अझै देखिइरहेका छन् जोखिमका संकेत – Online Khabar


२ असार, काठमाडौं । कोरोना महामारीको दोस्रो लहर केही कम भएको देखिएको छ । अस्पतालमा बेड नपाउने, बेड पाइहाले अक्सिजन नपाउने अवस्था छैन भने हरेक दिन संक्रमित तथा मृतकको संख्या थपिने क्रम घट्दो छ ।

दुई साताअघि ३०.८ प्रतिशत रहेको संक्रमण दर घटेर १९.०४ मा झरेको छ । संक्रमणदर घट्नु सुखद संकेत भए पनि निषेधाज्ञा जारी गरेको ४५ दिन कट्दा पनि २० प्रतिशत हाराहारी रहनु राम्रो संकेत नभएको जनस्वास्थ्य विज्ञहरू बताउँछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार दुई साताअघि एन्टिजेन परीक्षणको संक्रमण दर ३७.३९ प्रतिशत थियो । अहिले १६ प्रतिशतमा झरेको छ । तर अझै ठाउँ विशेषमा संक्रमण दर ५० प्रतिशत हाराहारी छ ।

यसले ग्रामीण क्षेत्रमा विपदको संकेत गरेको महामारी विज्ञ डा. केदार बराल बताउँछन् । ‘पहिला ठूला शहरमा जति संक्रमित भेटिन्थे, त्यो अहिले घटेको सत्य हो । तर थोरै जनसंख्या भएको ग्रामीण क्षेत्रमा पहिलाभन्दा बढी देखिन थालेको छ । ठूला शहरको संक्रमण घटेकाले देशव्यापी तथ्यांकमा संक्रमितको संख्या घटे पनि ग्रामीण क्षेत्रमा संक्रमण ह्वात्तै बढेको छ’, डा. बराल भन्छन् ।

मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो दुई साता लुम्बिनी प्रदेशको १२ जिल्लाको एन्टिजेन परीक्षणको संक्रमण दर ३४.२६ प्रतिशत छ । प्रदेश–२ मा पछिल्लो एक महीनामा भएको एन्टिजेन परीक्षणको संक्रमण दर २१.२७ छ । कर्णाली प्रदेशमा पछिल्लो दुई साता संक्रमण दर ८.२९ प्रतिशत देखिएको छ । तर ग्रामीण क्षेत्रमा परीक्षण किटको अभाव छ भने किट पुगेका ठाउँमा पनि परीक्षण गराउन नमान्ने भएकाले कर्णालीको वास्तविक संक्रमितको तथ्यांक नआएको कर्णालीका जनस्वास्थ्यकर्मी माधव चौलागाई बताउँछन् ।

‘एन्टिजेनको संक्रमण दर धेरै हुनु सामान्य होइन’

संक्रामक रोग विज्ञ डा. जनक कोइरालाका अनुसार एन्टिजेनभन्दा पीसीआर परीक्षणमा संक्रमण भेटिने सम्भावना १५ प्रतिशतभन्दा धेरै हुन्छ । एन्टिजेन परीक्षणमा २० प्रतिशत संक्रमण दर देखिनु भनेको पीसीआरमा ३५ प्रतिशत देखिनु जस्तै हो ।

त्यसरी हेर्दा अहिले एन्टिजेन परीक्षणमा देखिएको संक्रमण दरले गाउँ–गाउँमा फैलिएको संक्रमण र मृत्यु सरकारी तथ्यांकमा नआएको संकेत गर्ने डा. कोइराला बताउँछन् । भन्छन्, ‘वैशाखको तेस्रो साता ठूला शहरमा देखिएको संकट ग्रामीण क्षेत्रमा देखिने संकेत मिल्न थालेको छ, समयमै व्यवस्थापन गरिएन भने अर्को समस्या निम्तिन सक्छ ।’

