खोप अभावमा छट्पटाइरहेको मेरो मातृभूमि – Online Khabar


हरेक बिहान म आमासँगै ब्रेकफास्ट टेबलमा बस्छु । उहाँ पाँच वर्ष अघि न्युयोर्क आउनुभएको हो र आमासँगै हुँदा मलाई न्युयोर्क अझै बढी आफ्नै घरजस्तो लाग्छ । हाम्रो बिहानी नास्तामा आमाकै जोडबलमा दूध हालेको परम्परागत नेपाली चिया पनि समावेश हुन्छ जुन ल्वाङ, सुकुमेल तथा दालचिनी समेत हालेर पकाइएको हुन्छ ।

हातले बनाइएका तामाका कपमा चियाको सुर्को लिइरहँदा हामीले जीवन तथा वर्तमान अवस्थाका विषयमा कुराकानी गर्दछौँ र उन्मुक्त हाँसो साटासाट गर्दछौँ । वर्षौँदेखि मेरो हरेक दिनको सुरुवात यसैगरी हुने गरेको छ ।

तर, विडम्बना हालैका दिनहरुमा हाम्रो ब्रेकफास्टको समय बढ्ता निराशाजनक हुने गरेको छ । पछिल्ला केही महिना एसियाली मुलुकका मानिसहरु विरुद्ध घृणाजन्य अपराधका घटनाहरुको तरंग अमेरिकाभर फैलिएको छ ।

कोभिड-१९ भाइरसलाई चिनियाँ भाइरसको उपमा दिइँदा समेत अमेरिकामा एसियन मूलका मानिसहरुमाथिको यस्तो अपराधले बढावा पाएको छ । तर यो प्रतिकूल परिस्थितिले भय तथा सिमान्तीकरणको साटो एसियाली मूलका अमेरिकीहरुबीच अभूतपूर्व रुपमा बलियो एकता कायम गराइदिएको छ ।

अन्ततः हाम्रो समुदाय निरन्तरको अदृश्यताको अवस्थाबाट चर्चा पाउनै योग्य देखिने र सुनिने समुदायको रुपमा अगाडि बढेकोे छ ।

अमेरिकाभर छरिएका एसियन अमेरिकन समुदायले मिडिया, पप संस्कृति तथा दैननदिनको जीवनमा समेत आफ्नो उपस्थिति दर्शाउने संघर्षमा एकताको खोजी गरिरहेका छन् । अर्कोतर्फ एसियामा हाम्रा परिवारहरु एउटा भिन्न प्रकारको लडाइँमा छन् । उनीहरु केवल देखिनका लागि मात्र लडिरहेका छैनन् बाँच्नकै लागि लडिरहेका छन् ।

मेरो मातृभूमि नेपाल अहिलेसम्मकै सबैभन्दा खराब सार्वजनिक स्वास्थ्य संकटसँग जुधिरहेको छ । भारत र चीनको बीचमा रहेको नेपालमा जारी कोभिड-१९ महामारीको बिग्रँदो अवस्था यसको दक्षिणी छिमेकी मुलुक भारतको संकटका कारण छायामा पर्‍यो। भौगोलिक रुपमा भारतको क्षेत्रफलको केही हिस्सा जत्तिमात्र रहेको र कूटनीतिक रुपमा अझै कमजोर अवस्थामा रहेको नेपालले बाँकी विश्वबाट समतामूलक सहयोग प्राप्त गर्नका लागि अन्तर्राष्ट्रिय मिडियामा नेपालको पीडाले जुन मिडिया कभरेज तथा भिजिबिलिटी प्राप्त गर्नु अत्यावश्यक थियो त्यो हुन सकिरहेको छैन ।

मे महिनामा नेपालमा कोभिड-१९ संक्रमणको दर दैनिक प्रति एक लाख जनामा ३२ जनाको दरले बढ्यो । त्यो समयमा नेपालको उक्त संक्रमण दर विश्वमै उच्च दर मध्येको एक थियो । नेपालको स्वास्थ्य सेवाको पूर्वाधार यस्तो संकटको दबाब थेग्न समर्थ छैन । मुलुकका सबै आइसियू बेडहरु भरिए, जटिल अवस्थाका बिरामीहरुलाई समेत अस्पतालहरुले भर्ना गर्न सकेनन् र अस्पतालहरुले प्राप्त गर्ने अक्सिजन ट्यांकहरुको सीमा निर्धारण गरियो ।

