सुशान्त सिंह राजपूत र उनको सपनाको अर्थ – Online Khabar


‘कुनै छायाँ जस्तै…..म हुँ र होइन पनि ।’- रुमी

सुशान्त सिंह राजपूतको टि्वटर वालमा लेखिएको उनको यो पोस्टले सुशान्त हुनु र नहुनु दुबैको अनौठो अनुभूत गराउँछ ।

‘जोसँग जिउनुको कारण छ, उसले लगभग कुनैपनि किसिमले सहन्छ ।’ – नित्जे

‘जबसम्म तिमीले स्वयम्लाई विश्वास गर्दैनौं, तबसम्म तिमीले ईश्वरलाई पनि विश्वास गर्दैनौं’ -विवेकानन्द ।

सोच्छु, त्यो व्यक्ति कस्तो होला जो रुमीको शायरीदेखि नित्जे, विवेकानन्दको दर्शनसम्मलाई बुझ्ने र बुझाउने क्षमता राख्छ । यी सबै पोस्ट्स उनको टि्वटरमा बेलामौकामा खोजेर पढेकी हुँ ।

सुशान्त सिंहलाई गुमाएको एक बर्ष भैसक्यो । यो ३६५ दिनमै कुन दिन थिएन, जुन दिन सुशान्तको बारेमा नलेखिएको होस्, नभनिएको होस्, नखोजिएको होस् ।

थाहा छैन, सडकमा र सामाजिक सञ्जालमा उनको कति कथाहरु भनिए होलान्, कति बुनिए होलान् । उनका बारेमा अनेक कोणबाट खोजी र चर्चा भयो । तैपनि उनी एक नसुल्झिएको पजल जस्तै रहस्यको गर्भमा छन् ।

चन्द्र-ताराको यात्रा गर्ने  । धर्तीबाट एलियन्सलाई जान्ने प्रयास गर्ने । दुबै हातले धनु-वाण चलाउने इच्छा राख्ने । अन्र्टटिकामा यात्रा गर्ने उदेश्यका साथ कम्तीमा दश प्रकारका नृत्य सिक्न इच्छुक । यस्ता थिए, सुशान्त सिंह राजपुत ।

सोच्ने-बुझ्ने दायरा

यस्तो लाग्छ, कुनै कलाकारले रचना गर्दै कुनै दाशर्निक, कुनै वैज्ञानिक, कुनै फिरन्तेको अंश पनि हालिदिएको हो, उनमा ।

सपना हामी सबैले देख्छौं । सुशान्तले पनि देखे । शाहरुख जस्ता ठूलो स्टार बन्नुथियो उनलाई । यद्यपि उनको सपना फिल्मको पर्दाको दायराभन्दा केही फराकिलो थियो । ठूलो थियो । कम्तीमा उनको कुरा, उनको पोस्टले यही कुराको अनुभूत गराउँछ । अब त उनलाई जान्न र बुझ्नका लागि यही एउटै माध्याम मात्र बाँकी रह्यो ।

सुशान्तको ५० सपनाको फेहरिस्त उल्टोपाल्टो बनाएर कति पटक केलाएकी छु मैले, गएको एक बर्षमा । उनी स्पष्ट थिए कि उनी के हासिल गर्न चाहन्छन् ।

क्ति राम्ररी सपनाको सूची तय गरेका थिए सुशान्तले । जब कुनै सपना पुरा हुन्थ्यो तब त्यसमा उनी टिक लगाउँथे । कति व्यवस्थित ढंगले । सपना नम्बर एक, सपना नम्बर १४ ….क्याटलगमा जस्तै सबैकुरा सूचिकृत गर्थे उनी ।

झरी परिरहेको बखत समेत जब उनले डिज्नील्यान्ड जाने लक्ष्य हासिल गरे, उसै दिन सुशान्तले लेखेका थिए, ‘चाहे झरी परोस् वा हिमपात, आफ्नो सपनाले जहाँ डोहोर्‍याउँछ, त्यहाँ त जानैपर्छ ।’

एक अभिनेता, जो सफलताको सिंढी उक्लिरहेका थिए । उसलाई नृत्य सिक्नु थियो । बडी बनाउनु थियो । यी कुराहरु त बुझ्न सकिन्छ । तर, के चाहिँ बुझ्न सकिदैन भने किन उनलाई देब्रे हातले क्रिकेट खेल्नु थियो ? किन उनी यस्तो अभ्यास गरिरहेका थिए ? दुबै हातले धनु-वाण चलाउन किन सिक्नु थियो ?

मानौं, ति सबैकुरामा उनी आफुलाई पोख्त बनाउन चाहन्थे, जो असंभव जस्तै लाग्छ । उनलाई सबैकुरा हासिल गर्नु थियो । ‘दिल बेचारे’का मौनी जस्तै ।

रुमी र अहमद फराजका साथसाथै केही यस्ता पनि पोस्ट गर्थे सुशान्त –

‘नाभिषेको न संस्कारः सिंहस्य क्रियते मृगैः । विक्रमार्जितराज्यस्य स्वयमेव मृगे्रद्रता…।’

अर्थात न कसैलाई जस्तै उनलाई कुनै अभिषेक गरियो, न कुनै अलग संस्कार उनलाई दिइयो । तैपनि सिंहलाई जंगलको राजा कसले बनायो ?