स्वास्थ्यसम्बन्धी तथ्यांक अध्ययनमा रुचि राख्ने पपुलेसन हेल्थका वैज्ञानिक डा. विशाल भण्डारीका अनुसार समुदायस्तरमा र्‍यान्डम स्याम्पलिङ हुँदा मात्र समग्र समुदायको प्रतिनिधित्व गर्छ । तर नेपालमा अझै परीक्षणको दर साँघुरो छ । ‘नेपालको हकमा र्‍यान्डम परीक्षण नगरेकाले परीक्षण रिपोर्टमा विशेषगरी अस्पताल भर्ना भएका र लक्षण भएकालाई मात्र देख्न सक्छौं’ भण्डारी भन्छन् ।

निषेधाज्ञा खुकुलो भएपछि मानिस गाउँबाट शहर छिर्छन् । यसले सानो उभारै आउन सक्छ । त्यसैले परीक्षणको दायरा बढाउनुको विकल्प छैन –डा. अनुप सुवेदी, संक्रामक रोग विशेषज्ञ

किन लम्बियो दोस्रो लहर ?

परीक्षणको अभाव, जनस्वास्थ्यको मापदण्ड पालना नगर्नु र एकैपटक दुई वटा भेरियन्ट फैलिएका कारण निषेधाज्ञा जारी गरेको ४५ दिन नाघिसक्दा पनि संक्रमण घट्ने क्रम सुस्त भएको संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी बताउँछन् ।

पछिल्लो समय धेरैजसो स्थानीय तहमा एन्टिजेन परीक्षणलाई जोड दिइएको छ । जबकि एन्टिजेन परीक्षणमा ‘भाइरल लोड’ धेरै भएकालाई मात्र पोजेटिभ देखाउँछ । एन्टिजेन नेगेटिभ आए पनि लक्षण छ भने पीसीआर टेष्ट गर्नुपर्छ । तर पीसीआर परीक्षण पनि नगर्ने र एन्टिजेन नेगेटिभ आएको छ भनेर समाजमा घुलमिल गर्दा संक्रमण फैलिन्छ । डा. सुवेदी भन्छन्, ‘कतिपय ग्रामीण भेगमा पीसीआरको उपलब्धता नभएकाले एन्टिजेनकै भर पर्नुपर्ने बाध्यता छ । यसले पनि संक्रमण विस्तार भइरहेको छ ।’

संक्रामक रोग विशेषज्ञ डा. सुवेदीका उनका अनुसार अल्फा भेरियन्ट (बेलायती भेरियल्ट बी. १.१.७) ले संक्रमण गराइरहेको बेलामा त्योभन्दा धेरै संक्रामक डेल्टा भेरियन्ट (भारतीय भेरियन्ट बी. १.६१७.२) फैलिएकाले पनि संक्रमण घट्न लामो समय लागेको हो । ‘शुरूको भेरियन्टमा एक जनाबाट अर्कोमा फैलाउन सक्ने क्षमता लगभग दुई थियो, तर अहिले ६ देखि ८ सम्म छ । यसले पनि संक्रमण घट्न समय लागिरहेको छ’, डा. सुवेदी भन्छन् ।

बायोमेडिसिनमा काम गर्ने आर्टिफिसियल इन्टिलिजेन्सका वैज्ञानिक विवेक पौडेलका अनुसार सन् २०२० मा कोभिड शुरू भएदेखि विश्वभरको तथ्यांक विश्लेषण गर्दा अप्रिल र मे महीनामा नेपालमा देखिएको ‘दोस्रो लहर’ विश्वमै सबैभन्दा छिटो फैलिएको थियो ।