विज्ञहरुका अनुसार आगामी हप्ताहरुमा नेपालमा उपलब्ध एक आइसियू बेडका लागि १० जनाले पालो कुर्नुपर्नेछ । मुलुकमा अक्सिजन सिलिन्डरको आवश्यकता यति उच्च छ कि सरकारले सगरमाथा आरोहीलाई समेत आफूले उपयोग गरेका अक्सिजन सिलिन्डर फिर्ता ल्याउन अनुरोध गरेको छ । तर विडम्बना, अक्सिजन अभावका कारण मृत्युवरण गर्न बाध्य आम सर्वसाधारण जनताले भन्दा तिनै आरोहीहरुले विश्वव्यापी ध्यान आकृष्ट गर्न सफल भएका छन् जसमध्ये अधिकांश गोरो वर्णका तथा पश्चिमाहरु छन् ।

तर यो यस्तो हुनुपर्ने होइन । धेरैखाले संरचनागत अड्चनका बाबजुत नेपालको भ्याक्सिनेसनको ट्रयाक रेकर्ड उदाहरणीय छ । अधिकांश अनिवार्य खोपहरु प्राप्त गर्ने जनसंख्या सन् १९९० मा ४३ प्रतिशत रहेकोमा सन् २०१२ मा त्यो संख्या ९० प्रतिशत पुगेको छ । साथै नेपालमा तालीमप्राप्त महिला स्वास्थ्य स्वयंसेविकाको संख्या ५५ हजार भन्दा धेरै छ । जसले मुलुकका दुर्गम भेगहरुमा समेत खोप तथा अन्य अत्यावश्यकीय स्वास्थ्य सेवा उपलब्ध गराउन सामुदायिक संलग्नता र सांस्कृतिक रुपमा संवेदनशील विधिहरुको अबलम्बन गर्दै आएका छन् ।

नेपालमा आम मानिसहरुमा खोपको महत्वका विषयमा चेतनाको तह उच्च छ । सहज तथा तीव्र गतिमा कोभिड-१९ भ्याक्सिन कार्यक्रम अगाडि बढाउनका लागि नेपालमा कोल्ड चेन स्टोरेज क्षमता तथा अन्य पूर्वाधारहरुको अवस्था पनि सबल छ । तर एउटा मात्र चिजको अभाव छ, त्यो हो खोपको आपूर्ति ।

हामीलाई थाहा छ कि कोभिड १९ भाइरस निकै तीव्ररुपमा फैलिन्छ अनि जनसंख्याको ठूलो हिस्सा तथा खासगरी रोगप्रतिरोधी क्षमता कम भएका जोखिमपूर्ण अवस्थाका मानिसहरुमा संक्रमित हुँदा घातक भेरिएन्टमा उत्परिवर्तन हुने सम्भावना धेरै हुन्छ । त्यसैले हामीहरु भाइरसभन्दा छिटो अगाडि बढ्नु आवश्यक हुन्छ

नेपालमा कूल जनसंख्या झण्डै ३ करोड रहेकोमा हालसम्म ३० लाखलाई कोभिड-१९ को खोप लगाइसकिएको छ । तर विडम्बना पहिलो डोज खोप लगाएकामध्ये धेरैले दोश्रो डोज लिन पाएका छैनन् । हालसम्म कूल जनसंख्याको केवल २ प्रतिशतले मात्र पूर्ण खोप प्राप्त गरेका छन् । भ्याक्सिनेसनको दर अहिलेकै अवस्थामा रहने हो भने पूर्ण खोप प्राप्त गर्ने जनसंख्यालाई १० प्रतिशत पुर्‍याउन ४८१ दिन लाग्नेछ । जबकि विज्ञहरुका अनुसार कोरोना भाइरसविरुद्ध हर्ड इम्युनिटी प्राप्त गर्नका लागि ६० देखि ८० प्रतिशत मानिसहरुले पूर्ण खोप प्राप्त गर्नु पर्दछ ।

गत मे १२ मा अमेरिकी माथिल्लो सदन सिनेटको परराष्ट्र सम्बन्ध समितिमा कोभिड-१९ को अन्तराष्ट्रिय प्रतिकार्यका विषयमा भएको छलफलका क्रममा कनेक्टिकटबाट प्रतिनिधित्व गर्ने डेमोक्रेटिक सांसद क्रिस मर्फीले प्रश्न गरे- भारत अहिले जुन अवस्थामा छ नेपाललाई पनि त्यही अवस्थामा पुग्न नदिनको लागि हामीले के गर्नुपर्ला ?

