैन ।

बन्दाबन्दै पुलहरु खोलाले बगाउने क्रम पछिल्ला दुई वर्षमा अत्याधिक दरले बढेको छ । तर, सडक विभाग, स्थानीय पूर्वाधार विभाग, प्रदेश सरकार र स्थानीय तहरु यस्ता समस्या समाधानमा गम्भीर भएर लागेका छैनन् ।

धनुषा र सिराहा जोड्ने कमला नदीमाथि बनिरहेको करिब २५ करोड लागतको पुल निर्माण सुरु भएको १० वर्षपछि बल्ल-बल्ल बनेको थियो । अन्तिम चरणको काम गदर्नगर्दै गत आसर १७ गतेको सामान्य बाढीमा नै नै पुलको पिल्लर भासियो ।

त्यसको एक दिनपछि उदयपुरको चौदण्डीगढी नगरपालिका- ५ सिवाइस्थित त्रियुगा नदीको पक्की पुल भत्कियो । निर्माणको अन्तिम चरणमा पुगेको पुलको दुई स्पानमा क्षति पुग्यो ।

वर्षामा संवेदनशील काम

असार लागेयता नै यस्ता दर्जनभन्दा बढी घटना भएका छन् । अझै वर्षायामको लामो अवधि बाँकी नै रहेकाले कति निर्माणाधीन र बनिसकेका पुल बग्छन् भन्ने पत्तो छैन । निर्माणाधीन र भर्खरै बनेका पुलहरु भाँचिने, बग्ने घटना बर्सेनि बढ्दै गएका छन् । विज्ञहरु यस्ता घटनालाई पाठका रुपमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिन्छन् ।

पूर्वसिनियिर डिभिजनल इन्जिनियर प्रकाश उपाध्याय भएका घटनाबाट पाठ सिकेर काम गर्ने परिपाटी नबस्दा समस्या झांगिँदै गएको देख्छन् । उपाध्याय पुलहरु भत्किनुमा एकैखालका कारण नहुने बताउँछन् । पछिल्ला दिनमा बालुवा र माटो थुपारेर त्यसमाथि टेको राख्दै पुलको स्पान ढलान गरिएका कारण बढी जोखिम हुन थालेको उनको अनुभव छ ।

‘पुल ढलान गर्दा फर्माको लागि तलबाट माटो थुपारेर स्काफोल्डिङ गर्ने चलन छ’ उनी भन्छन्, ‘माटो र बालुवा जतिबेला पनि भासिन सक्छ, बाढी आएर जतिबेला पनि बनिरहेको पुल बगाउन सक्छ । अहिले बढी घटना यस्तै अवस्था हुँदैछ ।’ गत हप्ता मकवानपुरको समारी खोलामा बनिरहेको पुल पनि यस्तै अवस्थामा बगेको थियो ।

पुल बनिरहेका समयमा पर्याप्त अनुगमन नगर्ने र भत्किएपछि सबै दोष परामर्शदाता र ठेकेदारलाई लगाएर उम्कने प्रवृत्ति सरकारी निकायमा छ । ठेकेदारले दक्ष जनशक्ति नलगाउँदा पनि यस्तो समस्या दोहोरिने गरेको विज्ञहरु बताउँछन् ।





यो पनि पढ्नुहोस
निर्माण सकिनै लागेको पक्की पुल त्रियुगाको बाढीले बगायो

पुलका लागि अपर्याप्त बजेट र कमजोर डिजाइनमै काम गराउन सरोकारवाला निकायहरु तम्सिंदा पनि दुर्घटना निम्तिने गरेको छ । बजेट नै कम राखेर लागत तयार गरिएको टेन्डरमा ४० प्रतिशतसम्म घटेर ठेक्का लिने प्रचलन थपिरहेको छ ।

पुलमा प्रयोग हुने निर्माण सामग्रीको गुणस्तरमा पनि समस्या भएको हुनसक्ने पूर्व सिनियर डिभिजनल इन्जिनियर उपाध्याय बताउँछन् । उनका अनुसार नेपालमा निर्माण सामग्रीको गुणस्तर परीक्षण गर्ने भरपर्दो प्रयोगशाला नै छैनन् ।