मोबाइल फोनको तथ्यांक विश्लेषण गर्दा कोरोनाको पहिलो लहरमा नेपालको लकडाउन पनि विश्वकै कडामध्येको थियो । तर २०२१ को जनवरीपछि राजनीतिक सभा सम्मेलनसँगै एकैपटक लाखौं मानिस बाहिर निस्किए । ‘जति धेरै मान्छेले मान्छे भेट्छन्, भाइरसको फैलावट पनि त्यति हुन्छ, यस्तो बेला भाइरस म्युटेशनको सम्भावना बढ्छ’, पौडेल भन्छन् ।

त्यहीबेला देखिएको नयाँ भेरियन्ट यसअघि भेटिए भन्दा बढी संक्रामक भएको पाइएको छ ।

वैशाखयता ज्येष्ठ नागरिकलाई बढी संक्रमण

स्वास्थ्य मन्त्रालयको १ वैशाखको तथ्यांक हेर्दा कुल संक्रमणको २१.४२ प्रतिशत संक्रमण ५० वर्ष माथिका नागरिकमा देखिएको छ । ५० वर्षभन्दा मुनिका ७८.५८ प्रतिशत मानिसमा संक्रमण देखिएको छ । तर जेठ १ गते कुल संक्रमितमध्ये ज्येष्ठ नागरिक २२.६५ प्रतिशत थिए भने जेठ ३१ गते २४.०८ प्रतिशत पुगेका छन् ।

दुई महीनाको ‘ट्रेन्ड’ हेर्दा ५० वर्षभन्दा माथिका मानिसमा संक्रमण बढ्दै गएको देखिन्छ । बाहिर हिंडडुल नगर्ने समूहलाई निषेधाज्ञाको बेला संक्रमण देखिनुको कारण परिवार भएको डा. भण्डारी बताउँछन् । भन्छन्, ‘तर विडम्बना के भने पछिल्लो तीन महीनाको तथ्यांक हेर्दा ज्येष्ठ नागरिकमा परीक्षण बढेको देखिन्न ।’

परीक्षणको दायरा कम भएको बेला ५० वर्षभन्दा माथिका नागरिक परीक्षणको प्राथमिकतामा नपर्ने भण्डारी बताउँछन् । यो उमेर समूहका मानिस परीक्षण गर्न हिच्किचाउने र सिकिस्त नभइकन परिवारको सदस्यले परीक्षण गर्न नलग्ने परिपाटीका भएकाले संक्रमित अझै समुदायमा छुटेको डा. भण्डारीको भनाइ छ ।

परीक्षणमा कमी भएकै कारण नेपालमा महामारीले यो रूप लिएको संक्रामक रोग विशेषज्ञ डा. सुवेदी बताउँछन् । विश्व स्वास्थ्य संगठनका अनुसार जति परीक्षण गरिएको छ, त्यसमा ‘पोजिटिभिटी रेट’ ५ प्रतिशतभन्दा तल हुनुपर्छ ।

पोजिटिभिटी रेट ३ प्रतिशतभन्दा तल राख्न सकियो भने महामारी नियन्त्रणमा रहेको बुझ्नुपर्छ । ‘महामारी त आफ्नै गतिका कारण मात्रै घटिरहेको छ, यत्रो लकडाउनमा सरकारले परीक्षण बढाउने काममा चासो देखाएन’ डा. सुवेदी भन्छन्, ‘ग्रामीण क्षेत्रमा जति संक्रमित छन्, त्यति परीक्षण भएकै छैन ।’

‘रणनीति बदल्नुपर्छ’

लामो निषेधाज्ञाले पनि संक्रमण दर चित्तबुझ्दो रूपले नघटेकाले सरकारले महामारी विरुद्ध लड्न चालेको रणनीतिको समीक्षा गर्नुपर्ने विज्ञहरू बताउँछन् । महामारी विज्ञ केदार बरालका अनुसार महामारी नियन्त्रणको अबको प्रयास ग्रामीण क्षेत्र केन्द्रित हुनुपर्छ । ‘हाम्रो प्रयास कहाँकहाँ सफल भयो ? कहाँ असफल भयो ? महामारीको वास्तविक अवस्था के छ ? र अब के गर्नुपर्छ भनेर सरकारले गम्भीर समीक्षा गरेर योजना बनाउनुपर्ने हुन्छ’, डा. बराल भन्छन् ।

