मेलम्चीको पीडामा काठमाडौंले मल्हम लगाउनुपर्छ – Online Khabar


४ असार, काठमाडौं । कोशी बेसिनको सहायक नदी मेलम्ची र त्यसको जलाधारसहित बहाव क्षेत्र अहिले बाढीको चपेटामा छ । त्यस क्षेत्रका धेरै नागरिक घर छोडेर हिंड्नुपरेको छ । घर–खेती मात्रै हैन; सडक, पुलसहित विभिन्न सार्वजनिक संरचना बाढीले बगाएको छ ।

यो त्यही मेलम्ची खोला हो, जसको पानी दुई दिन अघिसम्म काठमाडौं उपत्यकावासीले उपयोग गरिरहेका थिए । काठमाडौंको तिर्खा मेटाउने मेलम्चीको रौद्र रूपले त्यस क्षेत्रलाई तहसनहस बनाएको बेला काठमाडौंको दायित्व के होला ?

खानेपानी मन्त्रालयका पूर्वसचिव माधव बेल्वासे संकटमा परेका सबैमाथि सरकारको भूमिका उस्तै र उत्तिकै हुने बताउँछन् । काठमाडौंमा मेलम्चीको उपयोग गर्ने आम उपभोक्ताले पनि सक्दो अतिरिक्त सहयोग गर्नुपर्ने मत राख्छन् बेल्वासे ।

बेल्वासेलाई सम्झना छ, २९ चैत २०७४ मा मेलम्ची खानेपानी आयोजनाको साढे २७ किलोमिटर लामो सुरुङमा ‘ब्रेक थ्रु’ पछि तत्कालीन सांसद तथा वर्तमान स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले भनेका थिए, ‘मेलम्ची बहुमूल्य प्राकृतिक सम्पत्ति मात्रै होइन, हाम्री चेली जस्तै हुन् । आज तपाईंहरू दुलही लिन आउनुभएको छ, हामी खुशी छौं ।’

सोही सुरुङ मार्ग भएर आएको पानी काठमाडौंवासीले गत चैतबाट पिउन थालिसकेका थिए । सुपरीवेक्षण गर्न दुई महीनाका लागि सुरुङ बन्द गरेकै दिन मंगलबार मेलम्ची खोलामा आएको बाढीले धेरै मेलम्चीवासीलाई त्रासदीमा धकेलेको छ ।

पूर्वसचिव बेल्वासे अन्मिएर कर्म घर आएकी दुलहीको माइती (मेलम्ची) संकटमा पर्दा काठमाडौंले शीघ्र सहयोगको हात अघि बढाउनुपर्ने बताउँछन् । ‘संकटमा परेकालाई सहयोग गर्नु सबै नागरिकको नैतिक दायित्व पनि हो’ उनी भन्छन्, ‘मेलम्चीले त काठमाडौंलाई पानी नै खुवाएको छ । यो हिसाबले पनि मेलम्चीको संकटमा मल्हम लगाउनु काठमाडौंवासीको खास कर्तव्य हुन्छ ।’

पहिलो पटक सुरुङमा पानी भर्न थाल्दा तत्कालीन खानेपानी मन्त्री विना मगरले सिन्धुकी चेलीलाई धेरै माया गरिने बताउँदै भनेकी थिइन्, ‘यस क्षेत्रको विकासका लागि कुनै कमी रहन दिंदैनौं, हामी सिन्धुवासीलाई सम्झनलायक उपहार दिन्छौं ।’

पूर्वसचिव बेल्वासे अहिले मेलम्चीवासीलाई साथ दिनु तत्कालका लागि ठूलो उपहार हुने मत राख्छन् । ‘व्यक्तिगत रूपमा एक–एकजना सिन्धुपाल्चोक पुगेर सहयोग गर्न नसक्लान्’ उनी भन्छन्, ‘कुनै सरकारी निकायले काठमाडौंवासीको सहयोग मेलम्ची पुर्‍याउने संयन्त्र बनाए बेस हुन्थ्यो ।’

