‘मेड इन नेपाल र मेक इन नेपाल’मा अब युवाशक्ति – Online Khabar


कुनै पनि देशमा युवावर्ग केवल जनसंख्या वर्गीकरणको सीमित समुदाय होइन । युवा शक्ति हो, विकासको एजेन्ट हो र उदयमान अर्थतन्त्रको पूर्व शर्त हो ।

राष्ट्रको सर्वाङ्गीण विकासको नक्सा, रेखांकन गर्दा, युवाशक्ति त्यस नक्साको केन्द्रविन्दुमा रहेका हुन्छन । एकातिर युवा रोजगारी प्रत्येक देशको नारा छ भने अर्कोतिर युवा बेरोजगारी विकराल चुनौती । वर्तमान समयमा चाहे विकसित देश होस् वा विकासशील, सबैको बजेट, योजना, परिलक्षित सोचमा युवा उद्यमशिलता अपरिहार्य प्रावधान बनेको देखिन्छ ।

नेपालको परिप्रेक्षमा राष्ट्रिय युवा नीतिको तथ्यांक अनुसार १६ देखि २५ वर्ष उमेरका युवा २०.८ प्रतिशत रहेको देखिन्छ भने १६ देखि ४० उमेर समूहमा ४०.६८ प्रतिशत रहेका छन् । अन्तर्राष्ट्रिय श्रम संगठनको अध्ययन अनुसार सन् २०२० सालमा नेपालको कुल जनसंख्याको २.४२ प्रतिशत जनसंख्या पूर्ण बेरोजगार छन् । त्यसैगरी युवा बेरोजगारीको प्रतिशत १९.२ छ ।

सोही अध्ययनले प्रत्येक वर्ष श्रम बजारमा करीब ४ लाख युवाको प्रवेश हुने देखाउँछ । श्रम बजारमा आउने युवा र देशमा रहेको रोजगारीको अवसरमा अनुपात नमिल्दा बेरोजगारीको समस्या तीव्र गतिमा बढेको अवस्था छ । नेपालजस्तो विकासशील अर्थतन्त्रको सन्दर्भमा, युवा बेरोजगारी समस्याको महत्त्वपूर्ण निकास तथा युवाको क्षमता, दक्षताको अधिकतम परिचालन गर्न, उद्योग क्षेत्र महत्वपूर्ण सम्वाहक रहेको हुन्छ ।

‘मेड इन नेपाल र मेक इन नेपाल’ भन्ने नारा २०७८/२०७९ को बजेट वक्तव्यले अङ्गीकार गर्दै युवा उद्यमशिलतालाई प्राथमिकीकरण गरेको छ । देशमै रहेको कच्चा श्रोत र साधनको अधिकतम परिचालन गरेर युवा उद्यमीहरू आफूलाई मात्र रोजगारी सिर्जना नगरी अन्यलाई पनि रोजगारीको अवसर प्रदान गर्ने एउटा बहुआयमिक क्षेत्रको रुपमा स्थापित भइसकेको छ ।

विविध पृष्ठभूमि, मौलिक सिर्जनशीलता, नयाँ सोच तथा उत्साह बोकेर आउने युवा जमात जुन उत्साह, सिर्जनशीलता र योजनाबद्ध नक्सा कोर्दै आफूहरूको उद्यमको सोच (कृषि, पशुपालन, पर्यटन व्यवसाय, संचार सम्बन्धी, निर्माण, कला क्षेत्र) मा सुरुआती दिनमा उर्जावान हुन्छन, केहि युवाको उत्साहको गतिशीलता शिथिल हुँदै जाने गरेको देखिन्छ । केही युवा उद्यमीहरूका लागि भने उद्योग दर्ता केवल एउटा ‘प्रमाणित कागजात’को रुपमा रहने गर्दछ ।

सीपयुक्त युवा समूह ५ लाखदेखि सुरु गरी १० करोडसम्मको लगानीमा लघु, घरेलु तथा साना उद्योग दर्ता गरी त्यसबाट स्वयम् मात्र लाभान्वित नभइ सिंगो समाज र राष्ट्रलाई नै आर्थिक रुपान्तरणको दिशातर्फ मार्गनिर्देशन गर्न सकिन्छ ।

