क्रियाशील सदस्यमा युवाको वर्चश्व, नेतृत्वमा बुढापाका हावी – Online Khabar


४ असार, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वको दौडधुप सुरु भइसकेको छ । सभापतिका प्रमुख दावेदार सभापति शेरबहादुर देउवा भर्खर ७६ वर्षमा लागेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल ७६ वर्षमा छन् । सभापतिको आकांक्षा राखेका शेखर कोइराला ७०, प्रकाशमान सिंह ६५, विमलेन्द्र निधि ६४, शशांक कोइराला पनि ६२ वर्षका भइसके ।

पार्टीको केन्द्रीय नेतृत्व (पार्टी सभापतिदेखि केन्द्रीय सदस्य)मा पनि ६० वर्षमाथिकै बर्चश्व छ । तर पार्टीको प्रारम्भिक मतदाता मानिने क्रियाशील सदस्यमा भने युवा पुस्ताको उपस्थिति उल्लेख देखिएको छ ।

केन्द्रीय डेटा सिटस्ममा इन्ट्री भएको ८ लाख बढी क्रियाशील सदस्यमध्ये १८ देखि ४० वर्ष उमेर समूहका ३३ प्रतिशत छन् । सबभन्दा धेरै भने ४१ देखि ६० वर्ष उमेर समूहका छन् । कुल क्रियाशील सदस्यको  ३७.८६ प्रतिशत ४१ देखि ६० वर्ष उमेर समूह छन् ।

जोखिम मोलेर धक्का दिनसक्ने युवाको कमी छ । दाइहरु रिसाउलान् कि भनेर डराउने र आफ्नो ठाउँ सुरक्षित गरेर बोल्ने युवाहरुको संख्या धेरै छ – कृष्ण खनाल, राजनीतिक विश्लेषक

समग्रमा १८ देखि ६० वर्ष उमेर समूहका क्रियाशील सदस्यको संख्या ७० प्रतिशतभन्दा माथि छ । ६१ देखि ७५ वर्षसम्मका क्रियाशील सदस्यको संख्या दश प्रतिशत छ भने ७५ वर्षभन्दा माथिको संख्या जम्मा १ प्रतिशत छ ।

कांग्रेसमा क्रियाशील सदस्यबाट निर्वाचिन महाधिवेशन प्रतिनिधिले पार्टीको केन्द्रीय नेतृत्व चयन गर्छ । क्रियाशील सदस्यमा युवाको बाहुल्यता हुँदा पनि आसन्न महाधिवेशनमा पार्टी नेतृत्वमा चुनौती दिन युवा नेताहरु तयार देखिएका छैनन् ।

राजनीतिक विश्लेषक कृष्ण खनालका अनुसार नेतृत्वमा पुग्ने नपुग्ने उमेर समूहभन्दा एजेण्डाले तय गर्छ ।

महाधिवेशन प्रतिनिधिहरुले पनि उम्मेदवारको उमेर हेरेर मतदान हुन्न । पदाधिकारीमा रहेकाहरु व्यूरोक्रेसीमा बढुवा भएजस्तै तलबाटै क्रमशः पुगेका छन् । तर कांग्रेसमा युवाहरुले जोखिम मोलेर नेतृत्वलाई धक्का दिने आँट नगरेको उनको विश्लेषण छ ।

‘जोखिम मोलेर धक्का दिनसक्ने युवाको कमी छ । दाइहरु रिसाउलान् कि भनेर डराउने र आफ्नो ठाउँ सुरक्षित गरेर बोल्ने युवाहरुको संख्या धेरै छ,’ राजनीतिक विश्लेषक कृष्ण खनाल भन्छन्, ‘युवाहरुले जोखिम लिन सक्ने आँट नगरेसम्म नेतृत्वमा पुग्ने अपेक्षा नगरौं ।’

राजनीतिक विश्लेषक खनालको मतसँग कांग्रेस नेता प्रदीप पौडेल भन्छन्, ‘पार्टीको नेतृत्वमा आउन चाहनेले आफू अनुकुल र आफूलाई सहयोग गर्नेलाई सदस्यता वितरणमा प्राथमिकता दिँदा पनि नयाँ पुस्ता नेतृत्वमा आउन नसकेको हो ।’

क्रियाशील सदस्यले सिधै मतदान गर्ने नभई प्रतिनिधि निर्वाचित गरेर पठाउने भएकाले पनि सहज नभएको उनले बताए । ‘क्रियाशील सदस्य आफैं केन्द्रीय नेतृत्व चयनका लागि भोटर हुँदैन, उसले अरुलाई नै चयन गरेर पठाउँछ’ भन्छन्, ‘त्यो चयन हुने व्यक्तिको रोजाइमा नयाँ भन्दा पुरानै हुन्छ ।’

शुक्रबार बसेको केन्द्रीय कार्यसमितिले १४औं महाधिवेशनको संशोधित कार्यतालिका पास गरेको छ, जसअनुसार साउन १२ बाट अधिवेशन सुरु हुनेछ र भदौ १६ देखि १९ गतेसम्मम केन्द्रीय महाधिवेशन काठमाडौंमा हुनेछ ।

अधिवेशन सुरु हुनुअघि क्रियाशील सदस्य टुंगो लगाउनुपर्छ । अहिलेसम्म कांग्रेसमा ८ लाख १६१ जनाको नाम पार्टीको सफ्टवेयरमा इन्ट्री भइसकेको छ । तर विवाद भएका १६ निर्वाचन क्षेत्रमको डेटा इन्ट्री भइसकेको छैन । यसका लागि छानविन समितिले असार ९ गतेसम्मको समय दिएको छ ।

त्यसपछि आएका उजुरीहरुको छानविन गरेर क्रियाशील सदस्यको अन्तिम सूची बनाउनुपर्छ ।

समावेशी समूहमा कुन समुदायको कति ?