शहर सानो हुन्छ, मान्छे होइन

यो संसार मात्र बुझ्नु थिएन, उनलाई । एलियन्सको संसार पनि बुझ्नु थियो । आकाशगंगाबारे पनि उनलाई जानकारी थियो । उनी आफ्नो टेलिस्कोपले आकाशगंगा र अरु के-के नियाल्नु थियो ।

उसलाई विमान उडाउन सिक्नु थियो । उसलाई विश्वका अनौठो ठाउँहरुको यात्रा गर्नु थियो । एकदमै टाढा जानु थियो । जिन्दगीको हरेक रंगलाई नजिकबाट अनुभूत गर्नु थियो ।

काई पो चेका इशानलाई जस्तै । जसलाई पैसाको ढुकुटीभन्दा पनि खुला हावामा सास फेर्न महत्वपूर्ण लाग्थ्यो ।

जहाँ जहाँ सुशान्त देखिन्थे, तब उनका आत्माविश्वासले भरिएको अनुहार प्रकट हुन्थ्यो । मानौं उनको अनुहारले भनिरहेको छ, ‘शहर सानो हुन्छ, तर त्यहाँका मान्छे र सपना होइन । मलाई लाग्छ, मान्छेको कद उसको लक्ष्यले मापन गरिन्छ । भाग्यको कुरा त उसले मात्र गर्छ, जो मैदानमा उत्रिएको छैन । मलाई लाग्छ, थकान र तनाव केवल एक भ्रम हो । मलाई लाग्छ, हार र जितबीचको दूरी ठूलो छ, तर असंभव छैन ।’

तर, थाहा छैन असली जिन्दगीमा हार र जितको दुरी सुशान्तका लागि यति भयानक किन भइदियो ? यसको उदेश्य सुशान्तको खुबी गन्ने होइन, उसमा पनि केही त्रुटी थियो । जस्तो कि हामी सबैमा हुन्छ ।

थिएटरमा र्फकने कुरा गर्थे सुशान्त

यो एक बर्षमा सुशान्तको निजी जिन्दगीको चिरफारमा लागुऔषध, मानसिक रोगदेखि लिएर पारिवारिक सम्बन्ध बिगि्रएका जस्तै साँचो वा झुटो कुराहरु छरपस्ट भए । यस्तो आरोप प्रत्यारोपमा सुशान्त त हराएको जस्तै थियो ।

जबकी सुशान्त सधै उत्साहित र प्रेरणाले आफुलाई भरिरहेका हुन्थे । यदि फिल्म पाइएन भने टेलिभिजनमा काम गर्छु । यदि टेलिभिजनमा पनि काम मिलेन भने थिएटरमा र्फकन्छु भन्थे । उनी भन्थे, ‘असफलतासँग मलाई कुनै डर छैन ।’

अब यो कुरा रहस्यमै रहन्छ कि, उनी जिन्दगीको कुन पीडा, कुन समस्यामा जकडिएर संसारबाट विदा लिने निर्णयमा पुगे ।

आफैबाट किन भाग्छु ?

बिहारको धरातल टेकेर आएका एउटा ठिटो, जो मुम्बईको ग्ल्यामर दुनियामा चम्कन्छन् । र, रातको समयमा स्वयम् ताराहरुको खोजीमा आकासतर्फ हेरिबस्छ ।

संयोग कस्तो भने, उनको पहिलो फिल्ममा सुशान्त अर्थात ईशान पर्दामा जिउँदो हुँदैनन् । यस्तो केही पटक भएको छ । जस्तो कि, फिल्म केदारनाथको मन्सुर पनि त सबैकुरा छाडेर मृत्युलाई अंगाल्न पुग्छ ।

जब मनोज बाजपेयी सुशान्तसँग सोध्छन्, के उनलाई मर्नसँग डर लाग्छ ? सुशान्त अर्थात लाखन भन्छन्, ‘यी खोलाहरुमा एक जन्म वितिसकेको छ, अब मर्नबाट किन डराउने ?’

उनको अन्तिम फिल्म ‘दिल बेचारा’मा मैनी बनेर सबैलाई बाँच्न सिकाए ।

बेलामौकामा लेखक मुराकामीको यस पंक्ति उद्गृत गर्दै सुशान्त भन्थे, ‘यदि तिमीले मलाई याद गर्‍यौं भने, मलाई दुनिया भुलेकोमा पनि  कुनै दुखेसो हुनेछैन ।’

अब त उनी आफ्नो सपनाको सूचीहरुमा टिक पनि लगाउने छैनन् । हिमालमा गएर ध्यान बस्ने, सिक्स प्याक बनाउने, नासामा वर्कसप, एक हप्ता जंगलमा बिताउने, वेदिक एस्ट्रोलोजी सिक्ने, आफ्ना मनपर्ने पचास गीतमा गिटार बनाउने । यी सपनाहरुमा अब उनले कहिल्यै टिक लगाउने छैनन् ।

बिबिसीबाट भावनुवाद



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0