युएसएडको कोभिड-१९ टास्कफोर्सका कार्यकारी निर्देशक जेरेमी कोनिनडाइकले त्यसको जवाफ दिँदै अमेरिकाले हालसम्म नेपाललाई २ करोड डलर बराबरको चिकित्सा सामग्री तथा परीक्षणसँग सम्बन्धित सामानहरु सहयोग गरिसकेको बताए । त्यसयता अमेरिकी सहयोग नियोग युएसएडले स्वास्थ्य सामग्रीहरुको पहिलो खेप काठमाडौं पठाइसकेको छ र बाँकी दुई खेप पठाउने योजना छ । महामारीको समयमा अत्यावश्यकीय चिकित्सा सामानहरुको आपूर्ति निकै आवश्यक छ र त्यसको नेपालमा प्रशंसा पनि भैरहेको छ तर यसले गर्ने भनेको त केवल भाइरसको संक्रमणदर घटाउने मात्र हो, निर्मूल पार्ने होइन । महामारीको सर्वोत्तम समाधान भनेको प्रोएक्टिभ विधि अर्थात् भ्याक्सिन नै हो ।

विश्वमा विकासशील मुलुकहरुलाई खोप अनुदान दिने कोभ्याक्स कार्यक्रममा अमेरिका अहिले सबैभन्दा ठूलो दाताको रुपमा रहेको छ र यसबाट नेपालले ३ लाख ४८ हजार डोज खोप प्राप्त गरेको छ । गत जुन ३ मा बाइडेन प्रशासनले यो महिनाको अन्त्यसम्ममा अमेरिकामा उब्रिएको कम्तिमा ८ करोड डोज खोप विश्वका विभिन्न मुलुकहरुलाई प्रदान गर्ने घोषणा गरेको थियो । त्यस्तै गत जुन १० मा सरकारले अर्को एक प्रतिबद्धता जाहेर गर्दै नाफा नकमाउने मूल्यमा ५० करोड फाइजर खोप खरीद गरी सन् २०२२ को जुन सम्ममा विश्वका न्यून आय भएका मुलुकहरुलाई प्रदान गर्ने घोषणा गर्यो । त्यसमध्ये २० करोड खोप सन् २०२१ को अन्त्य सम्ममा प्रदान गरिनेछ । हालै बेलायतको कर्नवालमा भएको जी-सेभेनको बैठकमा अन्य सहभागी मुलुकहरुले पनि अमेरिकी कदमको सिको गर्दै जी-सेभेन मुलुकहरुले थप ८७ करोड डोज भ्याक्सिन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

हालैका दिनमा धनी मुलुकहरुबाट सहयोगको प्रतिबद्धतामा भैरहेको वृद्धि निकै सकारात्मक समाचार हो । भ्याक्सिन समताको लागि निरन्तर रुपमा लागिरहेका विश्वभरका सयौं नेपाली अभियानकर्मी तथा पैरवीकर्ताहरुको लागि यो ठूलो राहतको विषय हो । तथापि धनी देशहरुबाट हुने आर्थिक सहयोग तथा खोप साझेदारीको काम सुस्त हुन वा रोकिन नदिनका लागि हामीले दबाब बढाउँदै लैजानु आवश्यक छ ।

अहिलेसम्म विश्वमा प्रदान गरिएका कोभिड १९ खोपमध्ये ७५ प्रतिशत खोप केवल १० वटा धनी देशमा मात्र खपत भएका छन् । भ्याक्सिन असमानताको यो चरम अवस्थाले पूरै विश्वलाई जोखिमपूर्ण बनाएको छ, चाहे त्यो उच्च भ्याक्सिनेसनको दर भएका मुलुकहरु नै किन नहोउन् । हामीलाई थाहा छ कि कोभिड १९ भाइरस निकै तीव्ररुपमा फैलिन्छ अनि जनसंख्याको ठूलो हिस्सा तथा खासगरी रोगप्रतिरोधी क्षमता कम भएका जोखिमपूर्ण अवस्थाका मानिसहरुमा संक्रमित हुँदा घातक भेरिएन्टमा उत्परिवर्तन हुने सम्भावना धेरै हुन्छ । त्यसैले हामीहरु भाइरस भन्दा छिटो अगाडि बढ्नु आवश्यक हुन्छ । यस्तो अवस्थामा छिटफुट, एकलकाटे तथा कुनै अमूक राष्ट्रको एक्लो प्रयासको कुनै अर्थ छैन ।