थोरै समयमा नै उत्साहजनक उपलब्धि हासिल गरी उद्यम क्षेत्रमा नेपालमा स्थापित हुन सफल भएका युवा उद्यमी हामीमाझ नै छन्, जो वास्तवमा प्रेरणा र हौसलाका पात्र हुन् ।

घरेलु तथा साना उद्योगको क्षेत्रमा युवा सक्रियता किन आवश्यक छ ? भन्ने प्रश्नलाई नियाल्दैगर्दा केहि उल्लेखनीय बुँदालाई उजागर गर्न सकिन्छ,

स्थानीय श्रोत साधन, स्थानीय सीप ज्ञानको प्रभावकारी परिचालन :

देशमा जति उद्योग संचालन हुन्छन त्यति नै अर्थतन्त्र चलायमान र एक हदसम्म सन्तुलित रहन्छ । देशमा उत्पादित वस्तुहरूको उपभोग हुँदै गर्दा त्यसले अन्तर्राष्ट्रिय अर्थतन्त्रलाई टेवा पुर्‍याएको हुन्छ । युवा उद्यमीहरू बढ्नु भनेको युवाको आयस्तरको वृद्धि हुनु हो

जब युवा आफ्नै देश समाजको कुनै पनि क्षेत्रमा उद्योग स्थापना, संचालन गर्दछन त्यसको प्रभाव त्यहाँको स्थानीय श्रोत साधन परिचालनसँग रहेको हुन्छ । यो आपसी लाभ सिद्धान्तको उच्चतम उदाहरण पनि हो । कतिपय उद्योगका सेवा र उत्पादन स्थानीय सीपमा नै आश्रति हुने गर्दछन र त्यहि नै त्यस उत्पादन वा सेवाको ब्रान्ड पनि हुने गर्दछ । यस किसिमको स्थानीय प्रयोगको एउटा महत्वपूर्ण पक्ष, स्थानीय संस्कृतिको प्रबर्धनको साथै संरक्षण पनि संगै गरेको हुन्छ ।

सिर्जनशीलताको पूर्ण उपयोग

अहिलेको शताब्दी सिर्जनशीलता र नवीनताको शताब्दी हो । अधिकांश युवा चुनौतीपूर्ण, गतिशील पेशामा आफूहरूलाई आबद्ध गर्न चाहान्छन । उद्योग क्षेत्रको मियो सिर्जनशीलता नै हो । आफ्नो सोचलाई मूर्त रुप दिनका लागि, ‘स्टार्टअप’को चरणदेखि उद्योग संचालन, उद्योगको बजारीकरणसम्मको हरेक पाइलामा रचनात्मक हुन आवश्यक छ । आफ्नो उत्पादनलाई सेवाग्राहीमाझ प्रस्तुत गर्दा, त्यसलाई मौलिकता दिँदै त्यसको स्मार्ट ‘ब्रान्ड सेल्लिंग’ गर्न उद्यमीसँग अन्य क्षमताका अलावा प्रतिस्पर्धात्मक सोच र सिर्जनशीलताले महत्व राख्दछ ।

अन्तर्राष्ट्रिय ज्ञान-सीपको स्थानीयकरण तथा स्थानीय सीपको अन्तर्राष्ट्रियकरण गर्त :

आजको युग विश्वव्यापीकरण र प्रविधिको युग भएकाले युवाले विभिन्न देशमा आर्जन गरेको ज्ञान, सोचलाई एकातिर स्थानीय परिवेश सुहाउँदो उद्योग संचालन गर्ने अवसर प्राप्त हुन्छ भने अर्कोतिर अन्तर्राष्ट्रिय जगतमा आफ्नो र आफ्नो देशको स्थानीय मौलिक सीपलाई ब्रान्ड बनाउने प्लेटर्फम सिर्जना हुन्छ ।

अर्थतन्त्रका लागि भरपर्दो मेरुदण्ड :