संकटमा ढिला गरिने सहयोगको खासै अर्थ नहुने भएकाले जतिसक्दो छिटो मेलम्चीवासीका लागि काठमाडौंले सहयोग पठाउनुपर्ने उनको धारणा छ ।

पूर्वसचिव बेल्वासे अन्मिएर कर्म घर आएकी दुलहीको माइती (मेलम्ची) संकटमा पर्दा काठमाडौंले शीघ्र सहयोगको हात अघि बढाउनुपर्ने बताउँछन् । ‘संकटमा परेकालाई सहयोग गर्नु सबै नागरिकको नैतिक दायित्व पनि हो’ उनी भन्छन्, ‘मेलम्चीले त काठमाडौंलाई पानी नै खुवाएको छ । यो हिसाबले पनि मेलम्चीको संकटमा मल्हम लगाउनु काठमाडौंवासीको खास कर्तव्य हुन्छ ।’

‘नङ र मासु जस्तै काठमाडौं–मेलम्ची’

मेलम्ची खानेपानी आयोजनाका पूर्वप्रमुख तथा खानेपानी विभागका उपमहानिर्देशक सूर्य कँडेल पनि मेलम्चीको पानीबाट लाभान्वित काठमाडौंका सबै स्थानीय तहले एकीकृत सहयोगको प्रयास गर्नुपर्ने बताउँछन् ।

‘काठमाडौंलाई पानी दिएर मेलम्ची क्षेत्रले वातावरणीय र पर्यावरणीय मूल्य चुकाएको छ’ उनी भन्छन्, ‘त्यसलाई पनि सम्झिएर यहाँका स्थानीय तहहरूले एकीकृत रूपमा सहयोगको प्याकेज दिनुपर्छ ।’

काठमाडौं उपत्यकाले यो बेला लाभको हिस्सा बाँडफाँटको पक्ष पनि सम्झिनुपर्ने कँडेलले बताए । पानी आपूर्ति सहज हुँदा आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय लगायत अनेक लाभ उठाउने भन्दै उनले त्यसको स्रोतको रूपमा रहेको मेलम्चीको दुःखमा साथ दिनु काठमाडौंवासीको दायित्व पनि हुने बताए ।

‘स्थानीय तहहरूले नेतृत्व गरेर उपत्यकावासीलाई सहयोग आह्वान गर्न सक्छन्’ खानेपानी विभागका उपमहानिर्देशक कँडेल भन्छन्, ‘काठमाडौंले ढिला नगरी पीडामा परेको मेलम्ची पुग्नुपर्छ ।’

मेलम्ची खानेपानी आयोजनाको काम सकिन बाँकी रहेको र दोस्रो चरणमा सोही क्षेत्रको याङ्ग्री र लार्केको समेत पानी ल्याउनुपर्ने भएकाले पनि त्यस क्षेत्रको घाउमा मल्हम लगाउन काठमाडौंवासी चुक्न नहुने कँडेल बताउँछन् । अहिले दुःखमा बेवास्ता गरिए भोलि सो क्षेत्रका बासिन्दाको काठमाडौंप्रतिको दृष्टिकोण पनि बदलिनसक्ने सम्भावना उनले औंल्याए ।

‘काठमाडौं र मेलम्ची नङ–मासु हो’ उनी भन्छन्, ‘मेलम्चीलाई चोट लाग्दा काठमाडौंलाई दुख्यो है भन्ने सन्देश दिन पनि काठमाडौंवासीले भूमिका खेल्नुपर्छ ।’
त्यसो हुन सक्दा भविष्यमा आयोजनाहरूमा विवाद नहुने, खानेपानी आयोजनाप्रति गलत धारणा नबन्ने र सबभन्दा महत्वपूर्ण कुरा, नागरिक सहयोगले भावनात्मक सम्बन्ध र आत्मविश्वास बढाउने कँडेलको भनाइ छ ।