‘समग्र निर्माण सामग्रीको प्रतिनिधित्व गर्ने गरी परीक्षण हुँदैन’, उनी भन्छन् । पुल निर्माणमा ठेकेदार, इन्जिनियर, कामदार र आयोजना समेतले हेलचेक्र्याइँ गर्दा भत्किने घटना बढेको उपाध्यायको भनाइ छ ।

अध्ययन, डिजाइन, निर्माण र सुपरीवेक्षणमा प्रश्न

विज्ञहरु अध्ययन, डिजाइन र निर्माण र सुपरीवेक्षणको बाटोलाई बलियो नबएसम्म कमजोर पुलहरु बन्ने क्रम नरोकिने बताउँछन् । भूगर्भप्रविधि इन्जिनियर भेषराज थापा १०० वर्षमा हुने पानीको बहावको मात्रै हिसाव गरेर पुल डिजाइन गर्दा पनि समस्या देखिएको बताउँछन् । ‘नदीमा सँधै कञ्चन पानी मात्रै बग्दैन, त्यसमा ढुंगो, गिट्टी बालुवा र अरु विभिन्न सामग्री मिसिएर ठूला ठूला बढी पनि आउँछन्,’ उनी भन्छन्,’तर, यसलाई ध्यानमा राखेर अध्ययन नहुँदा पनि यस्तो समस्या बढेको हुनसक्छ ।’

उनका अनुसार पहाडी क्षेत्रमा विकासका कामहरु बढेका छन्, मनलाग्दी तवरले ग्रामीण सडकहरु खनिँदैछन् । त्यसबआट निस्किएको माटो र ढुंगा नदीमै आइपुग्ने गर्छ । यस्ता कारणले नदीमा बढेको चापलाई अहिले पुलहरु थेग्न नसकेको हुन सक्ने उनी बताउँछन् ।

अध्ययन गर्दा नदीको पानीको बहाबको एकीत खालका पुरानो तथ्यांक पनि नहुने गर्दा पनि समस्या भएको उनले बताए । पछिल्लो सयममा जलवायु परिवर्तनका कारण मसलधारे वषर्ा हुने क्रम बढेको र त्यसले भूक्षयसहितका विनास निम्तिाउने गरेकाले त्यसको असर पुलहरुमा परेको थापा बताउँछन् ।

अब सरकारले अध्ययनको सीमालाई बढाएर २०० वर्षमा आउनसक्ने बढीका आधारमा पुलहरुको निर्माण गर्नुपर्ने उनको मत छ । पानीको बहावको अध्ययनको आधारमा जसरी सिफारिस गरिएको छ, त्यसैगरी पूर्वाधारको डिजाइन र निर्माण नभएमा पनि समस्या आउनसक्ने थापा बताउँछन् ।

नयाँ प्रविधि प्रयोग नगर्ने, गरे पनि विज्ञलाई संलग्न नगराउने प्रवृत्ति ठेकेदारहरुमा छ । भूगर्भको परीक्षण वैज्ञानिक तथ्यमा आधारित भएर नगरिंदा पनि पुलहरु भासिने गरेको विज्ञहरु बताउँछन् ।

सही डिजाइनका पुल निर्माणमा पनि ठेकेदारको लापरवाही भेटिन्छन् । निर्माणको क्रममा हुने ढिलाइ र कमजोर गुणस्तरका सामग्रीको प्रयोगले पनि पुलहरु भत्किने क्रम बढेर गएको छ । निर्माणको समयमा सुपरीवेक्षण नगर्ने, ठेकेदार र परामर्शदातासँगको मिलेमतोमा सही तरिकाले काम नहुँदा पनि मोन बस्ने सरकारी प्रवृत्ति पनि दोषी रहेको उनीहरुको मत छ ।

सरकार र ठेकदारका आ-आफ्नै तर्क

निर्माण व्यवसायीहरु भने महामारीपछि सिर्जित अप्ठेरो अवस्थाका कारण समयमै काम गर्न नसक्दा बाढीले बनिरहेको पुल बगाउने क्रम बढेको दावी गर्छन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंह श्रमिकको अभाव, समानको आपूर्ति र विभिन्न सयममा आएका आँधी र महामारीको कारण वषर्ाअगावै गर्नुपर्ने काम नसकिँदा पुहलरु बग्न पुगेको बताउँछन् ।