देशमा जति उद्योग संचालन हुन्छन त्यति नै अर्थतन्त्र चलायमान र एक हदसम्म सन्तुलित रहन्छ । देशमा उत्पादित वस्तुहरूको उपभोग हुँदै गर्दा त्यसले अन्तर्राष्ट्रिय अर्थतन्त्रलाई टेवा पुर्‍याएको हुन्छ । युवा उद्यमीहरू बढ्नु भनेको युवाको आयस्तरको वृद्धि हुनु हो । अन्ततः यसले देशको अर्थतन्त्रलाई उकास्न सहयोग गर्दछ । साथै कृषिमा जीविकोपार्जनको लागि निर्भर युवा वर्ग जब उद्योगमा अग्रसर हुन्छन तब निर्वाहमूखि अर्थतन्त्र उदयमान अर्थतन्त्र बन्ने यात्राको सम्भावना प्रगाढ हुन्छ ।

उद्योग दर्ता तथा संचालन गर्नुपूर्व युवा उद्यमीले केही विषयमा ध्यान दिँदा उपयुक्त हुन्छ

  • आफूले संचालन गर्ने तथा स्थापना गर्ने उद्योगको बारेमा गहिरो रुपमा अनुसन्धान विश्लेषण गर्नु आवश्यक छ । कतिपय अवस्थामा सतही रुपमा कुनै पनि सोच परिकल्पना उपयुक्त लागेपनि माटो नसुहाउँदो पनि हुन सक्छ । सीपयुक्त भएर मात्र उद्योग स्थापना संचालन गर्दा त्यस उद्योगलाई दीर्घता प्रदान गर्न सकिन्छ ।
  • कतिपय युवा उद्यमीहरू उद्योग दर्तालगायातका उद्योगको प्रशासनिक कार्यप्रति पूर्वाग्रही भएर सरकारी कामकारवाहीलाई बोझको रुपमा लिने गर्दछन, उद्योग दर्ता गर्दा तथा उद्योग प्रशासनको विविध प्रकृयामा उद्यमी स्वयम् कार्यालय उपस्थित भई कुनै पनि प्रकारको पूर्वाग्रही मानसिकता नराखी आफू नै सक्रिय भएर आफ्नो उद्योगप्रति पूर्ण अपनत्व राख्नुपर्छ ।
  • उद्यमीले आफ्नो उद्योग संचालन गर्नुअगाडि त्यस उद्योगले विशेष गरी कुन वर्ग, समुदाय, पृष्ठभूमिका सेवाग्राहीलाई लक्षित गरेको हो भन्ने पहिचान गरी सो अनुसारको अध्ययन गर्नुपर्दछ ।
  • ‘स्टार्ट अप’ व्यवसायलाई सरकारको तर्फबाट विभिन्न किसिमको सहुलियत कर्जा, ऋण तथा अन्य प्रोत्साहनहरूको प्राब्धान र व्यवस्था रहेको छ । युवा उद्यमीलाई उद्योग संचालन गर्नका लागि सरकारको सहयोग र सहकार्यको महत्व पहिचान गरी, यस प्रक्रियामा युवा उद्यमीहरूको निरन्तर क्रियाशीलता आवश्यक पर्दछ ।
  • वर्तमान युगलाई प्रविधिको युग भनेर चिनिन्छ, स्टार्ट अप व्यवसायलाई प्रविधिको माध्यमबाट बजारीकरण गर्न सकिन्छ । अनलाइन जगतलाई प्लेटर्फमको रुपमा प्रयोग गरी युवा उद्यमीहरूले आफ्नो उद्योगलाई देशको कुना कुनासम्म पनि विस्तार गर्न सक्छन । प्रभावकारी ‘ब्रान्ड सेलिङ’ को लागि एउटा महत्वपूर्ण हतियारको रुपमा अनलाइनको स्मार्ट प्रयोग नै हो ।
  • युवा उद्यमीले कुनै पनि स्टार्टअपको थालनी गर्दा पहिलो प्राथमिकतामा सो वस्तु वा सेवाको पूर्ण गुणस्तरलाई राख्नुपर्छ । गुणस्तरसँग सम्झौता गर्दा, त्यस उद्योगले बजारमा अल्पायुको सीमित यात्रा गर्ने उच्च सम्भावना र जोखिम हुन्छ । उद्योगको सफलता वा असफलता त्यसको उत्पादन र सेवाले मुल्यांकन गरेको हुन्छ, गुणस्तरहीन वस्तु वा सेवाले लामो समयसम्म टिक्न सक्दैन, यसको प्रशस्त उदाहारणहरू धेरैलाई अवगत नै छ ।
  • नेपालमा नव उद्यमीहरूलाई लक्षित गरी विभिन्न तालिम कार्यक्रमहरू संचालन भैरहेका छन् । लघु, घरेलु तथा साना उद्योग प्रबर्द्धन केन्द्र, गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) , नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा स्थानीय तहबाट समय समयमा विविध किसिमका तालिमको लागि आव्हान हुने गर्दछन ।
    युवा उद्यमीहरूले यस प्रकारका तालिम सेवाबाट भरपुर फाइदा लिई सीप विकास मात्र नभई आर्जन गरेको सीपलाई रुपान्तरण गरी उद्योगमा परिणत गर्न सक्नुपर्छ । यसको लागि युवाहरू संचालन हुने तालिम कार्यक्रमको बार सम्बन्धित वेबसाइट, राष्ट्रिय दैनिक पत्रिकाहरूमार्फत जानकार र अद्यावधिक रहनुपर्छ ।

