‘कालीगण्डकीले हजारौं वर्षदेखि सभ्यता बचाएको छ’ – Online Khabar


अहिले कालीगण्डकी नदीमा डाइभर्सन राख्ने/नराख्नेबारे सर्वत्र चर्चा छ । यो विषयमा बहस गर्नुभन्दा अघि गण्डकी नदीको इतिहासको गहिरो अध्ययन गर्नुपर्ने हुन्छ ।

सर्वप्रथम ‘गण्डकी’ शब्दमा जाँदा यसको अर्थ गैंडा भन्ने पनि हुन्छ । मगर भाषामा खोलाको पछाडि ‘दी’ अक्षर आउँछ । जस्तै ः तादी, मादी आदि नदीका नाम भएकाले ‘गन्दी’ नामबाट संस्कृतमा गण्डकी बनेको सामान्य अर्थ लगाउन सकिन्छ । पुराणहरूमा भने ‘गण्डकी’ नै लेखिएको पाइन्छ ।

आज मानिसले यसलाई कृष्णागण्डकी, कालीगण्डकी, गण्डकी, काली, नारायणी, सप्तगण्डकी आदि नामले सम्बोधन गर्दै आएका छन् ।

एघारौं शताब्दीको काश्मिरको इतिहास ‘राजतरङ्गिणी’मा एउटा प्रकरण छ । उक्त प्रकरणअनुसार आठौं शताब्दीमा कश्मिरी राजा ‘जयापीड विनयादित्य’ दिग्वियज गर्दै अघि बढेका थिए । उनी पश्चिमतिर बढ्दै गर्दा नेपालमा पनि हमला गरे । त्यतिबेला नेपालमा अरमुडि भन्ने राजा थिए ।

कालीगण्डकीको किनारमा आइपुगेपछि विनयादित्यलाई समातेर राजा अरमुडिले थुने । उक्त अभिलेख राजतरङ्गणीमा भने यो नदीको नाम ‘कालगण्डिका’ उल्लेख छ । ‘काल’ शब्दले कालो रङ जनाएको हो । गहिरो र ठूलो नदी भएकाले यस्तो भनिएको हो ।

कालीगण्डकीमा डाइभर्सन बनाउन हुने कि नहुने बहस चल्दै गर्दा हामीले धेरै पक्ष हेर्नुपर्छ । विकासको पक्षसँगै जनजीवन, सभ्यता र संस्कृतिलाई ध्यान दिनुपर्छ । ऐतिहासिक र प्राकृतिक दृष्टीले आफूलाई आश्रय दिने चिजलाई मास्नु पक्कै बुद्धिमानी हुँदैन

यता नेपालपट्टिका ऐतिहासिक सामग्रीमा राजा अरमुडिको नाम कतै उल्लेख छैन । यसकारण यी राजा सिङ्गो नेपालको राजा नभई कालीगण्डकी छेउछाउका कुनै एक रजौटामात्र हुन सक्ने अनुमान अधिकांश इतिहासकारले गरेका छन् ।

यसरी हेर्दा कालगण्डकी नदी त्यतिबेला नै विशाल र महत्त्वपूर्ण भएको बुझिन्छ । सातवटा गण्डकी (मर्स्याङ्दी, मादी, सेती, बुढीगण्डकी, त्रिशुली, दरौंदी) मध्ये कालीगण्डकी नै प्रमुख भएको थाहा हुन्छ । यद्यपि नदीले धार बदल्छ, जस्तोः दशौं हजार वर्षअगाडि बागमती नदी इन्द्रचोक आसपास भएर बग्ने प्रमाण भेटिएको छ ।

गण्डकी वा कालीगण्डकी नदीले पनि आफ्नो धार बदलेको होला । तर अहिलेको नेपालको पश्चिमी भागमा उत्तर दामोदर कुण्डबाट दक्षिण बग्दै आएको गहिरो खोंच र गल्छी भएको नदी नै कालीगण्डकी हो । यही धारमा हजारौं वर्षदेखि यो नदी बग्दै आएको छ ।

