विपश्यनाले बदलियो अभिनेत्रीहरूको बोली-व्यवहार


मानिस आफ्ना बारेमा सकारात्मक कुरा मात्रै सुन्न चाहन्छ । नराम्रा टिप्पणीले हरेक मानिसको मन र मथिंगल बिथोलिदिन्छ ।

त्यसमाथि दिनभरिको दौडधुप । कामको चाप र तनाव । मिडियामा आइदिने गसिप । बेला-बेलामा चाहेर वा नचाहेर भैदिने विवाद । यी सबै कुराले सेलिबि्रटीहरूको मन-मस्तिष्कलाई झन् गिजोलिरहेको हुन्छ ।

चलेका सेलिब्रिटीहरू त निजी जीवन पनि कमै मात्र जिउन पाउँछन् । सार्वजनिक स्थानमा दिल खोलेर हिँड्नै मुस्किल हुन्छ । मनमा लागेका कुरा खुलेर बोल्नै गाह्रो पर्छ । यस्तै, परिस्थितिले घेरिएका हुन्छन् सेलिब्रिटीहरू ।

बाहिरी दुनियाँमा जति चमकधमक देखिएपनि सेलिब्रिटीको जीवन पनि आम मानिसको भन्दा भिन्दै हुँदैन । उनीहरूको पनि आम मानिसकोजस्तै घर व्यवहार हुन्छ । नातागोता र आफन्ती हुन्छन् । सामान्य मानिसको जस्तै मन दुख्छ । उनीहरूको नाम जोडेर बजारमा आइदिने हल्लाले तनाव हुन्छ ।

अभिनेत्री केकी अधिकारी, आाचल शर्मा, रीमा विश्वकर्मा निषेधाज्ञाको समयमा ११ दिनसम्म विपश्यनामा बसे । विपश्यनाबाट बाहिर आएपछि उनीहरूको बोली फेरिएको छ । उनीहरूको सोचाइा बदलिएको छ ।

तनावका कारण कतिपय सेलिब्रिटी मानसिक समस्यामा परेका छन् । कलाकारहरू आफ्नो जिन्दगीलाई बुझ्ने मौका कमै पाउँछन् । भागदौडको जीवनबाट उनीहरू पनि केही दिनलाई छुटकारा पाउन चाहन्छन्, तर सबैलाई सहजै समय कहाँ मिल्छ र ?

पछिल्लो समय सेलिब्रिटीहरू प्रकृतिसँग रमाउने, ध्यान, योग गर्ने कुरामा केन्द्रित भएको पाइन्छ । नेपाली चलचित्रका केही अभिनेत्रीहरूले लकडाउनको समयमा दिमागलाई एकाग्र बनाउन विपश्यना रोजे ।

अभिनेत्री केकी अधिकारी, आँचल शर्मा, रीमा विश्वकर्मा निषेधाज्ञाको समयमा ११ दिनसम्म विपश्यनामा बसे । विपश्यनाबाट बाहिर आएपछि उनीहरूको बोली फेरिएको छ । उनीहरूको सोचाइ बदलिएको छ ।

अभिनेत्री केकी अधिकारीले त आफूले जानेर वा नजानेर अहिलेसम्म गरेका गल्तीका लागि माफी नै मागिन् । अभिनेत्री आँचल शर्मा पनि आफूहरूले कहिलेकाँही आफ्ना कुरा मात्रै ठीक हुन् भन्ने सोचेर बोल्ने गरेको तर त्यो सोचाइ गलत भएको बताउँछिन् ।

विपश्यनामा बसेर फर्किएपछि अभिनेत्रीहरूको जिन्दगीमा के फरकपन आएको छ ? उनीहरूले जीवनलाई बुझ्ने तरिकामा कति भिन्नता आयो ? अनलाइनखबरले उनीहरूसँग जिज्ञासा राखेको छ । प्रस्तुत छ, अभिनेत्रीहरूको भनाइ उनीहरूकै शब्दमा:

विपश्यनाले अनुशासन सिकाउँछ: केकी अधिकारी

मलाई १० वर्ष अघिदेखि विपश्यनामा जान मन लागेको थियो । स्कुलमा अध्ययन गर्दा एकपटक गएकी पनि थिएँ । तर, ३ दिन पनि बस्न सकिनँ र फर्किएँ । त्यसपछि  मैले विपश्यनाको विषयमा विभिन्न लेखहरू पढेँ, निकै सकारात्मक लाग्यो ।

तर, १० दिनको समय निकाल्न निकै गाह्रो भयो । समय मिलाउन सकिरहेकी थिइनँ । यसपटक लकडाउनको समयमा फुर्सद नै फुर्सद भयो । यही बेलामा समयलाई सही सदुपयोग गरौं भन्ने लाग्यो । मैले आफूलाई ध्यानमा राख्नुपर्छ भनेर विपश्यना रोेजेकी होइन । ११ दिनसम्म बस्न सक्छु कि सक्दिनँ भनेर गएकी हुँ ।