जुन महिनाको पूर्वार्द्धमा विश्व स्वास्थ्य संगठन, अन्तराष्ट्रिय मुद्रा कोष, विश्व बैंक तथा विश्व व्यापार संगठनका नेताहरुले एक संयुक्त वक्तव्य सार्वजनिक गर्दै महामारीको अन्त्य तथा विश्व आर्थिक पुनरोत्थानका लागि आवश्यक पर्ने ५० अर्ब डलरको लगानी आवश्यकता पूर्तिका लागि विश्वका धनी मुलुकहरुलाई खोप सहयोग तथा वित्तीय योगदानमा तत्कालै वृद्धि गर्न आह्वान गरे । साथै विज्ञप्तीमा विश्वका ४० प्रतिशत जनसंख्यालाई खोप दिनका लागि हातेमालो गर्न आग्रह पनि गरिएको छ ।

अमेरिकी सहयोग नियोग युएसएडले नेपालको कोभिड-१९ संकट आफ्नो सबैभन्दा उच्च प्राथमिकतामा रहेको बताएको परिप्रेक्ष्यमा हामीलाई अझै उसको सहयोगको खाँचो छ । यसका लागि सबैभन्दा प्रभावकारी उपाय भनेको स्टेट सिनेटर तथा दक्षिण एसिया सबकमिटीका सिनेटरहरुसँग छलफल गर्नु नै हो । हामीले निर्वाचित प्रतिनिधिहरुलाई आफ्नो बाचा पूरा गर्न तथा छिटो र अझै बढी गर्नका लागि दबाब दिइरहनु आवश्यक छ ।

नेपालमा रहेका मेरा परिवार तथा साथीभाइहरुसँगको कुराकानीबाट मैले के थाहा पाएको छु भने नेपालीहरु महामारीलाई परास्त गर्नका लागि व्यग्र छन् र तयार छन् । उनीहरुलाई केवल खोप, परीक्षण किट, अक्सिजन ट्यांक तथा अन्य अत्यावश्यकीय स्वास्थ्य सामाग्रीहरुको खाँचो छ । दिनहुँ रुपमा मेरी बहिनी, परिवारका अन्य सदस्यहरु तथा नेपालमा बसोबास गरिरहेका मित्रहरुसँगको कुराकानीमा उनीहरुले पटक-पटक बताउने गरेका छन् कि मुलुकमा अहिले विनाशकारी अवस्था छ । घटनाहरु यति तीव्र रुपमा घटित भैरहेका छन् कि परिवारको कुनै सदस्य कुन दिन आँखा झिमिक्क पार्दासम्म आफूबाट टाढा भैसक्छ कि भन्ने अवस्था छ । अहिले धेरै नेपालीहरु यस्तो ठूलो संख्याको मृत्यु हेरिरहन अभिशप्त छन् । सन् २०१५ को विनाशकारी भूकम्प पछि एक दशकभित्रैमा यतिधेरै मानिसहरुको ज्यान लिने महामारीको कल्पना कसैले गरेको थिएन ।

न्युयोर्कलाई मेरो नयाँ घर बनाइदिने मेरी आमा मसँगै हुनाले म धेरै भाग्यमानी छु । तर हाम्रो पहिचान सदैव नेपालसँग गहिरोसँग गाँसिएको छ । म आज जे छु त्यो बनाउने चाहिँ नेपालका तिनै ठाउँ, ती मानिसहरु र त्यो संस्कार नै हो । र, यो संघर्षमा मुलुक तथा मेरो परिवारले हारिरहेको देख्दा मेरो मन निकै भारी हुन्छ । त्यसैले नेपालीहरु बाँच्नका लागि भाइरससँग कडा संघर्ष गरिरहेको बेला हामीहरुले पनि उनीहरुको लडाइँमा साथ दिनुपर्दछ ता कि नेपाली तथा एसियाली आवाजहरु पुनः अदृश्य नहोउन् ।

(नोट :नेपाली मूलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङको टाइम अनलाइनमा जुन १६ तारिखमा प्रकाशित लेखको भावानुवाद गरिएको हो ।)



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0