युवा शक्ति राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड र सम्वाहक दुवै हो । नेपालको जनसंख्याको ४०.६८ प्रतिशत युवा समुदाय छ । यो प्रतिशत सक्रिय रुपमा संचालन हुँदा यसले देशमा अपेक्षित आर्थिक वृद्धि र विकाश हासिल गर्न उत्प्रेरकको काम गर्दछ ।

  • नयाँ स्टार्टअपको लागि औद्योगिक प्रदर्शनीहरू तथा औद्योगिक मेलाहरू एउटा महत्त्वपूर्ण प्लेटर्फम बन्न सक्छन । नेपालमा यस किसिमका प्रदर्शनीहरूको संस्कृति अझै पनि उद्योग क्षेत्रमा पूर्ण समायोजन भैसकेको छैन । यद्यपित केहि वर्ष यतादेखि विभिन्न प्रदर्शनी स्थलहरूको निर्माण भएसँगै समय सन्दर्भमा सरकार, गैर सरकारी संस्थाको सहकार्यमा घरेलु साना उद्योगलाई प्रोत्साहन र प्रवर्द्धन गर्ने लक्ष्यका साथ कार्यक्रमहरूको आयोजना हुने गरेका छन् ।
    यसलाई युवा उद्यमीहरूले बजारीकरणको मात्र सभामा सीमित नगरी, फरक सोच र सिर्जनशीलता बोकेका युवाहरूसँग नेटवर्क बढाउने, परिचित हुने, भावी योजना बनाउने अवसरको रुपमा प्रयोग गर्दा युवा औधोगिक सञ्जालको बिस्तार हुन्छ ।
  • उद्योग दर्तासँगै उद्यमीले अनिवार्य रुपमा स्थायी लेखा नम्बर दर्ता गरी, तोकिएको समयमा घरेलु तथा साना उद्योग कार्यालय, आन्तरिक राजस्व कार्यालयमा राजस्व तिर्नु पर्दछ । यसरी कर दाखिला गर्दा उद्यमीले बिचौलियालाई पठाउनु भन्दा उद्यमी स्वयम् – करदाता ) आफू नै अग्रसर भएर सम्बन्धित कार्यालय जाँदा राजस्वबारे आफू प्रस्ट हुने तथा उद्योग प्रति अपनत्व बढ्छ । नवीकरण, नामसारी, उद्देश्य थप/परिवर्तन, खारेजी जस्ता प्रशासन सम्बन्धिका प्रक्रियाहरूमा सरकारले राजस्व शुल्क निर्धारित गरेको छ । उद्यमीलाई कुनै किसिमको आर्थिक अनियमिता, गुनासो, प्रश्न भएमा सम्बन्धित कार्यालयको सूचना अधिकारी, कार्यालय प्रमुख, उजुरी निकायमा आफ्नो गुनासो राख्न कुनै हिचिकचाहट मान्न हुँदैन । उद्यमीले आफूले तिर्ने राजस्वबारे पूर्ण जानकार हुने अधिकारको विषय मात्र नभइ दायित्व पनि हो ।
  • कुनै पनि उद्योगमा वस्तु उत्पादन वा सेवा प्रवाह गरिरहँदा उद्यमीले त्यसलाइ समाज, वातावरण, पारिस्थितिक प्रणाली, उपभोक्ता हित र संरक्षणसँग आबद्ध गर्नुपर्दछ । अहिलेको समयमा उद्योगको उत्पादन ‘सामाजिक र वातावरण प्रणाली’ भन्दा पृथक तथा अलग रहन सक्दैन, यसकारण वर्तमान चेतनामूलक संस्कृतिमा प्रत्येक युवा उद्यमीले आफ्नो उत्पादन र सेवाले प्रत्यक्ष अप्रत्यक्ष रुपमा दिने असरलाई ३६० डिग्रीको पूर्व मूल्यांकन गर्न अपरिहार्य नै छ ।