संक्रामक रोग विशेषज्ञ डा. कोइराला पनि ग्रामीण र शहरी दुवै क्षेत्रमा लक्षण देखिएका बाहेकका मानिसलाई पनि परीक्षण गरेर महामारीको वास्तविक अवस्था थाहा पाउनुपर्ने बताउँछन् ।

ज्येष्ठ नागरिकहरू परीक्षणको पहुँचमा नपुग्ने र ग्रामीण क्षेत्रमा परीक्षण गर्न हिच्किचाउने भएकाले महामारीको वास्तविक तथ्यांक नआएको भन्दै डा. भण्डारीले पनि महामारीको वास्तविक अवस्था थाहा पाउन सरकार नै परीक्षण गर्न घरघरमा पुग्नुपर्ने बताउँछन् ।

‘बिरामी भएर अस्पताल पुगेका र सम्भावित संक्रमितलाई परीक्षण गरेर महामारीको वास्तविक अवस्था थाहा पाउन सकिन्न, परीक्षणको रणनीति नबदल्ने हो भने जोखिम फेरि बढ्छ’, डा. भण्डारी भन्छन् ।

मन्त्रालयको तथ्यांकलाई मिहिन ढंगले विश्लेषण गर्दा जोखिम नटरेको डा. भण्डारी बताउँछन् । ठूला शहरमा संक्रमण घटेको बेला नै परीक्षण बढाएर संक्रमणको वास्तविक अवस्था थाहा पाउनुपर्ने उनी बताउँछन् । उनका अनुसार भारतमा परीक्षण नभएका कतिपय ग्रामीण इलाकामा धेरै मानिसको मृत्यु भएको थियो ।

तर परीक्षण नै नभएका कारण उनीहरूको तथ्यांक आएन । ‘त्यस्तै स्थिति हाम्रोमा नआउला भन्न सकिन्न, किनकि ठूला शहरमा संक्रमण घट्यो भन्दैमा पूरै नेपाल सुरक्षित छ भन्न मिल्दैन’, डा. भण्डारी भन्छन् ।

महामारी चरण–चरणमा फैलिने भएकाले शहरबाट गाउँमा छिरेको महामारी निषेधाज्ञा खुकुलो भएपछि फेरि गाउँबाट शहर नै छिर्ने संक्रामक रोग विशेषज्ञ डा. सुवेदी बताउँछन् ।

शहरमा निषेधाज्ञा खुकुलो भएपछि रोजगार वा व्यवसाय गर्न शहर आउने बाध्यताका कारण सानो उभारै आउने सम्भावना रहेको डा. सुवेदीको भनाइ छ । पहिलो लहरमा समेत गाउँबाट यस्तै देखिएको थियो । ‘त्यसैले अब परीक्षणको दायरा बढाउनुको विकल्प छैन’, डा. सुवेदी भन्छन् ।

परीक्षण बढाएर समयमै संक्रमण नियन्त्रण गर्न नसक्ने हो भने अझै धेरै भेरियन्ट निस्किने बायोमेडिसिनमा काम गर्ने ‘आर्टिफिसियल इन्टिलिजेन्स’का वैज्ञानिक पौडेल बताउँछन् ।

विगतको गल्ती दोहोर्‍याउँदा फेरि पनि क्षति हुने भएकाले महामारी नियन्त्रण गर्न गम्भीर भएर लाग्नुपर्ने उनको भनाइ छ । ‘समुदायस्तरको व्यापक परीक्षण र खोप नै महामारी नियन्त्रण गर्ने उपाय हो, सरकारले त्यसकै लागि सम्पूर्ण शक्ति लगाउनुपर्छ’, पौडेल भन्छन् ।



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0