विपश्यनामा अनुशासन छ । बिहान ४ बजे उठ्नुपर्ने र ९ बजे सुत्नुपर्ने हुन्छ । विपश्यनामा जोडिएको चौथो दिनदेखि भने त्यहाँ गरिने हरेक क्रियाकलापलाई बानीमा ढाल्न सकिने रहेछ । पलेटी कसेर बस्दा केही मिनेटमा नै खुट्टा चलाउन थालिन्छ ।  तर विपश्यनामा पलेटी कसेर बस्दा बिस्तारै बानी पर्छ । दुखे पनि सहनुपर्छ ।

हामी चलचित्रमा काम गर्ने कलाकारहरूमा नकारात्मक कुरा बढी सुन्ने, सोच्ने बानी हुन्छ । यो बानीलाई परिवर्तन गर्न सकियो भने धेरै फाइदा हुने रहेछ । तर, हामीले बाच्ने समाज यही नै हो । फेरि, घृणा, तनाव सुरु हुन्छ । यसैले, यसलाई निरन्तरता दिन भने गाह्रो हुने रहेछ । विपश्यनामा ११ घण्टासम्म म ध्यानमा बसेकी थिएँ । अहिले पलेटी कसेर बस्छु भन्दा १५ मिनेटमै खुट्टा चलाउन मन लाग्छ ।

मैले, विपश्यनाबाट फर्किएपछि सामाजिक सञ्जालबाट माफी मागेँ । उसो त, म विपश्यना नगएकी भए पनि माफी माग्थेँ होला । किनकि म यस्तै स्वभावकी मानिस हुँ ।

विपश्यनामा जिन्दगी त छर्लङ पो हुने रहेछ: रीमा विश्वकर्मा

हामी हरेक दिन कामैकाम भनेर दौडिएका हुन्छौं । १० दिनसम्म फुर्सद लिएर मनलाई एकाग्र बनाउने त कल्पना नै भएन । यसपटक भने घरमा बसेको समयमा कहाँ जाउँ भन्ने भएपछि विपश्यनामा पुगेकी हुँ । मलाई विपश्यनामा बस्न गाह्रो भएन । किनकि म प्रविधिमा खासै रमाउने मानिस होइन । म प्रकृतिसँग बढी रमाउँछु । काम नपर्दा म खासै मोबाइल चलाउदिनँ ।

यो संसारमा पत्ता लगाउन बाँकी कुराहरू निकै कम छन् । विद्वान र दार्शनिकहरूले धेरै कुरा पत्ता लगाइसकेका छन् । तर, अरूले पत्ता लगाएको दर्शनहरूलाई पछ्याउनुभन्दा आफूले नै आफूबाट अनुभव गर्न सकेको खण्डमा मात्र परिवर्तन हुनेरहेछ ।

विपश्यनामा पुगेपछि मैले आफूलाई गहिरो तरिकाले नियाल्ने मौका पाएँ । त्यहाँ बसेपछि आफूले बाँचेको जिन्दगीलाई किस्ता-किस्तामा केलाउने मौका पाएँ । हामी त निकै हतारको जिन्दगी पो बाँचिरहेका रहेछौँ ।

दिमागलाई एकाग्र बनाएर ध्यान गर्दा आफ्ना रहेक पललाई सूक्ष्म तरिकाले नियाल्न सकिने रहेछ । सुख र दुःखमा आफूबाट कस्ता गल्ती भए भनेर नियाल्न पाइने रहेछ । जिन्दगी त छर्लङ पो हुने रहेछ ।

१० दिन त हामीले तपस्वी जसरी जिन्दगी बाँचेका हौं । तर, त्यही मुडलाई निरन्तरता दिन भने सकिँदैन । अब मैले भोग्ने हरेक घटनालाई ग्रहण गर्ने र त्यसमा दिने प्रतिक्रिया भने बदलिन्छ । मैले विपश्यनामा १२ घन्टा ध्यान गरेँ ।

अब दिमागलाई केही घन्टा भएपनि शान्त राख्ने कोसिस गरिरहेकी छु । अब दुःख पर्दा म रुदिनँ, बरु ध्यान गर्छु । मस्तिष्कलाई आफ्नो बसमा राख्नसक्ने हो भने जीवन आनन्दमय छ । हामीले अहिलेसम्म त आफ्नो जिन्दगी आफ्नो तरिकाले बाँचेका नै रहेनछौं ।

तपोवनले बेनिशाको जीवनमा ल्याएको परिवर्तन: बेनिशा हमाल

४ वर्ष अगाडि आफूलाई एन्जाइटी भएको थाहा पाएपछि अभिनेत्री बेनिशा हमाल पनि ओशो तपोवन पुगेकी थिइन् । बेनिशाले ओसो तपोवनमा पुगेर फर्किएपछि आफ्नो जीवनमा धेरै परिवर्तन आएको बताइन् ।