अहिलेसम्म इन्ट्री भएका क्रियाशील सदस्यमध्ये महिलाको संख्या २३ प्रतिशत मात्र छ । १ लाख ८८ हजार ८२२ जना महिला (नवीकरण र नयाँ) क्रियाशील सदस्य छन् ।

पुरुषको संख्या ६ लाख ११ हजार २८० रहेको छ, जुन कुल संख्याको ७४.५५ प्रतिशत हो । अन्य समूहअन्तर्गत १५५ जना क्रियाशील सदस्य छन् ।

जातीय रुपमा हेर्दा खस आर्य समुदायको बाहुल्यता छ । यो समुदायबाट ४३ प्रतिशत क्रियाशील सदस्य छन् । आदिवासी जनजाति २४ प्रतिशत, मधेसी नौ प्रतिशत, दलित पाँच प्रतिशत, थारु दुई प्रतिशत, मुस्लिम करिव एक प्रतिशत र पिछडिएको क्षेत्रबाट एक प्रतिशत भन्दा बढी क्रियाशील सदस्य रहेका छन् । सबैभन्दा कम अपांगता भएका व्यक्ति छन् । अपांगता भएका १६७ जना मात्र छन् ।

कुन प्रदेशबाट कति ?

क्रियाशील सदस्य छानविन समितिका अनुसार अहिलेसम्म प्रदेश एकबाट शतप्रतिशत क्रियाशील सदस्यको नाम इन्ट्री भइसकेको छ । २८ वटा निर्वाचन क्षेत्र भएको यो प्रदेशमा १ लाख ७३ हजार ५३ जना क्रियाशील सदस्य छन् ।

३२ निर्वाचन क्षेत्र भएको प्रदेश दुईबाट ८८ हजार ७६५ जनाको नाम इन्ट्री भएको छ । २३ वटा निर्वाचन क्षेत्रका ७९ हजार ७२९ जनाको नाम सार्वजनिक गरिएको छ भने ९ वटा निर्वाचन क्षेत्रबाट क्रियाशील सदस्यको नाम इन्ट्री भएको छैन । बारा र सप्तरी जिल्लाबाट क्रियाशील सदस्यको नाम पठाइएको छैन भने धनुषाको एउटा निर्वाचन क्षेत्रबाट पनि नाम पठाइएको छैन ।

३३ निर्वाचन क्षेत्र भएको बागमती प्रदेशबाट १ लाख ७१ हजार ९५५ जनाको नाम इन्ट्री भइसकेको छ । विवादका कारण काभ्रेको एक र सिन्धुपाल्चोकको दुई निर्वाचन क्षेत्रको डेटा इन्ट्री एको छैन । गण्डकीको १८ वटै निर्वाचन क्षेत्रले १ लाख १७ हजार ३५१ (पुराना/नयाँ) को डेटा इन्ट्री गरेको छ ।

लुम्बिनीमा १ लाख २१ हजार ३९९, कर्णालीमा ५३ हजार १५१ र सुदूरपश्चिममा ७४ हजार ६४३ जनाको नाम इन्ट्री भइसकेको छ । थर प्यूठान, रुकुम पूर्व, बर्दिया र डडेल्धुराबाट क्रियाशील सदस्यको सूची पठाइएको छैन ।

कति पुराना ? कति नयाँ ?

अहिलेसम्म कांग्रेसले उपलब्ध गराएको सफ्टवेयरमा इन्ट्री गरेकामध्ये नयाँ क्रियाशील सदस्यको संख्या बढी छ । प्रदेश एकबाट नविकरणका लागि क्रियाशील सदस्य संख्या ८४ हजार ४६७ रहेको छ भने नयाँ ८८ हजार पाँच सय ८६ रहेको छ ।

प्रदेश दुईबाट पुरानो सदस्यमा ३८ हजार ३०३ जनाको नाम इन्ट्री भएको नयाँ सदस्यको संख्या ५० हजार चार सय ६२ छ । बागमती प्रदेशमा पुराना सदस्य संख्या ८३ हजार ७९६ जना रहेकोमा ८८ हजार १५९ जना नयाँ रहेकाछन् ।

गण्डकीमा पुराना ५६ हजार चार सय क्रियाशील सदस्य छन् भने नयाँ ५९ हजार ६४६ रहेका छन् । लुम्बिनीमा ५९ हजार ६४६ पुराना र ६१ हजार ७५३ नयाँ क्रियाशील सदस्यको नाम इन्ट्री भएको छ ।

कर्णालीमा २२ हजार ३११ पुराना क्रियाशील सदस्यको सूची पठाइएको छ भने ३० हजार ८४० नयाँ क्रियाशील सदस्य रहेकाछन् । सुदूरपश्चिम प्रदेशमा ३५ हजार ४५५ जना पुराना क्रियाशील सदस्य रहेकोमा ३९ हजार १८८ नयाँ सदस्य छन् ।



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0