इतिहासबाट संस्कृतितर्फ विचार गर्दा कालीगण्डकी नेपालका पवित्र नदीहरुमध्ये एक हो । यहीं रुरु क्षेत्र, गलेश्वर, रिडी तथा नदीको शीरमा मुक्तिनाथ छ । यही नदीमा पाइने शालीग्रामबारे इतिहासमा पनि चर्चा पाइन्छ ।

नेपालका राजा शंकरदेवले कालीगण्डकीकै शालीग्राम लगेर जगन्नाथपुरीमा चढाए । त्योबापत हजारौं वर्षपछि पनि जगन्नाथपुरीमा नेपालका राजाको विशेष अधिकार प्राप्त भयो । नेपालका राजा जगन्नाथपुरीको मन्दिरभित्र गई सबैचिज छोएर पूजापाठ गर्न पाउँछन् ।

यसरी भारतमा हामीलाई धार्मिक–सांस्कृतिक रुपले कालीगण्डकीले प्रसिद्ध बनाएको छ । यो नदीलाई उनीहरू पनि श्रद्धा गर्छन् ।

कालीगण्डकी नदी हिमाली सभ्यतासँग जोडिएको छ । मुस्ताङदेखि पहाडी क्षेत्र हुँदै तराईको समथर भूभागमा पुग्ने कालीगण्डकी पानीको प्रवाह र मूलले पनि ठूलो छ । सप्तकोशी, बागमती, कर्णालीजस्तै ठूला नदीमध्ये यो पनि एक हो । यी सबै नदी भारतको बाटो हुँदै अन्य नदीमा मिसिन्छन् ।

अब हामी आजको युगतर्फ आउँ । भारत, चीनजस्ता देशले नदीमा बाँध बाँध्ने, डाइभर्सन बनाउने गरेका छन् । ब्रह्मपुत्रलाई चीनले आफूतिर फर्कायो भनेको सुनिन्छ । सिंचाइका लागि, विपत्ति कम गर्नका लागि तथा पानी सञ्चयका लागि मानिसले डाइभर्सन बनाएका छन् । औद्योगिक उद्देश्यका लागि पनि डाइसर्भन बनाइन्छ ।

नेपालले पनि कालीगण्डकीमा डाइभर्सन बनाउन हुने कि नहुने बहस चल्दै गर्दा हामीले धेरै पक्ष हेर्नुपर्छ । विकासको पक्षसँगै जनजीवन, सभ्यता र संस्कृतिलाई ध्यान दिनुपर्छ । म विकास र उन्नतिको विरोधी कदापी होइन । तर सभ्यता र संस्कृतिको पनि ख्याल राख्नुपर्छ भन्ने मान्यता राख्छु ।

पछिल्ला शताब्दीमा हेर्दा कालीगण्डकी सभ्यताको इतिहास बलियो नदेखिए तापनि यसका छेउछाउ हजारौं गाउँ, हजारौं बस्ती छन् । मनाङ, कास्की, मुस्ताङ, म्याग्दी, बागलुङ, गुल्मी, पर्वत, स्याङ्जा, पाल्पा, तनहुँ, चितवन, पूर्व–नवलपरासी र पश्चिम–नवलपरासी जिल्लाका मानिसको आश्रयस्रोत यही नदी बनेको छ ।

यहाँ वरपर भएका खेतहरू, टारहरू र जैविक विविधताले मानिसलाई जीवन दिएको छ । प्राकृतिक स्रोतको रुपमा यसले मानिसको जीवन बचाएको छ । यसैले सांस्कृतिक रुपमा पनि हामीले यसलाई श्रद्धा गर्दै आएका छौं । यसर्थ ऐतिहासिक र प्राकृतिक दृष्टीले आफूलाई आश्रय दिने चिजलाई मास्नु पक्कै बुद्धिमानी हुँदैन ।

(इतिहासविद् पन्तसँग अनलाइनखबरकर्मी निर्भीकजंग रायमाझीले गरेको कुराकानी ।)





यो पनि पढ्नुहोस
कालीगण्डकी डाइभर्सन : संघीयतामा द्वन्द्वको बीउ बन्दै जलस्रोत



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0