बेनिशा भन्छिन्, ‘कालो पोथीको छायांकनका क्रममा मलाई निकै गाह्रो भएको थियो । म काम गर्नै सक्दिनँ कि जस्तो भएको थियो । मलाई त एन्जाइटी भएको रहेछ । तर, मैले थाहै पाउन सकिनँ । मलाई मान्छेको भिडमा एकदमै उकुसमुकुस हुने गर्दथ्यो । म आफू फरक छु भन्ने लाग्थ्यो । तर, त्यस्तो होइन रहेछ ।’

ओशो तपोवनमा पुगेपछि बेनिशा आफूले आफूलाई शान्त राख्न सकेको अनुभव सुनाउँछिन् । उनले भनिन्, ‘बिहानदेखि बेलुकासम्म मोबाइल चलाउन पाइँदैनथ्यो । बिहान ६ बजेबाट बेलुकी १० बजेसम्म ध्यान गर्नुपथ्र्यो । त्यहाँबाट फर्किएपछि म शान्त भएँ । मलाई छिटो छिटो रिस उठ्थ्यो । एक साता क्याम्पमा गएर बसेपछि मैले आफूलाई महसुस गर्न थालेँ । मनमा के हुँदैछ, मस्तिष्कमा के हुँदैछ भन्ने थाहा पाएँ । मनदेखि गरिने कुराहरू थाहा हुने रहेछ । भावना र उत्तेजना महसुस हुने रहेछ । मेरो कतिपय स्वभावमा परिवर्तन आयो । मानिसहरूसँग मैले गर्ने व्यवहार पनि परिवर्तन भएको महसुस गरेँ ।’

बेनिशा आफ्ना राम्रा र नराम्रा कुराहरू आफूलाई थाहा भएको बताउँछिन् ।  ‘सायद, केही वर्ष अगाडिदेखि नै मैले आफूलाई बुझेको कारणले हुन सक्छ ब्रेकअपको पीडा पनि मैले चाँडै नै भुल्न सकेँ । ब्रेकअप मेरो मात्र नभएर विश्वका धेरै मानिसको हुने रहेछ भन्ने मैले सोचेँ,’ उनले सुनाइन््, ‘यो अस्थायी कुरा हो भन्ने बुझेपछि म यो पीडाबाट चाँडै बाहिर निस्कन सकेँ जस्तो लाग्छ ।

आफूलाई चिन्ने मौका पाएँ: आँचल शर्मा

हरेक मान्छेको मनमा दुःख लुकेको हुन्छ । विगत या वर्तमानका कुराले पनि मानिसलाई दुःखी बनाउने रहेछ । हाम्रो क्षेत्र -कलाकारिता) मा नकारात्मक कुरा बढी हुन्छन् । हामी बेला-बेलामा नचाहेर पनि विवादमा परिरहेका हुन्छौं । हाम्रो दिमागमा धेरै नकारात्मक कुराहरू आइरहेको हुन्छ । यस्ता, कुराहरू किन सोच्ने भन्ने कुरा विपश्यनामा सिकाइँदो रहेछ ।

११ दिनसम्म विपश्यनामा बस्दा मैले आफूलाई चिन्ने मौका पाएँ । पीडाहरू बिर्सने कोसिस गरेँ । त्यति समयमै आफूलाई परिवर्तन गर्न सकिन्छ भन्ने त होइन । किनकि त्यसपछि म फेरि यही समाजमा नै आएकी छु । तर मैले सिकेको कुरा मेरो जीवनमा कसरी लागू गर्न सक्छु भनेर म कोसिसमा छु ।

हाम्रो शरीरको मालिक हामी आफैँ हौं । तर, हाम्रो सोच, बोल्ने कुरा हाम्रो नियन्त्रणमा नै छैन । आफूले आफूलाई नियन्त्रण गर्न नसक्ने हो भने मानिसको जीवन निरस बन्ने रहेछ ।

गल्ती हरेक मानिसबाट हुन्छ । तर, आफूले गरेको गल्ती हामीलाई गल्ती लाग्दैन । हामीले आफूलाई आफ्नो नजरबाट मात्र हेर्ने गरेका छौं । अरूको नजरबाट पनि आफूलाई हेर्न सक्नुपर्छ ।

म यसकारण राम्री छु भनेर हामी विभिन्न कारण थोपरेर अरूलाई बुझाउने कोसिस गछौर्ँ । अरू मानिसले मेरो बारेमा राम्रै मात्र सोचिदिए हुन्थ्यो भन्ने लाग्छ । हामी सबै जना गलत त भैहाल्छौं नि । तर यसलाई चिन्नसक्नु ठूलो कुरा रहेछ ।



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0