‘पि्र-स्ट्रेस प्रविधिमा पुल बनाउने क्रम बढेको छ, यस्तो पुल बनाउँदा तलबाट २८ दिनसम्म टेकोले स्ल्याब अड्याएर मात्रै दुबै साइडबाट तार तान्नुपर्छ,’ उनी भन्छन्,’तर, तार तन्काउन नपाउँदै बाढी आएर यो र गत वर्ष धेरै पुल बगायो ।’

उनले भारतबाट आउने समग्री समयमे आउन नसकेको र देशिभत्रि पनि निषेधाज्ञाका कारण आपूर्ति व्यवस्था सहज नभएकाले धेरै घटना हुन पुगेको तर्क गरे ।
उनले कतिपय पुल भने गलत डिजाइनको शिकार भएको हुनसक्ने बताए । कमला र उदयपुरमा बगेको पुलहरुको डिजाइन गर्दा नै नदीको वास्तविक अवस्था नहेरिएको उनको विश्लेषण छ ।

‘कमलामा पूर्वपश्चिम राजमार्गमा ७ सय मिटरको पुल छ, तर हुलाकी राजमार्गमा ४७० मिटरमै खुम्च्याएर बनाइएको छ, त्यसले गर्दा पनि पुलले बाढी धानेन कि ?’ उनी भन्छन्,’ मनाङ जाने सडकका पुलहरु बग्नुमा भने अप्रत्यासित खालको वषर्ा र नदीको सतह कारण हो, डिजाइन र निर्माण गर्दा खोलामा त्यत्रो बाढी आउला भनेर कल्पनै गरेको छैन ।’





यो पनि पढ्नुहोस
बल्ल बल्ल १० वर्षपछि बनेको पुल सामान्य बाढीले भत्कायो

यो वर्ष विगतमा २७/२८ वर्षकै बढी वर्षा भएकाले पनि पुलहरुमा बढी क्षति भएको सिंह बताउाछन् । ‘नदीको बहाव प्रवृत्तिको अध्ययन नगरी हचुवाका भरमा पुल डिजाइन गर्ने कामले पनि समस्या थपेको छ,’ उनी भन्छन् ।

सडक विभागका अधिकारीहरु भने नेपालमा नयाँ प्रविधिका पुलहरु बन्न थालेकाले आवश्यक ज्ञान र सावधानी नपुग्दा बीचैमा बग्ने, भाँचिने, भासिने घटना बढेको बताउँछन् ।
‘पहिलेको आरसीसी पुलमा पिल्लरहरुबीचको दूरी २५ मिटर मात्रै हुन्थ्यो, अहिले पि्रस्ट्रेस प्रविधिमा ५५ मिटरसम्मको दूरी राखेर पुल बनाइन्छ’ सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवप्रसाद नेपाल भन्छन्, ‘ठेकेदारले डिजाइन र प्रविधिअनुसार सावधानीपूर्ण र वैज्ञानिक तवरले काम नगर्दा भत्कने समस्या बढेको हो । कतिपय अवस्थामा अनुगमनको पाटो पनि कमजोर भएको हुनसक्छ ।’

विभागले तनहुँको बनिरहेका पुल भाँचिएको घटनाबाट पाठ सिकेर काम गर्ने उनले बताए । उनले भने, ‘नयाँ प्रविधिको पुलको विषयमा विभागकै इन्जिनियर र निर्माण व्यवसायीहरुलाई तालिम पनि आवश्यक देखिएको छ ।’

हुलाकी सडक आयोजना निर्देशनालयका निर्देशक रोहित बिसुराल १०० वर्षका लागि बनाइएका पुलहरु पनि बनिनसक्दै भत्किनुले गुणस्तरमाथि प्रश्न उठिरहेको बताउँछन् । घटनाहरु छानविन गरेर दोषीलाई कारवाही गर्न विभाग तयार रहेको उनी बताउँछन् ।

‘वर्षौं लगाएर पुल बन्दा स्थानीयहरु कति खुसी भएका हुन्छन्, तर यस्ता घटनाले उनीहरुलाई आघात पुग्छ,’ उनी भन्छन् ।

यो पनि पढ्नुस्-

गोरखाको बारपाक र अजिरकोट जोड्ने पक्की पुल बाढीले भत्कायो  

मर्स्याङ्दीको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल भत्कायो  

तनहुँको छाब्दी दोभानको पक्की पुल बाढीले बगायो  

निर्माण नसकिंदै भासिएको कमला नदीको पुलको छत पनि झर्‍यो



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0