आयोजना प्रभावित क्षेत्रलाई लाभ बाँडफाँट गर्ने गरी तयार प्रतिवेदनहरूका आधारमा मेलम्चीका बाढी पीडितलाई राहत, पुनस्र्थापना सहित सहयोग गरिरहनुपर्ने उनले बताए ।

काठमाडौं महानगरको प्रयास

काठमाडौं महनगरपालिकाले मेलम्ची क्षेत्रको विपद् व्यवस्थापनका लागि रु.३ करोड निकासा गर्ने भएको छ । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेलम्चीका बाढी प्रभावित क्षेत्रमा सहयोग स्वरुप मेलम्ची नगरपालिकालाई दुई करोड रुपैयाँ दिने घोषणा गरेका थिए। महानगरपालिकाले शुक्रबार पनि मेलम्चीको मुहान क्षेत्र पाँचपोखरी थाङ्पाल र हेलम्बु गाउँपालिकालाई ५०–५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

‘यो रकम बाढी प्रभावितलाई राहत र उद्धारका लागि हो’ मेयर शाक्य भन्छन्, ‘मेलम्ची नगरपालिकासँग काठमाडौं महानगरपालिकाको भगिनी सम्बन्ध पनि छ । अरू दुई गाउँपालिका मेलम्चीसँग गाँसिएका छन्, त्यहाँ विपद् पर्दा हामी अघि सर्छौं नै ।’

‘तीन महीना मेलम्चीको पानी उपयोग गर्दा उपत्यकाको जनजीवन नै सहज भएको महसूस गरिएको थियो’ शाक्य भन्छन्, ‘मेलम्चीको गुन हामीलाई छ भने त्यहाँ आपत् पर्दा टुलुटुलु हेरेर बस्ने कुरै छैन ।’

शाक्यले आवश्यक परे अन्य नगरपालिकासँग समन्वय गरेर थप सहयोग जुटाउन सकिने बताए । सहयोगको प्रतिस्पर्धामा भने नलाग्ने बताउँदै उनले भने, ‘सहयोगका नाममा बिस्कुट–चाउचाउ बोकेर जानेभन्दा प्रदेश सरकारको समेत साथ लिएर, स्थानीय तहहरूसँग समन्वय गरेर आवश्यक सहयोग पुर्‍याउँछौं ।’

अरू स्थानीय तहको पनि कर्तव्य

मेलम्ची खानेपानी आयोजनाका अर्का पूर्वप्रमुख घनश्याम उपाध्याय काठमाडौं महानगरपालिकाले सहयोगको घोषणा गरेर मेलम्चीको घाउमा मल्हम लगाउने अग्रसरता देखाउनु सकारात्मक भएको बताउँछन् ।

‘यो सहयोग पर्याप्त हो, होइन भन्ने छलफलको विषय होला, तर यस्तो बेला अग्रसरता देखाउनु पनि सकारात्मक छ’ उनी भन्छन्, ‘उपत्यकाका अन्य स्थानीय तहले त्यसमा साथ दिएनन् भने मेलम्चीको पीडाबोध नगरेको ठहरिन्छ ।’

जिम्मेवारी भन्ने कुरा कानूनी मात्र नहुने बताउँदै उपाध्यायले भने, ‘संघीय सरकारले त दुःखमा परेका सबैलाई आफ्नो क्षमता अनुसार सहयोग गर्नैपर्छ । हामी आम नागरिक पनि जो अहिले समस्यामा छैनौं, समस्यामा परेकाहरूलाई सकेको सहयोग गर्नु नैतिक दायित्व हुन आउँछ ।’

यसका लागि जनस्तरबाट कोष नै खडा गरेर पनि जान सकिने उनले बताए । ‘तर, सेल्फी खिच्न चाहिं नजाऔं, त्यसले पीडितलाई थप पीडा दिन्छ’, उनी भन्छन् ।



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0