आफ्नो उत्पादनको (चाहे वस्तु होस् वा सेवा होस् ) मूल्य मान्यता रेखांकन गरेर त्यसलाई बहुआयमिक र दीर्घता प्रदान गर्न उद्यमीले उद्योगलाई समाजको केन्द्रविन्दुमा राख्नु आवश्यक छ, न कि समाज र वातावरणभन्दा टाढा ।

उद्यमशीलता विकास, उद्यमीको प्रशिक्षण तथा उद्योग प्रबर्द्धनलाई मध्यनजर गरेर धेरै नीतिगत प्रयास, कार्यक्रमहरू तथा कोषहरूको स्थापना भई सञ्चालन गरिएका छन् । नेपालको संविधान, पनि योजना, बजेट, प्रधानमन्त्री रोजगार कार्यक्रम, युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना, प्रदेश औद्योगिक व्यवसाय ऐनलगायतका दस्तावेज, कार्यक्रमहरू युवा उद्यमशीलतालाई गतिशील बनाउँदै, समग्र देशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाएर समृद्ध अर्थतन्त्र निर्माण गर्ने मार्गचित्र कोरिएको छ । जुन युवा उद्यमीको सहभागिता र प्रतिबद्धतामा निर्धारित छ ।

देशको कमजोर अर्थतन्त्र र रोजगारीको धेरै विकल्प नहुँदा वर्षेनी कयौ युवा विदेशिएको कुरा हामी सबैको घर आँगन र टोलको यथार्थ तितो कथा हो । युवा शक्ति राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड र सम्वाहक दुवै हो । नेपालको जनसंख्याको ४०.६८ प्रतिशत युवा समुदाय छ । यो प्रतिशत सक्रियरुपमा संचालन हुँदा यसले देशमा अपेक्षित आर्थिक वृद्धि र विकाश हासिल गर्न उत्प्रेरकको काम गर्दछ ।

आफ्नै देशमा बसेर केहि गरौँ भन्ने सोच भएका सिर्जनशील, मेहनती, उर्जावान युवा जमातका लागि उद्योग क्षेत्र आशाजनक रहेको प्रत्यक्ष उदाहरण अहिलेका सफल युवा उद्यमीहरू हुन् । अहिलेको अर्थतन्त्रको ट्रेन्ड नियाल्दा युवा उद्यमीहरूको स्थान आशालाग्दो छ । यसलाई गतिशील बनाउन सरकार, गैर सरकारी संस्था र सबैभन्दा महत्वपूर्ण भूमिका स्वयम् युवाहरूको नै रहेको छ ।

युवा शक्ति सशक्तरुपमा उद्योग क्षेत्रमा लाग्दा वास्तवमा युवा बेरोजगारीलाई समयमै सम्बोधन गरी बजेटको नारा ‘मेड इन नेपाल र मेक इन नेपाल’लाई सार्थकता दिन सकिन्छ ।

(लेखक : घरेलु तथा साना उद्योग कार्यालयमा शाखा अधिकृत हुनुहुन्छ)



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0